पर्यटनको क्षेत्रमा इतिहास पुरानो हुँदैन । इतिहास र संस्कृति धेरै पर्यटकहरूको रुचि हुन्छ । बडादशंै पर्वमा विशेषत गुल्मी, अर्घाखाँची, प्युठान र पाल्पामा सरायँ नाच नाच्ने गरिन्छ । सरायँ नाच प्रायः बडादशैँको बेला, गाउँमा कोटघरको खुला चौरमा युद्धको स्मृतिमा प्रस्तुत गरिने नाच हो । सरायँ नाच हेर्न संस्कृति र युद्ध कलामा रुचि भएका पर्यटकहरू सराय खेल्ने गाउँमा पुग्दछन । सराय नाचमा युद्धमा भएको वीरता, बलिदान र त्यसको प्रभावलाई स्मरण हुने खालका कलाहरू प्रस्तुत गरिन्छ । सरायँ नाचले भावी पुस्तालाई इतिहासको स्मरण गराउने र शान्ति, सहअस्तित्व राष्ट्रिय एकताको सन्देश पनि दिन्छ । सरायँ विजया दशमीको भोलिपल्ट एकादशीदेखि पूणर््िामासम्म नाचिने प्रचलन छ ।
युद्ध कसैले पनि चाहदैन । तर इतिहास बनेको युद्धको भने स्मरण भै रहन्छ । नेपालमा युद्ध प्राचिनकाल अर्थात भुरेटाकुरे युगदेखिनै हुदै आएको छ । कतिपय युद्धका घाउहरू लुकेका छन । इतिहासमा नलेखिएका युद्धका घटना पनि धेरै छन । पर्यटनको क्षेत्रमा युद्धकालसंग जोडिएको सांस्कृतिक कला अर्थात सरायँ नाच हेर्न रुचि हुन्छ । नेपालको मध्यकालीन इतिहासमा भुरेटाकुरे राजाहरूबीच आपसी द्वन्द्व भै रहन्थो । त्यो बेला सिमाना विस्तार र शक्ति प्रदर्शनका लागि युद्धहरू हुने गर्दथिए । युद्ध कहिले वीरताको कथा बन्यो त कहिले पीडाको । त्यस समयका वीरता र बलिदानलाई स्थानीय बासिन्दाले नृत्य, गीत, रीतिरिवाजमार्फत जीवित राख्दै आए । सरायँ नाच भुरेटाकुरे राजाहरूको पालामा भएको युद्धको सास्कृतिक स्मरण हो । यो नाच युद्धमा भएका घटनाको नाटकमय प्रस्तुति हुन्छ । सरायँमा स्थानीय कलाकारहरूले युद्धकालीन दृश्य, सैनिकहरूको व्यूह, राजा महाराजाका आदेश, र युद्धपश्चातको विजय–पराजयलाई अभिनयमार्फत प्रस्तुत गर्दछन । सरायँमा ढोल, नगारा, तूर्य शंख जस्ता बाजा बजाइन्छ । जसले युद्धभूमिको ध्वनीको स्मरण गर्दछ । सरायँ नाच केवल मनोरञ्जन नभई युद्धकालको स्मृति सुरक्षित राख्ने सांस्कृतिक धरोहर हो ।
सरायँ नाचले इतिहासको जीवन्त स्मरण, वीरता र बलिदानको सम्मान शान्तिको सन्देश, सांस्कृतिक पहिचान र मौलिक संस्कृतिको विकास भएको छ । बडादशैंको अवसरमा आफ्नो पुर्खाको थलोमा पुग्दा इतिहासमा रुचि भएका पर्यटकहरूले भुरेटाकुरे राजाहरको शासन काल र सरायँ नाच अर्थात खेलको बारेमा अध्यन गर्न खोज्दछन । नेपालमा बाईसे– चौबीसे राज्यहरू भन्दा अघि र मल्लकालको पतनपछि झण्डै १५ औँ शताब्दीदेखिको समयलाई भुरेटाकुरे युग भनिन्छ । त्यसबेला नेपालका पहाडी भूभागमा स–साना गाउँ, किल्ला वा क्षेत्रको आधारमा स्थानीय भुरे, टाकुरे, मुखिया वा ठकुरीले शासन गरेका थिए । भुरेटाकुरे युग पछि स–साना भुरे–टाकुरे शक्तिहरूमध्ये केही बलियो हुँदै गएर बाईसे र चौबिसे राज्यहरू बन्न गएको थियो । इतिहासको पाना पल्टाउने हो भने मल्ल युगको अन्त्य पश्चात १५– १६औँ शताब्दीमा भुरेटाकुरे युग र त्यसपछि बाईसे–चौबिसे राज्यहरूको उदय भएको थियो । ऐतिहासिक अभिलेख अनुसार नेपालमा एकीकरण अघि करिब २०० भन्दा बढी स–साना भुरेटाकुरे राज्य अस्तित्वमा थिए भन्ने पनि पाइन्छ । तर पनि संख्या कति थियो भन्नेमा इतिहासकारहरू एकमत भने छैनन । सरायँ नाच दैत्य र दानवहरू माथि देवी–देवताले विजय हासिल गरेको खुशीमा युद्धमा प्रयोग भएका हतियारसहित नाचगान सुरु भएको लोक कथा भएपनि भुरेटाकुरे युगदेखिनै सुरुवात भएको मानिन्छ । तर कुन जिल्ला र ठाउँबाट भएको हो भन्ने कुरा अझै पनि खोज अनुसन्धानको बिषय बनेको छ । बि.सं.१५५० मा रुद्र सेनले पाल्पा राज्यको स्थापना गर्नु भन्दा पहिले पाल्पा क्षेत्रमा स–साना थुम राज्यहरू थिए । जहाँ मगर मुखियाहरूले शासन गर्दथे । प्रचिनकालदेखि नै गुल्मी र पाल्पाको भेग मगरात क्षेत्रमा थियो । त्यसबेला पाल्पाको राजधानी बल्ढेङगढीमा थियो । मगरात राज्यमा वलिहाङ राजा थिए ।
गुल्मी, पाल्पा र अर्घाखाचीमा मगरहरू आफ्नो मातृ भाषा मगर भाषा वोल्ने हुदा कतिपय ठाउँको नामसमेत मगर भाषामा रहेको छ । सरायँ मगर भाषाको सराङ भन्ने शब्दबाट क्रमशः अपभ्रंश हुँदै सरायँ भएको हो । सराङको अर्थ मगर भाषामा तरबार भन्ने हुन्छ । तरबार नाच अर्थात सरायँ नाच युद्ध कला हो । नेपाली शब्दकोशमा वाख्खैको शाब्दीक अर्थ भेटिदैन । तर पनि भाषाविदहरूको भनाइ अनुसार वाख्खैको अर्थ त्यो कहा छ ? त्यसलाई नछोडौं भन्ने भाव भेटिन्छ । भुरेटाकुरे राजाका पालामा भएका युद्धहरूको स्मरणमा सरायँ नाच प्रदर्शन गर्नु सांस्कृतिक परम्पराको संरक्षण पनि हो । सरायँ नाचका आफ्नै विधि विधानहरू छन् । परम्परागत वेशभुषा ढाका टोपी, दौरा–सुरुवाल, गुन्यू–चोली आदि लगाएर, स्थानीय नौमती बाजा मात्र नभएर मादल, झ्याँली, सारंगी, बाँसुरीको तालमा सरायँको नृत्य गरिन्छ । सरायँ नाचले गाउँमा भाइचारा, सहकार्य र सामूहिकता बलियो बनाउँछ । यस नाचले मौलिक लोकधुन, लय र परम्परागत वेशभुषालाई जोगाइ राखेको छ । बडादशैं पर्व गुल्मी, अर्घाखाँची र पाल्पालगायत ठाउँमा सरायँ नाच बिना बडादशैं पर्व अधुरो मानिन्छ । शहरीकरण, आधुनिक मनोरञ्जनका साधन र पुस्तान्तरणको कमीले गर्दा सरायँ नाच पहिलेको जस्तो नभए पनि संरक्षणको प्रयास भएको छ ।
लुम्विनी प्रदेशका पहाडी जिल्लामा विजय उत्सव जस्तै गरी हतियार सहित नौमती बाजाको तालमा सरायँ नाच प्रदर्शन गरिन्छ । बडादशैंको बेला नाचिने सरायँ नाच नेपालको अन्य प्रदेशमा नाचिदैन । सरायँ नाच मौलिक सांस्कृतिक नाच हो । ऐतिहासिक, परम्परागत कला संस्कृति र पहिचान बोकेको सरायँ नाच सप्तमीको दिन फूलपाती भित्राएपछि मन्दिर वा कोटमा आलम अर्थात भगवानको प्रतिमा निकाल्ने गरिन्छ । सप्तमीको दिन विशेष पूजापाठ सहित अष्टमीदेखि नै ठाउँ अनुसार फरक–फरक दिनमा फरक–फरक कोट र भगवतीको मन्दिरमा चढाएको ढाल तरबार निकालेर फन्काउँदै र नचाउँदै एक आपसमा जोडिएर सरायँ नाच्ने गरिन्छ । दशैका बेला युद्ध अभ्यास वा त्यसको अभिनय गरेर सरायँ नाचेको देख्दा कतिपय पर्यटकहरूलाई साच्चैनै कुनै युद्ध भएको त हैन भन्ने अनुभूति हुन्छ । हुन पनि हो सबैको हातमा खुँडा, खुकुरी, भाला, तरबार, ढालजस्ता घरेलु हतियारहरू हुन्छन । हतियार प्रयोग गरेर नाचिने सरायँ नाच कहिले पनि नदेखेका पर्यटकहरूका लागि डरलाग्दो पनि हुन्छ ।
बडादशैको अवसरमा गाउँघरमा पुग्दा शहर बजारमा रहने पर्यटकहरूका लागि छुट्टै अनुभव हुन्छ । पहाडी भूगोलको हरियाली नागबेली परेका डाँडाकाँडा अग्ला कोटमा ऐतिहासिक देवीका मन्दिरहरू देख्दा पर्यटकहरू रमाउछन । शहर बजारका केटाकेटीहरूले सरायँ नाच सुन्दा पनि अचम्म मान्दछन । बडादशैंको बेला आफ्ना आमा बुवासंग केटाकेटीहरू पुख्यौली थलोमा पुग्दा तरबार र खुडा लिएर बाजाको तालमा ‘वाख्खै हो . ..वाख्खै . .हो’ भन्दै नाचिने सरायँ नाचले सबैलाई आकर्षण गर्दछ । सरायँ नाचमा देवीको प्रतीक आलमलाई समेत लिएर नाच्ने गरिन्छ । सरायँ नाचले देवी खुसी हुने विश्वास गरिन्छ । सरायँ नाच जिल्ला र ठाउँ विशेषमा आ–आफ्नै महत्व रहेको हुन्छ । तर पनि अर्घाखाँची जिल्लाको अर्घाको सरायँ नाच प्रसिद्ध मानिन्छ । अर्घामा सबैभन्दा बढी नर्तक र दर्शकहरूको सहभागितामा सरायँ नाच हुने गर्दछ । बडादशैंको दिन अर्घाखाँचीको खिदिमस्थित पोखराथोक, द्वादशीका दिन बल्कोटको छत्रस्थान, त्रयोदशीका दिन लक्ष्मीपोखरी, पूणिर्माका दिन पाल्पाको रैनादेवी र अर्घाखाँचीको ढाडलगायतका कोट र मन्दिरमा सरायँ खेल खेलिन्छ । त्यस्तैगरी लुम्छा, रानिबास, मालिका, छत्रे देउराली, लक्ष्मी पोखरी, भण्डारधुप, मरुवाकोट लगायतका ठाउँमा पनि सरायँ खेलिन्छ ।
सरायँ नाचसँग नेपाल एकीकरणको कथा पनि जोडिएको छ । बहादुर शाहका पालामा राज्य विस्तार गर्दा उनका सेनाले बडादशैंको बेला पारेर रजौटाहरू माथि आक्रमण गरेका थिए । त्यसको सम्झनामा पनि सरायँ खेलिएको बताइन्छ । संस्कृत शब्दमा कोटका धेरै अर्थ लाग्दछ । तीमध्ये चुचुरोलाई बुझाउने कूट शब्दबाट प्राकृत हुँदै कोट शब्द आएको कुरा भाषाविदहरूको भनाइ छ । सरायँको अर्थ चुचुरो अर्थात डाँडामाथीको समथर भाग भन्ने बुझिन्छ । भुरेटाकुरे राजाहरूको पालामा चुचुरो अर्थात डाँडामाथी कोतमा शक्तिपिठका मन्दिर हुने र ऐतिहासिक हातहतियारको भण्डार पनि कोतको मन्दिरमा हुने हुँदा कोत नजिकै रहेको सरायँमा विजया उत्सवको नाच खेलिने संस्कृतिको परम्परा भएकोले यस नाचलाई सरायँ नाच भन्ने गरिएको हो । सरायँ शब्दलाई वृहत नेपाली शब्दकोशमा यात्री बस्न वा विश्राम गर्न बनाइएको सत्तल, विशेष पर्वका दिन मन्दिर भित्रका खुकुरी, तरवार, खडक र लठ्ठी आदी हतियार हातमा लिएर नचाउँदै वाजाका तालमा नाच्दै देखाइने नाच भनिएको छ ।
सरायँ नाचको ऐतिहासिकता प्राचीन मगरात संस्कृति भुरेटाकुरे शासन कालसँग जोडिदै बाइसे चौबीसे राज्यकालबाट विशेष प्रचलनमा आएको थियो । सरायँ नाचले युद्धको इतिहासलाई बोकेको छ । सरायँमा शक्तिको उपासना, हतियार तथा औजारहरुको प्रदर्शनले ऐतिहासिक राज्यहरू बीचको लडाइ, विजयोत्सव, युद्धको तयारीको प्रतिबिम्बन प्रस्तुत गरिन्छ । भुरे–टाकुरे राजाहरूको पालामा अहिलेको लुम्विनी प्रदेशको पाल्पा, गुल्मी, अर्घाखाची र प्युठान जिल्ला ऐतिहासिक र सांस्कृतिक राज्यको रुपमा लिइएको थियो । त्यस बेलाका राजाहरूले आफूले स्थापना गराएको शक्तिपिठ अथवा कोट मन्दिरबाट विजयादशमीको अवसरमा सरायँ नाच नाच्च लगाउने प्रचलन बसालेका थिए । सरायँ नाचको महत्व गुल्मी जिल्लामा पनि उत्तिकै रहेको छ । ऐतिहासिक कोटका मन्दिरहरूमा खडक जुधाउने परम्परा, पञ्चवलीको प्रथा र दशैको वेलामा कोटमौलाको शक्तिपिठबाट निकालिने सरायँ नाच गुल्मी जिल्लाको सेरोफेरामा अझै पनि लोकप्रिय छ । जिल्लाको धुर्कोट, अर्जै, दिगाम चारपाला, इस्मा र चोयँगा गाउँमा नाचिने सरायँ नाचले ऐतिहासिक संस्कृति जोगाउने काम गरेको छ । अहिले पनि त्यस क्षेत्रको सरायँ नाचहेर्न छिमेकी जिल्लाहरूबाट समेत मानिसहरू पुग्ने गर्दछन ।
सरायँ नाच विशेष गरी सयौंको संख्यामा महिला पुरुषहरू हातमा हतियार लिएर पञ्चेबाजाको तालमा खुकुरी, खुडा, तरबार, ढाल र लठठी हातमा लिएर दमाहा, नरसिंहा, टयाम्को, सनही र झ्यालीको तालसगै ढल्की–ढल्की सराय नाच्दा निकै रमाइलो हुन्छ । सरायँ नाचमा युद्व अभिनय गरिन्छ । स्थानीय भेषभुषामा नाचिने यस नाचमा गाइने गीत भने वीर रसले भरपुर हुने गरेका छन् । बिशेषगरी सरायँ नाच अर्घाखाचीको अर्घामैदान, खाचीकोट, ठाडा, असुरकोट, रागामारे, गोखुङगा, गुल्मीको धुर्कोट, पुर्कोट, हर्पुकोट, जुभुङ, इस्मा, अर्जै अम्मरपुर, हाडहाडे, बिरवास, वाग्ला, मोरुङवामी टक्सार, अजिमीर, पिपलधारा, नयागाउं बाग्लुङको गल्कोट, विहु, काडेवास, कुस्मीसेरा स्याङजाको चण्डिभन्ज्याङ प्युठानको भित्रीकोट, नारीकोट, बादीकोट, ओखरकोट लगायतका शक्तिपिठहरुमा पनि सरायँ नाचको ठूलो महत्व रहेको छ । अर्कोतर्फ केही बर्ष अगाडिदेखि प्युठान, अर्घाखाची, गुल्मी र पाल्पाबाट बसाइ–सराइ अथवा रोजगारी र व्यवसायमा आएका घर परिवारबाट बुटवलको जीतगढी, दाङको लमही एव भालुवाङ वजारमा पनि सरायँ नाच नाच्ने गरिन्छ ।
सरायँ भित्रको अर्को प्युठानको डल्ले मेलामा नाचिने सरायँको छुट्टै इतिहास छ । करिब ५६३ वर्ष पहिले जाँट राजाको शासनको पालामा दानवीय स्वभावका ती राजालाई मारेको स्मरणमा सराँय नाँच्ने परम्परा रहेको छ । जाँट वंशीय राक्षसी स्वभावका राजालाई स्थानीयहरूले बालबालिका चढाउनु पर्ने कारणले लखेटेर डल्लेमा मारेका थिए । डल्ले सरायँ मेला प्युठानको पुण्य खोलाको डल्ले बगैंचामा कार्तिक शुल्क तृतीयाका दिन लाग्ने गर्दछ । यस्तै पाल्पाको मुझुङ, पालुङ मैनादी, खस्यौली, बन्दीपोखरा, अर्गली र तानसेन नगरपालिकाका विभिन्न ठाउँमा ऐतिहासिक सरायँ कोजाग्रत पूर्णिमाको दिनमा खेलिन्छ । तर रैनादेवी छहरा गाउँपालिकाको बल्डयाङगढी र बोखर गरी दुई ठाउँमा भने दशैंको पञ्चमीमा खेलिन्छ । सरायँ मध्ये रैनादेवी छहराको बोखरमा हुने ऐतिहासिक दमिनी सरायँको छुट्टै इतिहास छ । ऐतिहासिक दमिनी सरायँ अलि फरक खालको छ । धेरैजसो सरायँ खेल्ने कोट र मन्दिरमा मगर पुजारी हुन्छन भने ऐतिहासिक दमिनी सरायँ खेल्ने मन्दिरमा दमाईं जातिका परियार थरका पुजारी हुन्छन । दमिनी सरायँको व्यवस्थापन पनि परियार समुदायबाट हुन्छ । खाँडदेवीको पुजारी, लमिनी र सरायँ खेल्नेहरु सबैजसो दमाईं जातिकै हुन्छन । दमिनी सरायँमा सबै जातजातिको सहभागिता हुन्छ ।
सरायँ नाच पञ्चेबाजाका साथ गोलो घेरा बनाइ खुडा, तरबार, खुकुरी लगायतका हतियार लिई नाचिन्छ । सरायँमा नृत्य, गायन र खेल समावेश भएको हुन्छ । सरायँ नाचिने मात्र हैन गाइने, खेल जस्तै खेलिने सांस्कृतिक सम्पदाका रुपमा रहेको छ । अर्कोतर्फ सरायँ नाचले मनोरञ्जन मात्र हैन सामाजिक एकता र मेलमिलाप बढाउन योगदान पुर्याएको छ । यो नाचले ऐतिहासिक युद्धमा शक्तिको उपासना, हतियार तथा औजारहरूको प्रदर्शन र युद्ध विजयोत्सवको प्रतिबिम्बन सरायँमा हुने गर्दछ ।
(लेखक : लामो समयदेखि पत्रकारितामा सक्रीय रहनु भएका उहाँ लमजुङ जन्म थलो भई दाङलाई कर्मथलोका रुपमा रोज्नु भई नेपालको पर्यटनका बारेमा विशेष दखल राख्दै कलम चलाउने गर्नु हुन्छ । – सं.)
प्रकाशित मिति २०८२ आश्विन ११, शनिबार १८:०७ गते