बेसीशहर– गण्डकी प्रदेशका वन तथा वातावरणा मन्त्री भेषबहादुर पौडेलले जिल्ला सदरमुकाम यहाँ स्थित प्रदेश अस्पताल लमजुङ अब एक सय बेडको हुने जानकारी दिनु भएको छ । उहाँले अस्पतालमा परीक्षणमा रहेका इण्डेस्कोपि तथा इको सेवाको उदघाटन गर्नु हुँदै साउन ११ गते त्यस्तो जानकारी दिनु भएको हो ।

यो अस्पताल कुनै दिन भीमसेनस्थानमा टहरोमा सञ्चालन हुन्थ्यो म त्यो बेलादेखिको सेवाग्राही भन्ने स्मरण गर्दै उहाँले यस अस्पताललाई स्तरीकरण गर्नका लागि गरिएको प्रयास जारी रहेको उल्लेख गर्नु भयो । उहाँले त्यो अवस्थादेखि आज १७ जना विशेषज्ञ सहित ३० जनाको डाक्टरी सेवा उपलब्ध हुनु राम्रो हो तर त्यतिले मात्र हामीलाई पुग्दैन, थप सेवा बृद्धि गर्न आवश्यक छ र त्यसतर्फ पनि आफूहरु लागि परेको जानकारी दिनु भयो । उहाँले भन्नुभयो, ‘यो अस्पताल छिटै एक सय बेडमा परिणत हुने र यसको भवनको खाँचो पनि अब ६८ करोडको लागतमा नयाँ भवन बन्ने भएको जानकारी दिनु भयो । मन्त्री पौडेलले सोही अनुसारको सबैप्रकारका सेवा सुविधा, उपकरण र प्राविधिक सेवा उपलब्ध हुनेछ भन्ने विश्वास व्यक्त गर्नु भयो । अव अस्पतालमा सिटी स्क्यान मेसिनको खाँचो छ र त्यो सेवा आउँदो आव २०८३÷८४ मा पक्कै आउछ भन्ने पौडेलले जानकारी दिनु भयो ।

उहाँले आफूमात्र नभई आफ्नो परिवारका सदस्यहरूको उपचारका लागि पनि यहाँको सुविधा उपयोग गरिरहेको स्मरण गर्दै, उच्च प्रविधि युक्त आधुनिक सेवा विस्तारले अब जिल्लाबासीहरूलाई आफ्नै जिल्लामै आवश्यक स्वास्थ्य सेवा प्राप्त हुने सुनिश्चित भएको बताउनु भयो । यसबाट समय, खर्च तथा शारीरिक स्वास्थ्य–तीनवटै पक्षमा सकारात्मक प्रभाव पर्ने उहाँले विश्वास व्यक्त गर्नुभयो ।

स्वास्थ्य क्षेत्र अत्यन्त संवेदनशील भएकाले सेवा प्रदायकहरूले बिरामीहरूको मनोबल उच्च राख्दै, कार्यको चाप तथा मानसिक तनावका बीच पनि इमान्दारिताका साथ उच्चस्तरीय सेवा प्रवाह सुनिश्चित गर्न मन्त्री पौडेलले विशेष जोड दिनुभएको थियो ।

उक्त कार्यक्रममा इण्डेस्कोपि तथा इको सेवाको उदघाटन पश्चात ती कक्षबाट उपलब्ध हुने सेवाका बारेमा समेत अनुगमन गरी जानकारी लिनु भएको थियो ।
सो अवसरमा बेसीशहर नगरपालिका– ३ का चित्रबहादुर दनाई, वडानं ८ का अध्यक्ष पत्रित्रा थापा राना, पत्रकार महासंघका जिल्ला अध्यक्ष सन्तोष पौडेलले आआफ्ना धारणा सहित अस्पतालमा सेवाग्राही भएर आउँदा भोगेका असुविधा तथा कठिनाईका बारेमा समेत जानकारी दिनु भएको थियो ।
अस्पताल व्यवस्थापन समितिका अध्यक्ष हरिजंग तामाङको अध्यक्षतामा भएको उक्त कार्यक्रममा उहाँले अस्पतालबाट संख्यात्मक भन्दा पनि गुणात्मक सेवा दिनेतर्फ आफूहरू लागेको जानकारी दिनुभयो । उहाँले यो अस्पतालमा विरामीको चाप कम होस् भन्नका लागि पालिकास्तरमा रहेका अस्पतालमा भएर विशेषज्ञ सेवा दिन थालिएको जानकारी दिनुभयो । उहाँले यो अस्पतालले लमजुङका अतिरिक्त मनाङबासीलाई पनि सेवा दिइरहेको उल्लेख गर्नुभयो ।

यसैगरी, अस्पतालमा प्रमुख एवम् मेसु शिशिर देवकोटाले स्वागत गर्दै यो अस्पतालबाट सबैभन्दा बढी रिफर हुने विरामी सिटिस्क्यानका रहेको हुँदा त्यो सेवा यही अस्पतालबाट हुन जरुरी छ, त्यसो हुन सकेमा ९८ प्रतिशत रिफर रोकिनेछ भन्नुभयो । उहाँले आज उदघाटन भएको सेवाका लागि इन्डेस्कोपिको आफै विशेषज्ञ रहेको र आफूले काम गर्दा दुईजनालाई सँगसँगै सिकाएको हुँदा यो सेवा कुनै पनि दिनमा रोकिने अवस्था छैन । तर इकोको भने विशेषज्ञ एकजनामात्र हुनुहुन्छ, उहाँ विदामा बस्दा वा काजमा गएको बेलामा सो सेवा सुचारु गर्न सक्ने अवस्था छैन भन्नुभयो ।
सो कार्यक्रमको सञ्चालन समितिका सदस्य एवम् पत्रकार वासु थापाले गर्नु भएको थियो ।
प्रकाशित मिति २०८२ श्रावण १२, सोमबार १८:१२ गते