
काठमाडौँ– राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वा)का सभापति रवि लामिछानेमाथि सरकारले राजनीतिक प्रतिशोध भएको भन्दै सुरु गरिएको जनताको हस्ताक्षर अभियानमा ३२ लाखभन्दा बढीले हस्ताक्षर गरिसकेको रास्वपाले जानकारी दिएको छ ।
रास्वपाले रविले कारागारबाहिरैबाट मुद्दा लड्न पाउनुपर्ने जिकिर गर्दै रुपन्देही जिल्ला अदालतलाई दिएको निवेदनमा साउन २३ सम्म ३२ लाख ६ हजार ६ सय आठले रविको पक्षमा हस्ताक्षर गरिएको उल्लेख छ । आजको केन्द्रीय समिति बैठकमा हस्ताक्षर अभियानका प्रमुख दीपक बोहोराले उक्त जानकारी दिनु भएको हो । उहाँका अनुसार हस्ताक्षर अभियानका क्रममा ६२ लाख १६ हजार ६ सय ६९ रुपैयाँ चन्दा संकलन भएको छ । गत असार ७ बाट रविबिरुद् राज्यको तहबाट राजनीतिक प्रतिशोध साधिएको भन्दै जनताको हस्ताक्षर अभियान सुरु भएको थियो ।
रवि विरुद्ध राजनीतिक प्रतिशोध साधिएको भन्दै रास्वपाले राजनीतिकर्मी, कलाकार र जनताको हस्ताक्षर संकलन गर्दै आएको छ ।
सहयोग रकम ६२ लाख १६ हजार ६६९ रुपैयाँ उठेको प्रवक्ता मनिष झाले जानकारी दिनुभएको छ ।
रास्वपा सभापति रविउपर सरकारले थोपरेको संगठित सहकारी ठगी प्रकरण मुद्दामा हाल भैरहवास्थित कारागारमा पुर्पक्षका लागि थुनामा राखिएको छ ।
ईश्रा मिया रास्वपाको केन्द्रीय सदस्यमा पुनः नियुक्त :
यसैबीच, रास्वपाको केन्द्रीय सदस्यमा ईश्रा मिया पुनः नियुक्त हुनु भएको छ । हज कमिटीको अध्यक्षमा नियुक्त भएपछि मियाले पार्टीको केन्द्रीय सदस्यबाट राजीनामा दिनु भएको थियो । पार्टी केन्द्रीय कार्यालय बनस्थलीमा बसेको केन्द्रीय समिति बैठकले मियालाई पुनः केन्द्रीय सदस्यमा नियुक्त गरेको हो ।
पार्टीको रिक्त रहेको केन्द्रीय श्रम तथा उपभोक्ता हित विभाग प्रमुखमा श्याम बाबु गौतमलाई मनोनयन गर्ने निर्णय पनि गरिएको प्रवक्ता मनिष झाले बताउनु भयो । उहाँका अनुसार केन्द्रीय सार्वजनिक लेखा समीक्षा विभागको प्रमुखमा गोकुल सापकोटालाई मनोनयन गर्ने निर्णय गरिएको छ ।
सो बैठकमा केन्द्रीय विभागको प्रगति प्रतिवेदन, कुलिङ अफ पिरियडमा भएको गडबडी छानबिन प्रतिवेदन र समसामयिक राजनीतिक एवं पार्टीका गतिविधिसम्बन्धमा छलफल भएको रास्वपाले जनाएको छ ।
सो बैठकमा विभिन्न १३ बुँदाको एजेण्डामाथि छलफल चलिरहेको पार्टीका प्रवक्ता मनिष झाले बताउनु भयो । उहाँका अनुसार बैठकमा पूर्व केन्द्रीय सदस्यहरूलाई पुनः जिम्मेजारी दिने, विदेशमा रहेका नेपाली नागरिकलाई मताधिकारको व्यवस्था गर्न सरकार र सम्बन्धित निकायको ध्यानार्कषण गराउनेदेखि केन्द्रीय विभाग र प्रदेश विभागको नयाँ नियुक्ति सम्बन्धमा छलफल भइरहेकोछ ।
प्रकाशित मिति २०८२ श्रावण २३, शुक्रबार १८:२७ गते