ठाडोभाका निःशुल्क तीन दिने प्रशिक्षण अब लमजुङको दूधपोखरीमा

ठाडोभाका निःशुल्क तीन दिने प्रशिक्षण अब लमजुङको दूधपोखरीमा

अन्तरङ्ग न्युज

@antaranganews

२०८२ भदौ १२ गते बिहिबार ०९:२३

प्रतिष्ठानका संरक्षक एवम् ठाडोभाका महानायक धम्पुको रथ यात्रा यो वर्ष गरिने भएको छ । धम्पुमा वागीनाका तीनै विधा बाध्यबादन, गायन र नाच्न उत्तिकै रुपमा प्रस्तुत गर्न सक्ने क्षमता छ, यस्तो प्रतिभावान् मान्छे अर्को भेटिएको पनि छैन, त्यसैले पनि उहाँ यस्तो सम्मानको हकदार हो भन्ने लाग्छ र उहाँलाई राज्यले नै ठाडोभाका महानायकको उपाधि दिनु पर्छ भन्ने प्रतिष्ठानको ठहर छ अध्यक्ष पहाडी भन्नुहुन्छ ।

वरिष्ठ लोकगायिका सिर्जना विरही थापाले स्याङ्जाकी चेली भएर पनि यो प्रतिष्ठानलाई तिरी नसक्ने गुण लगाउनु भएको छ ।

सग्रबास, दूधपोखरी(लमजुङ)– मौलिक लोककला संस्कृतिको संरक्षण र प्रवर्धन गेर्न उद्देश्यले स्थापित ठाडोभाका लोककला प्रतिष्ठान नेपाल, लमजुङ आफ्नो गन्तव्यतर्फ अघि बढी रहेको छ । सो क्रममा ठाडोभाकाको तीन दिने निःशुल्क प्रशिक्षण सञ्चालन गर्ने भएको छ । दूधपोखरी गाउँपालिका– ४, सग्रवास गाउँमा आउँदो असोज २, ३ र ४ गते सञ्चालन हुने प्रतिष्ठानले जनाएको छ । प्रतिष्ठानका सहकोषाध्यक्ष भुन्टीमाया तामाङको संयोजन तथा सोही स्थानमा रहेको लालीगुराँस आमा समूहको व्यवस्थापनमा सो प्रशिक्षण हुने भएको हो ।
‘लोक संस्कृतिको उत्थान– हाम्रो अभियान’ मूल नाराका साथ क्रियाशील रहेको प्रतिष्ठानले सञ्चालन गर्दै आएका ठाडोभाका प्रशिक्षणको यो शृंखला १० औं हुनेछ । पालिकास्तरीय यस पटकको तालिममा मावि र आधारभूत विद्यालयबाट चारदेखि छ जना विद्यार्थी सहभागी गराउन पालिकाको शिक्षा शाखा मार्फत सम्बन्धित विद्यालयलाई अनुरोध गरिएको छ ।
प्रतिष्ठानका सल्लाहकार एवम् पूर्वप्रजिअ रमेशचन्द्र अधिकारीले पुरस्कार सौजन्य गर्नु हुने :
त्यसरी तोकिएको संख्यामा छात्रछात्रा पठाएर उत्कृष्ठ हुने विद्यालयलाई भलिबलको एक सेट(नेट समेत) पुरस्कार स्वरुप प्रदान गरिने भएको प्रतिष्ठानका अध्यक्ष नवराज पहाडीले बताउनु भएको छ । उहाँका अनुसार सो पुरस्कारको प्रायोजन प्रतिष्ठानका सल्लाहकार एवम् पूर्वप्रजिअ रमेशचन्द्र अधिकारीले सौजन्य गर्नु हुने भएको छ ।
अध्यक्ष पहाडीले भन्नुभयो, ‘त्यस बाहेक सहभागीमध्ये पहिलो, दोस्रो र तेस्रो हुनेलाई क्रमशः २५ सय, १५ सय र एक हजार रुपैयाँ नगद पुरस्कार प्रदान गरिने छ ।’ सो पुरस्कार वरिष्ठ लोकगायिका ‘सिर्जना विरही थाापा प्रतीभा पुरस्कार’को अक्षयकोषको व्याज रकमबाट उपलब्ध हुने पहाडीले जानकारी दिनु भएको छ ।
प्रशिक्षणमा प्रतिष्ठानका संरक्षक एवम् ठाडोभाका महानायक बुद्धिमान दुरा ‘धम्पु’ तथा प्रतिष्ठानका उपाध्यक्ष एवम् ठाडोभाकाका बहुचर्चित गायिका सीता दुराले गायन र नृत्यतर्फ प्रशिक्षण दिनु हुने कार्यक्रम तय भएको छ । यसैगरी, बाध्यवादनतर्फ संरक्षक ‘धम्पु’का साथमा कार्यकारी सदस्य देवराज गुरुङले प्रशिक्षण दिनु हुने छ ।
सो प्रशिक्षणमा कम्तिमा ३५ देखि ४० जनाले भाग लिने अनुमान गरिएको प्रशिक्षणका संयोजक प्रतिष्ठानका सहकोषाध्यक्ष भुन्टी तामाङले बताउनु भएको छ ।
यसैबीच, लालीगुराँस आमा समूहका अध्यक्ष सन्तमाया तामाङले ठाडोभाका पुरानो गीत हो तर बीचमा हराएको जस्तो भएको थियो, ऐले प्रतिष्ठान खोले पछि यसको चर्चा हुन थालेको छ, हाम्रो पालिकामा पनि २, ३ वटा कार्यक्रम भइसकेको जानकारी दिनुभयो । उहाँका अनुसार प्रतिष्ठानमा हाम्रो दुर्गम ठाउँको प्रतिनिधि भुन्टीमाया तामाङ पनि समितिमा हुनुहुन्छ । उहाँकै कारणले हाम्रो पालिकामा ठाडोभाकाको पुरस्कार पनि आउन सकेको छ । प्रशिक्षणले गाउनेहरूमा अझै हौसला मिल्ने छ, नयाँ नयाँ भाइ, बहिनी, छोरा, छोरी पनि गाउने, बजाउने, नाच्ने भएर निस्कलान् भन्ने आशा छ लालीगुराँस आमा समूहका अध्यक्ष सन्तमाया तामाङले खुशी व्यक्त गर्दै भन्नुभयो ।
हाम्रो गाउँको भुन्टीसमेत प्रतिष्ठानका अध्यक्ष, संरक्षकहरूले हामीलाई सम्झनु भयो, हामी पनि उहाँलाई किन सहयोग नगर्ने भनेर लागि परेका छौं । उहाँले भन्नुभयो, ‘यस्तो प्रशिक्षणको युटुभ समेत प्रतिष्ठानबाट बनाउने रहेछ, हाम्रो दुर्गम गाउँ ठाउँको पनि प्रचारप्रसार होस् भनेर हामीले प्रशिक्षण कार्यक्रमलाई सहयोग गर्ने भएका हौं ।’
सो प्रशिक्षण कार्यक्रम हाम्रो समूहको भवनमा सञ्चालन गर्ने तयारी गरिएको लालीगुराँस आमा समूहका अध्यक्ष सन्तमाया तामाङले जानकारी दिनुभयो ।
प्रशिक्षणको उद्देश्यमा प्रकाश पार्दै प्रतिष्ठानका अध्यक्ष पहाडीले भन्नुभयो, ‘मूलतः नयाँ पुस्तामा हस्तान्तरण गर्ने अभियानमा प्रतिष्ठान रहेको छ । प्रशिक्षणमा तीन पुस्ताको सहभागिता रहने गरेको अनुभव छ ।’ उहाँका अनुसार ठाडोभाकाको नाम नै नसुनेको नयाँ पुस्ता, पहिले गाएर विचमा छाडेको पुस्ता पनि जोडिने क्रम सुरु भएको छ । अर्को गायक गायिका बन्न इच्छुक नौजवानहरू समेत प्रशिक्षणमा सहभागी हुनुहुन्छ ।
वरिष्ठ लोकगायिका सिर्जना विरही थापाको तिरी नसक्ने गुण :
गत वर्षदेखि प्रशिक्षणमा नयाँ रौनक थपिएको जानकारी दिदै अध्यक्ष पहाडीले भन्नुभयो, ‘त्यो हो वरिष्ठ लोकगायिका सिर्जना विरही थापा(स्याङजा), हाल ः अमेरिका– ले हामीलाई डेढ लाख रुपैयाँ अक्षयकोषका लागि संरक्षकमार्फत पठाउनु भएको थियो ।

हामीले त्यो रकम उहाँकै नाउँमा ‘सिर्जना विरही थापा प्रतीभा पुरस्कार’का लागि त्यो रकम अक्षयकोषमा राखेका छौं, त्यसको व्याजबाट आउने रकमबाट हामीले प्रशिक्षणका सहभागीमध्ये पहिलो, दोस्रो र तेस्रो हुनेलाई नगद सहित पुरस्कृत गर्न थालेका छौं ।’
स्याङजामा जन्मे हुर्केर ऐले अमेरिकालाई कर्मथलोका रुपमा उपयोग गर्नु भएकी वरिष्ठ लोकगायिका सिर्जना विरही थापाले हामीलाई लगाउनु भएको यो गुण तिरी साध्य छैन । उहाँप्रति प्रतिष्ठान परिवारका साथमा मेरो व्यक्तिगततर्फबाट पनि उहाँलाई मुरीमुरी कृतज्ञता व्यक्त गर्दछु ।
प्रतिष्ठानका संरक्षक एवम् ठाडोभाका महानायक धम्पुको रथ यात्रा गरिने :
यो वर्ष प्रतिष्ठानका संरक्षक एवम् ठाडोभाका महानायक बुद्धिमान दुरा ‘धम्पु’को अभिनन्दन सहित रथ यात्रा गरिने भएको छ । प्रतिष्ठानले दशक वर्ष पुगेको सन्दर्भमा यो वर्ष केही नयाँ काम हुँदैछन् तीमध्ये प्रतिष्ठानका संरक्षक एवम् ठाडोभाका महानायक बुद्धिमान दुरा ‘धम्पु’को अभिनन्दन सहित रथ यात्रा एउटा भएको अध्यक्ष पहाडीले जानकारी दिनु भएको छ । उहाँका अनुसार सो कार्यक्रम धम्पुको ७१ औ वर्ष प्रवेशका अवसरमा गर्न प्रस्ताव गरिएको छ ।
सो अवसरमा गण्डकी प्रदेश सरकारबाट धम्पुलाई ठाडोभाका महानायकको उपाधिको सम्मानसहित रथ यात्राको कार्यक्रम गर्ने, उहाँको व्यक्तित्व तथा कीर्तित्वका गाथा समेटिएको एक ग्रन्थको विमोचन गर्ने सहितका कार्यक्रम हुनेछन् अध्यक्ष पहाडीले जनाकारी दिनुभएको छ ।
धम्पुमा ठाडोभाकाको विशेष प्रतीभा रहेको पाइन्छ । हिजोका दिनमा ठाडोभाका शिरोमणिको उपाधि दिइएका भेडीखर्के साइला गाउन मात्र जान्नु हुन्थ्यो, (यसो भनेर उहाँको व्यक्तित्वलाई होच्याउन खोजेको होइन, यथार्थ बोलेको मात्र हो ।) तर पनि भेडीखर्के साइलालाई ठाडोभाका शिरोमणिको उपाधि दिइयो । धम्पुमा वागीनाका तीनै विधा बाध्यबादन, गायन र नाच्न उत्तिकै रुपमा प्रस्तुत गर्न सक्ने क्षमता छ, यस्तो प्रतिभावान् मान्छे अर्को भेटिएको पनि छैन, त्यसैले पनि उहाँ यस्तो सम्मानको हकदार हो भन्ने लाग्छ र उहाँलाई राज्यले नै ठाडोभाका महानायकको उपाधि दिनु पर्छ भन्ने प्रतिष्ठानको ठहर छ अध्यक्ष पहाडी भन्नुहुन्छ ।

प्रकाशित मिति २०८२ भाद्र १२, बिहीबार ०९:२३ गते
हजुरको प्रतिक्रिया