दुराडाँडा(लमजुङ)– राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)का गण्डकी प्रदेशस्तरीय संगठन विभागका सदस्य काजी दुरालाई मातृ शोकमा पर्नु भएको छ । उहाँलाई शोक परेको आज असोज ५ गते १३ औं दिन हो । अन्तरङ्ग न्यूज डटकमलाई ढिला गरी प्राप्त समाचार अनुसार काजीकी ममतामयी आमा विष्णा दुराको गत भदौ २२ गतेका दिन असामयिक निधन भएको हो ।
लमजुङको सुन्दरबजार नगरपालिका– ११ को सिन्दूरे ठूलोस्वाँरा निवासी विष्णु दुरा ८४ वर्षकी हुनुहुन्थ्यो । स्वर्गीय आमाको आज १३ औं पुण्य तिथि हो । हृदय घातका कारण उहाँको निधन भएको हो । हृदयघात पछि तत्कालै काठमाडौंको बासबारी स्थित गंगालाल हृदय रोग केन्द्र(अस्पताल)मा उपचारका लागि लगिएको थियो । शल्यक्रिया पछि उहाँको होस खुल्न नसकेको कारणले उहाँको निधन हुन गएको हो ।
स्वर्गीय आमाको पछिल्ला वर्षमा बसोबास प्रायः चितवन हुने गरेको भएता पनि गर्मी छल्नका लागि उहाँ काठमाडौं गोंगबुमा रहनु भएकी कान्छी छोरी हिरा दुराका साथमा बस्दै आउनु भएको थियो । ८४ वर्षको उमेरमा पनि उहाँलाई खास रोग केही देखिएको थिएन । आफ्नो स्वाहार तथा खानपिन आदि सबै आफै गर्न सक्नु हुन्थ्यो ।
स्वर्गीय विष्णा दुरा सुवेदार दीर्घसिंह दुरा र सन्तु दुराकी छोरी सिन्दूरेको ठूलोस्वाँरा, पामे गाउँ निवासी ८५ वर्षीय धनबहादुर दुराकी श्रीमती हुनुहुन्थ्यो । रास्वपाका गण्डकी प्रदेश संगठन विभागका सदस्य काजी दुरा स्वर्गीय विष्णाका एकमात्र सुपुत्र हुनुहुन्छ भने छोरीहरू भने पाँच जना धन माया, पुर्णिमा, हस्ता, एक माया र हिरा हुनुहुन्छ । त्यसैगरी, नातिनातिनाहरू पाँच जना छन् ।
प्रकाशित मिति २०८२ आश्विन ५, आईतवार ०८:२९ गते