बेसीशहर– लमजुङको बेसीशहर नगरपालिका– ८ को पाखाथोक गाउँमा स्थायी बसोबास भएकी हिरा भन्ने किस्मीता कोइराला नामकी २१ वर्षीया युवती हराएको हुँदा खोजीदिन परिवारले आग्रह गरेको छ । किस्मीता गत असार २८ गते आफ्नो कोठामा सुत्न गएको भोलिपल्ट विहान ५ बजे उठाउन जाँदा आफ्नो कोठामा नभएको परिवारको भनाइ छ ।

किस्मीता नवलपुर जिल्लाको देबचुली नगरपालिका, वडानं १६, आँपचौर निवासी दुर्गाबहादुर कोइराला र शान्त कोइरालाकी छोरी भएको उनका श्रीमान् राजेश बरालले बताउनु भयो । उहाँका अनुसार करिव डेड बर्ष अगाडी किस्मीता कोइरालासँग नेपाली परम्परा अनुसार आफ्नो मागी बिहे भएको हो । उहाँले भन्नुभयो, ‘असार २९ गते बिहान करिब ५ बजे तिर उठेर कोठामा उठाउन जादा उनी कोठामा थिइनन्, मैले घरवरपर खोज तलास गर्दा भेटिन ।’ त्यसपछि कोठामा राम्ररी हेर्दा उनले लगाउने कपडाहरू समेत नभएको, सुनका गहनाहरू डेड तोलाको सिक्री १ थान, एक तोलाको कानमा लगाउने झुम्का २ थान, एक तोलाको औठी १ थान, आधा तोलाको सुनको जन्तर तथा चाँदीको ४ तोलाको पाउजु २ थानका साथै नगद करिब एक लाख (म, बा– आमा र उनीसँग भएकोसमेत) र २ थान मोवाइलसमेत उनले लिएर गएको थाहा हुन आयो ।’ त्यसैले गर्दा किस्मीता हामीलाई नभनी एकाएक हराएको र आज साउन १८ गतेका दिनसम्म पनि आफन्तजन(माइतीमा समेत)को सम्पर्कमा नआएको हुदाँ किस्मीताका साथै आफ्नो धनमालसमेत खोजी गरी दिनु हुन निवेदन गर्दछु राजेश बरालले भन्नु भएको छ ।

किस्मीताले हराउनु अघिल्लो दिनमा उनको मोवाइल डिटेल अनुसार उनकी आमालाई, मलाई र एउटा भारतको नंबरमा सम्पर्क गरेको देखिएको राजेश बरालले बताउनुभयो । उहाँका अनुसार भारतका मानिसको नंबरमा सम्पर्क भएको देखिएको हुँदा उनलाई अर्को बिहे गर्ने प्रलोभमा भारतका कोठीमा लगेर बेच्ने काम त भएको छैन ? भन्ने आशंका घरपरिवार तथा आफन्त जनहरूका बीचमा बढेको छ । उहाँले भन्नुभयो, ‘असार २९ गतेकै दिनमा जिल्ला प्रहरी कार्यालय लमजुङमा किस्मीताको खोजी पाउँ भन्ने निवेदन समेत दिएको हो तर कुनै पत्तो नभएको प्रहरीको भनाइ छ ।’
किस्मीता घरबाट हराएको र खोजी पाउँ भन्ने निवेदन प्राप्त भएको छ, प्रहरीकातर्फबाट खोज तलासका लागि गर्नु पर्ने कार्य तदारुकताका साथ गरिआएको जिल्ला प्रहरी कार्यालय, लमजुङका प्रमुख प्रहरी नयाव उपरीक्षक रेशम बोहराले बताउनु भयो । उहाँका अनुसार तर आजसम्मको प्रयास सफल हुन सकेको छैन, ती युवतीको खोजी कार्य जारी छ ।
प्रकाशित मिति २०८२ श्रावण १८, आईतवार १२:५६ गते