लमजुङ– भगवान विश्वकर्मालाई सृजनात्मक कर्म र नव–निर्माणको स्रोत मानिन्छ । विश्वकर्मालाई पहिलो इन्जिनियर र वास्तुकार मानिन्छ, र उनले तीनै लोकको निर्माण गरेको विश्वास छ ।
नेपालमा आज असोज सङ्क्रान्ति अर्थात १ गतेका दिन विश्वकर्मा पूजा गर्ने प्रचलन छ । यस दिन विभिन्न औजार, मेसिन र सवारीसाधनको पूजा गरिन्छ ।
विश्वकर्मालाई विश्वकै सबैभन्दा पहिलो इन्जिनियर र वास्तुकार पनि मानिन्छ । उनले पाताल, मध्यलोक र स्वर्गलोक गरी तीनै लोकको निर्माण गरे । उनको अनन्त र अनुपम कृतिमा सत्ययुगमा स्वर्गलोक, त्रेता युगमा लङ्का, द्वापरयुगमा द्वारिका र कलियुगमा जगन्नाथ मन्दिरको विशाल मूर्ति आदि रहेका छन् । भगवान् विश्वकर्माको महत्त्व यो कुराले पनि स्मरण गरिन्छ कि उनको महत्वको वर्णन ऋग्वेदमा ११ ऋचाहरू लेखेर गरिएको छ ।
मानव सभ्यता हरेक चरणमा सृजनात्मक कर्म र नव–निर्माणमा आधारित छ । घर, मन्दिर, नगरी, पुल, मेसिन, औजार र सम्पूर्ण प्रविधि हाम्रो जीवनलाई सहज, सुरक्षित र सम्पन्न बनाउनका लागि निर्मित गरिएका हुन् । भगवान् विश्वकर्मा यस्तो सृजनात्मक कर्मको मूल स्रोत र प्रेरणादायी शक्ति मानिएका छन् । हरेक वर्ष असोज १ गते यो पर्व मनाइँदै आइएको छ । आफ्ना सवारीसाधन, कलकारखानामा प्रयोग गरिने धातु जन्य उपकरण, औजार आदिको पूजा गरी विश्वकर्मा पूजा मनाइँदै छ ।
विश्वकर्मालाई प्राचीन ग्रन्थहरूमा देव शिल्पी अर्थात् ‘देवताका वास्तुविद्’ भनेर सम्बोधन गरिएको छ । हिन्दु धर्मशास्त्रका अनुसार, भगवान् विश्वकर्मा ब्रह्माको वंशज मानिन्छन्, जसले तीनै लोकको निर्माण गरी सृष्टिलाई व्यवस्थित बनाएका थिए भन्ने शास्त्रीय मत छ ।
यो दिनलाई विश्वकर्मा जयन्ती पनि भनिन्छ, किनकि यो दिन भगवान् विश्वकर्माको जन्म भएको विश्वास गरिन्छ । मजदुर, शिल्पकार, व्यापारी, प्राविधिक, इन्जिनियर, कलाकार लगायत सम्पूर्ण वर्गले यो दिन विशेष श्रद्धा र भक्ति भावका साथ मनाउँछन् ।
समुद्रमन्थनबाट निस्किएका विश्वकर्माले नै कृष्णको द्वारका, पाण्डवको मयसभा र देवताका हातहतियार बनाएको मानिन्छ । विश्वकर्मा पूजा प्रविधि र मेशिनरीहरूको पूजा गरी भगवान् विश्वकर्मालाई सम्झने दिन हो ।
सत्ययुगमा स्वर्गलोकको निर्माण, त्रेता युगमा रावणको राजधानीको निर्माण, द्वापर युगमा भगवान् श्रीकृष्णको नगरी द्वारकाको निर्माण र कलियुगमा जगन्नाथ मन्दिरका विशाल मूर्तिहरूको निर्माण गरेको विश्वास गरिन्छ । मन्दिर वा घरमा पूजासँगै विभिन्न औजार, मेसिन, सवारीसाधन, उद्योग–धन्दा आदिलाई पनि पुजिन्छ । यसो गर्दा काममा आउने सबै बाधा–अड्चन हट्ने, उद्योग–व्यवसायमा प्रगति हुने, सवारीसाधनमा दुर्घटना कम हुने तथा परिवारमा समृद्धि र शान्ति स्थापित हुने विश्वास छ ।
विवाहादिषु यज्ञेषु गृहारामविधायके ।
सर्वकर्मसु संपूज्यो विश्वकर्मा इति श्रुतम् ।
जगच्चक्षु विश्वकर्मन्नीश्वराय नमोनमः
विश्वकर्मा भगवान् को हुन् ?
भगवान् महादेवले ब्रह्मा र विष्णुलाई सृष्टिको सृजना र पालनको भिन्न भिन्नै जिम्मेवारी दिएका थिए । सृष्टिको सृजना गर्ने आफ्नो जिम्मेवारी निभाउन ब्रह्माले आफ्नो वंशजदेव शिल्पी विश्वकर्मालाई आदेश दिए ।
विश्वकर्मा पूजाको आध्यात्मिक महत्त्व ः
जसको सम्पूर्ण सृष्टि र कर्म व्यापार हो उनीहरू विश्वकर्मा हुन् । सजिलो भाषामा भन्ने हो भने सम्पूर्ण सृष्टिमा जुन पनि कर्म सृजनात्मक हो जुन कामले जीवको जीवन सञ्चालित हुन्छ । सबैको मूल विश्वकर्मा हो । उनको पूजनले प्रत्येक व्यक्तिलाई प्राकृतिक ऊर्जा दिन्छ र काममा आउने सबै बाधा अड्चनहरूलाई तोडिदिन्छ भन्ने विश्वास रहेको छ ।
द्वापर युगमा भगवान् कृष्णलाई राक्षसले दुःख दिएपछि विश्वकर्माले समुद्रको बीचमा ‘भेद द्वारका’ बनाइ लुकाएको धार्मिक विश्वास छ । एकै रातमा समुद्रको बीचमा ‘भेद द्वारका’को निर्माण गरेकाले विश्वकर्मालाई सफल वास्तुविद्का रूपमा मानी त्यसै समयदेखि पूजाआजा गर्ने परम्परा बसेको छ ।
चार दिशाका रक्षक देवतामध्ये द्वारकालाई पश्चिम दिशाको रक्षक देवताका रूपमा समेत मानिन्छ । विश्वकर्माले निर्माण गरेको ‘भेद द्वारका’ अहिले पनि भारतको गुजरात राज्यमा समुद्रका बीचमा रहेको छ । विश्वकर्मालाई वास्तु विद्याका विशिष्ट ज्ञाताका रूपमा समेत मान्ने गरिन्छ । विश्वकर्मा बाबाको पूजा गरी उनको विद्वताको सम्मान गर्ने र यसो गरेमा आफूमा पनि विश्वकर्माको गुण प्राप्त हुने विश्वासका साथ पूजा गरिन्छ ।
एक कथाअनुसार वाराणसीमा धार्मिक व्यवहारबाट चल्ने वाला एउटा रथकार आफ्नो पत्नीको साथ बस्थे । आफ्नो कार्यमा उनी निपुण थिए । तर, विभिन्न स्थानमा घुम्दा अत्यधिक मेहनतपछि खानुबाहेक अन्य सम्पत्ति जोड्न सकेका थिएनन् । पति जस्तै पत्नी पनि पुत्र नभएका कारण चिन्तित थिइन् । पुत्र प्राप्तिका लागि विभिन्न साधु–सन्तकोमा पनि जान्थे, तैपनि उनको यो इच्छा पूरा भएको थिएन ।
त्यसैबेला उनको एक छिमेकी ब्राह्मणले रथकारको पत्नीलाई सल्लाह दिए, ‘तिमी भगवान् विश्वकर्माको शरणमा जाऊ, तिम्रो इच्छा पूरा हुनेछ ।’
यसपछि रथकार एवम् उनकी पत्नीले अमावस्या तिथिमा भगवान् विश्वकर्माको पूजा गरे जसबाट उनीहरूलाई धन–धान्य र पुत्र रत्नको प्राप्ति भयो र उनीहरू सुखी जीवन व्यतीत गर्न लागे भन्ने उल्लेख छ ।
प्रकाशित मिति २०८२ आश्विन १, बुधबार ०८:११ गते