काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)का ५ वटा प्रदेशका सभापतिले सामूहिक रूपमा पार्टी सभापति रवि लामिछानेको विकल्प नखोजिएको बताएका छन् । पार्टी केन्द्रीय कार्यालय चःमतिमा बसेको केन्द्रीय समिति बैठकपछि सामूहिकरूपमा धारणा राख्दै उनीहरूले सभापति लामिछानेको विकल्प सोच्नसमेत नसकिने असोज ७ गते बताएका हुन् ।
रास्वपामा पुनर्गठनको माग उठिरहेको समाचार आएपछि प्रदेश सभापतिहरूले पुनर्गठनको पक्षमा नभएको बताएका हुन् । योसँगै रास्वपाको संसदमा उपस्थिति भएदेखिनै यो पार्टीलाई तहसनहस बनाउने लागि परेकाहरूको दिवास्वप्न फेरि एक पटक धुलिसात भएको छ ।
बागमती, लुम्बिनी, कोशी, मधेश र सुदूरपश्चिमका सभापतिहरूले केन्द्रीय कार्यालयमा आयोजित पत्रकार सम्मेलनमार्फत सभापति रविको विकल्प नखोजिएको बताएका हुन् । गण्डकी र कर्णालीका सभापति भने बैठकमा उपस्थित हुन नसकेको जानकारी गराइएको थियो ।
रास्वपाको बागमती प्रदेश सभापति अच्युतम लामिछानेले भन्नुभयो, ‘हामी अहिले सभापतिको नेतृत्वको कुनै वैकल्पिक सोच हामीमा किन्तु, परन्तु लगाएर कल्पना पनि हामी गर्न सक्ने विषयमा हामी छैनौं ।’ उहाँका अनुसार प्रदेशका अधिकांश साथीहरूले सभापतिको नेतृत्वमाथि प्रश्न चिह्न उठ्यो भन्ने एउटा शीर्षक बनाएर समाचार सम्प्रेषण भएको हामीले थाहा पायौं । त्यसको लागि हामी पाँच प्रदेशका सभापति हामी यहाँ छौं । दुई प्रदेशका सभापति धेरै टाढा भएर सूचनाको आधारमा आउन सक्नुभएन । कर्णालीको प्रदेश इन्चार्जले आफ्नो धारणा राख्नु भएको छ । गण्डकीका सभापती पहिरोका कारण रोकिनुभयो ।
उहाँले २००३ सालमा स्थापना भएको नेपाली कांग्रेस, २००६ सालमा स्थापना भएको कम्युनिस्ट पार्टीको नेतृत्व पटकपटक बिग्रिएकाले त्यहाँ चलेको नेतृत्व परिवर्तनको हावा रास्वपामा चल्नै नसक्ने जिकिर गर्नु भयो । उहाँका अनुसार सरकार मात्रै २०–३० वर्ष चलाइसकेको छ र जेन–जी आन्दोलनबाट उहाँहरू बर्गिगमन भइसकेको अवस्था छ । उहाँले भन्नुभयो, ‘त्यो नेतृत्व असक्षम भइसकेको हुँदा त्यहाँ उठेको आवाज रास्वपामा पनि त्यही हो कि ! भन्ने हिसाबले चलाइएको हावाको पक्षमा हामी छैनौं । सभापतिलाई विश्वास दिलाउन चाहन्छौं ।’
यसैगरी, लुम्बिनी प्रदेशका सभापति देवराज पाठकले रास्वपा लोकतन्त्रमा विश्वास गर्ने बताउनु भयो । ‘हामी खुला बहस गर्छौं, अरू पार्टीका नेतृत्वको बारेमा प्रश्न गर्नै नपाउने भन्ने पनि हाम्रो पार्टीमा हुँदैन । तर जुनरूपमा बाहिर मिडियामा आएको छ, पार्टी सभापति रवि लामिछानेको विकल्पको बारेमा । त्यो विकल्पका बारेमा सोचेका पनि छैनौं । हामीले प्रश्न उठाएका पनि छैनौं ।’ उहाँले भन्नुभयो । उहाँले थप भन्नुभयो, ‘कुनै पनि प्रदेशका सभापतिले त्यस्तो प्रश्न उठाउनु भएको छैन । लुम्बिनी प्रदेशले माइन्युट नै गरेर केके कुरा बोल्ने भनेर लेखेर ल्याएका थियौं ।’
मधेस सभापति तपेश्वर यादवले रास्वपा भ्रष्टाचारविरूद्ध स्थापना भएको पार्टी भएको बताउनुभयो । ठूला दलको अकर्मण्यताविरूद्ध रास्वपा गठन भएको बताउँदै भ्रष्टाचारविरूद्ध जागरूता ल्याउने, चेतना जगाउने काम रास्वपाले नै गरेको हो उहाँले उल्लेख गर्नुभयो । उहाँले भन्नुभयो, ‘चरित्र हत्या हुने गरी विकल्प खोजेको भनेर परिचालित ढंगले कुरा आइरहेका छन् ।’
लुम्बिनी प्रदेशले बैठक नै बसेर पार्टी केन्द्रदेखि वडा समितिसम्म पूर्ण रूपमा पुनर्गठन गर्दै निर्वाचनको तयारीमा जुट्नुपर्ने निर्णय गरेको थियो, सुदूरपश्चिम प्रदेशले पनि पुनर्गठनकै प्रश्न उठाएको थियो ।
पार्टी सभापति रवि बिनाको रास्वपा परिकल्पना नगरिएको कोशी प्रदेशका कार्यबाहक सभापति सरिन तामाङले बताउनु भयो । उहाँले तल उठेका कुरा केन्द्रमा राखिदिनुस् है भनेका कारणले सुझावहरू बुझाएको जानकारी दिनुभयो ।
त्यस्तै, सुदूरपश्चिमका सभापति प्रकाश विष्टले सभापति रविको विकल्प नखोजिएको बताउनुभयो ।
प्रकाशित मिति २०८२ आश्विन ७, मंगलवार १९:३५ गते