बेसीशहर– लमजुङको जिल्ला सदरमुकाम बेसीशहरमा केन्द्रीय कार्यालय रहेको सुनौलो भविष्य बचत तथा ऋण सहकारी संस्थाका सञ्चालकहरूका विरुद्धको ठगी मुद्दामा लमजुङ जिल्ला अदालत आज भदौ १९ गते १० दिनको म्याद थप भएको छ । सो मुद्दामा अब संगठित अपराधसमेत जोडिएको प्रहरी भनाइ छ ।
सुनौलो भविष्य सहकारी ठगी विरुद्धको मुद्दामा संगठित अपराधसमेतको बनाउने तयारी प्रहरी र जिल्ला सरकारी वकिल कार्यालय रहेको छ । त्यस सहकारीका पूर्वअध्यक्ष एवम् पूर्वप्रवन्धक रहेका पदम राउतले गत साउन २५ गते प्रहरी समक्ष आत्मसमर्पण गरेर गिरफ्तारी दिएपछि सो मुद्दाको अदालती प्रक्रियाको थालनी भएको हो । त्यस यता साउनका ७ दिन र भदौका आजसमेत १९ दिनसमेत २६ दिन बितिसकेको छ । यसअघि त्यस्तै ठगीको मुद्दा चलेको कालिका सहकारीको मुद्दा प्रहरीले जिल्ला सरकारी वकिल कार्यालयमार्फत २६ दिनमा जिल्ला अदालतमा मुद्दा दर्ता गरी पेश गरेको थियो । तर आज २६ औं दिन पार गर्दै गर्दा यो मुद्दामा १० दिनको म्याद थप हुनुले सुनौलो भविष्य सहकारीको ठगीमा संगठीत अपराधसमेत आकर्षित हुने स्थिति बनेको सहजै बुझ्न सकिन्छ । किनकि, फौजदारी अपराधको मुद्दामा अनुसन्धान गर्न प्रहरीलाई २५ दिनको म्याद हुन्छ भने संगठित अपराधमा ९० दिनसम्मको म्याद पाउने कानुनी व्यवस्था छ ।
यसबारेमा बुझ्नका लागि जिल्ला प्रहरी कार्यालय, लमजुङमा सम्पर्क गर्दा सुनौलो भविष्य सहकारीको ठगी मुद्दामा गिरफ्तार भएकाहरूलाई आज जिल्ला अदालतमा म्याद थपका लागि लग्दा १० दिनको म्याद थप भएको छ निप्रहरी प्रमुख प्रहरी निरीक्षक राजकिशोर साह तेलीले बताउनु भयो । ‘आज त २६ दिन भयो नि ! मुद्दा बुझाउनु पर्ने होइन र ?’ भन्ने अन्तरङ्ग न्यूजडटकमको जिज्ञासामा संगठित अवराधमा ९० दिनसम्म अनुसन्धान गर्न पाइन्छ भन्ने तपाईलाई थाहा हुनुपर्ने होइन र ! भन्नुभयो । उहाँलाई आजका मितिसम्म कति जनाले उजुरी गरेका छन् र विगो दावी के कति छ ? भन्ने थप जिज्ञासामा उजुरकर्ताहरू संख्या ४१ जना पुगेको छ । विगो दावी रकम भने धेरै छैन, एक करोड २४ लाख रुपैयाँ रहेको देखिन्छ साहले जानकारी दिनुभयो । उहाँका अनुसार उजुरी आउने क्रम भने जारी रहेकोले यो संख्या बढ्छ ।
शिक्षक जागिर धरापमा :
शिक्षकको स्थायी जागिर खाएर उक्त सहकारीमा जोडिएका मात्र हैन दुई कार्यकाल लेखासमितिको संयोजक वहालवाला)समेत रहेका भोटेओडार स्थित भक्ति नमूना माविका शिक्षक थकितप्रसाद अधिकारी(यात्री) पछिल्ला २८ दिनदेखि स्कूलमा अनुपस्थित रहेको बुझिन आएको छ । शिक्षक एवम् मुक्तककार यात्री सो सहकारीको सञ्चालक समितिको २०६९ को साउनमा संस्थापक सदस्य, सोही साल मंसिरमा भएको साधारणसभाबाट लेखा समितिको सदस्य, ०७१ मंसिरमा बनेको लेखा समितिको संयोजक, २०७७ सालको मंसिरमा पुनः लेखा समितिको संयोजक, २०७८ सालको पुसमा पुनः लेखा समितिको संयोजक बनेर आजका दिनसम्म पनि बहाल रहेको सहकारी रजिष्टार कार्यालय पोखराको अनुसन्धान प्रतिवेदनमा उल्लेख छ ।
शिक्षक यात्री विद्यालयमा गैह्र हाजिर भएको बारेमा आज सो माविका व्यवस्थापक समितिका पूर्व अध्यक्षलगायतका शिक्षासेवीहरूको एक प्रतिनिधि मण्डलले सो माविका प्रधानाध्यापक नवराज अधिकारीलाई एक ध्यानाकर्षणपत्र समेत बुझाएको जानकारीमा आएको छ । व्यवस्थापन समितिका अध्यक्ष भने काम छ भन्ने बहाना पारी सो अवसरमा अनुपस्थित रहेको भन्ने बुझिएको छ । 
(फोटोमा ध्यानाकर्षण पत्र बुझाउन गएको टोली र पत्र बुझेपछिको प्रअ अधिकारीको अवस्था) ।
ध्यानाकर्षण पत्र बुझाउन जानेहरूमा सो माविका व्यवस्थापक समितिका पूर्वअध्यक्ष द्वय कीर्तिनाथ सापाकोटा, हरिप्रसाद अधिकारी, पूर्वअध्यक्ष तथा पूर्ववडाध्यक्ष मोतीप्रसाद गुरुङ, पूर्वप्रअ उत्तरकुमार श्रेष्ठ, शिक्षक अभिभावक संघका पूर्वअध्यक्ष प्रेमबहादुर जिसी, शिक्षा अभियान संघका अध्यक्ष डम्बर थापा, पूर्वशिक्षक एवम् भोटेओडार सामुदायिक पुस्तकालयका अध्यक्ष वसन्तराज खनाल, पूर्वशिक्षकद्वय शिवप्रसाद अधिकारी, रमाकान्त सापकोटा, जग्गादाता डोलकुमारी सापकोटा, सिभिल विषय संयोजक भिमबहादुर गुरुङ, अभिभावक शर्मिला भुजेल, पूर्वविद्यार्थीद्वय रामजी कँडेल र भैरवकान्त अधिकारी हुनुहुन्थ्यो ।
अदालती प्रक्रियामा जानु राम्रो : दोषी ठहर भएमा मात्र जागिर जाने :
बहालवाला शिक्षकको हकमा अदालती प्रक्रियामा जानु राम्रो हुने, त्यस्तो अवस्थामा दोषी ठहर भएमा मात्र जागिर जाने हुन्छ शिक्षा विकास तथा समन्वय इकाईका प्रमुख दिवाकर शर्माले अन्तरङ्ग न्यूजडटकमलाई बताउनु भएको छ । उहाँका अनुसार बिना सूचना गैर हाजिर भएको खण्डमा जागिर जाने हुन्छ । त्यसको स्पष्टिकरण सोध्नेदेखिका सबै प्रक्रिया प्रअ र नगरपालिकाको शिक्षा शाखाले पुर्याएर हामी कहाँ पठाउने हो, त्यसपछि निर्णयार्थ हामी माथि पठाउछौं उहाँले भन्नुभयो ।
अदालती प्रक्रियामा जादा अहिल्यै दोषी हुँदैन, निलम्बन मात्र हुने हो, निलम्बन अवधिको २५ प्रतिशत तलब पनि पाइन्छ । मुद्दाको अन्तिम किनारा लाग्दा सफाई पाएमा लिम्बन अवधिको पुरै तलब पाइन्छ, दोषी ठहर भएमा मात्र जागिर जाने हुन्छ शर्माले थप जानकारी दिनुभयो ।
प्राविका शिक्षक मावि तह (कक्षा– ११ र १२)को छात्राबासका वार्डेन :
भक्ति नमूना माविका शिक्षक थकितप्रसाद अधिकारी(यात्री) प्रावि तहको शिक्षक भएको सो माविको प्रशासनले जनाएको छ । तर पनि यात्री मावि तह कक्षा– ११ र १२ को छात्रावासमा वार्डेन रहेको र सपरिवार सुविधा सम्पन्न रुपमा सो माविका रहेको तर आफ्ना छोराछोरी भने सोही छात्राबासबाट बोर्डिङको पोशाक पहिराएर पढ्न पढाउने गरेको रहस्य समेत खुलेको प्रअलाई ध्यानाकर्षण पत्र बुझाउन गएको टोलीले अन्तरङ्ग न्यूजडटकमलाई जानकारी दिएको छ । सो टोलीका अनुसार मुक्तककारका रुपमा समेत चर्चा कमाएका शिक्षक थकित यात्रीले विगतको करिब चार वर्षदेखि त्यस्तो सुविधाको उपभोग गरिहेका रहेछन् ।
छ करोड ५४ लाख रुपैयाँ हिनामिना : अनुसन्धान प्रतिवेदन
सुनौलो भविष्य सहकारीको घोटाला अर्थात ठगीका बारेमा पनि यसअघि बहुचर्चित बनेर ठगीको मुद्दा चलेको कालिका सहकारीको जस्तै गण्डकी प्रदेश सहकारी रजिस्ट्रार कार्यालय पोखराले प्रतिवेदन तयार गरेर प्रहरीलाई बुझाएको थियो । सो प्रतिवेदनमा सुनौलो भविष्य सहकारीका सञ्चालकहरूले मात्र छ करोड ५४ लाख रुपैयाँ हिनामिना गरेको उल्लेख छ । सोही आधारमा उक्त मुद्दाको अनुसन्धान भइरहेको र उक्त सहकारीका पीडित बचतकर्ता तथा सेयर सदस्यहरूलाई उजुरी दिन सम्पर्कमा आउन आह्वान गरेको प्रहरी भनाइ छ ।
यस सहकारी संस्थामा हाल कुल एक हजार २६५ जना शेयर सदस्यहरूले कारोबार गरिरहेको सहकारीको सिस्टमको अभिलेख बमोजिम देखिएको अनुसन्धान प्रतिवेदनमा उल्लेख छ ।
सिद्धियो मेलमिलापको सम्भावना :
यसअघि बहुचर्चित बनेर चलेको बेसीशहरकै कालिका सहकारी ठगीको मुद्दा ‘खोदा पहाड निक्ला चुहा’ शैलीमा झिसमिस गरिए जस्तै सुनौलो भविष्य सहकारीको मुद्दा पनि ‘मिलापत्र’ गरी कालिकाको सहकारीको जसरीनै तुहाउने सपना देखेका सञ्चालकहरू आजदेखि भने यो मुद्दामा मेलमिलापको सम्भावना सिद्धिएकोमा छ्याङ्ग भए हुने भएको छ । जबकी संगठित अपराध हुने बित्तिकै सम्पत्ती शुद्धीकरणको मुद्दामा समेत स्वतः लाग्ने कानुन व्यवसायीहरू बताउछन् । उनीहरूका अनुसार संगठित अपराध र सम्पत्ती शुद्धीकरणको मुद्दामा मिलापत्र हुँदैन ।
कालिका सहकारीको मुद्दामा पनि त सम्पत्ती शुद्धीकरणको मुद्दा चलेको थियो तर मेलमिलाप गरियो नि ? भन्ने अन्तरङ्ग न्यूजडटकमको थप जिज्ञासामा त्यसैले त त्यो मुद्दा उल्ट्याउनका लागि न्याय परिषदमा उजुरी परेको सुनिन्छ त ! ती कानुन व्यवसायीले उल्लेख गरे ।
छ प्रतिशत मात्र पक्राउ, प्रहरीको छविमा प्रश्न :
यसअघि बेसीशहरकै कालिका सहकारीको बहुचर्चित र बहुप्रतिक्षित बनेको ठगीे मुद्दाको भन्दा सुुनौलो भविष्यको ठगी मुद्दा डेढी बढी संख्यामा पीडकहरूका उपर पक्राउ पुर्जी जारी भएको छ, तर पनि यो मुद्दामा पक्राउ पर्ने संख्या भने यो समाचार तयार गर्दासम्म मात्र तीनजना आर्थत छ प्रतिशत मात्र पक्राउ परी हिरासतमा रहेको कारणले गर्दा लमजुङ प्रहरीको छविमा प्रश्न तेर्सिएको आम बुझाई छ । त्यसैले प्रहरीले आफ्नो छवि बचाउनका लागि पनि थप अभियुक्तलाई पक्रने क्रमले भोलिका दिनदेखि गति लिने विश्वास गरिएको छ ।
पक्राउ पुर्जी जारी भएको संख्याका सम्बन्धमा जिल्ला प्रहरी कार्यालयमा अन्तरङ्ग न्यूजडटकमका तर्फबाट राखिएको जिज्ञासामा त्यो संख्या त दिनदिनै बढेको छ र बढ्ने क्रम जारी छ निप्रहरी प्रमुख साह तेलीले बताउनु भयो । उहाँलाई त्यो संख्या ५० पुग्यो भन्ने छ नि ? भन्ने जिज्ञासामा ‘त्यस्तै हाराहारी भए जस्तो लाग्छ याद भएन’ उहाँले भन्नुभयो । ‘पक्राउ पर्ने संख्या त न्युन देखिन्छ नि ?’ भन्ने अर्को जिज्ञासामा हामीले आफ्नो काम (पुर्जी जारी भएकाहरूको खोजी) तिब्र पारिरहेका छौं, यसले अब थप गति लिन्छ उहाँले भन्नु्भयो ।
सहकारीको सञ्चालक बनेर अनेक प्रलोभनमा परेर मानिसलाई झुक्याई झुक्याई बचत गर्न(पाँच वर्षमा दोब्बर रकम तथा अरु सहकारीले भन्दा बढी व्याज दिन्छु भन्दै बचत गर्न लगाउने, सोझासिधा मान्छेलाई फकाएर ऋण नै आवश्यक नभएका मानिसहरुको लालपूर्जा धितो राख्न लगाएर संस्थाका नाउँमा ऋण लिने तर उनीहरुलाई २०, २२ हजार मात्र चिया खाउ भनेर दिएर सुकुम्बासी बनाउने, आफ्ना मान्छेलाई बिना धितो र अनि कमसल धितोमा बढी ऋण लगानी गर्ने, नाफानै नभएको बेलामा पनि संस्था नाफामा गएको छ भन्दै १८ प्रतिशतसम्म बोनस हसुर्ने, जबकी सहकारी ऐनले १५ प्रतिशतभन्दा बढी बोनस खान भिल्दैन भन्ने बन्दै गरेको जस्तो गैरकानुनी खेलो गर्ने सञ्चालकहरु दयाका लायक पात्र कसरी हुन सक्छन् ? भन्ने प्रश्न समेत उठेको छ ।
स्मरणीय छ, सो मुद्दामा पक्राउ पुर्जी जारी भएका ५० जनामध्ये दुई जना वडाध्यक्ष पनि फरार सूचिमा छन् । उनीहरू बेसीशहर नगरपालिका– ११ का एमालेबाट निर्वाचित शिवप्रसाद जोशी हुन् भने सुन्दरबजार नगरपालिका– ८ का वडाध्यक्ष नेपाली काँग्रेसबाट विजयी भएका विजेन्द्र थापा हुन् । जोशी उक्त सहकारीको संस्थावक अध्यक्ष र व्यवस्थापक समेत हुन् भने थापा लेखा समितिको दुई कार्यकाल(बहालवालासमेत)का सदस्य रहेको सहकारी रजिष्टार कार्यालय पोखराको अनुसन्धान प्रतिवेदनमा उल्लेख छ ।
प्रकाशित मिति २०८२ भाद्र १९, बिहीबार १९:१५ गते