नेपालीको सांस्कृतिक पर्व दसैको सुरुवात भएको छ । बडादशैंको लागि आवश्यक सर–सामान किनमेल गर्नेहरूको भिड वजारमा देखिन थालेको छ । कमाइ गर्न देश, विदेश गएका युवा, युवतीहरू बडादशैं पर्वको लागि घर फर्किने क्रम वढ्दै छ । नेपालमा बडादशैंलाई वर्षको सबैभन्दा ठूलो पर्वको रुपमा मानिन्छ । यो पर्व केवल धार्मिक श्रद्धा– भक्तिमा सीमित छैन । बडादशैं पर्वले सामाजिक, सांस्कृतिक, पारिवारिक र मनोवैज्ञानिक पक्षसँग पनि गहिरो सम्बन्ध राख्दछ । यही कारणले बडादशैं पर्वमा घुम्ने संस्कृतिको पनि विकास भएको छ । लामो बिदा, बडादशैं पर्वको उमंग र जीवनशैलीका परिर्वतनले गर्दा घुम्ने परम्परा बलियो हुँदै गएको छ । बडादशैंलाई आनन्द र उमंगको पर्व पनि मानिन्छ । नयाँ कपडा, विशेष खानपान, घर–आँगन सजाउने चलनले मानिसहरूको मनोबल उच्च बनाउँछ । बडादशैं केवल टीका–जमरा थाप्ने चाड मात्र होइन । परिवार र नातागोतालाई भेटने अवसर पनि हो । यही उत्सवले बाहिर निस्केर घुम्ने, साथीभाइ वा परिवारसँग रमाइलो गर्ने चाहना धेरैको हुन्छ ।
बडादशैं पर्व सामाजिक, धार्मिक र सांस्कृतिक जीवनमा विशेष महत्व छ । वर्ष भरीका पर्व–उत्सवमध्ये सबैभन्दा ठूलो यो पर्वलाई नेपालीहरूको एकता, उमंग र आशाको प्रतीक मानिन्छ । बडादशैंले केवल धार्मिक अनुष्ठानमा सीमित नभई पारिवारिक भेटघाट, सामुदायिक मेलमिलाप र घुमफिरसँग समेत गहिरो सम्बन्ध स्थापित गरेको छ । बडादशैं मूलतः असत्यमाथि सत्यको विजय, दुष्टमाथि सदगुणको विजय र अन्धकारमाथि प्रकाशको विजयको प्रतीक हो । दुर्गा भवानीले महिषासुर नामक राक्षसलाई वध गरेको प्रसंग बडादशैं पर्वको धार्मिक आधार हो । यसैले बडादशैंलाई शक्ति, साहस र धर्मको जयन्ती पर्वका रुपमा स्मरण गरिन्छ । बडादशैंको अवसरमा घर–घरमा देवीको पूजाआराधना, जमरा राख्ने परम्परा, टीका–जमरा थाप्ने र आशीर्वाद लिने चलन हुन्छ । यसले पुस्तान्तरणीय सम्बन्धलाई मजबुत बनाउँछ । आमा–बुबा, दाजु–भाइ, दिदी–बहिनी तथा नातेदार बीचको आत्मीयता अझ प्रगाढ बनाउने अवसरका रुपमा बडादशैंलाई लिइन्छ ।
पहिले बडादशैं गाउँघरमै मनाइन्थ्यो । तर अहिले घुम्ने र रमाउने संस्कृतिको विकाससंगै बडादशैंले नयाँ स्वरुप पाएको छ । कामकाज वा अध्ययनका कारण शहर वा विदेशमा रहेका नेपालीहरू बडादशैंमा घर फर्किन्छन् । यही बहानामा पर्यटन र घुमफिरको चहलपहल बढने गरेको छ । बडादशैंमा शहरमा बस्ने मानिसहरू आफ्नो मूल गाउँ फर्केर पारिवारिक जमघट गर्दछन । यस क्रममा गाउँको प्रकृति, परम्परा र संस्कृतिसँग पुनः परिचित हुने अवसर पाइन्छ । बडादशैंको लामो विदालाई सदुपयोग गर्दै मानिसहरू परिवारसहित नयाँ ठाउमा घुम्न जान्छन । यसले सांस्कृतिक अनुभव स् घुमफिरसँगै विभिन्न जातजाति र समुदायले बडादशैं कसरी मनाउँछन भन्ने अनुभव गर्ने मौका पनि यस पर्वले दिन्छ । कतै रोटे पिङ, कतै सांगीतिक प्रस्तुति, कतै सामूहिक भोजजस्ता कार्यक्रमले सांस्कृतिक विविधताको स्वाद चाख्न सकिन्छ । बडादशैंसँग जोडिएको घुम्ने संस्कृतिले अहिले आर्थिक पक्षलाई समेत सक्रिय बनाएको छ । यातायात, होटल–रेस्टुरेन्ट, पर्यटक स्थल र स्थानीय बजारमा बडादशैंको बेला विशेष चहलपहल हुन्छ । यसरी बडादशैं केवल धार्मिक वा पारिवारिक उत्सव नभई सामाजिक र आर्थिक गतिविधिको प्रमुख प्रेरक शक्ति पनि बन्न पुगेको छ ।

बडादशैं पर्व नेपाली समाजको आस्था, संस्कार र सांस्कृतिक जीवनशैलीको उज्यालो दर्पण हो । यसले केवल देवी पूजा गर्ने परम्परा मात्र बोकेको छैन बडादशैंले परिवारलाई एक बनाउने, समाजलाई जोडने र घुमफिरमार्फत नयाँ अनुभव र सांस्कृतिक सम्पर्क स्थापित गर्ने अवसर पनि दिएको छ । बदलिँदो जीवनशैलीसँगै बडादशैं पर्वले घुम्ने संस्कृतिको विकास भएको छ । बडादशैं नेपाली समाजमा धार्मिक मात्र नभई सांस्कृतिक पर्वका रुपमा गहिरो रुपमा स्थापित भएको छ । हिन्दु परम्पराअनुसार देवी दुर्गाको विजय र शक्ति प्रतिष्ठासँग जोडिएको यो पर्व मूलतः शक्तिपिठको पूजासम्बन्धी भए पनि आजको नेपाली समाजमा यसले धार्मिक सीमाना नाघेर सांस्कृतिक र सामाजिक उत्सवको स्वरुप ग्रहण गरिसकेको छ । बडादशैंमा टिका–जमरा, दशैँको फूलपाती, देवी पूजा, रक्तबीज संहार गर्ने शक्ति स्वरुप दुर्गाको आराधना, बली प्रथा जस्ता धार्मिक संस्कारहरू छन । तर यसको मूल स्वरुप अब संस्कृतिसँग बाँधिएको छ । परिवार एकत्रित हुने, टाढा भएका सदस्यहरू घर फर्किने, नयाँ कपडा लगाउने, नयाँ र मिठो परिकार खाने, आपसी मेलमिलाप गर्ने परम्परा दसैमा हुने गरेको छ ।
बडादशैंले नेपाली समाजलाई एउटै सूत्रमा बाँध्छ । हिन्दु, बौद्ध, किराँत, इसाई वा अन्य धर्म मान्ने व्यक्तिहरूले पनि बडादशैं पर्वलाई सामाजिक एकता र रमाइलोको अवसरका रुपमा लिने गर्दछन । बडादशैंलाई धर्मभन्दा बढी संस्कृतिका रुपमा आत्मसात गरिएको छ । बडादशैंले नेपालीपनको साझा चिनारी बोकेको छ । यही कारणले हिन्दु मात्र नभई अन्य धर्मावलम्बीहरुले पनि बडादशैंमा रमाउने गर्दछन । यसरी बडादशैंले धार्मिक विविधतालाई सम्मान गर्दै नेपाली समाजमा सांस्कृतिक सहअस्तित्व र एकताको भाव फैलाएको छ । बडादशैं हिन्दुहरूको मात्र होइन, सम्पूर्ण नेपाली समाजको साझा सांस्कृतिक पर्व बनेको छ । यसले धर्मलाई मात्र होइन, परिवार, संस्कृति, मेलमिलाप र राष्ट्रिय एकताको भावनालाई समेत जोडने पुलको काम गरेको छ ।
बडादशैं मातृ शक्तिका रुपमा रहेका देवीहरूको पूजा आराधना गरिने पर्व पनि हो । त्यसैले घटस्थापनादेखि नै सुरु हुने नवरात्रका नौ दिनसम्म विभिन्न शक्तिपीठमा गई श्रद्धाभक्तिपूर्वक नवदुर्गा तथा अष्टमातृकाको आराधना गर्ने गरिन्छ । नवरात्रमा पुजिने नवदुर्गाका रुपमा शैलपुत्रि, ब्रह्मचारिणी, चन्द्रघण्टा, कुष्माण्डा, स्कन्दमाता, कात्यायनी, कालरात्री, महागौरी र सिद्धिदात्री रहेका छन् । त्यस्तै घर–घरमा दुर्गा सप्तसति चण्डि पाठ गर्ने प्रचलन समेत रहि आएको छ । बडादशैंको अवसरमा प्रशिद्ध शक्तिपीठमा गई दर्शनार्थीले नवदुर्गा भवानी र अष्टमातृकाको पूजा–अर्चना गर्ने गर्दछन् । बडादशैं विजय र आनन्दको उत्सव हो । असत्यमाथि सत्यको विजय दानवीय स्वभावमाथि मानवीय स्वभावको विजय, कु–शासनमाथि सु–शासनको विजय, अन्यायमाथि न्यायको विजय, हिसामाथि अहिंसाको विजय, असुरी शक्ति माथि दैविय शक्तिको विजय नै विजया दशमी मनाउनुको मुख्य उद्देश्य हो ।
बडादशैं मनाउने परम्पराको सुरुवातबारे नेपालका समाजशास्त्री, संस्कृतिविद र इतिहासकारहरूका भिन्न भिन्न दृष्टिकोणहरू छन् । कसैले यसको विशुद्ध धार्मिक कोणबाट व्याख्या–विश्लेषण गर्ने गरेका छन् भने कसैले शासक वर्गको वीरता, सौर्य आदिको प्रशंसा गर्ने उद्देश्यले यसको थालनी भएको हो भन्दै आएका छन् । अझै कसैले त यो मातृसत्ताको अवशेषका रुपमा रहेको पर्व हो भन्ने पनि गरेका छन् । यो मूलतः किसान जनसमुदायसित सम्बन्धित सबैभन्दा पुरानो चाड पर्व हो । असार–साउनको खेतीपाती सकिएपछि प्राकृतिक मौसमको अनुकूलतामा यो चाड मनाइन्छ । किसानले खेतीपाती गरिसकेपछि फुर्सदको समयमा आमोद–प्रमोद गर्ने चलन चलेको हुनुपर्छ र त्यसले नै पछि बडादशैंको रुप लिएको हुनु पर्दछ भन्ने तर्क पनि छ ।
त्रेता युगमा दिनमा श्रीरामले सीताको हरण गर्ने रावणको बध गरेको सम्झनामा यस चाडलाई विशेष गरी मनाइन्छ । श्रीरामले विजया दशमीका दिनमा रावणमाथि विजय हाँसिल गरेको भएर बडादशैंलाई दशैं एवम विजयदशमी भन्ने गरिन्छ । बडादशैंलाई असत्य माथि सत्यको बिजयको रुपमा हेरिन्छ । विजयदशमी भगवान रामको विजयको रुपमा मनाइयोस अथवा दुर्गा पूजाको रुपमा, दुवै रुपमा यो शक्ति पूजाको पर्व हो । शस्त्र पूजनको तिथि हो । हर्ष एवम् उल्लास तथा विजयको पर्व हो । हिन्दू सँस्कृति वीरताको पूजक अनि सौर्यको उपासक हो । व्यक्ति र समाजको रगतमा वीरता प्रकट होस भन्ने ध्येयले बडादशैंको उत्सव अर्थात पर्व सुरु भएको हो । चाडपर्वहरूले एउटा छुट्टै आनन्दको अनुभूति दिलाउँछन । हर्ष, उल्लासका साथ आउने र मनाउँने चाडपर्वले बेग्लै रौनकता ल्याइदिन्छ । भिन्न खुसी र सुख प्रदान गर्दछ । यसले पूरै वातावरणको परिवेशलाई उल्लास र रौनकतर्फ परिवर्तन गरिदिन्छ । त्यसैले त बडादशैं पर्वलाई विशेष महत्वका साथ मनाइने गरिन्छ ।
आश्विन शुक्ल पक्ष प्रतिपदाका दिनलाई घटस्थापना भनिन्छ । यसै दिनदेखि नवरात्री आरम्भ हुन्छ । यसै दिन जमरा राखिन्छ र घट कलशको स्थापना गरी देवी–देवताको आव्हन गरिन्छ । यस दिन बिहानीमै आत्मशुद्धि पश्चात नदी, खोला, वगर या आफूलाई पायक पर्ने ठाउमा गई चोखो बालुवा या पञ्चमाटो ल्याई बडादशैं घर या पूजाकोठामा राखी त्यस ठाउँमा जमरा उमार्न जौ छरिन्छ । जौको आकुरा मात्र जमरा हो । भाषा बोल्ने क्रममा यमङकुर–जवङकुर–जम्कुर–जवर हुदै जमरा भएको हो । भाषा परिस्कृत हुदै जमरा शब्द बनेको मानिन्छ । त्यसैले जमराको महत्व भाषीक रुपले पनि पौराणिक मानिन्छ । जौलाई वैदिक यज्ञको लागि अत्यावश्यक वस्तुको रुपमा मानिन्छ । माता भगवतीलाई मन पर्ने वनस्पतिमा जमरा पनि एक भएकोले भगवतीलाई खुसी पार्नको लागि जमरा उमार्ने गरिएको हो । जमरा राख्ने स्थान नजीकै माटोको विशुद्ध जलपूर्ण घडा अर्थात कलशको वरिपरि नौवटा देवीको स्वरुपको प्रतिमूति मानी गाईको गोबरले नौवटा देवीको वेदी बनाई लेपन गरिन्छ र घडाको वरिपरि जौ पनि छरिन्छ । अनि जलपूर्ण कलशमा पञ्च पल्लवको पात चढाइ अनन्त शक्तिस्वरुपकी महाकाली महालक्ष्मी र महासरस्वतीको पूजाआजा गरिन्छ ।
बडादशैंको जमरा राख्ने चलन भने ठाउँ अनुसारको फरक फरक छ । कतै सामूहिक रुपमा बडादशैंघर स्थापना गरेर, गुठीमा या शक्तिपिठ अनि मठमन्दिरमा जमरा राखिन्छ । धेरैले आफ्नै घरको पूजाकक्षमा वा घरको अन्य कुनै सफा ठाउँमा जमरा राख्ने गर्दछन । जमरा राख्दा त्यस्तो कोठा छनौट गरिन्छ जसमा प्रकाश राम्ररी छिर्न नपाओस्, यसरी प्रकाश नपरेका जमरा पहेँला हुन्छन । मानव सभ्यताको इतिहासलाई हेर्दा जगंली यूगको समाप्तीसंगै व्यवस्थितरुपमा कृषि गर्न थालेको पहिलो अन्न नै जौ हो । मानव सभ्यता प्रक्रियाको उत्खनन र अन्वेषण गर्दा मिश्रदेशहरू अनि चिनमा पनि हजारौं वर्ष पुराना जौको अवशेष भेटिएका छन् । संसारभरिनै जौलाई धेरै पुरानो अन्नकारुपमा विशेष महत्वका रुपमा हेरिन्छ । जमरा जौको अंकुरण भएता पनि बडादशैंको जमरामा जौ लगायत धान, मकै र गहुँका पँहेला, हरिया अकुुंरित वालाहरू समावेश हुन्छ । माटो, पानी, हावा, फूल, आँकुरासंग जुटेको यो संस्कारले वनस्पतीसंग हामी अत्यन्तै नजिक छौं ।
घटस्थापनादेखि नै हिन्दूहरूले विभिन्न शक्ति पिठहरूमा दुर्गा सप्त शनि, चण्डी र भगवतिको स्त्रोत पाठ गरी विशेष गरी दुर्गा भवानीको आराधना गरिन्छ । घटस्थापनाको दिनबाट घट कलश स्थापना गरी त्यसमै सम्पूर्ण देवीदेवता, तीर्थ, पावनतम नदी नाला, सप्त सागर, सप्तद्धीप आदि सबैलाई समाहित गरी बडादशैं पूजाको थालनी गर्ने हाम्रो संस्कृति रहेको छ । घटस्थापनाको दिनदेखि नवमीसम्म प्रत्येक नेपालीहरूका घरघरमा र देवीका मन्दिरहरूमा भगवती दुर्गाको पूजा, आराधना र प्रार्थना गरिन्छ र शङ्ख, डमरु घण्टी आदि बजाई दुर्गा सप्तशती चण्डी, स्त्रोत्ररत्नावली, कालिकास्तोत्र, दुर्गाकवच, श्रीमददेवी भागवत आदि पाठ पनि पढिन्छ । पूजा गरिसकिए पछि प्रत्येक दिन बली चाहिँ अनिवार्य दिनुपर्ने शास्त्रीय विधानमा उल्लेख गरिएको छ । वली शब्दको अर्थ हो अर्पण गर्नु अथवा चढाउनु वा उपहार दिनु ! रागो रुपि–क्रोध, भेडारुपि–मोह बोका रुपि–कामवासना अर्थात काम, क्रोध र वासनालाई अर्पण गर्नु, चढाउनु पर्दछ भन्ने हाम्रो शास्त्रको भाव हो । तर हामीहरूले बलि भने पछि पशुहरूलाई काटेर वली दिने गरिन्छ । धामिर्क सस्कृतिसंग जोडेर देवीलाई बली दिने प्रचलन बढन थालेको छ । पासविकताको ताण्डव नृत्य मञ्चन हुने वली प्रथाको समाजलाई अन्ध विश्वासमा धकेलेको छ ।
हाम्रा हरेक संस्कृति र पर्वहरू आर्थिक पक्षमा जोडिएको हुन्छ । आर्थिक हैसियत भएका बर्ग र बिपन्न बर्गसमेत समाजमा रहेका छौ । खर्च गरेर तडक–भडक गरेर पर्व मनाउने र नसक्ने वर्गले पनि ऋण धन जुटाएर यस्ता सांस्कृतिक पर्वहरू मनाउदा एउटा बर्ग जहिले पनि समाजमा ऋणको भारी बोक्नु पर्ने अवस्थामा रहेको हुन्छ । अबका दिनहरूमा देखासिखी र आडम्बरयुक्त बडादशैं मनाउने मानसिकतालाई हामीले परिवर्तन गर्न जान्नु पर्दछ । अव पनि यस्ता खर्चिला पर्वहरूलाई परिवर्तन गर्र्न सकिएन भने समाजमा रहने बिपन्न बर्गका मानिसहरूको अवस्था झनै दयनीय हुन जान्छ । असत्यमाथि सत्यको विजयका रुपमा मनाउन सुरु गरिएको बडादशैं केही बर्ष यता आफ्नो आर्थिक हैसियत बिर्सेर अरु घोडा चढे भनेर आफू धुरी चढने प्रवृत्तिले गर्दा उल्लास र उमंगको पर्व हुन सकेको छैन । जसले गर्दा बडादशैं दशा भएर आउने गरेको छ । तसर्थ यसलाई एउटा सांस्कृतिक महत्वको चाडका रुपमा स्वीकार गरी बडादशैंको गरिमा वृद्धि हुनेगरी विशुद्ध मनोरञ्जनात्मक रुपमा घाटी हेरी हाड निल्नु भन्ने उखानलाई हृदयंगम गरी मनाउन सकियोस । अनि मात्रै बडादशैं साच्चिकै बडादशैं बन्न सक्छ ।
(लेखक : लामो समयदेखि पत्रकारितामा सक्रीय रहनु भएका उहाँ लमजुङ जन्म थलो भई दाङलाई कर्मथलोका रुपमा रोज्नु भई नेपालको पर्यटनका बारेमा विशेष दखल राख्दै कलम चलाउने गर्नु हुन्छ । – सं.)
प्रकाशित मिति २०८२ आश्विन ६, सोमबार १४:५२ गते