पर्यटन प्रवर्धनको लागि नेपालमा प्राकृतिक सौन्दर्यता र सांस्कृतिक विविधताले सिगारेका धेरै ठाउँहरू छन । प्राकृतिक सौन्दर्यता र सांस्कृतिक विविधता मात्र होइन पर्यटकहरू अहिले अध्ययन, अनुसन्धान, मनोरञ्जन आदिका लागि विभिन्न ठाउँमा पुग्ने गर्दछन । पर्यटनमा खोज अनुसन्धान र इतिहासप्रतिको रुचि हुन्छ । खोज अनुसन्धानमा पर्यटकहरूले तथ्य–प्रमाण संकलन गर्ने र त्यसलाई विश्लेषण गरी निष्कर्ष निकाल्न सक्दछन । अर्कोतर्फ पहिल्यै रहेको ज्ञानलाई पुष्टि गर्ने, सुधार गर्ने वा नयाँ दृष्टिकोण दिने काम पनि गर्दछ । पर्यटन केवल यात्रा वा रमाइलो गर्ने माध्यम होइन । पर्यटनको यात्रामा देशको सांस्कृतिक सम्पदा, भौगोलिक विविधता र सामाजिक जीवनशैली बुझ्न पनि सकिन्छ । अनुसन्धानकै आधारमा पर्यटनस्थलको महत्व र प्रचार–प्रसार हुन्छ ।
इतिहास शास्त्रहरूको जग हो । इतिहासमा घटेका घटनाहरूको कालक्रमानुसार वर्णन गरेको हुन्छ । अर्को शब्दमा भन्दा प्राचीनतादेखि नवीनतातर्फ आउने मानवजातिसँग सम्बन्धित घटनाहरूको वर्णन नै इतिहास हो भन्दा पनि हुन्छ । इतिहासको धरातलमा नै उभिएर यी सबै विषयले मानव जातिलाई सभ्य र सुसंस्कृत हुन प्रेरित गरिरहेको हुन्छ । समाजमा रहेका वर्ग, जाति, धर्म, कला, संस्कृति, भूगोललगायत हरेक कुराको आफ्नो इतिहास हुन्छ । पर्यटनको क्षेत्रमा इतिहास कहिल्य पुरानो हुदैन । अझ खोज अनुसन्धानले इतिहासको पानामा नलेखिएका कुरा पत्ता लाग्दछ । अधिकाशं पर्यटकहरू अनुसन्धानमा इतिहास प्रतिको रुचि हुन्छ । पर्यटन अनुसन्धानमा इतिहासलाई विशेष प्राथमिकता दिन्छन । पर्यटकलाई यात्रामा कथा, किंवदन्ती, वीरगाथा वा प्राचीन संस्कृतिले आकर्षित गर्दछ । इतिहासको सन्दर्भ बिना पर्यटनस्थल केवल भौगोलिक स्थान मात्र हुन्छ, । तर इतिहास जोडिँदा त्यो स्थल जीवन्त र अर्थपूर्ण बन्दछ । इतिहासले स्थानीय संस्कृतिको उत्पत्ति, परम्परा र अभ्यासलाई उजागर गर्दछ । जसले पर्यटकलाई अझ नजिकबाट समाज बुझ्ने अवसर दिन्छ । खोज अनुसन्धान पर्यटनको मेरुदण्ड हो भने इतिहास त्यसको आत्मा हो । अनुसन्धानले पर्यटनलाई योजनाबद्ध, व्यवस्थित र दिगो बनाउन मद्दत गर्छ भने इतिहासले त्यसलाई मौलिक, आकर्षक र अर्थपूर्ण बनाउँछ । त्यसैले, पर्यटनको विकासमा खोज अनुसन्धान अनिवार्य र इतिहास अपरिहार्य हुन्छ ।

वास्तवमा शिलालेख इतिहासका स्रोतहरू हुन । शीलालेख बाहेक ताम्रपत्र, भोजपत्र, ताडपत्र आदि पनि इतिहास चियाउने आँखी झ्याल हुन । सत्यतथ्य घटनाहरूको इतिहास खोज्न यी सामग्री स्रोत हुन्छ । इतिहास निरन्तर खोज र अनुसन्धानको विषय हो । इतिहास सर्वव्यापक हुन्छ । सबै चीज वा वस्तुमा इतिहास लुकेको छ । तर सबै इतिहास दृश्यमान हुँदैन । इतिहासका कतिपय पाटा अदृश्य हुन्छन । यसलाई सजिलै पहिचान गर्न सकिन्न र इतिहासको खोज भै रहन्छ ।
मध्यपहाडी लोकमार्गमा लमजुङको मध्यनेपाल नगरपालिका– ७ मा कर्पुटार पर्दछ । कर्पुटारमा इशानेश्वर महादेवको मन्दिर, सात दिने सुत्केरीले गाडेको शिलालेख सहितको ढुङ्गा र भिमले ठेलो हानेको ढुङ्गा कर्पुटारको इतिहाससंग जोडिएको छ । इशानेश्वर महादेवको मन्दिर कास्की जिल्लाको सिक्लेस गाउँ भन्दा माथि हिमालको काखमा रहेको कपुचे तालबाट उदगम भएको मादी नदी र लमजुङको भुजुङ गाउँको भूगोलदेखि उदगम हुने मिदीम खोला बीच कर्पुटारको रामबजार पर्दछ । सुत्केरीले गाडेको शिलालेख सहितको ढुङ्गा र भिमले ठेलो हानेको ढुङ्गा मादी नदीको किनारमा रहेको छ । इशानेश्वर महादेवको उत्पत्ति सन्दर्भमा हिन्दू धर्मग्रन्थका विभिन्न पुराणमा उल्लेख गरिएको छ । ऐतिहासिक, धार्मिक, सांस्कृतिक तथा पुरातात्विक पृष्ठभूमि रहेको इशानेश्वर महादेवको मन्दिरमा शिवरात्रीको दिन सांस्कृतिक मेला लाग्ने गर्दछ ।

कर्पुटारको इशानेश्वर महादेवको मन्दिरले लामो इतिहास बाकेको छ । आज भन्दा ६ सय बर्ष अघि किसानले धानको बीउ राख्न जोत्न जाँदा फालीको टुप्पाले शिवलिङ्ग स्वरुपको शिलामा जोतिएर रगत बगेको र गोरुसहित किसान मरेको प्रशग पनि इशानेश्वर महादेवको उत्पत्ती बारेका लोक कथा छ । तत्कालीन गोरखाका निःसन्तान राजा कृष्ण शाहले शक संवत १४१४ मा आफ्ना पल्टन प्रयोग गरी त्यो समयमा मन्दिर निर्माण गरेका थिए । पछि उनलाई पुत्रलाभ भएको र छोराको नाम शिवरुप सम्झेर रुद्र शाह राखिएको थियो । इशानेश्वर महादेव मन्दिरको नजिकै, मादी नदीको किनारमा रहेको ढुङ्गाको स्तम्भ मौन साक्षीझैँ उभिएको छ । यो ढुङ्गा सात दिने सुत्केरी महिलाले गाडेकी थिइन । यो ढुङ्गा इतिहास र धर्मको गहिरो दस्तावेज पनि हो । विसं १८२९ अर्थात शाके १६९४ मा राजा वीरनारायणका धर्मपत्नीहरू शालधरा, सकलान र कुमारीले इशानेश्वर महादेवको नाममा शिवरात्रिको अवसर पारेर फकिर, साधु–सन्तहरूको सेवा र पूजाका लागि १४० मुरी खेत गुठीस्वरुप अन्न संकल्प गरेका थिए । दानको ऐतिहासिक अभिलेख ढुङ्गामा संस्कृत भाषामा कुँदिएको छ । ढुङ्गामा लेखिएको अभिलेख अनुसार श्री शाके सोह्रसय चौरानब्बेबाट सुरु हुने लेखमा दान, धर्म र भक्ति भावको कथा अंकित छ । जसलाई कालु मौखिके नामक व्यक्तिले कुँदेको जनाइएको छ । ढुङ्गाको स्तम्भ केवल धार्मिक आस्थाको केन्द्र मात्र नभएर मध्यकालीन समाजको गुठी व्यवस्था, दान परम्परा र राजकीय धर्म नीतिको पनि जिवन्त प्रमाण हो ।
कर्पुटारको इशानेश्वर जसलाई सन्तानेश्वर र पशुपति नाथ पछिको दोस्रो शक्ति प्राप्त महादेवको रुपमा पुजिने गरिएको छ । सो मन्दिरमा शिवरात्रीको दिन निर्जल व्रत, राती जागराम, चार प्रहरको पूजा, दुधले शिवलिंग, अभिषेक र शिव महिमा किर्तन र पूजा अर्चना गर्ने तीर्थाटनका पर्यटकहरू पुग्ने गर्दछन । कर्पुटारमा इशानेश्वर अर्थात सन्तानेश्वर महादेवको मन्दिरमा शिवरात्रिका दिन पूजा आजा गरेमा सन्तान प्राप्त हुने विश्वास तीर्थाटनका पर्यटकहरूले गर्दछन । बिषेश गरी विवाह भएको लामो समयसम्म पनि सन्तान नभएका जोडीहरु आफ्नो इच्छा पूरा हुने विश्वासले शिवरात्रीमा ठाडो बत्ती बाल्न इशानेश्वर महादेवको मन्दिरमा पुग्ने गर्दछन । ठाडो(उभिएर) बत्ती बाल्न नसक्नेहरूले बसेर पनि बत्ती बाल्दछन् । शिवरात्रिमा कर्पुटार पुग्ने पर्यटकहरूले मादी नदीमा स्नान गरी मन्दिरमा गाईको दूध एवम् बेलपत्र चढाउँछन । शिवरात्रीको दिन मेला हेर्न र तीर्थाटन गर्न जाने पर्यटकहरूले दिनभर निराहार व्रत बस्ने र रातभर उभिएर ठाडो बत्ती बाल्दा सन्तान प्राप्ति हुन्छ भन्ने जन विश्वास रहेको छ । सन्तान जन्मेर २, ३ वर्षको भएपछि सन्तान लिएर पुनः तीर्थाटनका लागि मन्दिरमा पुग्ने गर्दछन । पर्यटनको पुर्वाधार विकास गर्ने क्रममा अहिले मन्दिरको मध्यभागमा इशानेश्वरको प्राकृतिक शिवलिङ्ग तथा वरिपरि शिवपञ्चायनका मूर्ति राखिएका छन । इशानेश्वर महादेव मन्दिरमा पर्यटकहरूले १ सय ८ धारा र १०८ शिवलिङ्गको समेतको तीर्थाटन गर्न सक्दछन ।

शिवरात्री पर्वको अवसरमा कर्पुटारको इशानेश्वरमा हरेक वर्ष मेलाको आयोजना हुन्छ । कर्पुटारको मेलामा पर्यटकहरूलाई आकर्षण गर्ने भनेको लोकप्रिय सांस्कृतिक तथा लमजुङको पहिचानका रुपमा रहेको ठाडोभाकाको गीत पनि हो । ठाडोभाकाको गीत लमजुङमा निकै लोकप्रिय छ । लोकसाहित्य अन्तर्गतको महत्वपूर्ण विधाका रुपमा रहेको ठाडोभाकाको गीत लमजुङको कर्पुटारको पहिचान पनि हो । ठाडोभाकाको गीतको प्रचारको सुरुवातनै कर्पुटारको मेलाबाट भएको हो । लमजुङ बर्धन गाउँ(हाडीखोला)का देउबहादुर दुरा र उनका दौतरी पञ्चैसुब्बा गुरुङले मिलेर केटा– केटी बनेर वि.सं १९५० का दशकमा पहिलो पटक कर्पुटारमा ठाडोभाकाको गीत गाएको इतिहास छ । इशानेश्वर महादेव मन्दिरमा शिवरात्री मेलाका दिन रातभर बसेर देउबहादुर दुरा र पञ्चैसुब्बा गुरुङले ठाडोभाकामा पहिलो पटक गीत गाउनु भएकोले अहिले पनि ठाडोभाकाका गायकहरु गीतको बोलमा ‘कता गयो देउबहादुर दुरा, शून्य भयो कर्पुटार बजार ……. ’ भन्ने गर्दछन । ठाडोभाका गीत अहिले गण्डकी प्रदेशको सांस्कृति पूँजीका रुपमा रहेको छ । लमजुङ, गोरखा, तनहुँ, कास्की तथा स्याङजा जिल्लामा प्रचलित छ । ठाडोभाकाको यस्तो गीत अन्त्यानुप्रास मिलाएर गाउनुपर्छ । ठाडोभाका गीतका टुक्का प्रायः प्रकृतिसँग जोडिएर माया र पीरतिमा टुङ्गिने गर्दछ । ठाडो भाकामा गाउँका, दुःख, विरह, वेदना, कुण्ठा, प्रेम, समाज, वातावरण, समसामयिक घटना, इतिहास, सामाजिक परिवेशलगायत विषय समेटेर पनि गाउने गरिन्छ । करिव एकसय बर्ष भन्दा अगाडिदेखि लमजुङको खजेगाउँ, तुर्लुङकोट, भाँगु, मकैस्वाँरा, ठूलोस्वाँरा, कानेश्वाँरा, बासपानी, नेटा, कुन्छा, तान्द्राङ र वरपरका गाउँघरमा ठाडोभाकाको गीत गायक देउबहादुर दुराले नै सुरुवात गराएका थिए । त्यस्तै, लाहुर जाँदा आउँदा तथा नुनको ढाकर बोक्नका लागि तत्कालीन बटौली जाँदा त्यहाँका साथै स्याङ्जामा समेत यो भाका लोकप्रिय हुन पुगेको इतिहास छ ।

मादी नदी
मध्यनेपाल(लमजुङ्ग), २१ साउन:
मध्यनेपाल नगरपालिकाको वडा नं. ७, ५ र ४ काे दुईपिप्ले बजार हुँदै लमजुङको सिमाना एवम् कास्की रुपा गाउँपालिका स्यास्त्री र तनहुँको शिशाघाट बजारको सिमाना हुँदै
मादी र मिदिम खोलाको दोभान नजिक लगभग १० फिटको शिलालेख ढुङ्गाको स्तम्भ वि.सं.१८२९मा राजा वीरनारायणले लेख्न लगाएको शिला स्तम्भलाई सात दिने सुत्केरीले गाडेको ढुङ्गा भन्ने लोक कथन रहेको छ । कर्पुटारको सुत्केरीले ढुङ्गा केवल धार्मिक आस्थाको शिला स्तम्भ मात्र होइन मध्यकालीन समाजको गुठी व्यवस्था, दान परम्परा र राजकीय धर्म नीतिको पनि जिवन्त प्रमाण हो । तर, दुर्भाग्यवश, गुठीको जग्गा अहिले मोहीको नाममा दर्ता भैसकेको छ । केही दशक अघिसम्म मादी नदी किनारमा यही शीला स्तम्भ नजिक फागु पूर्णिमाको मेलामा छेलो हान्ने प्रतियोगिता हुने गर्दथ्यो । कास्की, तनहुँ र लमजुङका तीर्थयात्रीहरूको ठूलो भिड नै हुने गर्दथ्यो । हरिबोधिनी एकादशीमा फूल तार्ने परम्परासमेत थियो । यो परम्परा कारापुटार बासीका साथै वरपरका छिमेकीहरूबाट आजका दिनमा पनि त्यो संस्कृति धानिएकै छ । तर ती सबै परम्परा विस्तारै हराउँदै गएका छन । लमजुङमा शीलालेख नभए पनि सुत्केरीले गाडेको लोक कथा भएको ढुङ्गा खत्रीठाँटी, कुन्छा र गिलुङमा पनि छन ।
सुत्केरीले गाडेको र भिम ढुङ्गाको इतिहास :
नेपालको गाउँ–बस्तीमा हिंड्दा कतै खेतको डिलमा, कतै बाटोको किनारमा वा चौतारो छेउमा गाडिएका वा राखिएका साना ढुङ्गा देखिन्छन । कतिपय ढुङ्गामा रातो टीका, अक्षता वा धूपको कालो दाग हुन्छ । कतै धागो वा कपडाको टुक्रा बाँधिएको पाइन्छ । यी ढुङ्गालाई धेरै ठाउँमा सुत्केरी ढुङ्गा भनिन्छ । यसलाई सामान्य ढुङ्गा मात्र ठान्नेहरूले यसको गहिरो सामाजिक–सांस्कृतिक अर्थ बुझदैनन् । तर वास्तवमा यो मातृत्व, स्वास्थ्य, देवी–देवता र लोक विश्वासको मिश्रण हो । सुत्केरी ढुङगाको ऐतिहासिक पृष्ठभूमि खोज्ने हो भने नेपालका पहाडी क्षेत्रमा, विशेषगरी किरात, राई, लिम्बु, गुरुङ, मगर जस्ता समुदायमा बच्चा जन्माउने प्रक्रियालाई दैवी शक्तिसँग जोडेर हेर्ने परम्परा प्राचीन कालदेखि प्रचलित थियो । बच्चा जन्माउँदा हुने रक्तस्राव, पीडा र थकानलाई अशुद्धता मात्र नभई दुष्ट शक्तिको आक्रमणको सम्भावना पनि मानिन्थ्यो । त्यसैले सुत्केरी अवधिको अन्त्यमा अशुभ टार्ने, रोग र पीडा जमिनमा छोडने प्रतीकका रुपमा ढुङ्गा गाड्ने चलन विकसित भएको मानिन्छ । हिन्दू धर्मको विस्तारसँगै यस चलनमा धार्मिक पूजा र शुद्धीकरण संस्कार मिसियो ।

सुत्केरी ढुङ्गा केवल ढुङ्गा मात्र नभएर मातृत्व संस्कार, लोकविश्वास र धार्मिक आस्थाको जीवित प्रतीक हो । यसमा पूर्वजहरूको जीवनशैली, स्वास्थ्य, सुरक्षाबारेको दृष्टिकोण र देवी–देवताप्रतिको श्रद्धा मिसिएको छ । अहिले शहरीकरण, सडक निर्माण, घर बिस्तार र खेतीको परिमार्जनले धेरै पुराना सुत्केरी ढुङ्गा हराउँदै गएका छन । अस्पतालमा प्रसूति हुने र आधुनिक स्वास्थ्य ज्ञान फैलिनाले पनि यो परम्परा कमजोर बन्दै गएको छ । तर अझै पनि ग्रामीण भेगमा विशेष गरी पूर्वी पहाड र पश्चिम पहाडका केही गाउँमा, यो प्रथा जीवित छ । सुत्केरी ढुङ्गाको सांस्कृतिक अर्थ ढुङ्गा गाड्नु भनेको सुत्केरीको पीडा, अशुद्धता र सम्भावित दुष्ट आत्मालाई जमिनमा छोड्ने कार्य हो । यो कार्यले आमाको पुनः समाजमा पूर्ण सहभागिताको संकेत दिन्छ । ढुङ्गालाई देवीको प्रतीक मानेर पूजा गर्दा आमा र नवजातको स्वास्थ्य र दीर्घायु हुने विश्वास हुने गर्दछ । सुत्केरी ढुङ्गालाई क्षेत्रगत भिन्नता र स्थानीय नामहरू रहेको हुन्छ । पूर्वी पहाडमा राई–लिम्बु क्षेत्र अर्थात भोजपुर, पाँचथर, इलाम, धनकुटामा सुत्केरी थान वा नाङ्खामा भन्ने गरिन्छ । टोलको छेउ वा खोला किनारमा ढुङ्गा गाडेर धूप–अक्षता चढाइन्छ । गर्भवती महिलाले यस ढुङ्गा छुन अशुभ मानिन्छ । मगर र गुरुङ क्षेत्र गोरखा, लमजुङ, लगायतका जिल्लाहरूमा ढुङ्गामा रातो धागो वा कपडाको टुक्रा बाँधिन्छ । यसलाई माइको थान भनिन्छ । कतिपय ठाउँमा सुत्केरीको मृत्यु भएमा पनि ढुङ्गा गाडेर विशेष पूजा गर्ने परम्परा छ । मध्य पहाड र तराईको संमिश्रण क्षेत्रमा पूजा नगरी ढुङ्गा गाड्ने मात्र गरिन्छ । ढुङ्गा प्रायः खेतको डिल, बाटोको छेउ वा पाटी वरिपरि पाइन्छ । कञ्चनपुर, धनुषा, कपिलवस्तु थारु समुदायमा माटोको थुप्रो वा ढुङ्गा राख्ने र दूध–अक्षता चढाउने चलन छ । मैथिली समुदायमा यो छट्ठी संस्कारसँग जोडिन्छ ।

अर्कोतर्फ नेपालका धेरै गाउँ ठाउँमा पाइने भिमले ठेलो हानेको ढुङ्गा भन्ने कथा मुख्यतः महाभारतकालीन पौराणिक विश्वाससँग जोडिन्छ । महाभारतका पाण्डव दाजुभाइ वनवासका क्रममा हिमाल र पहाडी भूभाग हुँदै हिंडदा, भिमसेनलाई असाधारण शक्तिशाली मानिन्थ्यो । जनविश्वास अनुसार भिमले भारी ढुङ्गा उचाल्ने, फ्याँक्ने वा ठेलो हानेर टाढा सार्ने गर्थे । आफ्नो गाउँ ठाउँमा ठूलो ढुङ्गा देख्दा पुराना पुस्ताले यो त भिमले वनवासमा हुँदा खेल्दै वा शत्रुसँग लड्दा ठेलो हानेको भनेर कथा बनाएका हुन । यी कथाले गाउँको धार्मिक–सांस्कृतिक पहिचान बनाइ दिएको छ । कतिपय ठाउँमा त भिम ढुङ्गालाई पूजा गर्ने र मेला लाग्ने प्रचलन पनि छ । वैज्ञानिक हिसाबले यी ढुङ्गा प्रायः हिमालयीय भूगर्भीय गतिविधि, हिमनदीको वहाव वा पहिरोका कारण पुराना कालमा बगेर आइपुगेका हुन । तर इतिहास र भूगोलसँगै मिसिएको पौराणिक कथा जनविश्वासमा रहेको छ । भिमले ठेलो हानेको ढुङ्गा वास्तविक ऐतिहासिक प्रमाण नभए पनि, यो नेपाली मौखिक परम्परा, पौराणिकता र स्थानीय पहिचानको जीवित प्रतीक बनेको छ । कर्पुटारको रामबजार नजिक मादी र मिलिम नदीको किनारमा ठूलो कालो ढुङ्गा रहेको छ । त्यसलाई स्थानीयहरूले भिमले ठेलो हानेको ढुङ्गा भन्ने गर्दछन । अर्कोतर्फको ढुङ्गा कास्कीबाट लमजुङमा यसोब्रह्म शाहलाई राजा बनाउन ल्याउदा यही ढुङ्गामा टाउको जोडाएर अर्थात ठोकाएर शाह राजाको सत्ता ढुङ्गा जस्तै अटल रहोस भन्ने कामना गरेको लोक कथा पनि छ । त्यसपछि उनीहरू त्यस दिन मिदिम खोलाको किनारमा रहेको थर्पु भन्ने स्थानमा बास बसेको पनि इतिहास छ ।

भिमले ठेलो हानेको ढुङ्गा भन्ने कुरा नेपालका धेरै ठाउँमा पौराणिक लोक कथासँग जोडिएको छ । यसलाई ठ्याक्कै ऐतिहासिक तथ्यभन्दा बढी सांस्कृतिक–पौराणिक व्याख्या भनेर बुझिन्छ । तर यी कथा र ढुङ्गाहरूले गाउँको सांस्कृतिक पहिचान, धार्मिक आस्था र पुराना विश्वासलाई जोगाइरहेका छन । महाभारतका वीर पात्र भीमलाई शक्तिशाली, ढुंगा–पर्वत उठाउने, टाढासम्म फयाँक्ने वा ठेल्ने रुपमा वर्णन गरिएको छ । नेपालका विभिन्न ठाउँमा देखिने भिमले ठेलो हानेको ढुङ्गा भिमले उठाएको ढुङ्गा वा भिमले खेल्दा बनाएका डाँडाकाँडा भन्ने लोक कथाहरू सांस्कृतिक स्मृति हुन । भिमलाई लोक कथामा शक्ति र पराक्रमको प्रतीक मानिन्छ । गाउँमा ठूला–ठूला ढुङ्गा देखिँदा मानिसहरूले यसलाई भिमसँग जोडी कथाहरू बनाएका छन । नेपालमा प्रचलित भिमसँग जोडिएका ढुङ्गा पोखराको बगरमा, गोरखा, लमजुङ, तनहुँ, सिन्धुली, काठमाडौं उपत्यका, धनकुटा–तेह्रथुम क्षेत्र, पश्चिम नेपालमा सल्यान, दाङ, रोल्पा र डोटी लगायत ठाउमा भिमढुङ्गा रहेका छन । वास्तवमा यी ढुङ्गा प्राकृतिक भू–वैज्ञानिक कारणले बनेका हुन । तर जनविश्वासले यसलाई भीमसँग जोडेका छन । महाभारतकालीन पात्रहरूसँग नेपाली भौगोलिकस्थललाई जोडने परम्परा संस्कृतिसँगै प्राचीनता प्रदर्शन गर्ने एउटा तरिका हो । नेपालका विभिन्न भूभागमा भेटिने भीमले ठेलो हानेको ढुङ्गाहरू केवल पौराणिक कथा मात्र नभई गाउँ–गाउँको सांस्कृतिक जीवन, धार्मिक आस्था र लोक स्मृतिको धरोहर हुन ।
कर्पुटार कसरी पुग्ने ?
काठमाडौं, पोखरा र तनहुँको सदरमुकाम दमौलीदेखि कर्पुटारसम्म सडक पक्की बनिसकेको छ र नियमित बस सञ्चालन हुँदै आएको छ । जिप, स्कर्पियो, मोटरसाइकल, स्कुटलरलगायत निजी सवारी साधनमार्फत समेत कर्पुटार पुग्न सकिन्छ । कर्पुटार लमजुङको सुन्दरबजारदेखि कुन्छा हुदै सिसाघाट भएर अथवा सुन्दरबजारको खत्रीठाँटी देखिनै मध्यपहाडी लोकमार्ग हुदै पनि पुग्न सकिन्छ । काठमाडौबाट १८० कि.मी.पश्चिम र पोखराबाट ३२ कि.मी.पूर्वमा पर्ने कर्पुटार पर्यटकहरूले फर्कने बेला पोखरा निस्कने तीनवटा सडक छन । पर्यटकहरूको इच्छा अनुसार सडक प्रयोग गर्न सक्दछन । कर्पुटारबाट मध्यपहाडी लोकमार्ग हुदै रुपातालको समेत अवलोकन गर्दै बेगनास ताल भएर पोखरा पुग्न सकिन्छ । अर्को मार्ग हो कर्पुटारदेखि दुई पिप्ले– नेउपाने चोेक पुगेपछि मादी नदीको पुल तर्ने र पोल्यान, मुलपानी, देउराली, ढोरबेसी, राजाको चौतारो, सातमुहाने हुदै सिसुवाचोक भएर पृथ्वीराजमार्गको तालचोक पुग्न सकिन्छ । यो मार्ग दुई पिप्लेदेखि पोखरासम्म ४० किलोमिटर पर्दछ । यो सडकमार्ग पुरानो हुलाकीमार्ग अर्थात पुरानो काठमाडौ– पोखरा यात्रा गर्दा पैदल मार्ग पनि हो ।
(लेखक : लामो समयदेखि पत्रकारितामा सक्रीय रहनु भएका उहाँ लमजुङ जन्म थलो भई दाङलाई कर्मथलोका रुपमा रोज्नु भई नेपालको पर्यटनका बारेमा विशेष दखल राख्दै कलम चलाउने गर्नु हुन्छ । – सं.)
प्रकाशित मिति २०८२ भाद्र ९, सोमबार १९:२२ गते