सूर्यदर्शन सहकारीका संस्थापक अध्यक्ष रहेका जिबी राईका जेठान बमजनले सहकारीबाट १ करोड ५४ लाख बढी रकम नलिएको बयान

सूर्यदर्शन सहकारीका संस्थापक अध्यक्ष रहेका जिबी राईका जेठान बमजनले सहकारीबाट १ करोड ५४ लाख बढी रकम नलिएको बयान

अन्तरङ्ग न्युज

@antaranganews

२०८२ भदौ १० गते मङ्गलबार ०१:०९

सहकारीको अध्यक्ष रहँदा आफूले मासिक भत्ता २० हजार रुपैया मात्र लिएको बताएका बमजनले अन्य कुनै पनि ऋण र आर्थिक लाभ नलिएको उनको दाबी छ ।

बमजनकी बहिनी भगवतीलाई जिबीले दोस्रो विवाह गरेका थिए । सहकारी ठगी अभियोगमा जिबी र भगवती दुवै जना अझै फरार छन् ।

पोखरा– गोर्खा मिडिया नेटवर्क प्रालिका अध्यक्ष गीतेन्द्रबाबु (जिबी) राईका जेठान ज्ञानबहादुर बमजनले कम्पनीबाट १ करोड २९ लाख ३ हजार ७१४ रूपैयाँ ऋण÷पेस्की लिएको अस्वीकार गरेका छन् । अभियोगपत्र र छानबिन प्रतिवेदनहरूमा बमजन अध्यक्ष हुँदा सहकारीबाट १ करोड ५४ लाख ४९ हजार ८३६ रुपैयाँ प्रक्रिया पूरा नगरी लगानी गरेको र अधिकांश रकम आफू र आफ्नो आफन्तलाई दिएको उल्लेख छ ।
बमजन पोखराको सूर्यदर्शन सहकारी संस्थाका संस्थापक अध्यक्ष हुन् । उनकै सक्रियतामा स्थापना भएको सहकारीमा उनी २०६५ भदौ २७ देखि २०७६ माघ ५ गतेसम्म अध्यक्ष थिए । उनले नै जिबी राईलाई सहकारीमा भित्र्याएर अध्यक्ष बनाएका थिए ।
संकटग्रस्त सहकारी छानबिन गर्न बनेको संसदीय छानबिन समिति, पोखरा महानगरको वित्तीय विष्लेषण प्रतिवेदन र पोखराको सूर्यदर्शन सहकारी ठगी अभियोगमा जिल्ला सरकारी वकिलको कार्यालय कास्कीले अदालतमा पेस गरेको अभियोग पत्रमा बमजनले गोर्खा मिडियाबाट उक्त रकम ऋण÷पेस्की लिएको उल्लेख छ ।
बयानमा बमजनले गोर्खा मिडियाबारे आफूलाई केही थाहा नभएको र उक्त मिडिया स्थापना हुँदा आफू अमेरिका रहेको पनि बताएका छन् । उनले बयानमा भनेका छन्, ‘गोरखा मिडिया कहिले दर्ता भयो, मलाई थाहा छैन । म उक्त कम्पनीका सेयर होल्डर र कर्मचारी पनि होइन, कम्पनीको बारेमा मलाई केही थाहा छैन, उक्त कम्पनी दर्ता हुने बेला म नेपालमा पनि थिइनँ, अमेरिकामा थिएँ ।’
बमजन अध्यक्ष हुँदा अपचलन भएको उक्त रकममध्ये आफ्नो नाममा २६ लाख ७० हजार ८७१, उनका ज्वाइँ जिबी राई र बहिनी भगवती बमजनको नाममा ३७ लाख ९ हजार ४६८ र अन्य आफन्त एवम् व्यक्तिका नाममा थप ५३ लाख ७६ हजार ३०८ रुपैया प्रक्रिया पूरा नगरी प्रवाह गरेको तथा उक्त रकमको साँवा–ब्याज अहिलेसम्म पनि उठ्न नसकेको प्रतिवेदनमा लेखिएको छ ।
अभियोग लागेको ८ महिनापछि अदालतमा हाजिर भएर बमजनले भने उक्त अभियोग पनि अस्वीकार गरेका छन् । अदालतमा उपस्थित भएर दिएको बयानमा बमजनले आफू अध्यक्ष रहँदा सहकारी राम्रोसँग चलेको र कुनै आर्थिक अपचलन नगरेको पनि दाबी गरेका छन् । तर अभियोग पत्रमा उल्लेखित उक्त रकम सूर्यदर्शन सहकारीबाट नभएको दाबी गरेका उनले सूर्यदर्शन फाइनान्समा कहाँबाट आयो भन्नेबारे भने खुलाएका छैनन् । सहकारीको अध्यक्षमा आफ्नो कार्यकाल सकिएपछि भएका कारेबारको दायित्व र जिम्मेवारी आफूले लिन नपर्ने पनि इजलासमा बताएका छन् ।
अभियोग पत्रमा सूर्यदर्शन सहकारीबाट बमजनको स्टाण्डर्ड चाटर्ड बैंकमा रहेको खातामा २६ लाख ७० हजार ८७१ रुपैयाँ कारोबार भएको उल्लेख छ । यस अभियोग पनि उनले अस्वीकार गर्दै उक्त रकम आफै प्रमुख कार्यकारी रहेको सूर्यदर्शन फाइनान्ससँग सम्बन्धित रहेको दाबी गरेका छन् ।
सूर्यदर्शन फाइनान्स कम्पनी अन्नपूर्ण विकास बैंकसँग मर्ज भई सुप्रिम डेभलपमेण्ट बैंक बनेको र पछि एनसीसी हुँदै हाल कुमारी बैंकको रुपमा सञ्चालनमा आएको पनि उनले अदालतमा बयान दिएका छन् ।
बमजनले सूर्यदर्शन सहकारीबाट नारायणी फाइनान्समा रहेको आफ्नो खातामा ४ लाख २५ हजार रुपैयाँ लगेको पनि अभियोग पत्रमा उल्लेख छ । बमजनले यो अभियोग पनि अस्वीकार गरेका छन् । नारायणी फाइनान्स मर्ज भएर लक्ष्मी सनराइज बैंक बनेको र बैंकमा रहेको आफ्नो बचत खातामा २ हजार रुपैयाँ मात्र रहेको बमजनले बयानमा बताएका छन् ।
अभियोग पत्रमा सूर्यदर्शन सहकारीबाट पेशल कुमार राईको खातामा गएको २ लाख ७० हजार रुपैयाँ बमजानको खातमा स्थानान्तरण गरेको, काठमाडौंको कल्याण उपकार सेभिङको नाममा २६ लाख ७७ हजार ४०९ रुपैया भुक्तानी दिएको, सहकारीका सचिव सूर्यध्वज न्यौपानेको खाता गएको ८ लाख मध्य ५ लाख बमजनको खातामा ट्रान्सफर भएको लगायत देखिएको अभियोग पत्रमा उल्लेख छ । ती विषयमा बमजनले जबाफ दिन चाहेका छैनन् ।
सहकारीको अध्यक्ष रहँदा आफूले मासिक भत्ता २० हजार रुपैया मात्र लिएको बताएका बमजनले अन्य कुनै पनि ऋण र आर्थिक लाभ नलिएको उनको दाबी छ ।
‘अध्यक्षका रुपमा खटिँदा मासिक भत्ताका रुपमा २० हजार रुपैयाँ लिएको छु, अन्य कुनै किसिमको ऋण लगायत कुनै पनि किसिमको आर्थिक लाभ लिएको छैन,’ उनले बयानमा भनेका छन् ।
बमजनकी बहिनी भगवतीलाई जिबीले दोस्रो विवाह गरेका थिए । सहकारी ठगी अभियोगमा जिबी र भगवती दुवै जना अझै फरार छन् ।
सहकारी पीडितको बचत फिर्ता गर्न र अभियुक्तहरू पक्राउ गर्न सरकारले चासो नदेखाएको सहकारी बचत पीडित संघर्ष समितिका संयोजक किरण श्रेष्ठले बताउनु भएको छ । उहाँका अनुसार सो सहकारी राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने कारागार चलान भएपछि सरकार निदाएको उल्लेख गुर्न भएको छ ।
बमजनलाई उन्म्क्ति दिने गरी अदालतबाट १० लाखको मात्र धरौटी माग भएकोमा पीडितहरूले आदेश दिने न्यायाधीशबा विरुद्ध न्यायिक समिति गुहार गर्ने बताएका छन् ।

प्रकाशित मिति २०८२ भाद्र १०, मंगलवार १३:०९ गते
हजुरको प्रतिक्रिया