बेसीशहर– लमजुङको मौलिक पहिचानका रुपमा रहेको ठाडोभाकाको संरक्षण र प्रवर्धनका क्षेत्रमा विशेष योगदान पुर्याउँदै आउनु भएका ठाडोभाका लोककला प्रतिष्ठान नेपाल, लमजुङका संरक्षक एवम् ठाडोभाका महानायक बुद्धिमान दुरा ‘धम्पु’को हिरक जन्मोत्सवका अवसरमा रथयात्रा गर्ने निर्णय भएको छ । प्रतिष्ठानको यहाँ स्थित आफ्नै कार्यालयमा सम्पन्न बैठकले असोज १० गते त्यस्तो निर्णय गरेको हो ।
प्रतिष्ठानका अध्यक्ष नवराज पहाडीको अध्यक्षतामा बसेको बैठकमा प्रतिष्ठानका सल्लाहकार दामोदर अधिकारीको समेत उपस्थितिमा उक्त निर्णय गरिएको हो । सल्लाहकार दामोदर अधिकारीले शुभकामनाका साथमा मन्तव्य व्यक्त गर्दै लोप भइसकेको ठाडोभाकालाई लमजुङ र छिमेकी जिल्लामा मात्र नभई जहाँ जहाँ नेपाली छन् त्यहाँ त्यहाँ पुर्याउने काम यो प्रतिष्ठानको टिमले गरेकोमा आफूलाई गौरव बोध भएको बताउनु भयो । उहाँले नयाँ काम गर्ने व्यक्तिहरू दार्शनिक हुन् भन्ने नयाँपिंढीलाई सिकाउने बेला आएको सुझाव दिनु भयो । उहाँले भन्नुभयो, ‘प्रतिष्ठानले ठाडोभाका मात्र नभई मौलिक संस्कृतिका रुपमा रहेका सोरठी, घाँटु, बालुन, भजन, रोइलाको समेत संरक्षण गर्ने छ ।’
उक्त रथयात्रा कार्यक्रममा महानायक ‘धम्पु’को हिरक जन्मोत्सवका अवसरमा आउँदो बैशाख ५ गतेका दिन गर्ने निर्णय बैठकले सर्वसम्मत रुपमा गरेको छ । प्रतिष्ठानले चालु आवमा गरिने कार्यक्रमहरूको निर्धारण गर्दै महत्वपूर्ण कार्यक्रमका रुपमा उक्त रथयात्रा कार्यक्रमलाई लिएको प्रतिष्ठानका अध्यक्ष पहाडीले बताउनु भएको छ । पहाडीका अनुसार उक्त अवसरमा महानायक ‘धम्पु’लाई गण्डकी प्रदेश सरकारको तर्फबाट ‘ठाडोभाका महानायक’को उपाधि प्रदान गराउन पहल गर्ने, रथयात्रा समारोहमा उहाँको जीवनीमा आधारित ग्रन्थको विमोचन गर्ने, उहाँको कदभरीको अभिनन्दन पत्रद्वारा सम्मान गर्ने, रथयात्राका क्रममा जिल्लाका विभिन्न क्षेत्रमा रहेका ठाडोभाकाका कम्तिमा २० वटा टोलीले आ–आफ्नो व्यानरसहितको ठाडोभाकको प्रस्तुति गर्नेलगायतका कार्यक्रम हुनेछन् । पहाडीले भन्नुभयो, ‘रथ यात्रामा चितवनको ठोरी र भरतपुर, गोरखा, तनहुँ र कास्कीको टिमसमेत सहभागी हुने छन् । त्यसका लागि आवश्यक प्रशिक्षण त्यसअघि सञ्चालन गरिनेछ ।
उक्त अवसरमा यो वर्ष प्रतिष्ठान स्थापनाको १०औं वर्षमा प्रवेश गरेको सुखद अवसरमा केही नयाँ कार्यक्रम गर्ने भएको जानकारी दिदै अध्यक्ष पहाडीले भन्नुभयो, ‘मासिक रुपमा कम्तिमा यौटा कार्यक्रम गरिने छ भन्दै उहाँले साउन महिनामा प्रतिष्ठानका संरक्षक धम्पु बेलायतको एक महिने भ्रमणमा जानु भएको, भदौमा प्रतिष्ठानले पहिलो पटक महिला सदस्यहरूका लागि हरितालिका तीजको अवसरमा ‘दर खुवाउने’ कार्यक्रम गरेको, असोजमा बैठक सम्पन्न गरिएको जानकारी दिनुभयो ।
त्यसैगरी, कार्तिक महिनामा दूधपोखरी गाउँपालिकामा यसअघि विद्यालयको परीक्षाका कारण स्थगन भएको ठाडोभाकाको तीन दिने निःशुल्क प्रशिक्षण सञ्चालन गर्ने निर्णय भएको छ । सो प्रशिक्षणको संयोजकमा सहकोषाध्यक्ष भुन्टीमाया तामाङ तोकिनु भएको छ । दुधपोखरी पालिकास्तरको हुने सो प्रशिक्षणमा उक्त पालिकामा रहेको मावि तथा आधारभूत विद्यालयहरूका अतिरिक्त राइनास नगरपालिका– १० को बुद्धमिलन मावि र दोर्दी गाउँपालिका– ६ को पाचोक माविका विद्यार्थीलाई समेत आमन्त्रण गरिने भएको प्रशिक्षणका संयोजक भुन्टीमाया तामाङले जानकारी दिनु भएको छ । उहाँका अनुसार एक विद्यालयमा चार विद्यार्थीलाई सहभागी हुने अवसर दिइनेछ ।
दूधपोखरीमा सञ्चालन हुने सो प्रशिक्षणमा भाग लिएर पहिलो हुने विद्यालयलाई एक जोर भलिबल र नेट पुरस्कार स्वरुप प्रदान गरिने भएको छ । उक्त पुरस्कारको प्रवन्ध प्रतिष्ठानका सल्लाहकार एवम् पूर्वप्रशासक(प्रजिअ) रमेशचन्द्र अधिकारीले गर्नु भएको प्रतिष्ठानका अध्यक्ष नवराज पहाडीले बताउनु भएको छ । पहाडीका अनुसार प्रशिक्षणका सहभागीहरूमध्येबाट पहिलो दोस्रो र तेस्रो हुनेहरूलाई पनि वरिष्ठ लोकगायिका सिर्जना विरही थापा प्रतिभा पुरस्कार प्रदान गरिने छ ।
त्यस्तै, सुन्दरबजार नगरपालिका– ९ को लालीगुराँस अंग्रेजी विद्यालयमा ठाडोभाकाको प्रस्तुति सहितको कार्यक्रम सञ्चालन गर्ने निर्णय भएको प्रतिष्ठानका उपाध्यक्ष सीतादेवी दुराले बताउनु भयो ।
मंसिर र पुस महिनामा प्रशिक्षण कार्यक्रमलाई निरन्तरता दिने र प्रतिष्ठाको कार्यसमितिको कार्यकालको अन्यमा प्रकाशन गर्ने गरिएको स्मारिका प्रकाशनको तयारी गर्ने, माघ महिनामा प्रतिष्ठानको चौथो अधिवेशनका साथ १०औं स्थापना दिवस ठाडोभाका मेलाका साथमा विगत वर्षझैं तीन दिवसीय रुपमा एक साथ सञ्चालन गर्ने निर्णय भएको छ । त्यस अवसरमा विभिन्न व्यक्तित्वलाई स्थापित सम्मान पुरस्कार वितरण तथा अन्य लब्धप्रतिष्ठित व्यक्तित्वलाई सम्मानका कार्यक्रम तय भएको प्रतिष्ठानका उपमहासचिव आशबहादुर विकले जानकारी दिनु भयो । उहाँका अनुसार तीन दिवसीय स्थापना दिवसका अवसरमा विगत वर्षझैं ठाडोभाकाको खुला प्रतियोगिताका साथमा बाघचाल प्रतियोगिता र पात बजाउने प्रतियोगिता पनि हुनेछ । उहाँले भन्नुभयो, ‘यी सबै प्रतियोगिताहरू राष्ट्रियस्तरका खुला हुनेछन् ।’
चैत र बैशाख महिनामा महानायकको रथयात्राको तयारी र रथ यात्राको कार्यक्रम भव्यताका साथ गरिने प्रतिष्ठानका कोषाध्यक्ष सीता गुरुङले बताउनु भयो । यसैगरी, जेठ महिनामा छिमेकी मित्र राष्ट्र भारतको आसाम राज्यमा आयोजना हुने नेपाल– असम पर्यटन सांस्कृति मितेरी पदयात्रामा प्रतिष्ठानको टोली जाने छ ।
त्यस्तै, असार महिनामा मौसमले साथ दिएमा प्रशिक्षणको कार्यक्रम सञ्चालन गर्ने निर्णय भएको प्रतिष्ठानका कार्यकारी सदस्य देवराज गुरुङले बताउनु भयो ।
बैठकले ठाडोभाकाका सर्जक देउवहादुर दुराको स्मृतिमा पुरस्कार स्थापना गर्नका लागि उहाँको परिवारकोतर्फबाट एक लाख रुपैयाँ प्रतिष्ठानलाई हस्तान्तरण गर्नु हुने देउबहादुर दुराकी नातिनी बुहारी छलीमाया दुरालाई धन्यवाद ज्ञापन गरिएको प्रतिष्ठानका कार्यकारी सदस्य रमाराज खनियाले बताउनु भएको छ । उहाँका अनुसार छलीमायासहित उहाँको सपरिवारमा सुखशान्ति, समुन्नति तथा आरोग्यपूर्ण दीर्घजीवनको साथमा उत्तरोत्तर प्रगतिको कामना गरिएको छ ।
हाल बेलायतमा रहनु भएका रमेश दुरा र तुलसी दुरा सदम्पतीले ठाडोभाका गायक गायिका रहनु भएका आफ्ना स्व. बाबा डम्मरसिंह दुरा र विविमाया दुराको स्मृतमा पुरस्कार स्थापनार्थ एक लाख रुपैयाँ अक्षयकोष प्रतिष्ठानका संरक्षक धम्पु दुरामार्फत प्रदान गर्नु भएकोमा दुरा दम्पत्तीसहित उहाँको सपरिवारमा सुखशान्ति, समुन्नति तथा आरोग्यपूर्ण दीर्घजीवनको साथमा उत्तरोत्तर प्रगतिको कामना गरिएको प्रतिष्ठानका अग्रज एवम् कार्यकारी सदस्य अमरध्वज गुरुङले जनकारी दिनु भएको छ ।
यसैगरी, आफ्ना स्वर्गीय पिता दुर्गाबहादुर केसीको स्मृतिमा ५० हजार रुपैयाँको अक्षयकोषसहित मुलुकमा लोकसंस्कृतिको खोज, संरक्षण र प्रवद्र्धनका क्षेत्रमा उत्कृष्ठ योगदान गर्नु हुने व्यक्तित्वको सम्मानका लागि पुरस्कार स्थापना गर्नु हुने प्रतिष्ठानका कार्यकारी सदस्य कृष्ण केसीलाई पनि बधाई ज्ञापन गरिएको छ । प्रतिष्ठानको बैठकले केसीसहित उहाँको सपरिवारमा सुखशान्ति, समुन्नति तथा आरोग्यपूर्ण दीर्घजीवनको साथमा उत्तरोत्तर प्रगतिको कामना गरेको प्रतिष्ठानका कार्यकारी सदस्य मीना गुरुङले बताउनु भयो ।
उहाँका अनुसार सो बैठकमा प्रतिष्ठानका उपाध्यक्ष शोभा थापा, कार्यकारी सदस्यहरू सुधा ढाकाल, पानमाया गुरुङलगायतको उपस्थिति थियो ।
प्रकाशित मिति २०८२ आश्विन १०, शुक्रबार २१:३५ गते