
कुन्छा(लमजुङ)– लमजुङका उद्यमशील महिलाहरू बडादशैंको बेलामा आफूले पालेका खसी बोकाको उचित मूल्य पाउन काठमाडौं पुर्याउने काम भएको छ । जिल्लाको पुरानो जिल्ला सदरमुकाम रहेको थलो कुन्छा क्षेत्रमा स्थापित भागिरथी सामाजिक उद्यमी महिला सहकारी संस्था लि.मा आवद्ध सेयर सदस्यहरूले पालनपोषण गरी हुर्काएका खसी बोका लिएर बिक्रि गर्नका लागि सो संस्थाका अध्यक्ष सन्तोषी गौली आफैले नेतृत्व गरी काठमाडौं पुर्याउने काम गर्नु भएको हो । यो वर्षको बडादशैंमा आज असोज १३ गते तेस्रो पटक त्यसरी खसी बोका काठमाडौं लगिदैछ ।
खसी बोका ढुवानीको नेतृत्व गर्नु भएकी संस्थाकी अध्यक्ष सन्तोषी गौलीले यसअघि दुई पटक गरेर ८० वटा खसी बोका लगिसकेको र यो पटक ४० वटा लग्ने काम हुँदैछ । आज बिहान खसी बोका संस्थाको कार्यालयमा संकलनको काम भइरहेको छ । उहाँले भन्नुभयो, ‘गाउँघरमा भन्दा काठमाडौंमा मूल्य केही राम्रो पाइने भएको हुँदा किसानलाई ८० सय रुपैैयाँ भनेपनि बढी मिलोस् भनेर त्यस्तो काममा लागेको हो ।’ उहाँका अनुसार यसरी काठमाडौंमा खसी बोका लग्न थालेको यो चौथो वर्ष हो ।’
भागिरथी उद्यमशील सहकारी संस्था २०७२ सालमा लमजुङको सुन्दरबजार नगरपालिका– १ को कुन्छामा स्थापना भएको हो । सो संस्थाको संस्थापक अध्यक्ष समेत रहनु भएकी सन्तोषी गौलीले सहकारीमा सबै महिला सेयर सदस्यमात्र रहेको, त्यो संस्थामा ऐले ३६५ जना सेयर सदस्य आवद्ध छन् भन्ने जानकारी दिनुभयो । उहाँका अनुसार तीमध्ये करिब एक सय जतिले बाख्रा पालेका छैनन्, अन्य दिदीबहिनीले कम्तिमा ३, ४ वटा भने पनि पालेका छन् । उहाँले भन्नुभयो, ‘सहकारीका सेयर सदस्यहरूले १० वटा त बाख्रा फर्म नै सञ्चालन गर्नु भएको छ ।’
महिला सेयर सदस्यहरूलाई उद्यमशीलतामा जोडेर आयआर्जनका काममा सहभागी गराई उनीहरूको स्तर बृद्धिको कार्य गर्न सकेकोमा सन्तोषीको अनुहारमा गौरवबोध भएको छनक पाइन्थ्यो ।
उहाँले थप भन्नुभयो, ‘सुरुका दिनमा हामीलाई हेफर इन्टरनेसनल भन्ने संस्था र जिल्लाकै चेस नेपालका साथै वडा कार्यालयको सहकार्यमा ‘साना किसान सवलीकरण परियोजना’ २०६८ सालताका सञ्चालनमा थियो, त्यो परियोजना तीन बर्ष चल्यो । त्यसमार्फत दिदीबहिनीहरूले महिला सशक्तिकरण सहितका आजआर्जनका काम गर्न थालेका हुन् ।’ त्यसै परियोजना हस्तान्तरण गर्ने बेलामा २०७२ सालमा सहकारीमा परिणत गरेर त्यो परियोजना हटेको हो, हामीले सहकारी सञ्चालन गरिरहेका छौं सो सहकारी संस्थाकी सचिव सीता कोइराला अछामीले बताउनु भयो । उहाँका अनुसार २०७३ सालमा नै हामीले आफ्नै क्षेत्रमा हाटबजारको पनि प्रवन्ध गरेका हौं तर त्यहाँ खसी बोकाको बिक्रि खासै हुँदैन । उहाँले भन्नुभयो, ‘सुन्दरबजार र पोखरातिर पनि पठाउँछौं, बडादशैंको बेलामा काठमाडौं पठाउन थालेको ऐले चौथो वर्ष हो ।’
सहकारीले जिउँदो खसी बोकाको मूल्य प्रतिकेजी ५५० कायम गरेको छ । छिमेका गाउँघरतिर पनि मूल्य प्रतिकेजी ५५० रहेको छ, कतैकतै पाँच सय रुपैयामा पनि दिन्छन् । किसानलाई मर्का नपरोस् भनेर सहकारीले मूल्य घटाएको छैन सो सहकारीकी अध्यक्ष सन्तोषीले जानकारी दिनुभयो । उहाँका अनुसार काठमाडौंमा पुर्याएपछि खसी बोका दुवैको समान मूल्य हुन्छ, प्रतिकेजी ६५० देखि ७७० सम्ममा जिउँदै विक्रि हुने गरेको छ । उहाँले भन्नुभयो, ‘सहकारीमार्फत विक्रि भएका खसी बोकाबाट प्रति केजी पाँच रुपैयाँका दरले सहकारीले राख्ने गरेको छ ।’ सहकारी संस्थामा कृषि एम्बुलेन्स समेत खरिद गरी सञ्चालनमा रहेको उहाँले जानकारी दिनु भयो । एउटा खसी बोका कम्तिमा २७ केजीदेखि एक सय केजीसम्मको तौलका बिक्रिका लागि लगिएको सन्तोषीले उल्लेख गर्नुभयो ।
एक सय केजीको बोका :
यो सिजनमा मात्रै आफूले चार वटा खसी र एक बोका एक सय केजीको विक्री गरेको उक्त सहकारीकी सेयर सदस्य रहेकी बाख्रा पालक किसान रुपमाया दुराले बताउनु भयो । उहाँका अनुसार चार वर्ष अघि सहकारी मार्फत ‘रुपा कृषि तथा पशु फर्म’ दर्ता गरेर यो काम गर्दै आएको छु । फर्मको प्रोपाइटर समेत आपैm रहेकी रुपमायाले भन्नुभयो, ‘बाख्रा पाल्न थालेको चार वर्ष भयो । राम्रो लागेको छ ।’ उहाँले थप भन्नुभयो ‘बोका प्रतिकेजी ५५० रुपैयाका दरले बिक्रि गरेकी हुँ ।’ त्यो बोका तनहुँको भिमादबाट व्याडका लागि भनेर ल्याएको हो, तीन वर्ष पालेँ, प्रजननका लागि प्रयोग गर्दा प्रतिगोटा पाँच सय रुपैयाँ लिने गरेको समेत रुपाले जानकारी दिनु भयो । यतिबेला भने आफ्नो गोठमा जम्मा १३ वटा मात्र बाख्रा रहेका छन् । तीमध्ये छ वटा एक महिना भित्रै व्याउने वाला छन् रुपमायाले जानकारी दिनु भयो ।
बाख्रा पालन कार्यले महिलाहरूको दैनिक सहज :
यो सहकारी संस्था सञ्चालनमा आएदेखि त्यो सहकारीमा आवद्ध महिला सेयर सदस्यहरूको दैनिकी फेरिएको छ । बाख्रा पालनको व्यवसायिक कार्य गर्ने महिलाहरूको जीवनस्तर उेठको छ सो सहकारीकी अध्यक्ष सन्तोषी गौलीले बताउनु भयो । उहाँका अनुसार त्यो सहकारी संस्था नखुल्दै कतिपय महिला दिदीबहिनीहरूका लागि चाडबाडको बेलामा समेत मिठोमसिनो खान, भनेको बेलामा नयाँ लुगाफाटो फेर्न रहर हुने गर्दत्थ्यो । तिनै दिदीबहिनीहरूले बाख्रा पालन थालेपछि पछिल्ला वर्षमा मिठामिसनो खानका लागि चाडबाड कुर्नु नपर्ने, नयाँ लुगाफाटो फेर्न तथा स्कूल पढ्ने छोराछोरीको किताब कापी, फिसको जोहो गर्नका लागि ऋण खोज्नु पर्ने स्थितिको अन्त्य भएको आफूले पाएको सो सहकारीकी अध्यक्ष सन्तोषी गौलीले जानकारी दिनु भयो । उहाँले भन्नुभयो, ‘यो काम गर्नका लागि दिदीबहिनीहरूलाई उत्प्रेरित गरेर राम्रो दिनमा काम थालिएछ भन्ने लागेको छ ।’
अनुदान पनि पाउनु भएको छ कि ? भन्ने जिज्ञासामा विगतका दुई आर्थिक वर्षसम्म मासुमा प्रतिकेजी २० रुपैयाँका दरले उत्पादनमा आधारित अनुदान पाएको सो सहकारीकी सचिव सीता कोइराला अछामीले बताउनु भयो । उहाँका अनुसार दिदीबहिनीहरूले जाँगर चलाएको देख्दा लोभ लाग्ने गर्दछ । उहाँले भन्नुभयो, ‘पछिल्ला दिनमा कति सहकारी बदनाम भएका छन् तर हाम्रो संस्थामा त्यस्तो छैन । गत वर्ष १० प्रतिशत बोनस पनि वितरण गरेका थियौं, यो वर्ष पनि संस्था नाफामै रहेको देखिएको छ ।’
भागिरथी उद्यमशील सहकारी संस्थामा आवद्ध भएका महिलाहरूले जिल्लामै राम्रो काम गरेको आफूले पाएको भेटेरिनरी अस्पताल तथा पशु विज्ञ केन्द्र लमजुङका प्रमुख डा. सुनिल न्यौपानेले बताउनु भयो । उहाँका अनुसार यति राम्रो सहकारी संस्था जिल्लामा अर्को भेटिएको छैन । उहाँले भन्नुभयो, ‘हाम्रो कार्यालयको तर्फबाट पनि विगतका वर्षहरूमा त्यो सहकारीलाई र कतिपयलाई व्यक्तिगत रुपमा पनि राम्रो सहयोग गरेका हौं, उत्पादनमा आधारित मासुको अनुदान सेयर सदस्यहरू व्यक्तिले पाएका थिए । त्यस्तै संस्थालाई ४५ हजारको कुटानी पिसानी मिलमा ७५ प्रतिशत अनुदान दिने, सहकारीको कार्यालय भवन निर्माणमा सहयोग, कृषि एवम्बुलेन्स खरिद कार्यमा ५० प्रतिशत अनुदान दिएको हो ।’
भागिरथी उद्यमशील सहकारी संस्थाका सेयर सदस्यहरूको प्रोत्साहनका लागि संस्थाको वार्षिक साधारणसभामा उत्कृष्ठ किसान छनौट गरी सम्मान गर्ने गरेको, एकल महिला तथा जेष्ठ सदस्य सम्मान, सेयर सदस्यका जेहन्दार दुई जना बाबुनानीलाई छात्रबृत्ती प्रदान जस्ता कार्यक्रम समेत सहकारीमार्फत सञ्चालन गरेको सो सहकारीकी अध्यक्ष सन्तोषीले उल्लेख गर्नुभयो ।
प्रकाशित मिति २०८२ आश्विन १२, आईतवार ०७:०१ गते