लमजुङमा जनैपूर्णिमा दुध पोखरीमा तीर्थाटनका पर्यटकहरू पुग्ने गर्दछन । जनैपूर्णिमा श्रावण शुक्ल पूर्णिमा विशेष धार्मिक, सांस्कृतिक र सामाजिक महत्वको पर्व हो । हिन्दूहरूको पवित्र पर्व जनैपूर्णिमा अर्थात ऋषितर्पणीको दिन नयाँ जनै धारण र रक्षा–बन्धन गरी मनाउने गरिन्छ । तागाधारीहरूले नदी, तलाउ तथा कुण्डमा स्नान गरी आफ्ना गुरुबाट मन्त्रिएको जनै धारण गर्ने गर्दछन । हिन्दू धर्मशास्त्रअनुसार जनैलाई ब्रम्हासूत्र अर्थात ज्ञानको धागो पनि भनिन्छ । जनैपूर्णिमाको दिन रक्षाबन्धन पनि गरिन्छ । विशेष गरी तागाधारीहरूबाट सप्तऋषि गौतम, भारद्वाज, विश्वामित्र, जमदग्नि, बशिष्ठ, कश्यप र अत्रिलाई तर्पण दिने भएकाले जनैपूर्णिमा पर्वलाई ऋषि तर्पणी समेत भन्ने गरिन्छ ।
लमजुङ पूर्वमा चेपे नदी र पश्चिममा रुदीखोला र मादी नदी बिचमा पर्दछ । लमजुङमा हिमाली क्षेत्रमा मानव बस्ती छैन । ती क्षेत्रमा हिम ताल तलैया र धेरै ठाउमा भेडा बाख्रा, गाई भैंसीको चरिचरण अर्थात खर्कहरू पर्दछ । लमजुङमा विशेष गरी धार्मिक महत्व भएका तीन दूधपोखरी छन । लमजुङ, कास्की र मनाङको सिमानामा लमजुङ हिमालको फेदीमा रहेको दूधपोखरी, लमजुङ र गोरखाको सिमानामा बौद्ध हिमालको काखमा रहेको चेपे नदीको उदगम दूधपोखरी र मर्स्याङदी र दोर्दी गाउँपालिकाको सिमानामा हिमचुली हिमालको काखमा रहेको दूधपोखरी तीर्थाटनका लागि धेरै पर्यटकहरू पुग्ने गर्दछन । लमजुङ, मनाङ र कास्कीको सिमानामा रहेको दूधपोखरीमा नुहाउन जानेहरू पूर्णमाको अघिल्लो दिनमा नै थुर्जु खर्कमा बास बस्न पुग्दछन । थुर्जु खर्क देखि दूध पोखरी पुग्न तीन घन्टा उकालो यात्रा गर्नु पर्दछ । समुन्द्री सतहदेखि करीब ४ हजार ५ सय ८५ मिटर उचाईमा रहेको दूधपोखरी लमजुङ हिमालको काखमा पर्दछ ।
लमजुङमा रहेका दूध पोखरीको छुट्टा छुट्टै धार्मिक महत्वका कथा प्रशंगहरू पनि जोडिएका छन । थुर्जमा रहेको पश्चिम लमजुङको दूधपोखरी गुरुङ समुदायमा प्रचलित घाँटु नाँचको ऐतिहासिक राजा परशुराम र रानी यम्फावतीको कथा पनि धार्मिक प्रशगंमा जोडिएको छ । राजा रानीको विवाह, प्रेम कहानी, शिकार खेल्न गएको प्रसंग, विभिन्न राज्यसँगको लडाइँ, राज्यको रक्षाका लागि राजाले दिएको बलीदानी र रानी सती गएको प्रसंग घाँटुको कथाको सारांश भए जस्तै रानी यम्फावतीको हिमाली क्षेत्रमा मृत्यु भएको र बौक्दै ल्याउने क्रममा रानीको स्तन दूधपोखरीमा खसेकोले त्यस स्थानको नाम दूधपोखरी रहन गएको लोक कथा बनेको छ ।
करीब ४ हजार ८ सय मीटरको उचाईमा रहेको लमजुङ र गोरखाको सिमानामा रहेको दूधपोखरी च्यवन ऋषिको कथासंग जोडिएको छ । दूधपोखरीमा नुहाएपछि च्यवन ऋषिले पुनः जीवन पाएको धार्मिक शास्त्रमा उल्लेख छ । त्यसै गरी सामुन्द्री सतह देखि करीब ४ हजार ३५० मिटरको उचाईमा पर्ने मेमे, नार्सीङ, धर्म र दुध पोखरीको पनि छुट्टा छुट्टै धार्मिक कथा छन । अर्को तर्फ मेमे पोखरी जादा पदमार्गमा पर्ने ३ हजार ६ सय ५० मीटर उचाईमा रहेको बराहपोखरी भगवान विष्णुको वासास्थान भएको कथा छ ।
बिशेष गरी जनैपूर्णिमाको लागि दूधपोखरी पुग्ने तीर्थाटनका पर्यटकहरू आ–आफूलाई पायक पर्ने दूधपोखरीमा पुग्ने गर्दछन । पूर्वी लमजुङको दूध पोखरीमा लमजुङ मात्र नभएर गोरखा, तनहूँ र चितवन लगायतका जिल्लाबाट जनैपूर्णिमा तीर्थाटनका लागि पुग्ने गर्दछन । चेपे नदीको उदगमस्थलमा रहेको दुधपोखरी दुधपोखरी गाउँपालिका– १ मा पर्दछ । जनैपूर्णिमाका दिन दुधपोखरीमा स्नान गरी तीर्थाटन गरेमा सम्पूर्ण पाप नष्ट भै मोक्ष प्राप्त हुने र पितृलाई तर्पण दिए पितृ ऋणबाट मुक्त हुने धार्मिक विश्वास छ ।

नेपालको एक मात्र सिकार आरक्ष क्षेत्रमा पर्ने बुकीपाटनस्थित फागुन क्षेत्र । समुद्री सतहदेखि करिब चार हजार २०० मिटरको उचाईमा अवस्थित यस क्षेत्रमा बर्खायाममा हरियाली र मनोरम देखिने हुँदा आन्तर
दूधपोखरी जान तनहँुको डुम्रेबाट लमजुङको पाउँदी हँुदै गौडा, इलम पोखरी लिपेलेक भएर अथवा डुम्रे–तुतुरे पालुङटार भएर राइनासटार हुदै बिचौर भएर पनि जान सकिन्छ । दूध पोखरीमा नुहाउँदा महत्वपूर्ण केही सामान छोडिएको भएमा पनि लिन जान नहुने जनविश्वास रहेको छ । सामान लिन फर्किएमा पोखरीमा कामना गरेको मनोकामना पूरा नहुने भनाइ पनि छ । दूधपोखरी जानका लागि गोरखाको भच्चेकसम्म गाडीमा गएर भच्चेक, सिरानडाँडा, ओलाङ, खिन्पु, औलेमाडी, कालढुङ्गे हुदै पनि दूधपोखरी पुग्न सकिन्छ ।
दोर्दी गाउँपालिकाको पश्चिम उत्तरमा रहेको दूध पोखरी वरपर मेमे, नार्सीङ, धर्म पोखरी पनि पर्दछ । यी पोखरीहरू मध्ये सबैभन्दा ठूलो मेमे पोखरी रहेको छ । हिमचुली हिमालको काखमा वरिपरी हिमले चुसेका तिखा डाँडाकाँडाका बिच रहेको छ मेमे पोखरी । मेमे पोखरी र दुध पोखरी जाने बाटो धेरै छन । मेमे पोखरी जादा बाह्रपोखरी पनि पुग्ने हो भने चिति– माझगाउँ, पुरानो दुबार हुँदै बाह्रपोखरी समेत अवलोकन गरी मेमे र दूध पोखरी पुग्न सकिन्छ । अर्को बाटो बेसीशहरदेखि भुष्मे, छिनखोला, दुबार हुँदै बाह्रपोखरी पुग्ने र त्यसपछि मेमे पोखरी भएर दुध पोखरी पुग्न सकिन्छ । तर बाह्रपोखरी नपुगेर सिधै मेमे र दुध पोखरी जाने हो भने दोर्दी खोलाको शिरमा पर्ने ताजे गाउँबाट केही माथि पुगेपछि दोर्दी खोला तर्ने र उकालोबाटो भएर पनि मेमे पोखरी पुग्न सकिन्छ । उकालो बाटोमा पर्ने श्यायुडाँडाबाट सुरुहुन्छ भिर र चट्टानको सारै असजिलो बाटो । त्यसपछि भेटिन्छ जोरङडाडा । त्यसपछि पनि उकालो यात्रा गर्दै जादा भेटिन्छ छविगौंडा र उकालो सकिन्छ । दुध पोखरी र मेमे पोखरी उच्च हिमाली क्षेत्रमा पर्ने र मानव बस्तीबाट निकै टाढा भएकोले यात्रा कठिन भए पनि मनोरम प्राकृतिक दृश्यावलोकन गर्दै जाँदा प्राकृतिक सुन्दरताले यात्रामा छुट्टै अनुभव हुन्छ । मेमे पोखरी पुगेपछि नजिकै देखिन्छ नार्सीङ, धर्म र दुध पोखरी । यी पोखरी मध्य सबैभन्दा माथि दुध पोखरी पर्दछ ।
मनाङ, कास्की र पश्चिम लमजुङको सिमानामा पर्ने थुर्जु खर्कभन्दा माथिको दुधपोखरी बिशेष गरी गुरुङजातिका भेडि गोठालाहरूले पुज्ने पोखरी हो । थुर्ज खर्कमा लमजुङका ताघ्रीङ, जगत, अर्खले, सिउरुङ, धनपोखरा, भुजुङ, पसगाउँ लगायतका गुरुङ जातिहरूको भेडा गोठ भदौ महिनामा पुग्ने गर्दछ । जनैपूर्णिमाको बेला प्रत्यक गाउँहरूबाट भेला गोठालाहरूलाई खर्च पु¥याउन गाउँका चेलिबेटीसमेत थुर्जु खर्कमा पुग्दछन । जनैपूर्णिमाको दिन दूध पोखरीमा पुजा गरेपछि गुरुङ सस्कृतिको सारङी गीत गाएर रमाइलो गर्ने पुरानो परमपरा हो । यो दूध पोखरीमा आजभोलि कास्की जिल्लाका बिभिन्न गाउँ र पश्चिम लमजुङका धेरै मानिसहरू जनैपूर्णिमामा तीर्थाटनका लागि पुग्ने गर्दछन । दूध पोखरी पुग्नको लागि सैचिखर्क, मैदुखर्क, खेखु खर्क, नैसिमा, क्युबारा, तमखो, खुदिचे, सारङी पाखा हुँदै पुग्न सकिन्छ । गुरुङहरूको प्राचीन बस्ती ताङतिङदेखि करापुडाँडा– ताप्रो– क्होलासोंथर– ठूलो लेक थुर्जु दूधपोखरी– गुरुङ देउराली– डाँफे खर्क–तिमाङ जोड्ने पदमार्गको निर्माण हुन लागेको छ ।

लमजुङको हिमाली क्षेत्र प्राकृतिक सुन्दरता छ । जहा पर्यटकहरूलाई रमाउन कुनै कृत्रिमताको आवश्यता पर्दैन । प्रकृतिप्रदत्त छटा, छहरा, छाँगा, झरना, हिमाल, पहाड, ताल, तलैया, पोखरी, दह, डाँडाकाँडा, उच्च ढिस्को, वनजंगल, खहरे, खोल्सो, खोलानाला, नदी, खोँच, गल्छी, भीर, पहरा, ओढार, प्राचीन घरहरूको भग्नावशेष आदि पर्दछ । दूधपोखरी क्षेत्रको यात्रा गर्दा मनोरम प्राकृतिक दृश्य, सेता हिउँले ढाकिएको हिमाल र मनोरम पहाडी दृश्यले धेरै तीर्थाटन पर्यटकहरूको मन लोभिन्छ । दूधपोखरी फेदीका घाँसे मैदान, पहाडी भूभाग, डाँडाकाँडा, बनजंगल र समथर गाई भैंसी र भेडा गोठले यात्रामा पर्यटकहरूलाई छुट्टै अनुभूति हुन्छ । अर्को तर्फ दूध पोखरीको यात्रामा बौद्ध हिमाल, मनास्लु हिमाल, हिमचुली हिमाल, लमजुङ हिमाल र अन्नपूर्ण हिमश्रृखलाको दृश्य पनि देखिन्छ । यात्रामा मौसम खुलेको बेलामा पोखरी वरपर सुन्दर्ताको बर्णन गर्न नसकिने हजारौं रगंका प्राकृतिक हिमाली भेगमा फुल्ने रङगीचङगी पूmलहरू र त्यहाँको वातावरणले सबै तीर्थयात्रीहरूलाई मोहित बनाउछ ।

जनै पूर्णिमा किन यात्रामा ?
तर धेरैको मनमा जिज्ञासा हुन्छ जनै पूर्णिमा पर्वमा गाउँघरकै खोलानाला र मन्दिरमा पूजा गर्न सकिन्छ, ? ऋषिपूजा पनि स्थानीय देवालयमै सम्पन्न गर्न सकिन्छ भने मानिस किन दूध पोखरी जाने ? यो प्रश्नको उत्तर धार्मिक ग्रन्थ, समाजशास्त्र र मनोविज्ञानको दृष्टिबाट खोज्न आवश्यक छ । पवित्र जल र स्नानको आध्यात्मिक धारणा पनि छ । जनैपूर्णिमामा स्नान गर्ने चलनलाई शुद्धि र पापमोचनको प्रतीक मानिन्छ । सामान्यतया गाउँघरको पोखरी वा खोलामा स्नान गर्दा शरीर मात्र सफा हुन्छ । तीर्थ स्नानमात्रले जन्म–जन्मान्तरका पाप क्षय हुन्छ भन्ने विस्वास पनि छ । यसैले तीर्थस्नानलाई सामान्य स्नानभन्दा भिन्न आध्यात्मिक अनुभवको यात्रा मानिन्छ । मानिसहरू घरको पोखरी छाडेर कठिन बाटो हिँडेर दूध पोखरी पुग्नुको कारण यही हो । अर्कोतर्फ धार्मिक यात्रा आफैंमा तपस्या र आत्मशुद्धि पनि हो । धार्मिक यात्रा केवल पूजाअर्चन मात्र होइन, यो आत्मिक साधनाको एक रुप हो । जब मानिस घरमै पूजा गर्दछ भने दैनिक जीवन र संसारिक बाध्यतासँगै रहन्छ ।
तर यात्रा गर्दा, मानिस आफ्नो सामान्य परिवेश छाडेर संपूर्ण ध्यान धर्म, भक्ति र साधनामा केन्द्रित हुन्छ । लामो यात्रा, प्राकृतिक दृश्य, सामूहिक भक्ति र सांस्कृतिक मेलमिलापले मानिसलाई मानसिक ताजगी र आत्मबल प्रदान गर्छ । आधुनिक धार्मिक यात्रा आत्म– पुनः निर्माणको साधन हो । तीर्थ पुग्ने यात्रामा मानिस पुरानो तनाव, क्लान्ति र नकारात्मकता फयाँक्छ र नयाँ उर्जा लिएर फर्कन्छ । मानिस जनैपूर्णिमा वा अन्य धार्मिक पर्वमा यात्रा गर्नु केवल परम्परा वा अन्धविश्वास मात्र होइन । यो धार्मिक आस्था, सामाजिक सम्बन्ध, सांस्कृतिक निरन्तरता र मानसिक स्वास्थ्यसँग गाँसिएको बहुआयामिक अभ्यास हो । गाउँघरकै खोलामा स्नान र मन्दिरमा पूजा गरे पनि, यात्रा स्वयं एउटा आध्यात्मिक तपस्या हो । धार्मिक यात्राले शरीर र मन दुवैलाई परीक्षित बनाउँछ । समाज र संस्कृति सुदृढ बनाउँछ, र आत्मामा नवीनता र शान्ति भर्छ । त्यसैले हरेक वर्ष जनैपूर्णिमामा मानिसहरू घर छाडेर तीर्थयात्रामा निस्कन्छन । किनकि यात्रा स्वयं मुक्ति र अनुभवको अर्को संसार हो ।

दूधपोखरी जानु हुन्छ भने पदयात्राका लागि चाहिने सामग्री जुटाउनु पर्दछ । पदमार्गमा खान बस्नको लागि भेडा गोठ र गाई भैंसीका गोठ भेटिन्छन । तर पनि यात्राको लागि आवश्यक सबै बस्तु साथमा जैजान पर्दछ । पदयात्राको लागि जुत्ता बाक्लो सोल र ग्रिप भएको, झट्ट पानी नछिर्ने, हिलो र हिउँमा नचिप्लने चाहिन्छ । यात्रामा जादा फेदर डाउन ज्याकेट लगायत न्यानो लुगा साथमा हुनु पर्दछ । नियमित खाने गरेको औषधि छ भने नबिर्सिइ झोलामा राख्नु पर्दछ । अर्कोतर्फ धेरै दिनसम्म ब्याकअप दिने मोवाइलको चार्जर झोलामा राख्न बिर्सन हुँदैन ।
(लेखक : लामो समयदेखि पत्रकारितामा सक्रीय रहनु भएका उहाँ लमजुङ जन्म थलो भई दाङलाई कर्मथलोका रुपमा रोज्नु भई नेपालको पर्यटनका बारेमा विशेष दखल राख्दै कलम चलाउने गर्नु हुन्छ । – सं.)
प्रकाशित मिति २०८२ श्रावण २२, बिहीबार १६:५४ गते