बेसीशहर(लमजुङ)– विश्वभर छरिएर रहेका नेपाली हिन्दू महिलाले मनाउने महत्वपूर्ण पर्व हरितालिका तीज आज भदौ १० गते मनाइँदै छ । भाद्र शुक्ल तृतीयाका दिनमा मनाइने हरितालिका (तीज) पर्व आज देवादिदेव महादेवको पूजा आराधना गरी मनाइँदैछ । भाद्र शुक्ल तृतीयामा व्रत बसी शिव पार्वतीको पूजा, उपासना गरेमा पारिवारिक सुख, शान्ति र कल्याणको प्राप्ति हुने धार्मिक विश्वास छ । तीज महिलामैत्री पर्वका रूपमा परिचित छ ।
सत्ययुगमा हिमालय पुत्री पार्वतीले गौरीघाटमा बसेर तपस्या गरेर महादेव पति पाउने बरदान पाएकी थिइन् । तर वरदानविपरीत पार्वतीका पिता हिमालयले पार्वतीको इच्छा विपरीत विष्णुसित विवाह गरिदिन खोजेपछि साथीहरूलाई आफ्नो समस्या सुनाइन् ।
पार्वती समस्यामा परेको थाहा पाएपछि उनका साथीहरूले हरण गरेर लगी कसैले नदेख्ने ठाउँमा लुकाएर राखिदिए । साथीहरूले लुकाएकै ठाउँमा पार्वतीले निराहार व्रत गरी महादेवलाई पतिका रूपमा प्राप्त गरिन् । यसरी पार्वती साथीहरूद्वारा हरण भएको दिन भाद्र शुक्ल तृतियको दिन भएकाले त्यही समयदेखि हरितालिका (तीज) को व्रत लिने प्रचलन सुरु भएको धर्मशास्त्रीय मत छ । संस्कृत भाषाका ‘हरित’ र ‘आलिका’ दुई वटा शब्द मिलेर हरितालिका शब्द बनेको छ । जसमा ‘हरित’ शब्दको अर्थ हरण गरिएको र ‘आलिका’ शब्दको अर्थ साथी भन्ने हुन्छ ।
सत्ययुगमा आजैको दिन निराहार व्रत बसी पार्वतीले श्रीमहादेव स्वामी पाएकीले आजको दिनमा व्रत बस्दा मनोकामना पूरा हुने विश्वास छ ।
यो पर्वमा आफ्नो शरीरको अवस्था अनुसार निराहार, जलाहार र फलाहार गरी व्रतका तीन किसिम छन्, सक्नेले निराहार, नसक्नेले जलाहार र जलाहार पनि नसक्नेले फलाहार व्रत गर्नु उत्तम हुन्छ । सर्वतः आत्मानं गोपायेत् अर्थात् सबैतिरबाट आत्माको रक्षा गर अनिमात्र व्रत गर भन्ने धर्मशास्त्रीय वाक्यलाई पनि विचार गरेर व्रत गर्नु उत्तम हुन्छ । तीजको अवसरमा ‘अविवाहितले सुयोग्य वर पाऊँ, विवाहितले आफ्नो पतिबाट पार्वतीलेझैं माया पाऊँ, जीवनभर दाम्पत्य जीवनको सुखभोग गर्न पाऊँ र विधवा महिलाले अर्को जन्ममा सुयोग्य पति पाऊँ र वैधव्य जीवन बिताउनु नपरोस्’ भन्ने मनोकामनाका साथ व्रत बस्ने गर्दछन् ।
व्रतको अघिल्लो दिन भाद्र शुक्ल द्वितीयाका दिन मध्य राति १२ बजेअगावै दर खाने प्रचलन छ । चेलीलाई माइतीले वा दिदीले बहिनीहरूलाई वा मावलीले चेलीभाञ्जीहरूलाई बोलाउने र दर खुवाउने गर्दछन् । दर भनेको पौष्टिक वा सात्विक (दाल, भात, तरकारी, फलफूल, दूध, दही, घिउआदि) आहार हो । भोलिपल्ट व्रत बस्न शक्ति प्राप्ति होस् अर्थात दह्रो हुन सकियोस् भन्ने हेतु पौष्टिक आहार खाने चलन रहेको हो ।
तृतीयाका दिन बिहानै उठेर तिल र अमलाको चूर्णले विशेष स्नान गर्नुपर्ने शास्त्रीय विधान छ । यस दिन यथासम्भव पाटको कपडा लगाएर साँझपख पूजाकोठा वा मन्दिर वा पवित्र ठाउँमा शिवपार्वतीको पूजा गर्नुपर्छ । व्रतालुले आफूमा रहेको नकारात्मक सोच, पापादि आचरणबाट मुक्त भएर जन्मजन्मान्तर सौभाग्य ऐश्वर्य अखण्डित रूपमा प्राप्त भइरहोस् भनी कामना गर्दै संकल्पपूर्वक दियो, कलश र गणेशको पूजा गरी बालुकामय शिवपार्वती (उमामहेश्वर)को षोडशोपचारले विधिअनुसार पूजा गर्नुपर्ने व्रतराजमा उल्लेख छ ।
यो पर्वको पावन अवसरमा महिलाहरू माइत जाने र आफ्ना मन मिल्दा साथीसँगीसँग भेटघाट गर्ने, नाचगान, भजनकीर्तन र जमघट गर्ने अनि आपसमा वर्ष दिनभर आफूलाई परेका दुःख, पीर, मर्का पोख्ने गर्दछन् ।
पछिल्लो समय हिन्दूइतर वा अन्य धर्म र जातजातिका महिलाले पनि हर्षोल्लासका साथ तीज पर्व मनाउन थालेको पाइन्छ ।
यसदिन दिनभर शिवालय गई शिवजीको दर्शनपूजन गर्ने, भजनकीर्तन गर्ने र नाचगान तथा रमाइलो गर्ने गरिन्छ । हरितालिका तीजको दिन आज बिहानैदेखि देशभरका शिवालय तथा मन्दिरहरूमा ब्रतालुको भीड लागेको छ । बेसीशहरको कर्पुरेश्वर महादेव मन्दिर, करापुटारको ईशानेश्वर महादेव मन्दिर लगायतका शिव मन्दिरमा मानिसहरूको भिड लाग्ने गर्दछ ।
काठमाडौंको पशुपतिनाथ मन्दिरलगायत देशभरका शिवालयमा प्रत्येक वर्ष व्रतालुहरूको ठूलो भिड लाग्ने गर्दछ ।
प्रकाशित मिति २०८२ भाद्र १०, मंगलवार ०६:३२ गते