
लमजुङ– येन बद्धो वलिःराजा दानवेन्द्रो महावलः । तेन त्वां प्रतिबध्नामि रक्ष माचल माचल ।।
अर्थात् ‘जसरी सत्ययुगमा दानवद्वारा लखेटिएका देवगणलाई बचाउन गुरु वृहस्पतिले रक्षाविधान गरी तयार गरेको रक्षाबन्धन(डोरो)बाट अत्यन्त वलशाली दानवराज वलिलाई बाँधेका थिए, त्यसरी नै म तिमीलाई बाँद्धछु, यसले तिमी सुरक्षित बन, विचलित नहोऊ ।’ भन्ने अर्थ भएको पौराणिक मन्त्र पढेर रक्षाबन्धन बाँध्ने को परम्परा छ । आज साउन २४ गते यही मन्त्रोच्चारण सहित रक्षाबन्धन बाधिन्छ र तागाधारीहरूले नयाँ जनै फेर्दछन् ।
जनै पूर्णिमाको दिन मन्दिर, खोला, पोखरी, पानीको मूल आदि स्थानमा व्रम्हाणद्वारा मन्त्रोच्चारण गरी जनै फेर्ने वा रक्षवन्धन बाँध्ने गरिन्छ । रातो, पहेंलो रंगको डोरा बाँध्ने गरिन्छ । यसरी विधीपूर्वक डोरा बाँधेपछि रोग ब्याध नलाग्ने, सुख शान्ति मिल्ने हुन्छ भन्ने धार्मिक मान्यता छ ।
जनैमा प्रयुक्त हुने नौ डोरा ३ ग्रन्थि वा शिखाहरूले ईश्वरीयज्ञान र जीवनचक्रबारे वास्तविक रहस्य बुझ्नेमा मार्गदर्शन गर्न सहयोग गर्छन । यी कर्महरू गर्दा व्यक्ति, देवऋण, ऋषिऋण र पितृ ऋणबाट मुक्त हुने धार्मिक विश्वास छ । दानवी शक्तिबाट रक्षित हुनका लागि आजैका दिन रक्षाबन्धन वा हातेडोरो बाँध्ने गरिन्छ । जनैपूणिर्माको दिन बाँधिएको रक्षाबन्धन गाई तिहारका दिन गाईको पुच्छरमा बाँधि दिएमा मृत्युपछि वैतरणी नदी सजिलै पार हुने जनविश्वास छ ।
सिद्धार्थ गौतमले आजकै दिनमा काम शक्तिमाथि विजय प्राप्त गरेको स्मरण गर्दै बौद्ध धर्मावलम्वीहरूले पवित्र तिर्थहरूमा गई मेला भर्ने गर्दछन् । आजका दिन शैलुङ, कालिञ्चोक, हलेसी, नगरकोट लगायतका पर्वतीय शिखरहरूमा समेत मेला लाग्ने गर्दछ ।
धार्मिक कथन अनुसार सत्य युगमा दानवद्वारा लखेटिएका देवगणलाई गुरु वृहस्पतिले रक्षा विधान तयार गरी जोगाएका तथा वामन अवतार विष्णुले राजा बलिलाई डोरो बाँधी वचनबद्ध गराएर तीनै लोक लिएको किम्वदन्तीसँग पनि रक्षाबन्धनको सम्बन्ध छ ।
पौराणिक कथा अनुसार देवराज इन्द्र र दैत्यराज वृत्तासुरबीच १२ बर्षसम्म भयानक युद्ध चर्किएको थियो । उक्त युद्धमा असुरहरूले देवतामाथि विजय प्राप्त गरेका थिए । पराजित देवगण धर्म एवं संस्कारविहिन भएर जीवनयापन गर्न थाले । यता इन्द्रले उनीहरुसँग पुन अन्तिम युद्ध गर्ने संकल्प गरे । त्यो दिन श्रावण शुक्ल चर्तुदशीको दिन थियो । देवगुरु वृहस्पतिले अघिल्लो दिन इन्द्रको कल्याण एवं विजयको काममना गरी श्रावणमासको पूर्णिमाको शुभमूर्हुतमा इन्द्रलाई रक्षाबन्धन बाँधेर बल प्रदान गरेका थिए ।
यसलाई आधुनिक समाजमा आफ्नै दानवरुपी प्रवृत्तिलाई बाँधेर वा नियन्त्रणमा राखेर त्यसमाथि विजय हासिल गर्ने सांकेतिक पर्व हो, रक्षा बन्धन । अर्थात हामी पथभ्रष्ट भएर गएका छौं । कुविचार, कुसंस्कार, कुदृष्टिले हामीलाई दानव बनाइरहेको छ । तामासिक खानपान, रहनसहनले हामी आफैलाई नष्ट गर्दैछ । यसरी आफ्नै खराब प्रवृत्तिमाथि नियन्त्रण राख्नका लागि वा त्यसबाट सुरक्षित रहनका लागि रक्षाबन्धन बाँध्ने चलन चलाइएको हो ।
रक्षाबन्धन बाँधेपछि मन, बचन र कर्मलाई पनि पवित्र बनाउनुपर्छ । यो आत्म अनुशासनको एउटा विधी समेत हो ।
हरेकजसो पर्वलाई हामी विजयोत्सवको रुपमा पनि मनाउने गछौं । रक्षाबन्धन पनि मर्यादा र आत्मा निग्रहद्वारा मृत्युमाथि विजय प्राप्त गर्ने पर्वको रुपमा मानिन्छ । सूत्र आत्माको मर्यादा र संयमको प्रतिक हो । सूत्र कुनैपनि वस्तुलाई अविछिन्न गर्ने वस्तु हो । रक्षाबन्धनको अर्थ अविचलित भएर पवित्रताको पालना गर्नु पनि हो । भनिन्छ, पवित्रताद्वारा नै मृत्युमाथि विजय प्राप्त गर्न सकिन्छ भन्ने धार्मिक मान्यता रहेको छ ।
नेपालको तराई तथा भारतमा आजकै दिन राखी बाध्ने प्रचलन छ ।
प्रकाशित मिति २०८२ श्रावण २४, शनिबार ०७:०१ गते