चिति(लमजुङ)– साउनको महिना बोलबम यात्राको महिना । हरेक सोमबारका दिन विभिन्न स्थानमा बोलबम यात्रा गर्ने गरिन्छ । सोही क्रममा लमजुङ चितिमा पनि पन्ध्रौं बोल बम कलश यात्राको तयारी गरिएको छ ।
यहाँ रहेका वैदिक सनातन हिन्दू धर्म संरक्षण अभियान, विश्व हिन्दु महासंघ, चिति लमजुङ, चिति साहित्य समाज, चिति लमजुङ र जीवनका लागि गीता ज्ञान अभियान Gita 4 Life को संयुक्त आयोजनामा उक्त यात्रा सम्पन्न गर्ने तयारी रहेको गीता ज्ञान अभियानका संयोजक बाबुराम पाण्डेले बताउनु भयो ।
उहाँका अनुसार सो कार्यक्रमको बेसीशहर नगरपालिका– ११ का वडाध्यक्ष शिवप्रसाद जोशी प्रमुख अतिथि रहने कार्यक्रम रहेको छ । उहाँले भन्नुभयो, ‘कार्यक्रम अनुसार विगतका वर्षझैं चिति तिलाहारदेखि त्रिवेणी धामसम्म पुगि त्रैलोकेश्वर शिव मन्दिरमा बेलपत्र तथा गंगा जलार्पण कार्यक्रममा साथै भजन कीर्तनका साथ बोलबम यात्रा हुनेछ ।
साथमा विशिष्ट व्यक्तिको मन्तव्य राख्ने कार्यक्रम समेत रहेको आयोजकको भनाइ छ । उक्त बोलबम यात्राका कार्यक्रम स्थापनाकालिन दिनहरू अर्थात सुरुका वर्षमा चिति साहित्य समाजको आयोजनामा सञ्चालन हुने गरेको थियो । चिति साहित्य समाजको संस्थापक अध्यक्ष साहित्यकार एवम् शिक्षासेवी रुद्रनिधि तिवारीले सो अभियानको थालनी गर्नु भएको हो ।
उहाँका अनुसार २०६८ सालमा सुरु गरिएको छ । पहिलो वर्ष जम्मा नौं जना मात्र भयौं, कलश सहितको यात्रा गरियो, ०६९ सालमा त्यो संख्या बढेर १७, ०७० मा ३९ जना पुग्यौं । उहाँले भन्नुभयो, ‘२०७१ सालमा ५२७ कलश भएका थिए । तर ०७२ सालमा २७२ मात्र भइयो, त्यसपछि साहित्य समाजको अध्यक्षको जिम्मेवारीमा रहिन । स्वास्थ्यका कारणले त्यो यात्रामा पनि प्रायः भाग लिन सकेको छैन ।’
प्रकाशित मिति २०८२ श्रावण २०, मंगलवार २१:३२ गते