खोज खबर तथा बौद्धिकताका स्तम्भ बरालको निधन

खोज खबर तथा बौद्धिकताका स्तम्भ बरालको निधन

नवराज पहाडी

@antaranganews

२०८२ साउन २९ गते बिहिबार ०७:१६

आजको जमानामा पनि लमजुङमा स्थापित लेखकहरू जन्मन नसक्नु र त्यसतर्फ स्थानीय सरकारहरू समेत उदासिन हुनु दर्भाग्यपूर्ण स्थिति हो । कर्ममा विश्वास गर्नु हुने स्व. बराल त्यस्तो खाडललाई पूरा गर्न आफै अभ्यास्त हुनुका साथै प्रेरणाका पुञ्ज हुनुहुन्थ्यो ।

मुटुमा सिर्जिएको समस्याका कारण उहाँ पछिल्लो एक वर्षदेखि उपचाररत हुनुहुन्थ्यो भने गत असारमा मात्र एनजिओ प्लाष्ट गरिएको थियो ।

बेसीशहर– लमजुङका शैक्षिक धरोहर, खोज खबर तथा बौद्धिकताका स्तम्भ बुद्धिसागर बरालको असामयिक निधन भएको छ । बेसीशहर नगरपालिका– ८ को सेरा निवासी उहाँको उपचारको क्रममा काठमाडौंमा साउन २८ गते निधन भएको हो । उहाँ मात्र ७१ वर्षीय हुनुहुन्थ्यो ।
मुटुमा सिर्जिएको समस्याका कारण उहाँ पछिल्लो एक वर्षदेखि उपचारमा काठमाडौं जाने– आउने गर्नु हुन्थ्यो । पछि केही अशक्त जस्तो हुनुभयो । गत असारमा मुटुको त्रि.वि.मनमोहन हृदयरोग केन्द्रमा एनजिओ प्लाष्ट (शल्यक्रिया) गरी उहाँ निरन्तर डा.को निगरानी (१५/१५ दिनमा जचाउने)मा हुनुहुन्थ्यो । ‘बडादशैंसम्म गाउँमा आउँछु होला !’ उहाँले यो पंक्तिकारलाई सुनाउनु भएको थियो । तर अप्रत्यासित रुपमा हिजो उहाँको निधन हुन गएको दुःखद खबर आयो ।
स्वर्गीय बराल बौद्धिक व्यक्तित्व त हुनुहुन्थ्यो नै सरलता, कर्तव्य निष्ट, सकेसम्म कसैप्रति कटु बचन व्यक्त नगर्ने, मिलनसार व्यक्तित्वकासमेत धरोहर हुनुहुन्थ्यो । साथै लमजुङबाट प्रकाशित पहिलो पत्रिका अन्तरङ्ग राष्ट्रिय साप्ताहिक (जसले यही साउनमा ३३ औं वर्ष पुरा गरेको छ)मा धाराबाहिक रुपमा प्रकाशन हुँदै आएको ‘खोज खबर’ स्तम्भमा स्तम्भकारसमेत हुनुहुन्थ्यो । उहाँले उक्त पत्रिकामा डेढ दशक बढी समयसम्म सो स्तम्भमा निःशुल्क रुपमा सो सेवा उपलब्ध गराउनु भएको थियो । उहाँ २०५७ सालदेखि अन्तरङ्गमा जोडिनु भएको हो । तर बिचमा अन्तरङ्ग काठमाडौंबाट प्रकाशित हुँदा भने उहाँले स्तम्भलाई निरन्तरता दिन सक्नु भएको थिएन । २०७० सालदेखि अन्तरङ्ग पुनः लमजुङबाट प्रकाशन हुन थालेपछि उहाँले फेरि कलम चलाउन थाल्नु भएको हो । देख्नमासहज जस्तो लागेता पनि साप्ताहिक रुपमा नियमित स्तम्भ लेखन कार्य सजिलो छैन । तर उहाँले निरन्तर स्थानीय र राष्ट्रियस्तरका समसामयिक कुनै न कुनै विषयमा कलम चलाउनु भएको थियो ।
आजको जमानामा पनि लमजुङमा स्थापित लेखकहरू जन्मन नसक्नु र त्यसतर्फ स्थानीय सरकारहरू समेत उदासिन हुनु दर्भाग्यपूर्ण स्थिति हो । कर्ममा विश्वास गर्नु हुने स्व. बराल त्यस्तो खाडललाई पूरा गर्न आफै अभ्यास्त हुनुका साथै प्रेरणाका पुञ्ज हुनुहुन्थ्यो ।
उहाँ देश बरवादीतर्फ अघि बढिरहेकोमा निकै चिन्ता थियो । राष्ट्रियताको मर्ममा प्रहार भएकोमा, स्थानीय तहहरूमा विकृति झ्याङ्गिएकोमा, शिक्षाको स्तर खस्केकोमा अनि विकासले सही गति लिन नसकेकोमा तथा सुशासनका टुल्सहरू भत्किएकोमा निकै चिन्तित हुनुहुन्थ्यो । आफ्नो स्तम्भमा समेत उहाँले त्यस्ता विषयहरू पटक पटक उठाउनु भएको थियो ।
जीवनको जवानकालमा वामपन्थी विचारधारा तथा आन्दोलनमा सक्रिय हुनु भएता पनि पछिल्ला दिनमा भने उहाँले स्वतन्त्र चिन्तकका रुपमा आफू उभिने गर्नु भएको थियो । तथापि जवानीको भोगाईको ह्याङ्ओभर भने कहिले काहीँ उहाँको दैनिकीमा नदेखिने गरेको भने होइन ।
अधिवक्ता, बार एकाई लमजुङका निवर्तमन अध्यक्ष समेत रहनु भएका उहाँ जिल्ला सदरमुकाम बेसीशहरमा रहेको जन विकास माविमा लामो समयसम्म प्रधानाध्यापक हुनुका साथै निवृत्त पछि व्यवस्थापन समितिको सदस्य समेत हुनुभयो । रेडक्रस, स्काउटमा समेत आवद्ध उहाँ वराल वंश प्रतिष्ठानका पूर्व केन्द्रीय सदस्य, नेपाल निवृत्त शिक्षक समाज लमजुङका सल्लाहकार समेत हुनुहुन्थ्यो ।
स्वतन्त्र चिन्तक बुद्धिसागर बरालको ७१ वर्षको उमेरमा असामयिक निधनले नेपाली समाजमा अपूरणीय क्षति भएको छ । उहाँ कम्तिमा राष्ट्रकवि जस्तै सय वर्ष बाच्नु पर्दथ्यो । उहाँबाट समाजले पाउनु पर्ने विषयवस्तु धेरै थियो तर त्यो सबै उहाँसँगै अस्ताएको छ ।
उहाँको काठमाडौंको पशुपति स्थित शवदाह गृहमा उहाँको अन्तिम संस्कार गरिएको छ ।
गोविन्द बराल र बालकुमारी बरालका जेष्ठ सुपुत्रका रुपमा २०११ सालको साउन ११ गतेका दिन जन्मनु भएका बरालका श्रीमती, दुई छोरा तीर्थसागर र पुष्पसागर तथा २/२ जना नातिनातिना हुनुहुन्छ ।
अन्तरङ्ग परिवार स्वर्गीय आत्माको चिरशान्तिको कामना गर्दै भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दछ । स्व. आत्माको वैकुण्ठ बास होस् भन्ने कामनाका साथ उहाँको शोक सन्तप्त परिवार जनप्रति गहिरो समवेदना व्यक्त गर्दछ ।

प्रकाशित मिति २०८२ श्रावण २९, बिहीबार ०७:१६ गते
हजुरको प्रतिक्रिया