काठमाडौं– जेन– जी प्रदर्शनमा मृत्यु हुनेको संख्या ५१ पुगेको छ । तीमध्ये ४१ जनाको सनाखत भएको छ भने पहिचानसँगै अन्त्येष्टि पनि सुरु भएको छ । काठमाडौं उपत्यकामा मृतक भएकादेखि अन्य जिल्लाहरूको पनि जोडिएको छ । तीन प्रहरी, एक भारतीय महिलासहित ५१ जनाको मृत्यु भएको प्रहरीले भदौ २७ गते बताएको हो ।
पहिलो दिनको प्रदर्शनको क्रममा मृत्यु हुनेको संख्या २१ थियो । तीमध्ये कैदीमात्रै ९ जना मारिएका थिए । त्यस्तै, बाल सुधार गृहमा रहेका बालकहरू ५ जना र प्रहरीहरू ३ जना मृत भेटिएको प्रहरीले जानकारी दिएको हो । जेन–जी प्रदर्शनको क्रममा ज्यान गुमाउनेको संख्या ५१ पुगेको नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता तथा डिआइजी विनोद घिमिरेले बताउनु भयो । उहाँका अनुसार तीमध्ये तीन जना प्रहरी छन् । उहाँले भन्नुभयो, ‘ज्यान गुमाउनेको कुल संख्या ५१ पुगेको, जसमा प्रदर्शनकारी २१ जना, १८ जना अन्य, ९ जना कैदीबन्दी रहेका छन् ।’
सो क्रममा घाइतेहरू चार सयभन्दा बढी रहेका छन् ।
काठमाडौंको सिभिल अस्पताल, राष्ट्रिय ट्रमा सेन्टर, भेरी अस्पताल, एभरेष्ट अस्पताल, फ्रन्टलाइन अस्पताल, केएमसी अस्पताल, बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान, बयोधा अस्पताल, रामेछाप अस्पताल, बीएनसी अस्पताल, त्रिवि शिक्षण अस्पताल, इलाम अस्पताललगायतमा उपचाररत घाइतेको मृत्यु भएको प्रवक्ता घिमिरेले जानकारी दिनु भएको हो ।
प्रदर्शनमा मृत्यु भएका ४१ जनाको सनाखत :
यसैबीच, जेनजी प्रदर्शनमा देशभर ५१ जनाको मृत्यु भएका मध्ये ४१ जनाको सनाखत भएको प्रहरी प्रधान कार्यालयले जनाएको हो ।
प्रदर्शनको क्रममा आगजनीमा परेर, प्रदर्शनमा भागदौड हुँदा र करेन्ट लागेर १८ जनाको मृत्यु भएको प्रहरी प्रवक्ता डीआईजी विनोद घिमिरेले बताउनु भयो । उहाँका अनुसार प्रदर्शनकारीतर्फ सुरक्षाकर्मीबाट बल प्रयोग हुँदा २१ जनाको मृत्यु भएको हो ।
मृतकहरूमध्ये तीनजना गोरखा जिल्लाका रहेका छन् ।
ज्यान गुमाएका प्रहरीको पशुपति आर्यघाटमा अन्त्येष्टि :
भदौ २४ गतेको हिंसात्मक घटनाका क्रममा महाराजगञ्ज प्रहरी वृत्तमा कार्यरत असई मिलन राय र जवान उत्तम थापाको मृत्यु भएको प्रवक्ता घिमिरेले जानकारी दिनु भयो । उहाँका अनुसार कोटेश्वर वृत्तमा कार्यरत सहायक हवल्दार अमृत गुरुङले पनि सोही घटनामा ज्यान गुमाएका थिए ।
तीन प्रहरीको पार्थिव शरीरलाई राष्ट्रिय सम्मानका साथ आर्यघाटमा अन्त्येष्टि गरिएको हो । यो दुःखद घटनाले सुरक्षाकर्मीहरू माथि भएको जोखिमलाई पुनः उजागर गरेको आंकलन गरिएको छ ।
प्रकाशित मिति २०८२ भाद्र २७, शुक्रबार १९:१७ गते