
काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)ले रुपन्देही– ३ को उपनिर्वाचनका लागि प्रारम्भिक निर्वाचनको नतिजा सार्वजनिक नगरेकोमा सो दलका केन्द्रीय सदस्य गणेश कार्कीले प्रश्न उठाउनु भएको छ । रास्वपाले भदौ १२ र १३ गते प्रारम्भिक निर्वाचन गरी डा. लेखजंग थापालाई उम्मेदवार बनाउने निर्णय भदौ १५ गते सार्वजनिक गरेको भए पनि निर्वाचन परिणाम भने घोषणा गरेको थिएन, ‘त्यो किन न’भा ?’ भन्ने खुल्दुली धेरैका मनमा थियो । सोही प्रश्न केन्द्रीय सदस्य कार्कीले फेसबुक वालमा भदौ २१ गते उठाउनु भएको छ ।
पार्टीले आवश्यक परे मत परिणाम सार्वजनिक गर्न सक्ने जनाए पनि यो समाचार तयार गर्दासम्म मत परिणाम सार्वजनिक गरेको छैन । रास्वपाका दुई हजार ७१६ सदस्यमध्ये एक हजार ५६७ ले मतदान गरेका थिए ।
प्रारम्भिक निर्वाचनको अंकभार ५० रहेको थियो । मत सार्वजनिक नगरेकामा ९ जनामध्ये केही आकांक्षीसमेत असन्तुष्ट थिए । तर, मुख खोल्न सकेका थिएनन् । कार्यकर्ता पंक्तिमा पनि मत परिणाम जान्ने उत्सुकता थियो भने शुभचिन्तकहरू र विरोधीहरूको समेत त्यो सुन्ने चाहना थियो ।
९ जना आकांक्षीहरूमा केन्द्रीय सदस्य कुसुम महर्जन, क्षेत्रीय सभापति अर्याल, सुलभ खरेल, पार्थिवेन्द्र उपाध्याय, डा. लेखजंग थापा, ज्ञानु पौडेल, जीतबहादुर गुप्ता, रचना क्षेत्री र पुनम कुमारी अग्रवाल थिए ।
केन्द्रीय सदस्य कार्कीले प्रारम्भिक निर्वाचनको मत सार्वजनिक नगरेर पार्टी आफ्नै चरित्रबाट भागे जस्ता देखिएको टिप्पणी गर्नु भएको छ । ‘चुनाव बलियो हो भन्ने हामी रास्वपा समेत प्रारम्भिक चुनावको नतिजा सार्वजनिक नगरेर आफ्नै चरित्रबाट भागे जस्ता देखिदैछौँ’, केन्द्रीय सदस्य कार्कीले आज विहान सामाजिक सञ्जाल फेसबुकमा लेख्नु भएको हो ।
मिसन ८४ भनेर मुखले मात्र नागरिकलाई चुनाव र संसदको विश्वास दिलाउन नसकिने कार्कीको तर्क छ ।
मिसन ८४ भन्नुको अर्थ सरकार चलाउनेप्रतिको आक्रोशलाई मतपेटिकामा पोख्ने र त्योदेखि सकारात्मक परिवर्तन ल्याउने भन्ने हो उहाँको कथन छ । उहाँले भन्नुभएको छ, ‘आन्दोलन भन्दा चुनाव र सडक भन्दा संसद बलियो बनाउने भन्ने हो ।’
सम्बन्धित निर्वाचन क्षेत्रका पार्टी सदस्यको मतदानको ८० अंक, क्षेत्रभित्रका मतदाता रहेका पार्टीका तहगत समिति सदस्यको मतदानको १० अंक र केन्द्रीय समिति सदस्यको मतदानको १० अंकभार रहेको थियो । पार्टी सदस्यको मतदानमा २६ साउनसम्म पार्टी सदस्यता लिएकाले मात्र मतदानमा भाग लिन पाउने व्यवस्था गरिएको थियो ।
पार्टीले प्राइमरी इलेक्सनको ५० तथा लिडरसिप एकेडेमीको २५, पोलिटिकल प्रोक्सिमिटीको २० र समावेशिताको ५ अंक भार राखेको थियो ।
उता, रास्वपा रुपन्देही सभापति डा. बुद्धिप्रसाद शर्माले आवश्यक परे पार्टीले प्राइमरी इलेक्सनको मत परिणाम सार्वजनिक गर्न सक्ने बताउनु भएको छ ।
रास्वपाको रुपन्देही– ३ को उम्मेदवार छनौटमा दुई ७१६ जना पार्टी सदस्य मध्ये एक हजार ५६७ मत खसेको थियो । क्षेत्रका सदस्यहरू मध्ये एक १४९ जना प्रारम्भिक मतदानमा भाग लिएनन् । ६२ जना केन्द्रीय समिति सदस्यहरूमा २७ जनाले मात्रै मत दिएका थिए ।
प्रकाशित मिति २०८२ भाद्र २१, शनिबार १७:३९ गते