क्ब्होलासोथारका दुई दीर्घरोगीले पाए हङकङबाट उपचार खर्च

क्ब्होलासोथारका दुई दीर्घरोगीले पाए हङकङबाट उपचार खर्च

अन्तरङ्ग न्युज

@antaranganews

२०८२ साउन ३१ गते शनिवार ०७:५०

‘बुवा पनि ५६ वर्षकै उमेरमा क्यान्सरकै कारणले बित्नु भएको थियो ऐले दिदीलाई पनि त्यही समस्या दोहोरिय, दिदीको उपचारमा चार लाख बढी खर्च भइसक्यो अझै ७– ८ महिना उपचार गर्नु पर्छ भन्ने डाक्टरको राय छ ।’ टस गुरुङले बताउनु भयो ।

क्ब्होलासोथार गाउँपालिका– ४ का गमबहादुर गुरुङ र सोही पालिका– ७ चरागाउँकी आइतकुमारी गुरुङले उपचार खर्च वापत जनही तीन लाख ४३ हजार ३५० रुपैयाँ हस्तान्तरण गरिएको हो ।

बेसीशहर– क्ब्होलासोथार गाउँपालिकाका दुई दीर्घरोगीले उपचार खर्च पाएका छन् । हङकङ लमजुङ सेवा समिति, लमजुङले क्ब्होलासोथार गाउँपालिका– ४ का गमबहादुर गुरुङ र सोही पालिका– ७ चरागाउँकी आइतकुमारी गुरुङले उपचार खर्च साउन ३० गते पाएका हुन् ।
हङकङ लमजुङ सेवा समितिका संरक्षक एवम् संविधानसभा सदस्य जमिन्द्रमान घले, सो संस्थाका संस्थापक सदस्य एवम् बेसीशहर खानेपानी तथा सरसफाई उपभोक्ता समितिका अध्यक्ष रामबहादुर गुरुङ र सो संस्थाको लमजुङ सम्पर्क समितिका अध्यक्ष एवम् रेडियो मर्स्याङदीका निर्देशक मीना गुरुङले संयुक्त रुपमा जनही तीन लाख ४३ हजार ३५० रुपैयाँ उपचार सहयोग रकम पत्रकारहरूको रोहबरमा हस्तान्तरण गर्नु भएको हो । सो रकम क्ब्होलासोथार गाउँपालिका– ४ का विरामी गमबहादुर गुरुङ आफैले र चरागाउँकी आइतकुमारी गुरुङका लागि उहाँका भाइ एवम् लोकगायक टसबहादुर गुरुङलाई हस्तान्तरण गरिएको हो ।
५० वर्षीया आइतकुमारी गुरुङलाई पाठेघरको मुखको क्यान्सर भएको छ भने गमबहादुर गुरुङ भिरबाट लडेको कारणले पक्षाघातको समस्या भोगिरहनु भएको छ । दिदीलाई मासिक रुपमा पाँच पटक सेक्ने र एक पटक केमो चढाउनु पर्ने केमो चढाउनु अघि र पछि डाक्टरी जाँच अनिवार्य गर्नु पर्ने हुँदा मासिक ८६ हजार खर्च लाग्ने गरेको टस गुरुङले बताउनु भयो । उहाँका अनुसार गत चैतमा मात्र दिदीलाई क्यान्सर पुष्टि भएको थियो, शल्यक्रिया गर्न नमिल्ने भएको हुँदा सेक्ने र केमो चढाउने गर्नु परेको हो ।
क्यान्सरको त पहिचान नै कठिन हुने रहेछ, नवौं पटकको परीक्षणमा बल्ल पहिचान भएको हो टस गुरुङले जानकारी दिनु भयो । उहाँका अनुसार बुवा पनि ५६ वर्षकै उमेरमा क्यान्सरकै कारणले वित्नु भएको थियो ऐले दिदीलाई पनि त्यही समस्या दोहोरियो । उहाँले भन्नुभयो, ‘दिदीको उपचारमा चार लाख बढी खर्च भइसक्यो अझै ७– ८ महिना उपचार गर्नु पर्छ भन्ने डाक्टरको राय छ ।’
५२ वर्षीय गमबहादुर गुरुङले आफू भिरबाट लडेर टाउको, कम्मर लगायत शरिरका विभिन्न भागमा चोट लागेर पक्षाधात भएको बताउनुभयो । ऐले पनि बारम्बार चेकअपमा गइरहनु पर्छ उहाँले भन्नुभयो । उहाँका अनुसार पोखरामा उपचार गर्न नसकेपछि काठमाडौं गएको हो । डेढ महिनाको अन्तरमा जचाउन जानु पर्छ ।
१९९८ मा हङकङ लमजुङ सेवा समिति, लमजुङ हङकङमा विभिन्न पेशा व्यवसाय गरी बस्ने लमजुङेहरूको स्थापना गरेको संस्था हो । त्यसले लमजुङमा त्यसको सम्पर्क समिति २०७१ मा स्थापना भएको हो । स्थापनाकालदेखि नै सो संस्थाले यस्ता मानवीय सेवाका अतिरिक्त शिक्षा, खेलकुदका क्षेत्रमा पनि सेवा गर्दै आएको छ ।
सो संस्थाले मानवीय सेवा तथा विकासका लागि ४४ लाख रुपैयाँको अक्षयकोष बनाइसकेको छ भने त्यो कोषलाई एक करोड बनाउने लक्ष्य रहेको लमजुङ सम्पर्क समितिका अध्यक्ष मीना गुरुङले जानकारी दिनु भयो ।

प्रकाशित मिति २०८२ श्रावण ३१, शनिबार ०७:५० गते
हजुरको प्रतिक्रिया