अर्चलधारा(तनहुँ)– महिलाहरू आफ्नो अथक परिश्रम र लगनले आफ्नो पहिचान समेत बदल्न सक्ने क्षमता देखाउँदैछन् । नेपाली समाजमा आजका दिनमा पनि धेरै महिलाहरू श्रीमान्कै नामले चिनिन्छन् । तर केहीले त्यस्तो परम्परागत मान्यतालाई तोड्दै छन्– त्यस्तै श्रेणीको अब्बल महिना हुनुहुन्छ– भानु नगरपालिका– ९, चिति खोला(अर्चलधारा)की गिता अधिकारी पाण्डे ।
आधा दशक अघिसम्म उहाँ पनि श्रीमानकै नामले चिनिने गर्नु हुन्थ्यो । तर पछिल्ला दिनमा आफूले गरेको पौरखले उहाँको पहिचान बदलिएको छ र आफ्नो नाम चम्काउँदै हुनुहुन्छ । उहाँलाई त्यस्तो सफलता कृषि– पर्यटनको व्यवसायिकताले दिएको हो । फलस्वरुप अबका दिनमा उहाँका श्रीमान् समेत उहाँको नामले चिनिनु पर्ने हो कि ? भन्ने स्थिति बन्न थालेको छ । ग्रिन हिमालय अर्गानिक एग्रोका साथै ग्रिन हिमालय फार्म स्टेको प्रोपाइटर बनेर गिताले त्यस्तो सफलता हात लागेको हो । यतिबेला गितालाई गाउँले तथा छरछिमेकीहरूले ग्रिन हिमालयको दिदी वा बहिनी भनेर सम्बोधन गर्न थालेकाछन् । चिति खोलाको झाडीमा गिताको पौरख रुपि कृषि र पर्यटन व्यवसायको फुल्दै र फक्रिदै गरेको एक पटक हेर्नै पर्ने सौगन्धले यो सब सम्भव भएको हो ।
गिताले पछिल्ला करिब सात वर्षदेखि आफ्नो माटोमा गरेको लगानी, अथक मेहनत तथा सिंचित गरेको पसिरद्वारा गरेको सिर्जनाको सुगन्धले उहाँको पहिचान बदल्ने स्थिति बनेको हो । उहाँको त्यो सिर्जनाको सुभास गण्डकी प्रदेश सरकारको कार्यकक्षसम्म पुगेको छ । गिताले सञ्चालन गरेको कृषि– पर्यटन अर्थात निजी क्षेत्रका घरबास कार्यक्रममार्फत पर्यटन र आर्थिक विकासमा योगदान पु¥याएको भन्दै १८औं गणतन्त्र दिवसका अवसरमा गण्डकी प्रदेश सरकारको पर्यटन मन्त्रालयमार्फत प्रदेश भित्रका तीन व्यक्तित्वमा पर्न सफल भई सम्मानित भएको उहाँले उल्लेख गर्नुभयो ।
बदलिएको बाटोसँगै पहिचान :
गिताले जब शहरिया जीवन त्यागेर गाउँमा रमाउने अठोट गर्नु भयो, त्यसरी बदलिएको बाटोसँगै उहाँको पहिचान पनि बदलिएको हो । गितालाई एक दिन आफ्ना श्रीमानले घरायसी काम काजको प्रसङ्गमा निवृत्त जीवन आफ्नो जन्मथलो(चिति खोलागाउँ, अर्चलधारा)मा गएर बिताउने हो भन्नु भएछ । त्यो सुनेपछि गिताले श्रीमान्लाई भन्नुभएछ, ‘त्यसो हो भने ८– १० वर्ष अघि नै किन नजाने ? बुढेसकालको काम गर्न नसक्ने बेला, रोगले गाँज्न पनि सक्छ, त्यस्तो बेलामा गएर के गर्छ सकिन्छ र ? बरु अहिले नै जाउँ अर्गानिक खेती गरौं, अरुलाई पनि प्रेरणा हुन सक्छ ।’
उहाँको त्यो प्रस्वामा उहाँका श्रीमान् पनि राजी हुनु भएछ, यसप्रकार उहाँहरू गाउँमा फर्की आएको उहाँले सुनाउनु भयो । उहाँले भन्नुभयो, ‘त्यसरी २०७५ सालको साउनमा आफूहरू गाउँ फर्केर अर्गानिक खेती गर्ने योजनाका साथमा आएका हौं ।’ २०– २२ वर्षदेखि छाडेको घर स्वस्थानी ब्रतको कथामा महादेवले गोमा ब्राह्मणीलाई देखाएको घर जस्तो चारैतिर माकुराको जालो, चमेरा, भंगेरा आदि चराहरूले गुड लगाएको, खेतबारी भरी पाती फुलेको अवस्था थियो, त्यस्तो घरको सरसफाई गरेर आफू बस्न थालेको गिताले जानकारी दिनु भयो । उहाँले भन्नुभयो, ‘आफू तराईमा हुर्केको, पहाड कहिल्यै नदेखेको जस्तो, पहाडमा हिड्न पनि नजान्ने, फोहरले एलर्जी भएर निकै सतायो । तर पनि त्यो सबलाई पर्वाह नगरी बसेँ ।’ तर यो घर (पुख्र्यौंली, देखाउँदै) २०७२ सालको भूकम्पमा पनि चर्कनेसम्म पनि केही भएन, त्यसले राहत दियो गिताले गर्वका साथ सुनाउनु भयो ।
हिउँदका दिन सुरु भएपछि ग्रिन हिमालय अर्गानिक एग्रो नामक फर्म आफै प्रोपाइटर रहेर दर्ता गरेर अर्गानिक कृषि र पशुपालन खासगरी स्थानीय जातका कुखुरा, हाँस र कालिज, गाई पालनको काम सुरु गरेको गिताले जानकारी दिनुभयो । उहाँका अनुसार यतिबेला एग्रो फार्ममा तीन वटा जर्सी÷होलिस्टेन क्रम गाई, स्थानीय जातका कुखुरा पाँच सय, ६० वटा जति हाँस तथा एक सय जति कालिज रहेका छन् । उहाँले भन्नुभयो, ‘साथमा तरकारी खेती पनि छ, मेरो त्यो काम हेर्न यहाँ आउने पाहुनाहरूले बास बस्न खोज्नु भयो, वरपर राम्रो होटलको व्यवस्था थिएन, अझै छैन ।
अन्य गाउँबाट शहर छिर्छन्, गिता शहरबाट गाउँमा :
पछिल्ला दिन गाउँबाट शहर, शहरबाट ठूला शहर हुँदै विदेश पलायन हुनेको संख्या दिन–प्रतिदिन बढ्दो छ । तर, काठमाडौंको कलंकीमा रहेको घर नै बिक्री गरेर गाउँमा फर्केर अर्गानिक खेती किसानी गरेको भन्दा पत्याउनै सकिँदैन । तर गिता दम्पतीको संघर्ष र सफलताको कथाबाट त्यो पुष्टि भएको छ अर्थात पत्याउन कर लाग्छ ।
चितवनको रत्न नगरनगरपलिका टाँडीमा जन्मेर हुर्कनु भएकी गिताको हातबाट त्यो सब सम्भव हुन्छ भन्ने कसैले पनि पत्याएका थिएनन् तिनताका । त्यसमा पनि काठमाडौंको प्रवेश नाका कलंकीमा रहेको घर नै विक्री गरेर पहाडको गाउँमा फर्कने निर्णय ‘उल्टो बाटो’ हिंडे जस्तो पनि देखिन्थ्यो । त्यो बेलामा मैले यस्तो काम गर्छु भनेर आफ्नी आमा रुद्रकुमारीदेखि नातागोता, ईष्टमित्र, साथीभाइ कसैले पत्याएका थिएनन् तर आजकत त उनीहरू सबै खुशी छन् र गर्न सके हुने रहेछ भन्छन् गिताले गर्वका साथ सुनाउनु भयो । कतिले यस्को रहर मात्र हो, २– ३ वर्षमा शहर फर्कन्छे पनि भने । ‘गर्न सक्दा हुन्छ’ भन्नेको संख्या ज्यादै न्यून थियो । यतिबेला भने त्यो बेलामा विरोध गर्नेहरू सबैको मुख थुनिएको छ, तारिफ गर्न थालेका छन् गिताले उल्लेख गर्नुभयो ।
अर्गानिक खेतीले पर्यटनसँग जोड्यो :
करिब तीन वर्षसम्मको खटाईले अर्गानिक खेती अर्थात कृषि र पशुपालनले राम्रो परिणाम दिन थाल्यो । त्यो हेर्नका लागि आउने पाहुनाहरूले बास खोज्न थाले, नजिक होटलको प्रवन्ध पनि राम्रो नभएको, त्यसका लागि कि त बेसीशहर, कि त डुम्रे नै पुग्नु पर्ने स्थिति थियो । साथै, त्यसरी उत्पादन भएका वस्तुको बजारको समस्या पनि सिर्जिन थाल्यो, त्यसको समाधानका लागि होमस्टे अर्थात ग्रिन हिमालय फार्म स्टे पाहुना घर बनाउने सोच आयो र त्यो काम थाले गिता भन्नुहुन्छ ।
यतिबेला उक्त फर्मका उत्पादनहरू कागति, त्यसको अमिलो, मस्यौरा, अदुवा तथा बेसारको धुलो, दूध, घिउँ, स्थानीय केरा, मेवा, स्थानीय जातको
कुखुरा र त्यसका अण्डा आदि केही मात्रामा यहाँ आएका पाहुनाले पनि लग्छन् भने बाह्य बजारमा पनि आफूले पठाउने गरेको गिताले जानकारी दिनुभयो ।
शहरको पट्यारिलो बसाई पछि १, २ दिन गाउँले परिवेशमा रमाउन चाहनेहरूका लागि गिताको ग्रिन हिमालय फार्म स्टे उपयु्क्त देखिन्छ । सो स्टेमा लमजुङ, मनाङ, पोखरा जानेहरूका लागि बासको सहजता छ । डुम्रे– बेसीशहर सडक खण्डको अर्चलधाराबाट एक किमिको दुरीमा रहेको ग्रिन हिमालय फार्म स्टेसम्म पुग्ने सडक पुरै कालोपत्रे छ । गिताको फर्मलाई दुई खण्डमा विभाजन गरिदिएको त्यो सडक थानीको थान हुँदै वयपानी भञ्ज्याङसम्म पुग्ने हुँदा पनि पाहुनाका लागि धेरै सहज बनाएको छ ।
वनभोज खाने टिम, एक दुई दिनको समिक्षा गोष्ठी वा आफ्ना बैठक सञ्चालन गर्ने सरकारी तथा गैरसरकारी संस्थाहरूका लागि पनि ग्रिन हिमालय फार्म स्टे आकर्षणको केन्द्र बनिरहेको छ ।
उक्त स्थानको विशेषतामा चार हिमालहरू लमजुङ हिमाल, हर्कपिक, बुद्धचुलीको दृश्यावलोकन गर्न पाइन्छ, वनमा पदयात्रादेखि चम्रे खोला झरनाको आनन्द लिन सकिन्छ भने धर्मनाथ धामको समेत दर्शन गर्न सकिने हुन्छ । साथै चोक कोट, पुर्कोट, राइनासकोट तथा बाललहरीको दृश्यावलोकन सहज रुपमा गर्न सकिने गिताले जानकारी दिनुभयो ।
मोही, मकै, भट्टले पाहुनाको स्वागत :
फर्म स्टेमा पुग्ने पाहुनालाई सुरुमा मोही, मकै, भट्टले स्वागत गर्ने प्रचलन रहेको जानकारी दिदै अन्य खानपिन पाहुनाको चाहना अनुसार हुने गरेको गिता बताउनु हुन्छ । उहाँका अनुसार फर्म स्टेमा मौसम अनुसारको फलफूल पाहुनाले आफै पनि टिपेर खान सक्ने वातावरण रहेको छ ।
फर्म स्टे सञ्चालनका लागि ०७८ सालमा ग्रिन हिमालय फर्म स्टे दर्ता गरेर पाहुनालाई सेवा दिन थालियो, ऐले दुवै फर्म चलेका छन् गिताले उल्लेख गर्नुभयो । फर्म स्टेमा आउने पाहुनाका लािग आवश्यक पर्ने चामल, तरकारी, त्यसमा प्रयोग हुने बेसार, अदुवा लगायतका कच्चा पदार्थ सबै आफ्नै खेतबारीमा हुने गरेको अर्गानिक उत्पादनले नै पुग्ने गरेको छ गिताले सगर्व सुनाउनु भयो । उहाँका अनुसार नुन– मसला, जिरा, धनियाँ खाजामा प्रयोग हुने च्युरा, भुजामात्र बजारको खरिद गर्ने गरेको छ ।
मगर संस्कृति, रोधिं देख्न पाइन्छ :
ग्रिन हिमालय फर्म स्टेको नजिकै मगर गाउँ रहेको छ र त्यस गाउँका २१ घरमा होमस्टे सञ्चालनमा छ । त्यहाँ मगर संस्कृति, रोधिं समेत देख्न पाइन्छ । त्यो होमस्टेसँग मिलेर काम गर्ने, पाहुनाका लागि आवश्यक पर्ने यता नभएको वस्तु त्यो गाउँबाट ल्याउने र गाउँलेलाई आवश्यक पर्दा आफूले पनि दिने गरेको गिताले सुनाउनुभयो । आफ्नो फार्म स्टे र होमस्टे भएको मगर गाउँमा समेत गरेर एक पटकमा तीन सय जनासम्म पाहुनालाई राख्न सकेको अनुभव छ गितासँग । उहाँले भन्नुभयो, ‘म पनि त्यो होमस्टेको सदस्य हुँ ।’ त्यो सुन्नासाथ यो पंक्तिकारले ‘तपाई पनि मगर हो र ?’ भन्ने जिज्ञासा राख्दा हाँसोको फोहोर छुटेको थियो, ‘सहयोग गर्ने हिसाबले सदस्य हुँदा सहज हुन्छ’ उहाँले सुनाउनु भयो ।
चैत बैशाखको खडेरीमा पनि यो चिति खोलाको पानी नसुक्ने भएको हुँदा यसको नाम चिति खोला रहन गएको बुढापाकाको भनाइ छ गिताका श्रीमान् राजेन्द्र पाण्डेले सुनाउनु भयो । उहाँका अनुसार यहाँका बोट विरुवाको सिंचाई तथा पाहुनालाई झरनाको दृश्य देखाउनका लागि चिति खोलाबाट पानी लिफ्टिङ गरेर ल्याइएको छ । उहाँले भन्नुभययो, ‘हामी फलफूलमा किरा लाग्दा पनि विषादिको प्रयोग गर्दैनौं, किराको प्रकोप बढी नै हुने देखियो भने जैविक विषादिको प्रयोग गर्ने गरिएको छ ।’ खेलीमा प्रयोग हुने मलका लागि गाई र कुखुराको मल प्रयोग गर्ने गरेको र त्यसले ऐलेसम्म पुगेको छ उहाँले जानकारी दिनुभयो ।
डिठ्ठा कुलराज पाण्डेको चकचकी :
चितवनको रत्न नगरनगरपलिका टाँडीमा जन्मे हुर्केकी गीताको विवाह तत्काल काठमाडौंको कलंकीका राजेन्द्र पाण्डेका साथमा भएको हो । पाण्डेको पुख्र्यौली थलो भने तनहुँको उत्तरी क्षेत्रमा रहेको तत्कालीन पुर्कोट गाविसको चिति खोला रहेछ । राजेन्द्रका हजुरबुवा कुलराज पाण्डे राणाका पालामै डिठ्ठा भएर चकचकी मच्चाएका व्यक्तित्व हुनुहुदो रहेछ । त्यो थलो लमजुङ, तनहुँ र गोर्खाको त्रिवेणी संगमका रुपमा रहेकोछ । हजुरबाको चकचकीको विरासत स्वरुप राजेन्द्रको अंश भागमै एक सय रोपनी जग्गा परेको रहेछ । तर त्यो जग्गा काठमाडौंमा घर हुनुका साथै अधिकृतस्तरको सरकारी नोकरीका क्रममा विभिन्न जिल्ला चहार्नु पर्ने भएको हुँदा बाँझो जंगल तथा झाडीमा परिणत भएको रहेछ । जसमा अहिले गिताले ७० रोपनीमा अर्गानिक खेती र ३० रोपनीमा फर्म स्टेको संरचना बनाएको जानकारी दिनुभयो । उहाँका अनुसार फर्म स्टेमा घुमाउने घर सहितको संग्रहालय समेत रहेको छ ।
त्यस्तो फर्म स्टे जहाँ नेपाली गाउँले जनजीवनका पर्यायका रुपमा रहेका परम्परागत वस्तुहरू ढिकी, जाँतो, हलो, जुवा, डोको, नाम्लो, दाम्लो, डोको, थुन्से, स्याखु, कुटो, कोदालो आदि देख्न पाइन्छ । यतिबेला गिताको फर्म स्टेमा लमजुङ, तनहुँ, गोर्खा बाहेक चितवन, नवलपरासी, पोखरा, हेटौडामा मानिसहरू खासगरी मनाङ जान आउनेहरूले समेत यहाँ आएर खाने, बस्ने गर्दा रहेछन् । फर्म स्टेमा पुग्नेहरू जो कोहीले पनि फरक अनुभूति गर्न सक्छन् । जहाँ रात बिताउनका लागि गोल घरदेखि आधुनिक सुविधा सम्पन्न सेवा वाइफाईलगायत उपलब्ध छन् । त्यहाँ रहेका सबै कोठाहरूमा स्नान घर र शौचालय समेतको सुविधा रहेछ, ती लगायत भूइँ तलामा बस्ने कि एक तलेमा मानिसहरू आफ्नो रुचि अनुसार बस्न र मज्जा लिन सक्छन् ।
फर्म स्टेमा एक रात विताएको दुई हजार पाँच सय रुपैयाँको प्रति प्याकेज पर्ने गिताले जानकारी दिनुभयो । उहाँका अनुसार त्यो प्याकेज भित्र साँझ लोकल कुखुराको मासुसहितको खाना, विहान लोकल कुखुराको अण्डा सहितको नास्ता र बासको प्रबन्ध छ ।
गिताका एक एक जना छोरी र छोरा हुनुहुन्छ । उहाँकी छोरीको चितवनमा आफ्नै व्यवसाय छ । अमेरिकामा आइटि इञ्जिनियर रहेका छोरा पनि अबको डेढ दुई वर्ष भित्र आफ्नै देश÷गाउँमै केही गर्ने सोच र योजनाका साथ नेपाल फर्कने भएको गिताले जानकारी दिदै हामीले पनि त्यही सल्लाह दिएका छौं उहाँले उल्लेख गर्नुभयो ।
आगोमा पकाएको र ढिकीमा कुटेको चामलको भातको सेवा :
गिताले सञ्चालन गरेको ग्रिन हिमालय फर्म स्टेमा यतिसम्मका अर्गानिक वस्तु खान पाइन्छ कि आगोमा पकाएको त हुन्छ नै यदि कसैले ढिकीमा कुटेको चामलको भात खान चाह्यो भने पनि उपलब्ध हुन्छ, त्यसका लागि २, ४ दिन अघि भन्नु पर्छ उहाँले बताउनु भयो । उहाँका अनुसार दाल तरकारीमा प्रयोग हुने अदुवा, बेसार लगायतका वस्तु आफ्नै फर्ममा उत्पादन हुन्छ । उहाँले भन्नुभयो, ‘पाहुनाहरूको ८० जनाभन्दा माथिको समूह आउने भयो भने मात्र बजारको तरकारी ल्याइन्छ अन्यथा सबै आफ्नै उत्पादनले पुग्छ, फर्ममा लोकल कुखुरा, हाँसमात्र नभई कालिज समेत पालेकी छु । खसी खान चाहनेका लागि वनमै चरेको खसी पनि यहाँको गाउँमा पाइन्छ ।’
फार्म हाउसको विशेषता :
उहाँको फार्ममा बनेको कम्पोस्ट मल, बायोग्यास र जैविक कीटनाशकले उत्पादनलाई दिगो, वातावरणमैत्री, स्थानीय जनशक्तिको प्रयोगबाट गाउँमै रोजगारीको अवसर, थोरै भनेका पनि आयातको रोकथाम जस्ता विषय समेटिएका छन् । फार्ममा बस्न पुग्ने पाहुनाले गाउँको जीवनशैली, संस्कृति, लोकगीत, नाच, परम्परागत खानपिन र कृषिकर्म प्रत्यक्ष अनुभव गर्न पाउँछन् । यसरी आउने पर्यटकले केवल प्राकृतिक दृश्य मात्र होइन, नेपाली गाउँको अन्तरआत्मा महसुस गर्ने मौका पनि अवश्य पाउनेछन् ।
यहाँ आउने अन्तर्राष्ट्रिय पर्यटकका लागि गाउँको बसाइका साथ अर्गानिक खेती तालिम, योग–ध्यान, हिलिङ सेसनको समेत अनुभव लिन सक्छन् ।
गिता अधिकारीले ‘महिलाले उद्यम गर्न सक्ने अवस्था सिर्जना गर्न सके मात्र गाउँको आर्थिक रूपान्तरण सम्भव हुन्छ र त्यो महिलाले गर्न सक्छन् भन्ने आफ्रू उदाहरण बनेको’ समेत सगर्व सुनाउनु भयो । त्यसैले सो फर्म स्टे अहिले महिलाका लागि सीप विकास र आत्मनिर्भरता कार्यक्रमको केन्द्र बन्न थालेको छ ।
१० जनाका लागि रोजगारी :
गिताले सञ्चालन गरेका ती दुई फर्ममा पाँच जना कर्मचारी छन् भने दैनिक ज्यालादारीमा काम गर्ने ४– ६ जना भइरहन्छन् भन्ने सुनाउनु भयो । साथै आफू पनि बिहानैदेखि साँझसम्म त्यसै काममा खट्ने गरेको गर्वका साथ सुनाउनु भयो । राम्रो काम गर्दा लाज र अप्ठरो मान्न हुन्न भन्ने गिता भन्नुहुन्छ, ‘मसँग पार्लर धाएर ठूलो मान्छे होइन्छ भन्ने भ्रम छैन ।’ आफूले यहाँ आएर यो काम थालेदेखि छरछिमेकका २२– २५ घरमा चुल्हो बाल्न सहज भएको छ भन्ने गर्वका साथ उहाँले उल्लेख गर्नुभयो । आफूले गरेको कामले यहाँ खपत हुने जति वस्तु आयातमा पनि रोकिन गएको बताउँदै मानिसलाई कर्मले सफल बनाउने हो भन्ने उहाँको दृढोक्ति थियो । उहाँले थप भन्नसभयो, ‘यसरी काममा व्यस्त हुँदा नकारात्मक भावना मनमा जागृत हुनै पाउँदैन, दिनभरको धन्दाले थाकेको हुन्छ, विस्तरामा पल्टनासाथ निन्द्रा लागेको पत्तै हुन्न ।’ त्यसैगरी, हाम्रो समाजमा खुट्टा तान्ने प्रवृत्ती बढी नै भएता पनि उहाँकोमा त्यस्ता नकारात्मक भावना भएका, कुरा काट्ने, खुट्टा तान्ने मान्छे आजका दिनसम्म आइपुग्न भ्याएका छैनन भन्ने समेत गिताले सुनाउनु भयो ।
भावि योजना :
गिताले निकट भविष्यमै आफ्नो फर्म स्टेमा आउने पाहुनाका लागि ढिकीमा कुटेको च्यूँरा खुवाउने योजना रहेको जानकारी दिनु भयो । उहाँले भन्नुभयो, ‘निकट भविष्यमै गर्नु पर्ने काममा पाहुनालाई ढिकीमा कुटेर तयार गरेको चिउरा खुवाउने र त्यो आधा, एक र दुई किलोको प्याक बनाएर विक्रि पनि गर्ने योजना छ ।’ त्यसैगरी, बैठक कक्ष, बालबालिकाका लागि विभिन्न प्रकारका खेल्ने साधानको निर्माण, स्विमिङ पुलको निर्माण साथमा ४– ५ वटा वाथरुम थप्ने भावि योजना रहेको उहाँले जानकारी दिनुभयो ।
गिताले थप जानकारी दिनुभयो, ‘यतिखेर फार्ममा आयुर्वेदिक उपचार केन्द्र, ग्रामीण हस्तकला प्रदर्शन गृह, कृषि–शिक्षा तालिम केन्द्र र दीर्घकालीन ग्रामीण पर्यटन मोडेल निर्माणको योजना तयार गरिरहेकी छु ।’ उहाँकोे भावि लक्ष्य, उक्त क्षेत्रलाई नेपालकै प्रमुख ग्रामीण पर्यटन गन्तव्य बनाउने हो ।
अनुदान शून्य :
यति राम्रो काम गर्ने मानिसलाई त सरकारले अनुदान पनि दिने गर्छ नि ? के कति पाउनु भएको छ ? भन्ने जिज्ञासामा आफूले आजका दिनसम्म नगद रुपमा त्यस्तो कुनै अनुदान कतैबाट नपाएको गिताले सुनाउनु भयो । यही सन्दर्ममा उहाँले थप सुनाउनु भयो ‘पछिल्ला दुई वर्षदेखि फार्मको आम्दानीले खर्च धान्न थालेको छ । बैंकको किस्ता श्रीमान् र छोराले तिर्ने गर्नु भएको हुँदा त्यस्तो टेन्सन छैन ।’
उहाँको अनुदान सम्बन्धि त्यो कुरा सुनिरहदा यो पंक्तिकारको दिमागमा नेपालको कृषि तथा पशु व्यवसाय तथा उद्यमका लागि दिइने अनुदान ‘गीताजस्ता उद्यमशील व्यक्तिका लागि त हैन नि ! त्यो त काज मिलाउन जान्ने छट्टुहरूका लागि पो हो त !’ भन्ने भोगाई सरर नाच्यो ।
पुर्ख्यौली माटोको मायाले तान्यो :
‘यस्तो काम नगरे पनि पुग्ने मान्छे, किन दुःख गर्न मन भयो ?’ भन्ने अर्को जिज्ञासामा आफूले गरिरहेको कामलाई पौरख ठान्ने गिता भन्नुहुन्छ, ‘कुनै पनि कामलाई दुःख ठाने दुःख हुने हो, मैले त्यस्तो सोचेको छैन अनि के दुःख ?’ भन्दै प्रतिप्रश्न गर्नु भयो । आफूले ‘पुख्र्यौंली माटोको मायाले तानेको’ बताउँदै भन्नुभयो, ‘विदेशमा गएर १८ घण्टा खट्नेहरूले आप्mनो मातृभूमिमा खट्ने हो भने यहाँ के हुन्न होला ? यहाँ त सम्भावना नै सम्भावना छ ।’
गिता यतिबेला कृषि– पर्यटनका क्षेत्रमा प्रभावकारी काम गरेर अब्बल दर्ताको किसान बनिरहनु भएको छ । उहाँको ग्रिन हिमालय अर्गानिक एग्रो र ग्रिन हिमालय फार्म स्टे मध्य पहाडी लोकमार्गको लमजुङको प्रवेश नाका पाउँदी खण्डबाट चार किमि पक्की सडकको दुरीमा रहेको छ ।
प्रकाशित मिति २०८२ भाद्र ३, मंगलवार २१:४२ गते