धर्म/संस्कृति

जाल्पादेवी मन्दिरमा तान्द्राङ टक्सारका १० गाउँलेहरूले गरे निम र भाकल पूजा

जाल्पादेवी मन्दिरमा तान्द्राङ टक्सारका १० गाउँलेहरूले गरे निम र भाकल पूजा

नवराज पहाडी

@antaranganews

२०८२ साउन २० गते मङ्गलबार ११:४५

जाल्पादेवी मन्दिरलाई छिटै पुरातत्व विभागमा दर्ता गर्ने र जिर्णोद्धारका लागि पहल गर्नेतर्फ उक्त मन्दिर व्यवस्थापन समितिले स्थानीय समाजिक अगुवाको साथ सहयोगमा गर्ने भएको छ । 

अन्य मन्दिरको मुहुडा पूर्व फर्केको हुन्छ तर जाल्पादेवीको मन्दिर पश्चिमतिर फर्केको हुँदा त्यो भनाई सत्य हो भन्ने लाग्छ ।

तान्द्राङ टक्सार(लमजुङ)– लमजुङको जाल्पादेवी मन्दिरमा स्थानीय १० गाउँलेहरूले निम र भाकल पुजा गरेका छन् । मध्यनेपाल नगरपालिका– २ को तान्द्राङ टक्सारको रातामाटा अवस्थित जाल्पादेवी मन्दिरमा साउन महिनाको अष्टमीको विशेष दिन त्यस्तो पूजा गरिएको हो । साविकको तान्द्राङ टक्सार गाविसको वडानं– ३ देखि ९ सम्मका बासिन्दाहरूले वर्षेनी तीन पटक जाल्पादेवी मन्दिरमा गएर निम(भाकल) पुजा गर्ने प्रचलन रहेको छ । त्यसबाहेक व्यक्तिगत भाकल पनि चढाउने गरेका छन् । सो क्रममा उक्त मन्दिर परिसरमा श्रद्धालु भक्तजनहरूको साउन १६ गते घुइचो लागेको थियो ।
जाल्पादेवीलाई जोडी परेवा र बाख्राको पाठीमात्र बली चढ्छ भन्ने परम्परागत मान्यता रही आएको सो मन्दिरका पुजारी ६९ वर्षीय काजी गुरुङले बताउनु भयो । उहाँका अनुसार साउन महिनामा बलीका साथमा खिरसमेत चढाउने प्रचलन रहेको छ ।
वर्षमा तीन पटक निम पूजा :
मन्दिरमा वर्षमा तीन पटक बैशाख, साउन र मंसिरमा निम अर्थात समीक्षा(क्षमा) पूजा गर्ने परम्पार रहेको पुजारी गुरुङले जानकारी दिनुभयो । उहाँका अनुसार तीनै पटक पाठी र जोडी परेवा बढी चढाउने प्रचलन छ । उहाँले भन्नुभयो, ‘त्यसबाहेक साउन महिनामा त्यस्ता बलीको साथमा खिर समेत चढाउने प्रचलन रहेको छ ।’ उहाँका अनुसार मन्दिरको पहुँच क्षेत्र रहेका मन्दिर आसपासका १० गाउँबाट सामुहिक रुपमा र व्यक्तिगत रुपमा पनि मन्दिरमा भाकल पुजा गरिन्छ ।
सो पुजाका क्रममा मंसिर महिनामा धान काटेर कुनियो लगाई सकेपछि नयाँ धानको अक्षता तथा रोठ चढाउने प्रचलन रहेको छ, सो मन्दिरमा पुजा गरेपछि मात्र यी १० गाउँमा दाइँ गर्ने प्रचालन रहेको पुजारी गुरुङको भनाइ छ । उहाँले भन्नुभयो, ‘१० गाउँबाट सामुहिक पुजा गरिन्छ, पुजाका लागि एक गाउँबाट १४ देखि २२ घर परिवारसम्म जम्मा हुन्छन् ।’
साउनको अष्टमीलाई विशेष मानिन्छ र यस दिनमा यो वर्ष सामुहिक र व्यक्तिगत गरी परेवाको ५९ जोडी र २७ वटा पाठीको बली दिइएको उक्त मन्दिरका पुजारी गुरुङले जानकारी दिनुभयो । उहाँका अनुसार गाउँलेले गर्ने पुजाको एकिन भए पनि व्यक्तिको संख्या घटबड हुन्छ ।
जाल्पादेवीलाई तीन दिदी बहिनीमध्ये कान्छी मानिन्छ ।  दुराडाँडा तुर्लुङकोटको कालिका देवी जेठी, नेटाकी मालिकादेवी माहिली भनेर पुज्ने प्रचलन रहेको सो मन्दिर व्यवस्थापन समितिका अध्यक्ष श्रीप्रसाद गुरुङले बताउनु भयो । उहाँका अनुसार मानिसहरूले आफ्नो मनोकांक्षा पुरा गर्नका लागि देवीको भाकल गर्ने गरेको स्थानीय सो जंगलमा घाँस दाउरा गर्दा मान्छे बिरामी पर्ने गाउँमा अनिष्ट हुने गर्छ भने लामो खडेरी पर्दा मन्दिरमा जालधारा सहितको क्षमा पूजा गरेपछि पानी पर्ने गर्छ । उहाँले भन्नुभयो, ‘परिवारमा कोही बिरामी पर्दा छिटो स्वास्थ्यलाभको कामना गर्दै, विदेशमा जाँदा कुनै दुःख, झञ्जट, अकाल मृत्यु नहोस् भन्नका लागि, आफूले पालेका गाई वस्तु बिरामी हुँदा सञ्चो होस् भन्ने कामनाका साथ भाकल गर्ने गरेका छन् ।’
‘मन्दिरमा चढाउन ल्याएको वस्तु प्रसाद वा भाकलमा ल्याइएका जोडी परेवा र पाठी मात्र पुजामा चल्ने अन्य वस्तु चल्दैन,’ पुजारी गुरुङले भन्नुभयो, ‘ती चिज पनि मानिसले आफ्नो घरमा लिएर जान हुँदैन, मन्दिर नजिकै पकाएर, खाएर घरमा फर्कनु पर्छ, त्यस्तो प्रचलन रहिआएको छ ।’
‘जाल्पादेवी मन्दिरमा एकादशी र औंसी तिथिको दिनमा, हप्ताको हरेक आइतबार र मंगलबार पुजा हुँदैन ।’ पुजारी गुरुङले भन्नुभयो ‘पुजा गरेर प्रसाद खाइसकेपछि पुनः बिसर्जन पूजा गरेपछि मात्र घर फर्कनु पर्छ ।’
मन्दिरको विशेषताका बारेमा पुजारी गुरुङले थप भने, ‘कुनै वर्ष लामो खडेरी प¥यो, पानी परेन भने जाल्पादेवी मन्दिरमा गएर जलधारा गर्ने, देवीलाई क्षमा पूजा गर्ने गरेमा पानी पर्ने गरेको हामी आफैले पनि कति भोगेका छौं ।’ त्यस्तै, मन्दिरमा चढाएको प्रसाद जत्ति धेरै खादा पनि बिसञ्चो नहुने र जति धेरै जना भए पनि सबैलाई सन्तुष्ट हुने गरी पुग्ने गरेको समेत पुजारी गुरुङले बताउनु हुन्छ । उहाँले भन्नुभयो, ‘मन्दिरमा पुजा गर्न आउँदा निराहा बस्नु पर्छ र यहाँ मन्दिरमा पुजा गरेको प्रसाद घरमा लग्न हुँदैन ।’
उहाँका अनुसार जाल्पादेवी मन्दिरमा साउन, मंसिर र बैशाखमा विशेष निम पुजा हुने गर्दछ । निम पुजामा त्यस क्षेत्रमा रहका करिब १६० घरधुरीबाट धुप अक्षता परेवा र पाठीको मूल्य अनुसार कम्तिमा २४ रुपैयाँदेखि ७० रुपैयाँसम्म एक पटकमा प्रति घर तिर्नु पर्ने गरेको छ । पुजारी गुरुङ भन्नुभयो, ‘२०७२ सालको बैशाख १२ गते निम पुजाको दिन थियो । त्यस दिनमा पुजा गर्ने क्रममा भुलबस कुनै त्रुटी हुन गएछ त्यसपछि सो दिनमा भूइँचालो गएको हो भन्ने पनि कतिले विश्वास गर्ने गरेका छन् ।’
उक्त मन्दिरको उचित प्रचार प्रसार, जिर्णोद्धार तथा पुरातत्व विभागमा अभिलेखन गर्ने जस्ता कार्य भने हुन सकेको छैन । त्यसो नहुनुमा मन्दिर व्यवस्थापन समिति र स्थानीय सरकारको कमजोरी रहेको पुजा स्थलमा भेटिनु भएका भक्तजनहरूको भनाइ छ । त्यस्तो धारणा राख्नेमा सोही क्षेत्रको बालविकास माविका शिक्षक तिलबहादुर गुरुङ, बसन्त गिरी, एमालेका वडा उपाध्यक्ष विश्वनाथ भुषाल, बलबहादुर विक, रामचन्द्र परियार, गोबद्र्धन पुरी, विरबहादुर गुरुङलगायत छन् ।
मन्दिरको प्रचार प्रसारका साथै जिर्णोद्धारका लागि समितिले काम गर्न नसकेको सो मन्दिर व्यवस्थापन समितिका अध्यक्ष श्रीप्रसाद गुरुङले स्विकार गर्नु भएको छ । उहाँका अनुसार हामीसँग अनुभवको पनि कमी रह्यो, सिकाउने मान्छेहरू पनि खासै भएनन् । उहाँले भन्नुभयो, ‘अब हामीले मन्दिरका लागि आवश्यक पर्ने सबै काम छिटै गर्ने तयारीमा छौं, पुरातत्व विभागमा सूचिकरणका लागि मौखिक अनुरोध पुगिकेको छ । उहाँहरूको सल्लाह अनुसार समितिको बैठकले निर्णय गरेर, वडाको सिफारिस सहित हामी छिट पुरातत्प विभागमा जाने तयारीमा छौं ।’ मन्दिरको पुनःनिर्माण गर्ने कामको तयारीमा स्थानीय वडा कार्यालय र बुद्धिजीवीहरूको सल्लाह अनुसार जुटिसकेका छौं उहाँले थप भन्नुभयो । 
मन्दिर धार्मिक सहिष्णुताको नमूना :
जाल्पादेवी मन्दिर क्षेत्र धार्मिक सहिष्णुताको नमूनाका रुपमा समेत रहेको सोही स्थानमा रहेको बालविकास माविका शिक्षक शिव खनालले बताउनु भयो । उहाँका अनुसार यस क्षेत्रमा जनजाति गुरुङ परिवारका व्यक्ति पुजारी छन् भने उक्त मन्दिरमा ब्राह्मण, क्षेत्री, जनजातिहरू, दलित तथा दशनामी आदि सबै मिलेर बसोबास गरेका मात्र छैनन् । उनीहरू आफ्ना नजिकका सगोत्रीय बन्धुहरू मिलेर एकै दिन आलोपालो गरी पूजा गर्दछन् । भोज खान्छन् । साउने अष्टमीको दिनमा मन्दिर परिसरमा भएको त्यही हो । उहाँले भन्नुभयो, ‘उनीहरूको उक्त व्यवहारबाट धार्मिक सहिष्णुताको नमूना मान्न सकिने हुन्छ ।’
‘जाल्पादेवी मन्दिरमा १७ औं शाताब्दीदेखि पुजाआजा चलेको बुढापाको भनाइ छ । ‘ती देवीको स्थानमा  चढाइको यौटा घण्टीमा विसं १९२० मा जहर सिंह दुराले चढाएको भन्ने उल्लेख रहेको छ ।’ तान्द्राङ तमु समाजका अध्यक्ष चक्रबहादुर गुरुङले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, ‘यसबाट पनि मन्दिर के कति पुरानो हो र कति शक्ति छ भन्ने पुष्टि गर्दछ ।’ मन्दिर सानो छ, जीर्ण भइसकेको छ तर शक्ति र महत्व धरै भएको पाइन्छ उहाँले उल्लेख गर्नु भयो ।
सो मन्दिर हातामा १४२ वटा घण्टी, १३ वटा शंख रहेको स्थानीय सामाजिक कार्यकर्ता एवम्राष्ट्रिय स्वतन्त्र पार्टीको उक्त वडाका सभापति गिताबहादुर गुरुङले जानकारी दिनुभयो । उहाँका अनुसार मन्दिर क्षेत्रमा रहेको जंगल जाल्पादेवी मन्दिरकै नाउँमा रहेको छ । उहाँले भन्नुभयो, ‘यो जंगलमा गएर जीवित रुखको लौरो पनि काट्न हुन्न काटेमा अनिष्ट हुन्छ भन्ने मान्यता रहेको छ । त्यसैगरी, उहिल्यै निम अर्थात भाकल पूजा गर्न जाँदा मन्दिरको छेउँमा स्वःफूर्त रुपमा आगो उत्पत्ती हुने, मन्दिरको उत्तरतर्फ पानी पलाएको समेत हुने गर्दथ्यो भन्ने आफ्ना अग्रजबाट सुनेको पुरानापाका मानिसले सुनाउँछन् ।’
सो पूजास्थलमा भेटिएका बसन्त गिरीले गोरखनाथको जस्तै जाल्पादेवीको पनि शक्ति भएको आफ्नो अनुभव रहेको बताउनु भयो । उहाँका अनुसार जाल्पादेवी तीन देवी तुर्लुङकोट कालिका, नेटाकी मालिका पछिकी कान्छी हुन् । भक्तजनले चढाएको भोग जेठी दिदीले मात्र खाने गरेर बहिनीहरूलाई नदिने गरेपछि दिदीसँग रिसाएर हिडेका दुई दिदीबहिनीमा महिली मालिका नेटामा बसेकी र कान्छी जाल्पादेवी यहाँ आएर पश्चिम दिशातर्फ मुख फर्काई बसेको भन्ने किंबदन्ती छ । उहाँले भन्नुभयो, ‘अन्य मन्दिरको मुहुडा पूर्व फर्केको हुन्छ तर जाल्पादेवीको मन्दिर पश्चिमतिर फर्केको हुँदा त्यो भनाई सत्य हो भन्ने लाग्छ ।’
उक्त मन्दिरको गरिमा एवम् महत्व अनुसार प्रचारप्रसार, जिर्णोद्धार तथा पुरातत्व विभागमा दर्ता जस्ता कार्य भने हुन भने सकेका छैनन् । भलै मध्यनेपाल नगरपालिकाले आफ्नो नगरलाई धार्मिक पर्यटकीय गन्तव्य बनाउने घोषणा गरेको किन नहोस् । ‘अब हामी छिटै ती काममा लाग्ने भएका छौं त्यसका लागि मन्दिर व्यवस्थापन समिति, वडा समिति र हामी गाउँका सामाजिक अगुवाहरू सल्लाह भइसकेको छ ।’ गिताबहादुर गुरुङले जानकारी दिनुभयो ।
कसरी पुग्ने ? 
उक्त मन्दिरमा जानका लागि लमजुङमा पर्ने मध्य पहाडी लोकमार्गको सुन्दरबजार– भोर्लेटार खण्डको खत्रीठाँटीबाट कुन्छा–  सोतीपसल– दुईपिप्ले– दमौली सडकको सोतीपसल हुँदै मध्यनेपाल नगरपालिका– २ नंबर वडा कार्यालयसम्मको सडक कालोपत्रे रहेको छ । सो खण्डबाट मन्दिर स्थल नजिक रातामाटासम्म ७ किमि दुरीको सडक कच्ची रहेको छ । त्यसपछि मन्दिरमा पुग्न ५४९ वटा सिंडीका खुड्किला (पेटी) रहेको उकालो चढ्नु पर्दछ । पोखराबाट भोर्लेटार हुँदै दुईपिप्ले तथा दमौलीबाट पनि दुईपिप्ले हुँदै उक्त मन्दिरमा पुग्न सकिन्छ ।
प्रकाशित मिति २०८२ श्रावण २०, मंगलवार ११:४५ गते
हजुरको प्रतिक्रिया