युग पुरुष कुश्माकर घिमिरेको शालिक बनाउने तयारी

युग पुरुष कुश्माकर घिमिरेको शालिक बनाउने तयारी

काजी बस्नेत

@antaranganews

२०८२ साउन १३ गते मङ्गलबार ०१:०१

शालिक निर्माण प्रयोजनका लागि गण्डकी प्रदेशका अर्थमन्त्री डा. टकराज गुरुङबाट कुष्माखर घिमिरे उपाध्याय प्रतिष्ठान नेपालको नाउँमा शालिक निर्माणका लागि मात्र पन्ध्र लाख रुपैयाको बजेट विनियोजन गरिदिनु भएपछि शालिक निर्माणको कार्य पक्का भएको हो ।

ऐतिहासिक गाउँशहर दरवार र लमजुङ कालिका मन्दिर जाने सडकको मुखमा बेसीशहर नगरपालिकाले निर्माण गरिदिएको प्रवेशद्वारसँगै रानीकुवामा युग पुरुष कुश्माकर घिमिरेको पूर्णकदको शालिक जिल्लाकै इतिहास झल्काउने गरी बनाइने भएको हो ।

लमजुङ– जिल्ला सदरमसुकाम स्थित बेसीशहर नगरपालिका– ३ रानीकुवामा घिमिरेका पुर्खा युगपुरुष कुश्माकर घिमिरेको शालिक निर्माण गर्ने तयारी सुरु भएको छ । डुम्रे– बेसीशहर सडक छेउ साबिक गाउँशहर गा.वि.स.– ३ रानीकुवामा शालिक निर्माणका लागि तयारी गरिएको हो ।
शालिक निर्माण प्रयोजनका लागि बेसीशहर नगरपालिका– ३ निबासी स्व. डिल्लीराज घिमिरेका श्रीमती महादेवी घिमिरे एवम् उहाँका छोरा द्वय गुणराज घिमिरे र तोयराज घिमिरले ०–४–३–२ क्षेत्रफल भएको जग्गा दान गर्नु भएको छ । डुम्रे– बेसीशहर सडकको मापदण्ड छोडेर रानीकुवामा आफ्ना युगपुरुष पुर्खा कुश्माकर घिमिरेको शालिक निर्माण गर्न उक्त क्षेत्रफल भएको जग्गा कुश्माकर घिमिरे प्रतिष्ठान लमजुङलाई प्रदान गर्नु भएको छ । सोही स्थानमा कुश्माकरको शालिक बनाउने तयारी भएको हो ।
ऐतिहासिक थलो रानीकुवा लमजुङमा विसं १५५०मा योशोब्रम्ह शाहलाई राजा बनाई गाउँशहरमा दरबारका भित्र्याए पछि रानीले पानीखाने कुवा बनाई जाडोयाममा बेसी झर्दा आफूले पनि त्यहिंको मीठो स्वादिलो र शुद्ध पानी खाने गरेकी हुँदा उक्त स्थानको नाम हालसम्म पनि रानीकुवाले चिनिन्छ । हाल यसै कुवैको छेउबाट गाउँशहर– ज्यारखाङ– पुरनकोट गढी– तुर्लुङकोट– बाख्रेजगत– नाल्मा जाने पक्की सडक निर्माणको चरणमा छ भने यतिबेलो त्यो सडकको धेरै भागमा कच्ची सडक निर्माण भई मोटर सेवा सुचारु गरिएको छ ।
ऐतिहासिक गाउँशहर दरवार र लमजुङ कालिका मन्दिर जाने सडकको मुखमा बेसीशहर नगरपालिकाले प्रवेशद्वार निर्माण गरिदिएको छ । सोही द्वारसँग रानीकुवामा अब बन्ने कुश्माकर घिमिरेको पूर्णकदको शालिकले जिल्लाकै इतिहास झल्काउने गरी बनाइने भएको हो ।
शालिक निर्माण प्रयोजनका लागि गण्डकी प्रदेशका अर्थमन्त्री डा. टकराज गुरुङबाट कुष्माखर घिमिरे उपाध्याय प्रतिष्ठान नेपालको नाउँमा शालिक निर्माणका लागि मात्र पन्ध्र लाख रुपैयाको बजेट विनियोजन गरिदिनु भएपछि शालिक निर्माणको कार्य पक्का भएको हो ।
प्रदेश सरकारसँग रकम मागका लागि सो संस्थाका अध्यक्ष श्रीकान्त घिमिरेको पहलमा उपाध्यक्ष अंगराज घिमिरे, सचिव श्रीकान्त घिमिरे, सहसचिब तोयराज घिमिरे, कोषाध्यक्ष कान्ता घिमिरेका साथमा सदस्यहरू रामप्रसाद घिमिरे, दिपक घिमिरे, सुर्यप्रसाद घिमिरे र ध्रुवराज घिमिरेको टोली आवश्यक कागजात सहित लमजुङमा कुष्माखरको इतिहास बोकेर गण्डकी प्रदेशका अर्थमन्त्री डा. टकराज गुरुङलाई भेट्न पुगेको उपाध्यक्ष अंगराज घिमिरेले जानकारी दिनुभयो ।
लमजुङको इतिहासमा वि.सं. १५५० अघी घले राजाहरूले राज्य सञ्चालन गरेको भेटिन्छ घलेहरूको राज्यमा विभिन्न खालका अजाजकता तथा जघन्य अपराधहरू बढ्दै गएपछि लमजुङका ब्राह्मण– क्षेत्री, गुरुङ, मगर नेवार र दूरासहित छ जातका घिमरे, दुरा, बस्न्यात, अधिकारी, पुँवर भण्डारी, रावत सुयललगायतका धेरै थरका मिलेर इतिहास छ । त्यस्तो कार्य गर्नेमा कुष्माखर घिमिरे, खजे दुरा, प्रवल सिंह बस्न्यात, द्वारिका दत्त अधिकारी, छविलाल ग्याप्छा लगायत (अन्यको नाम भेटिएको छैन, खोज जारिनै छ)ले नयाँ राजाको स्थापना गरेको इतिहास छ ।
त्यसका लागि छिमेकी राज्य कास्कीमा पुगेर लमजुङहरूले राजा कुलमण्डन शाह समक्ष आफ्ना पीडा सुनाए पछि राजाले सुरुमा कालू शाहालाई दिई पठाए, उनलाई लिएर आई राजकाज चलाउन शुरु गरेका थिए । त्यसको तीनमहिना नबित्दै एकदिन घले राजाले दुईराज्य बिच मेलमिलाप गर्ने मीत लगाउने शिकार खेल्ने र भोज खाने बहाना बनाई वाग्लुङपानीको शिसिर ढुङ्गा जंगलमा हत्या गरिदिएको इतिहासमा उल्लेख पाइन्छ ।
त्यसपछि फेरि सबै मिलेर कास्किका राजा समक्ष शिकार गर्न जाँदा राजाको लडेर मृत्यु भएको भनी ढाँट– छल गरी अनुनय, विनय गरे पश्चात् कान्छा छोरा यशोब्रम्हा शाहलाई लिएर जाउ भनेर लिएर आउने काम भयो । त्यसरी आउँदै गर्दा राजा बनाउने साइत टर्न लागेको भनी गुरु कुश्माखरको कुरामा सहमती जनाई लमजुङको सिंदुरे ढुङ्गामा राजालाई राखी सिंदुर जात्रा गरि ‘राजा घोषणा’ गरेको हुनाले हालसम्म त्यहाँ रहेको एक ठूलो ढुंगा ‘सिंदुरे ढुङ्गा’का नामले चिनिन्छ ।
मुलुकमा प्रजातन्त्रको पुनःस्थापनापछि गरिएको राज्य पुनःसंरचनामा सोही ऐसिहासिक थलोको स्मरणमा ‘सिन्दुरे गाउँ विकास समिति’का नामबाट सो ठाउँ परिचित हुँदै आएको थियो ।
त्यहाँबाट सिंन्दुरजात्रा गरी पुरनकोट डाँडामा गढी र दर्बार बनाई राखे पछि घले राजाहरूलाई पराजय गर्न सफल भई लमजुङको सिमानामा जोडेको इतिहासमा भेटिन्छ । राजा यशोब्रह्म शाहकै पालामा गाउँशहरमा दर्बार बनाई बेसीशहरमा ठाना बनाई यहाँको फाँटको अन्न उत्पादनले राज परिवार पालिने भएको ठाउँ हाल शेरा बजारले चिनिन्छ । ठाना फूलबारी रानीले पानी लिन जाने र पानी खाने गरेको ठाउँ हुँदा रानीकुवा हालसम्म यथावतनै रहेको छ । जाडो याम आर्थत हिउँदमा बेसी झर्ने अर्थात सर्ने हुनाले बेसी सर र गर्मीयाममा माथि गाउँ सर्ने हुँदा पछि अपभ्रंस भई ती ठाउँ गाउँशहर र बेसीशहरका नामले परिचित रहन थालेको इतिहास छ । यसरी राजा भएपछि पूर्व चेपे, पश्चिम मिदिम, उत्तर दुधपोखरी अर्थात मस्र्याङ्दिको शिर मनाङ, दक्षिण तर्फ नाउँदी फाउँदी र मादीको चार किल्ला बाँधी पूर्व राइनासकोट, दक्षिण जिताकोट, पश्चिम तुर्लुङकोट र उत्तर श्रीकोट रजस्थलको तथा २७ मौजा थियो भनिन्छ । हाल गाउँशहर दर्वार १८७२ को भूकम्पले भत्काएपछि कालिकाको मंदिर र तत्कालीन राजदरवारसंगै पुनः निर्माण गरिएको पाइन्छ । दरवारको तल चण्डीदेवी, माथि काउलेपानी देवी, बेसीशहरको नारायण थान यहाँका पुरानै मठमन्दिर मानिन्छन् ।
यस्तो अतुलनीय इतिहासको बिचमा रहेको रानिकुवामा निर्माण हुन लागेको कुश्माखर घिमिरेको पूर्णकदको शालिकले लमजुङको इतिहासलाई थप मलजल गर्ने विश्वास गरिएको छ ।
स्मरणीय छ, तत्कालीन राज दरवारका गुरु कुश्माखरलाई त्यतिबेला नै राजा यशोव्रम्ह शाहले श्री ३ को उपाधि दिएकोसमेत इतिहासका अध्ययनकर्ताहरूले बताएका छन् ।

प्रकाशित मिति २०८२ श्रावण १३, मंगलवार १३:०१ गते
हजुरको प्रतिक्रिया