एचडिसिएसद्वारा हिलेबजारमा विपद प्रतिकार्य चार दिने प्रशिक्षणसहित नमुना अभ्यास

एचडिसिएसद्वारा हिलेबजारमा विपद प्रतिकार्य चार दिने प्रशिक्षणसहित नमुना अभ्यास

अन्तरङ्ग न्युज

@antaranganews

२०८२ भदौ २० गते शुक्रबार ०६:०७

यसअघि आयोजक संस्थाले दोर्दी कोरिडोरमा सम्भावित बाढीबारे समयमै जानकारी दिन रिमोटबाट चल्ने सायरन जडान गर्नुका साथै त्यस क्षेत्रको सर्वाधिक पानी पर्ने स्थान पुरानो द्वारमा नदीको पानी मापन यन्त्र जडान गरेको थियो ।

उक्त तालिममा दोर्दी गाउँपालिका– ६, वडा नं. ७ र ८ का जनप्रतिनिधि, स्वास्थ्यकर्मी, प्रहरी, स्थानीय विपद व्यवस्थापन समिति तथा युवाहरू चार महिला समेत ५१ जनाले भाग लिएका थिए ।

हिलेबजार(लमजुङ)– लमजुङको दोर्दी गाउँपालिका– ८, हिले बजारमा विपद प्रतिकार्य चार दिने प्रशिक्षणसहित नमुनाको प्रयोगात्मक अभ्यास गरिएको छ । मानव विकास तथा सामुदायिक सेवा (एचडिसिएस)ले विपद प्रतिकार्य सम्बन्धी प्रशिक्षणसहित नमुना अभ्यास भदौ १९ गते सो कार्य सम्पन्न गरेको हो ।
चार दिने सो तालिममा आरएनए– १६ समूहका अरुन सैंजु र निना र्खैतुले सहजीकरण गर्नु भएको थियो । उक्त तालिममा दोर्दी गाउँपालिका– ६, वडा नं. ७ र ८ का जनप्रतिनिधि, स्वास्थ्यकर्मी, प्रहरी, स्थानीय विपद व्यवस्थापन समिति तथा युवाहरू चार महिला समेत ५१ जनाले भाग लिएको एचडिसिएस नमूना सामुदायिक अस्पतालका मनोपरामर्शदाता शोभा ठकुरीले बताउनु भयो । उहाँका अनुसार प्रशिक्षणका क्रममा सहभागीहरूलाई विपद व्यवस्थापन सम्बन्धी सैद्धान्तिक र व्यवहारिक ज्ञान दिइएको थियो र प्रयोगात्मक अभ्यासमा सरिक गराउने कार्य भएको थियो । उहाँले भन्नुभयो, ‘सहभागीहरूले विपतको संकेत पाउँदा पूर्वतयारी, विपद बाढी, पहिरो, आगलागी आदिमा परिसकेपछि जनधनको क्षतिलाई न्यूनीकरणका लागि गर्नु पर्ने उद्धार तथा राहतका कार्यका बारेमा जानकारी दिएको थियो ।’ जस्तो : भिरमा, छतमा अड्केका मानिसको उद्धार, उनीहरूको प्रार्थमिक उपचार, पानीमा डुबेको, आगलागीमा परेका मानिसको उद्धार पछिको उपचार, अग्नि नियन्त्रणका उपाय लगायतका विषयमा सैद्धान्तिक र प्रयोगात्मक दुवै खालका प्रशिक्षण दिइएको उहाँको भनाइ छ ।
दोर्दी गाउँपालिकासँगको सहकार्यमा सञ्चालन गरिएको तालिमको समापन तथा विपत प्रतिकार्य नमूना अभ्यासमा सरोकारवाला निकायका प्रतिनिधि तथा स्थानीयवासीहरूको सक्रिय सहभागिता थियो । दोर्दी गाउँपालिका अध्यक्ष युवराज अधिकारीको प्रमुख आतिथ्यतामा उक्त तालिमको समापन कार्यक्रममा गरिएको हो । अध्यक्ष अधिकारीले विपद कुनै पनि बेला र कुनै पनि ठाउँमा आउन सक्ने भएकाले स्थानीयस्तरमै पूर्व तयारी र आधारभूत ज्ञान हासिल गर्नु सबैका लागि आवश्यक भएकोमा जोड दिनु भयो ।
सो अवसरमा गाउँपालिकाका उपाध्यक्ष विच्छबहादुर घले, नेपाली सेना चण्डिप्रसाद गणका गणपति विक्रम देव थापा, सशस्त्र प्रहरी नायब उपरीक्षक शेखर दवाडी, पत्रकार महासंघका जिल्ला अध्यक्ष सन्देश पौडेल, महासंघकै निवर्तमान अध्यक्ष तथा एचडिसियस नमुना सामुदायिक अस्पताल व्यवस्थापन समितिका अध्यक्ष परमेश्वर अधिकारी, महासंघका सल्लाहकार अनुज अधिकारीको सहभागिता रहेको एचडिसिएस विपद परियोजना संयोजक बिवेक बल्लले बताउनु भयो । उहाँका अनुसार सो अवसरमा एचडिसिएस नमुना सामुदायिक अस्पताल प्रमुख हेमन्त श्रेष्ठ, पालिकाभित्रका वडा अध्यक्ष तथा वडासदस्यहरू लगायत स्थानीय समुदायकोसमेत विशेष सहभागिता थियो । उहाँलेभन्नुभयो, ‘दोर्दीमा सम्पन्न विपद प्रतिकार्य तालिम र नमुना अभ्यासले स्थानीय समुदायलाई सजग बनाउन सहयोग गर्ने विश्वास लिइएको छ ।’
यसअघि आयोजक संस्थाले दोर्दी कोरिडोरमा सम्भावित बाढीबारे समयमै जानकारी दिन रिमोटबाट चल्ने सायरन जडान गर्नुका साथै त्यस क्षेत्रको सर्वाधिक पानी पर्ने स्थान पुरानो द्वारमा नदीको पानी मापन यन्त्र जडान गरेको थियो । त्यस्तै, सो क्षेत्रमा पहिरो जोखिम रहेका गाउँमा भूगर्भविदमार्फत अध्ययनसमेत गराएको थियो । साथै, विपदजन्य घटनामा राहत व्यवस्थापनमा समेत संस्थाले निरन्तर सहयोग गर्दै आएको छ ।
स्वास्थ्य र शिक्षा क्षेत्रमा सक्रिय एचडिसिएसले लमजुङ र मनाङलाई आफ्नो कार्यक्षेत्र बनाएर विपद व्यवस्थापनसम्बन्धी गतिविधिहरू गर्दै आएको छ ।
यसअघि गत आर्थिक वर्षमा एचडिसिएसले मनाङको प्रवेश नाका नासोङ गाउँपालिका– १ को ताल गाउँमा विपद प्रतिकार्य सम्बन्धी प्रशिक्षण सञ्चालन गरी मर्स्याङदी नदीमा आउने बाढीको पूर्वसूचनाका लागि सायरन जडान गरी सञ्चालनमा ल्याउने काम गरेको थियो ।

प्रकाशित मिति २०८२ भाद्र २०, शुक्रबार ०६:०७ गते
हजुरको प्रतिक्रिया