
बेसीशहर– लमजुङको जिल्ला सदरमुकाम बेसीशहरमा सञ्चालनमा रहेका सहकारीका ठगी काण्ड एकपछि अर्को बाहिरिन थालेको विदितै छ । जिल्ला सदरमुकाम बेसीशहरमा केन्द्रीय कार्यालय रहेको सुनौलो भविष्य बचत तथा ऋण सहकारी संस्थाका सञ्चालकहरूका विरुद्ध छ करोड ५४ लाख रुपैयाँ ठगी गरेको विगो दावी गर्दै जिल्ला अदालतमा मुद्दा दर्ता भएको छ । त्यस सहकारी संस्थामा स्थापनाकालदेखिनै विभिन्न जिम्मेवार पदमा रहदै आउनु भएका वर्तमान उपाध्यक्ष, बेसीशहर नगरपालिका– ३ का निवासी अरुणकान्त घिमिरे यतिबेला चीनमा सयर गरिरहेको साउन ३० गते खुल्न आएको छ ।
अरुणकान्त घिमिरे २०६९ मंसिरमा पहिलो अधिवेशनबाट निर्वाचित कार्यकारी सदस्य, २०७१ मा कोषाध्यक्ष तथा लेखा समितिको संयोजक, २०७४ मा सचिव, २०७७ तथा ०७८ को पुस महिनादेखि हालसम्म उपाध्यक्ष रहेको सो संस्थाको रेकर्डमा उल्लेख छ ।
यसैगरी, घनबहादुर कुताल पनि सुरुदेखि नै संस्थामा आवद्धता देखिन्छ । संस्थापक सचिव रहनु भएका कुताल तेस्रो कार्यकालसम्म सचिव, चौथो कार्यकालमा उपाध्यक्ष रहेर २०७७ मंसिर ७ गतेसम्म जिम्मेवारीमा रहेको देखिन्छ ।
त्यस्तै, भक्त नमूना माविको शिक्षकसमेत रहनु भएका थकितप्रसाद अधिकारी(यात्री) २०६९ मंसिरमा लेखा समितिको सदस्य, २०७१ मा लेखा समितिको संयोजक, २०७७ को कार्यकाल तथा ०७८ पुस महिनादेखि हालसम्म लेखा समितिको संयोजक रहेको सो संस्थाको रेकर्डबाट देखिएकोछ ।
यतिबेला समितिलाई सबैभन्दा बढी असहयोग उपाध्यक्ष अरुणकान्त घिमिरेबाट भएको सो सहकारीका सञ्चालकहरूले बताएका छन् । उनको जिम्ममा ४१ लाख रुपैयाँ रहेको र त्यो रकम तिर्नका लागि सकार समेत गरेका घिमिरेले पैसा दिन भने आलटाल गरिरहेको उनीहरूको भनाइ छ । यसरी आफू पटक पटक जिम्मेवार पदमा रहेको सहकारीका विरुद्धमा ठगी आरोपको मुद्दा लागिरहदा उनी भने चिनको सयरका तल्लित रहेको स्रोतले बताएको छ ।
लामो सयम लेखा समितिको संयोजक रहेका कित यात्रीले संस्थाबाट लिएको ऋण दुई लाखमध्ये एक लाख तिरेको र सावा एक लाख र व्याज रकम तथा उहाँले आफ्नो पालामा ऋण लगानी गरी खराब कर्जामा परिणत भएको ऋण ५० लाखभन्दा माथि रहेको स्रोतले बताएको छ । स्रोतका अनुसार उहाँ पनि समितिको सम्पर्कमा आउन नरुचाएको बुझिएको छ ।
त्यस्तै, एक करोड ७० लाख रुपैयाँ बराबरको नक्कली लेखापरीक्षण प्रतिवेदन तयार गर्नका लागि नेपाली काँग्रेसका जिल्ला उपसभापति समेत रहनु भएका आनन्द घिमिरे जिम्मेवार देखिएको सहकारी रजिष्टार कार्यालय गण्डकी प्रदेश पोखराले औंल्याएको छ ।
सो कार्यालयले अनुगमन गर्दा आफू कुनै जिम्मेवारीमा नरहेको भनेता पनि घिमिरे लेखा समितिको संस्थापक संयोजक रहेको र त्यसका नाताले बैठकमा उपस्थिति जनाएको प्रमाण फेला परेको समेत प्रतिवेदनमा उल्लेख छ ।
त्यस्तै, नेपाली काँग्रेसका गण्डकी प्रदेश सदस्य हरिप्रसाद बराल पनि सो काण्डमा जोडिनु भएको छ । उहाँ २०७४ को असोज २८ गते गठित समितिको लेखा संयोजक रही ०७७ मंसिर ७ गतेसम्म बहाल रहेको प्रतिवेदनले देखाएको छ । सो सम्बन्धमा बरालसँग सम्पर्क गर्दा उहाँले आफ्नो पालामा कुनै पनि प्रकारको त्रुटीपूर्ण काम नगरेको, ऐले पनि सहकारीको खातामा आफ्नो नामको खातामा एक लाख ८५ हजार रुपैयाँ साँवा रहेको जानकारी दिनुभयो । उहाँले भन्नुभयो, ‘यो समस्या सिर्जिएको थाहा भएपछि समस्या समाधानका लागि आफूले संस्थालाई पछि फिर्ता लिने गरी अढाई लाख रुपैयाँ सहयोग गरेको छु, मेरो पालामा कुनै पनि गलत काम भएको छैन । यति कसैले त्यस्तो प्रमाणित गर्न सक्छ भने के सजाय भोग्नु पर्ने हो, तयार छु ।’
सो सहकारी काण्डमा मुख्य करार गरिनु भएका पदम रावत जो सो सहकारीमा लेखा समितिको संयोजक, व्यवस्थापकदेखि अध्यक्षको समेत जिम्मेवारीमा रहेको देखिन्छ, उहाँलाई साउन २५ गते नै प्रहरीले जिल्ला अदालतमा पेश गरी सात दिनको अनुसन्धान म्याद लिएको छ । उहाँको बयानका आधारमा पनि प्रहरीले केही व्यक्तिहरूलाई पक्रनका लागि खोजी तिब्र बनाएको जानकारीमा आएको छ ।
पक्राउ पुर्जी जारी भएकाहरू सबैको खोजी तिब्र पासरिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
प्रकाशित मिति २०८२ श्रावण ३०, शुक्रबार १५:३६ गते