
बेसीशहर– लमजुङको यहाँ स्थित हातेमालो बचत तथा ऋण सहकारी संस्था लि.(साकोस)लाई गण्डकी प्रदेशमै उत्कृष्ट संस्थाको रुपमा सम्मान गरिएको छ । नेफ्स्कूनको ३८औं स्थापना दिवसको अवसरमा काठमाडौंमा आयोजित कार्यक्रममा गण्डकी प्रदेशकै उत्कृष्ट संस्थाको रुपमा लमजुङको बेसीशहरमा मुख्य कार्यालय रहेको हातेमालोलाई साउन ३१ गते सम्मान गरिएको हो ।
जिल्ला सदरमुकाम बेसीशहरमै केन्द्रीय कार्यालय रहेर सञ्चालन भएको केही सहकारीका सञ्चालकहरूले ठगी धन्दा गरेर जिल्ला अदालतमा मुद्दा खेपिरहेको बेलामा यही स्थानमा केन्द्रीय कार्यालय रहेको हातेमालो सकोस भने प्रदेशस्तरमा उत्कृष्ठ ठहर हुँदै पुरस्कृत हुनु गर्वको विषय भएको छ ।
नेफ्स्कुनले आर्थिक बर्ष २०८१÷८२ का लागि हातेमालो साकोसलाई प्रदेशस्तरीय उत्कृष्ट साकोसका रुपमा प्रशंसा–पत्र प्रदान गरेको संस्थाका मुख्य प्रवन्धक हिरा रावलले बताउनुभयो । उहाँका अनुसार गण्डकी प्रदेशमै उत्कृष्ट सहकारीका रुपमा हातेमालो साकोस सम्मानित भएकोमा संस्थाले शेयर सदस्यहरू, वर्तमान तथा पूर्व संचालक समिति, लेखा समिति, विभिन्न उपसमिति, सल्लाहकार, कर्मचारी साथै मार्गदर्शक नियामक निकाय, सञ्चारकर्मी र सबै सहयोगी महानुभावप्रति हार्दिक आभारसहित धन्यवाद व्यक्त गरेको छ ।
हातेमालो साकोसले आब २०८२ असार मसान्तसम्म कुल कारोबार ३५ करोड ७५ लाख ९५ हजार २६९ रूपैयाँ पुगेको सो साकोसका मुख्य प्रवन्धक हिरा रावलले जानकारी दिनुभयो । उहाँका अनुसार यो संस्थाको उल्लेखनीय वित्तीय प्रगति हो ।
उहाँले भन्नुभयो, ‘सन् २०६७ मा स्थापना भएको यो संस्था हाल गण्डकी प्रदेशको अग्रणी सहकारीमध्ये एक बन्न सफल भएको छ ।’
देशभरका बचत तथा ऋण सहकारीहरुको एकमात्र छाता संघ नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ लि. (नेफ्स्कून) को स्थापना २०४५ साल साउन ३२ गते स्थापना भएको नेफ्स्कूनले ३७ वर्षको इतिहास पूरा गरेको छ ।
२०४५ साल साउन ३२ गते तत्कालीन साझा केन्द्रका अध्यक्ष भोजराज घिमिरेको पहलमा बचत समूह राष्ट्रिय संघ तदर्थ समिति गठन भएको दिनको सम्झनामा प्रत्येक वर्ष नेफ्स्कूनले स्थापना दिवसको रुपमा मनाउँदै आएको छ ।
प्रकाशित मिति २०८२ भाद्र ३, मंगलवार १९:०४ गते