आज नागपञ्चमी पर्व : घर घरमा किन टासिन्छ नाग ?

आज नागपञ्चमी पर्व : घर घरमा किन टासिन्छ नाग ?

अन्तरङ्ग न्युज

@antaranganews

२०८२ साउन १३ गते मङ्गलबार ०६:४६

आज बिहान ८ बजेर ४८ मिनेटदेखि १० बजेर २९ मिनेटसम्म लाभ बेला र १० बजेर ३० मिनेटबाट मध्यान्ह १२ बजेर ९ मिनेट सम्म अमृत बेला रहेकोले यो समयमा नाग टाँस्नु शुभ मानिन्छ ।

छोरीको भक्तिबाट प्रसन्न भएकी नागिनीले किसानको सपरिवारलाई जीवन दान दिएको दिन श्रावण शुक्ल पञ्चमी भएकाले सोही समयदेखि नागपूजा गरी घरमा टाँस्ने परम्परा बसेको जनविश्वास छ ।

बेसीशहर– आज नागपञ्चमी पर्व । नागपञ्चमी पर्व आज साउन १३ गते परम्पराअनुसार नागको पूजा गरी मनाइँँदै छ । प्रत्येक वर्ष श्रावण शुक्ल पञ्चमीको दिन परम्पराअनुसार नागको पूजा गरी मनाइँदै छ । घरका मूलढोकामा नागको तस्बिर टाँसेर पूजाअर्चना गरी यो पर्व मनाउने गरिन्छ ।
नागको पूजा गरी नागको चित्र घरको मूल ढोकामा टाँस्दा वर्षभर घरमा नाग, सर्प र बिच्छीलगायतका जीवले दुःख दिदैनन् भन्ने परम्परा छ । साथै अग्नि, मेघ र चट्याङको भयबाट पनि बच्न सकिन्छ भन्ने जनविश्वास छ ।
आजको दिन घरमा नागका चित्र टाँसेपछि खेतबारीमा खनजोत गर्न हुँदैन र नाग, सर्प लगायतका घस्रने जनावरलाई मार्नु हुँदैन भन्ने मान्यता छ ।
नागका बाह्र नाम भए छन् तर आठ कूलका आठवटा नागको पूजा गर्ने वैदिक सनातनकालदेखिको परम्परा छ । अनन्त, वासुकी, पद्म, महापद्म, तक्षक, कुलीर, कर्कट र शङ्ख गरी आठ नागका चित्र वा प्रतिमालाई आजको दिन ब्राह्मण पुरोहितबाट पूजाआजा गरी घरको ढोकामाथि टाँस्ने गरिन्छ ।
नागको पूजा गरी गाईको दूध, अक्षता, दुबो, खीर, रोटीलगायतका परिकार प्रसादको रुपमा चढाउने र खाने गरिन्छ ।
नागको पूजा गर्न घुइँचो :
नाग पञ्चमी साउन महिनामा पर्ने भएकाले नागको शिर उत्तर दिशामा सम्झी पूजा गरिन्छ ।
नागपूजायां गृहारम्भे च नागशिरोज्ञानम् । भाद्र, असोज र कार्तिकमा पूर्व, मंसिर, पुस र माघमा दक्षिण, फाल्गुन, चैत्र र वैशाखमा पश्चिम, जेठ, असार र साउनमा उत्तर दिशामा नागको शिर हुन्छ ।
आज बिहान ८ बजेर ४८ मिनेटदेखि १० बजेर २९ मिनेटसम्म लाभ बेला र १० बजेर ३० मिनेटबाट मध्यान्ह १२ बजेर ९ मिनेट सम्म अमृत बेला रहेकोले यो समयमा नाग टाँस्नु शुभ मानिन्छ ।
यस पर्वमा आज बिहानै उठी स्नान गरी दियो, कलश, गणेश भगवानको पूजा गरी आफ्ना घरको ढोकाको दुवै तर्फ गाईको गोबरले विषालु सर्पको चित्र लेखेर टाँस्नु पर्दछ ।
वैज्ञानिक रुपमा प्रकृतिमा भएका विषालु पदार्थलाई नाग, सर्पलगायतका जीवले शोषण गरी मानवलगायत अन्य जातिलाई विषालु पदार्थको प्रभाव पर्न नदिने भएकाले ऋषिमुनिहरूले नागजातिको पूजाआजा गर्ने रित बसालेको विश्वास छ ।
नागलाई विष्णु र शिवका रूपमा मान्ने प्रचलन वैदिक सनातनकालदेखि छ । भगवान् शिवले नागको माला लगाउने र भगवान् विष्णु जलमाथि शेष नागको शय्यामा फणको छाता ओढी शयन गर्ने भएकाले दुवै भगवानलाई नागका रूपमा मान्ने गरिन्छ । भगवान् गणेशको एक हातमा नाग छ भने लक्ष्मण र बलरामलाई पनि शेषनागको अवतारका रूपमा मानिन्छ ।
नागपञ्चमीपछि वैदिक सनातनी हिन्दू धर्मावलम्बीका चाडबाडको याम सुरु हुन्छ ।
वैज्ञानिक रूपमा पनि प्रकृतिमा भएका विषालु पदार्थलाई नाग, सर्पलगायत जीवले शोषण गरी मानवलगायत अन्य जातिलाई विषालु पदार्थको प्रभाव पर्न नदिने अनुसन्धानबाट पुष्टि भएपछि ऋषिमुनिले नागजातिको पूजाआजा गर्ने रित बसालेको विश्वास छ ।
पूजा विधि तथा किंवदन्ती :
नागपञ्चमी कसरी र किन मनाउन थालियो भन्ने सम्बन्धमा एक प्रख्यात किंवदन्ती छ । एक किसानले खेत खन्ने क्रममा नागका तीन बच्चा मारिदिएपछि नागिनीले क्रोधित भई किसानको परिवारलाई नै मारिदिइन् । संयोगले बाहिर रहेकी किसानकी छोरीलाई नागिनीले मार्न खोज्दा छोरीले अनुनय विनय गरी पूजाआजा गर्ने र दूध दिने बिन्ती गरिन् ।
छोरीको भक्तिबाट प्रसन्न भएकी नागिनीले किसानको सपरिवारलाई जीवन दान दिएको दिन श्रावण शुक्ल पञ्चमी भएकाले सोही समयदेखि नागपूजा गरी घरमा टाँस्ने परम्परा बसेको जनविश्वास छ ।
काठमाडौँको नागपोखरी र टौदह, भक्तपुरको सिद्धपोखरी लगायत देशभरका नागदह, कुण्ड, र नाग स्थानमा विशेष रूपमा पूजा गरी नागको सम्मानका साथ गाईको दूध, अक्षता, दुबो, खीर र रोटी लगायतका परिकार चढाउने गरिन्छ ।

प्रकाशित मिति २०८२ श्रावण १३, मंगलवार ०६:४६ गते
हजुरको प्रतिक्रिया