आर्य संस्कृतिमा दिदी बहिनी र भाजु भाइको आपसी नाता सम्बन्ध र सदभावको अनुपम नमूना पर्व तीज र तिहार हो : भूमि आयोगका जिल्ला अध्यक्ष अधिकारी

आर्य संस्कृतिमा दिदी बहिनी र भाजु भाइको आपसी नाता सम्बन्ध र सदभावको अनुपम नमूना पर्व तीज र तिहार हो : भूमि आयोगका जिल्ला अध्यक्ष अधिकारी

अन्तरङ्ग न्युज

@antaranganews

२०८२ भदौ २ गते सोमबार १०:३८

त्यो बेलामा चेलीहरूले आफ्नो भोगाईका उदगारहरू यसरी प्रस्तुत गर्दथे भन्दै उदहारण प्रस्तुत गर्दै अधिकारीले गाउनु भयो, ‘रुँदै रुँदै म घर जाँदा बाबाले फर्केर हेरेनन्, चुहिने गौवा, बैगुनी भैंसी बाबालाई कहिल्यै नटुटोस् ...... !’

सिर्जनशील मूलपानी आमा समूह बेसीशहर नगरपालिका– ३ का अध्यक्ष कान्ता घिमिरेको नेतृत्वमा आएको टोलीले परम्परागत तीज गीत गाउने तथा नाच्ने कार्य गरेर मनोरञ्जन प्रदान गर्नु भएको थियो ।

बेसीशहर– ‘आर्य संस्कृतिमा दिदी बहिनी र भाजु भाइको आपसी नाता सम्बन्ध र सदभावको अमुपम नमूना पर्वका रुपमा तीज र तिहार रहेका छन् ।’ प्रस्तुत भनाइ भूमि समस्या समाधान आयोग लमजुङका जिल्ला अध्यक्ष दामोदर अधिकारीका हुन् । उहाँले ठाडोभाका लोककला प्रतिष्ठान नेपालद्वारा यहाँ आयोजना गरिएको ठाडोभाका प्रस्तुति तथा दर खाने कार्यक्रमको उदघाटन गर्दै भदौ २ गते त्यस्तो बताउनु भएको हो ।
प्रतिष्ठानका सल्लाहकार समेत रहनु भएका उहाँले भन्नुभयो, ‘आर्य संस्कृति भित्र विभिन्न जातजाति, जनजाति आदि सबै पर्दछन् ।’ त्यो संस्कृतिमा तिहारको बेलामा यम पञ्चकका पाँच दिन दिदी बहिनीलाई दाजुभाइले आफ्नो घरमा बोलाउने हैन, उनीहरूको घरमा गएर बस्ने हो । दाजुभाइले दिदीबहिनीले ढाकोमा पिपलको पातमा बेरेको दुबो र तेल लगाएको घेरा नाघेर हिड्न मिल्दैन, त्यसैले दिदीबहिनी र दाजुभाइप्रतिको सम्बन्धलाई प्रगाढ बनाउँछ भन्नुभयो ।
त्यसैगरी, तीजको बेलामा पनि दिदीबहिनीहरू माइतमा तीजको दरखाने अघिल्लो दिनमै गएर पञ्चमीको दिन नसकिदासम्म माइतीमा बस्ने मिठो, मसिनो खाने, ब्रत बस्ने लगायतका काम गर्ने संस्कृति रहेको छ । यो अनुपम छ यस कार्यले पनि दिदीबहिनी र दाजुभाइप्रतिको नाता सम्बन्ध र सदभावलाई प्रगाढ बनाउँछ, यति महत्वको छ तीज पर्वमा अहिले विक्रिति भित्रदै भन्दै उहाँले दुःख व्यक्त गर्नुभयो ।
उहाँले भन्नुभयो, ‘तीजको बेलामा उहिल्यै गाइने गीत कति रसपूर्ण अनि करुणा र वेदनाले भरिएका यथार्थ परक थिए भनिसाध्य छैन भन्दै उदाहरण रुपमा गीत समेत गाएर सचेतना फौलाउने काम गर्नु भएको थियो ।
प्रमुख अतिथिले तीजका पुराना गीत गाएर सहभागीहरूलाई चकित :
आफ्नो सम्बोधन क्रममा प्रमुख अतिथि अधिकारीले तीजका पुराना गीत गाएर सहभागीहरूलाई चकित बनाउनु भएको थियो । उहाँले भन्नुभयो, ‘ ‘जुन बेलामा सासु, ससुरा, जेठाजु, जेठानी अगाडि नतमस्तक भई बस्नु पर्नै ठाडै बोल्न सक्ने परिस्थिति हुुन्नथ्यो ।’ त्यो बेलामा चेलीहरूले आफ्नो भोगाईका उदगारहरू यसरी प्रस्तुत गर्दथे भन्दै उदहारण प्रस्तुत गर्दै अधिकारीले गाउनु भयो, ‘रुँदै रुँदै म घर जाँदा बाबाले फर्केर हेरेनन्, चुहिने गौवा, बैगुनी भैंसी बाबालाई कहिल्यै नटुटोस् …… !’


त्यस्तै, उहिले घरमा भएका गहना चाडपर्वहरूमा समेत लगाउन नदिने परिस्थितिको उजागर गर्दै यसरी गाउथे भन्ने उदाहरण प्रस्तुत गर्नु भयो, ‘हामीले लाउन नपाएका गहना आइज न लैजा डाँका चोर ……….. !’
यसैगरी, गहनाका सन्दर्भमा श्रीमान् श्रीमती बीचको वार्ता प्रसङ्गलाई उद्धृत गर्दै भन्नुभयो, ‘झम झम तीज आयो भन्छन्, कमाइदेउ राजै गहना !’ त्यसको प्रतिउत्तरमा श्रीमान् भन्छन्, ‘तिमी त बहुर कालीमा छौ र सुहाँउदैन गहना !’ त्यसपछि श्रीमती भन्छिन्, ‘वेदका अक्षर काला हुन्छन् राजै, नहेर राजै पुस्तक ….. !’
श्रीमान् भन्छन्, ‘यतिका बचन जानी नलाउ नारी दोसरी बिहा घन्काउला !’ त्यसको प्रति उत्तरमा ‘दोसरी विहा घन्काए नि राजै ! मजस्ती नारी पावैनौ । त्यसको प्रति उत्तरमा श्रीमान् भन्छन्, ‘रातोमा डोली कालोमा चमर तिम्रै मन धर्काउँला !’ त्यसको जवाफमा श्रीमती भन्छिन्, ‘सत्यको सन्दूर पहिरिएको भए स्वामीको मन फर्काउँला !’
ऐले पनि दिदीबहिनीले समाजमा भएका विक्रिति तथा राम्रा कुरा अघि बढाउन नसकेको परिस्थितिको उजागर गर्दै समाजको वास्तविकतालाई तीजको गीतमा पस्कन सक्नु भयो समाज र संस्कृतिको संरक्षण हुन सक्ने उहाँले अनुरोध गर्नुभयो ।
तर हिजोआजका छाडा गीतले हाम्रो मौलिक संस्कृतिका नाउँमा गलत काम भइरहेको छ, उहाँले भन्नुभयो । हाम्रो संस्कृति जुनकुर्न पनि कार्य गर्दा दियोे बालेर अन्धकारलाई नास गर्दै अघि बढ्ने हो तर हिजोआज जन्म दिनमा समेत बालेको बत्ती निभाएर, केक काटिन्छ, यो हाम्रो संस्कृति होइन उहाँले उल्लेख गर्नुभयो ।
उहाँले ठाडोभाका प्रतिष्ठानले मौलिक संस्कृति बचाउ चालेको कदम प्रशंसनीय रहेको समेत बताउनु भयो । उहाँले भन्नुभयो, ‘लोप हुने स्थितिमा पुगेको ठाडोभाका यो प्रतिष्ठान जन्मेपछि जहाँ जहाँ नेपाली छन् ती देशमा पनि पुगेको छ यो गर्वको कुरा हो । उहाँले नयाँ पुस्तामा पनि ठाडोभाका हस्तान्तरणको प्रयास हुनु अर्को सराहनीय पक्ष हो भन्नुभयो ।
कार्यक्रम तथा आयोजक ठाडोभाका लोककला प्रतिष्ठान नेपालका अध्यक्ष नवराज पहाडीले धन्यवाद मन्तव्य सहित प्रतिष्ठान दशौं वर्ष प्रवेश गरेको खुशीयालीमा पहिलो पटक दरखाने कार्यक्रम गरेको जानकारी दिदै अबका दिनमा प्रतिष्ठानको कार्य विगतको भन्दा परिस्कृत एवम् स्तरीय हुनुका साथै नयाँ नयाँ हुनेछन् भन्नुभयो ।
दर कार्यक्रममा सल्लाहकार अधिकारीबाट तीन हजार प्राप्त :
सो अवसरमा अध्यक्ष पहाडीले आजको दर कार्यक्रमको खर्चबारेमा जानकारी दिदै भन्नुभयो, ‘कुल खर्चको आधा रकम प्रतिष्ठानका संरक्षक एवम् ठाडोभाका महानायक बुद्धिमान दुरा धम्पुले बेहोर गर्ने बेलायतबाट शुभकामना सहित खबर पठाउनु भएको छ’ भन्नुभयो । यसैगरी, प्रतिष्ठानका सल्लाहकार एवम् पूर्वप्रजिअ रमेशचन्द्र अघिकारी (दुराडाँडा, लमजुङ, हाल : काठमाडौं) ले कार्यक्रममा सहभागी दिदीबहिनीहरूलाई तीजको शुभकामना सहित तीन हजार रुपैयाँ प्रदान गर्नु भएको जानकारी दिनुभयो । उहाँहरू दुवैले यसअघि पनि विभिन्न कार्यक्रममा आर्थिक सहयोग गर्दै आउनुभएको जानकारी दिनु भयो । सो अवसरमा, निकट भविष्यमा दूधपोखरी गाउँपालिकामा सञ्चालन हुने ठाडोभाकाको प्रशिक्षण कार्यक्रममा सहभागी विद्यार्थीहरू पठाएर सिकाईमा उत्कृष्ठ हुने विद्यालयलाई जोडी भलिबल र एक थान नेटसमेत प्रदान गर्ने बचन सल्लाहकार अधिकारीबाट प्राप्त भएको समेत अध्यक्ष पहाडीले उक्त अवसरमा जनाकारी दिनु भएको छ ।
सो अवसरमा ठाडोभाकाका विभन्नि कलाकारहरूले ठाडोभाकाका साथै झ्याउरे गीत र नाच प्रदर्शन गरेका थिए । त्यस्तै सिर्जनशील मूलपानी आमा समूह बेसीशहर नगरपालिका– ३ का अध्यक्ष कान्ता घिमिरेको नेतृत्वमा आएको टोलीले परम्परागत तीज गीत गाउने तथा नाच्ने कार्य गरेर मनोरञ्जन प्रदान गर्नु भएको थियो ।

प्रकाशित मिति २०८२ भाद्र २, सोमबार २२:३८ गते
हजुरको प्रतिक्रिया