पैह्रे(लमजुङ)– कश्यप गोत्रीय अधिकारी वंश प्रतिष्ठानको लमजुङ/रुपाकोट शाखाद्वारा बडादशैंको अवसरमा शुभकामना आदान प्रदान कार्यक्रम गरिएको छ । प्रतिष्ठानका केन्द्रीय सल्लाहकार दामोदर अधिकारीको प्रमुख आतिथ्यतामा यहाँ स्थित शिवालय मन्दिरमा गरिएको सो कार्यक्रममा असोज ११ गते सबै वक्ताले आध्यात्मका बारेमा परिचर्चा गर्दै प्रतिष्ठान त्यस दिशामा अघि बढ्नु पर्नेमा जोड दिदै सुझावसमेत दिएका छन् ।
कार्यक्रममा आफ्नो प्रमुख आतिथ्य मन्तव्यमा सहभागीले राखेका जिज्ञासाको समेत जवाफ दिनु हुँदै हाम्रा पूर्वज कश्यप ऋषि मानस पुत्र भएता पनि उहाँले मौथुनिक श्रृष्टि स्विकार गरेको हुँदा हामी यो संसारमा आउन पाएका हौं । विज्ञान र आध्यात्म फरक हो भन्दै उहाँले हाम्रा शारीरिक पहिचान विज्ञान हो भने बोली आध्यात्म हो अधिकारीले उल्लेख गर्नुभयो । विज्ञानले शरिरको व्याख्या गर्न सक्छ तर परिचालन गर्ने वाला को हो ? भन्यो भने विज्ञान अलमलमा पर्छ उहाँले भन्नुभयो ।
रामायाणमा रावणले भएको वस्तु बनाउन सक्यो, जान्यो, उ मरेकोलाई बचाउन जान्दैन, सक्दैन त्यसैले रावण भयो । राम मरेकोलाई बचाउने र नयाँ बनाउन पनि सक्छन्, सिर्जना सक्छन् रामले त्यसैले उनी भगवान् अर्थात अध्यात्मवादी भए भन्ने उल्लेख गर्नु भयो ।
प्रमुख अतिथि अधिकारीले तीन खालको सृष्टि ब्रह्म(अनिर्वचनीय वस्तु)बाट पराप्रकृति, त्यसबाट ब्रह्मा(श्रृष्टकता) बाट पराप्रकृति सुरु भयो । त्यसपछि मानसिन पुत्र शृष्टि, तेस्रोमा मनु ब्रह्माको शरिरमा ब्रम्हाको सतरुपाको जन्म त्यसपछि मइथुनिक सृष्टि हुन्छ र ११ मानसिक पुत्र र पुत्री मध्ये पुत्र कश्यप ऋषि हुन् । प्राणी जगत सबै कश्यपको सन्तान हो । ३/३ छोराछोरी जन्म हुन्छ र शृष्टिको क्रम चल्छ । अल्र्बट आइन्स्टाइन र रविन्द्रनाथको संवादको उदाहरण दिदै भन्नुभयो, आइन्स्टाइन रेडिएसनभन्दा अघि के हो ? भन्ने प्रश्नमा ‘मेरो क्षमता छैन ?’ भने । अनि रविन्द्रनाथले भने रेडिएसन कस्ले बनायो ? भन्ने प्रश्नबाट आध्यात्म सुरु हुन्छ भनेको बताउनु भयो ।
त्यस्तै, उहाँले अर्को उदाहरण दिनुभयो, राजा जनक गार्गी बीचको संवाद, यज्ञवल्कलाई सोध्दा आकाश के मा ओतप्रोत छ ? आध्यात्मले आकाश अहंकार तत्वबाट सिर्जना भएको भन्ने मत राख्छ । तर आकाशभन्दा माथि विज्ञान जान सक्दैन । आध्यात्म त्यहाँबाट सुरु हुन्छ भन्नुभयो ।
प्रमुख अतिथि अधिकारीले हाम्रो धर्म सनातन हो हिन्दू होइन भन्नुभयो । उदाहरण दिदै उहाँले भन्नुभयो, ‘सूर्यको धर्म सबैलाई उज्यालो र ताप दिनु हो, त्यो सनातन हो । संक्षेपमा सूर्यको सनातन धर्म तातो दिनु हो, पानीको चिसो हुनु हो, मानवको संस्कार परोपकार हो । हिन्दू भनेको संस्कार संस्कृति हो, सभ्यता हो । सिन्धु सभ्यताबाट हिन्दू बनेको भन्ने पनि छ । इन्दु भनेको चन्द्रमा हो, त्योबाट सृष्टि भएको भन्ने छ । उहाँको संक्षिप्त भनाइ थियो ।
उहाँले अब जिल्ला समितिको ध्यान भवन निर्माणमा अर्जुन दृष्टि दिनु पर्ने छ । एकताको प्रतिक साझा कुल मन्दिर(शाखा भवन) निर्माणको त्यो कार्य हामी आफैले निर्माण गर्नु पर्छ, कुनै एनजिओलाई गुहार्न हुन्न र त्यो निर्विघ्न रुपमा आशा गरिएको भन्दा राम्रो रुपमा सम्पन्न हुनेछ उहाँले ठोकुवा गर्नु भयो ।
प्रतिष्ठानका केन्द्रीय सचिवालय सदस्य एवम् वरिष्ठ पत्रकार नवराज पहाडीले प्रतिष्ठानको स्थापना वंशावली निर्माणको उद्देश्यले भएको थियो । तर त्यो महायज्ञ एक प्रकारले अब किनारा लागेको छ । वंशावलीका दुई वटा ढेली निस्किसकेका छन्, केही त्रुटी भएपनि । अब केन्द्रको ध्यान पनि आध्यात्म लगायतका विषयमा केन्द्रीत हुन थालेको छ । त्यसैले, हामी पुख्र्यौैंली थलो अस्ताम जाने भनेर केन्द्रीय समितिको बैठक समेत त्यहाँ राखिएको थियो, जेनजी आन्दोलनका कारणले वैठक स्थगन भएको छ, निकट भविष्यमा त्यो काम हुने जानकारी दिनु भयो । उहाँले केन्द्रमा पनि अब आध्यात्मिक उपसमिति बनाएर आध्यात्मिकका क्षेत्रमा काम गर्नु पर्छ भन्ने माग उठेको छ र समितिको ध्यान त्यसतर्फ केन्द्रीत हुने स्थिति बनेकोमा आशावादी हुन आग्रह गर्नुभयो ।
उहाँले यो बीचमा वंशावली संकलनका कुराले मात्र धेरै बन्धुहरू नसमेटिएको हुँदा हरेक वर्ष वनभोज सहितको जिल्ला भेला, त्यो भेलामा विभिन्न व्यक्तित्वको सम्मान, तीन जना बाबुनानीलाई छात्रबृत्ती प्रदान गरी प्लस टुसम्म पठाउने योजना र खर्चको जोहो लगायतका कार्य गर्दै गर्दा हामी अब भवन निर्माणको चरणमा समेत प्रवेश गरेका छौं, सकेसम्म निर्माणको त्यो काम यो कार्यकालमा सम्पन्न गर्ने लक्ष्य छ त्यसका लागि प्रतिष्ठानसँग आवद्ध हुनु भएका र नभएका सबै वन्धुबान्धवाले दिल खोलेर सहयोग गर्नु पर्ने बेला आएको छ उहाँले उल्लेख गर्नुभयो ।
यसैगरी, आध्यात्मिक चिन्तक प्रतिष्ठानका प्रदेश सदस्य मुक्ति अधिकारीले कलीयुगमा संघमा शक्ति हुन्छ भनिएको छ, कश्यप ऋषिको रक्त प्रवाहित भएका हामीहरूका बीचमा अपनत्व र एकता छ यसलाई अझै बलियो बनाई परिणाममुखी बनाउन जरुरी छ भन्नुभयो । उहाँले कश्यपको आदर्शलाई आत्मसात गर्नका लागि हामीहरू सबैले आध्यात्मको सैद्धान्तिक र व्यवहारिक दुवै पाटोमा अभ्यस्त हुन जरुरी छ भन्नुभयो । भवन निर्माणकार्यमा हाम्रा उच्च पदस्य हामीसँग आवद्ध वा गैर आवद्ध सबैलाई सम्पर्क गरी आह्वान गरौं उहाँले सुझाव दिनुभएको थियो ।
प्रतिष्टानका निवर्तमान अध्यक्ष तुलसी विकास अधिकारीले प्रतिष्ठानले गर्नु पर्ने मुख्य काम मध्येको एक काम भवनका लागि घडेरी वर्तमान अध्यक्ष प्रकाशचन्द्रज्यूबाट प्राप्त भइसकेको हुँदा त्यो काम पुरा गर्ने अभिभारामा सबै जुटौंं भन्नुभयो । त्यसपछि हाम्रो कार्यालय सचिवजीले सधैं झोलामा बोकेर हिड्नु पर्नै बाध्यता हट्ने छ उहाँले बताउनु भयो ।
सो अवसरमा भक्ति नमूना माविका प्रधानाध्यापक नवराज अधिकारीले प्रतिष्ठानलाई ज्ञान आर्जन र आध्यात्मिक मार्ग दर्शनको केन्द्रका रुपमा विकसित गर्नु पर्छ त्यसतर्फ सबैतहका समितिको ध्यान जान जरुरी छ भन्ने सुझाव दिनु भएको थियो ।
हर्कदेव वंश प्रतिष्ठान भोटेओडारका अध्यक्ष कृष्णकान्त अधिकारीले सबै काम छाडेर शाखाको भवन निर्माणमा जुट्ने र त्यो काम सकिएपछि अर्को दिशातर्फ लाग्न उचित हुनेछ भन्नुभयो । इञ्जिनियर रामशरण अधिकारीले भौतिक निर्माण सँगै शास्त्र र संस्कारका कुरा गरौं, प्रतिष्ठान त्यस्तो पाठशाला हुन सकोस् भन्नुभयो ।
प्रतिष्ठानको शाखाका अध्यक्ष प्रकाशचन्द्र अधिकारीको अध्यक्षतामा भएको उक्त कार्यक्रमा उहाँले आफ्नो र आफ्ना हाल अमेरिकामा रहनु भएका दाजु डा. माधवप्रसाद अधिकारीको शुभकामना कविता वाचन गर्नु भएको थियो ।उपाध्यक्ष प्रित्तम अधिकारीले स्वागत मन्तव्य राख्दै यस्ता कार्यक्रममा सहभागी जुटाउने कार्यमा सबै लाग्नु पर्नेमा जोड दिनुभयो । उहाँले एक बराबर ९ सहभागी गराउने प्रष गरौं भन्ने अनुरोध गर्नु भएको थियो ।
यसैगरी, महिला उपाध्यक्ष सिर्जना अधिकारीले धन्यवाद ज्ञापन गर्दै आध्यात्मिक कुराहरू सुन्दा आफूलाई नर्सरीमा पढ्दै छु भन्ने अनुभूति हुने उल्लेख गर्नु भएको थियो ।
प्रतिष्ठानका शाखा सचिव गोविन्दप्रसाद अधिकारीले कार्यक्रम सञ्चालन गर्दै उद्देश्यमा प्रकाश पार्नु भएको थियो । यो कार्यक्रममा विदेशबाट पाल्नु भएका छात्रबृत्तीका दाता मदन अधिकारी तथा बेसीशहर नगरपालिकामा प्रमुख प्रशासकीय अधिकृतमा सरुवा भइ आउनु भएका सुमन अधिकारीलाई सम्मान गर्ने कार्यक्रम रहेकोमा प्राविधिक कारणले दुवै उपस्थित हुन नसकेको हुँदा त्यो कार्य स्थगन गरिएको जानकारी दिनुभयो ।
प्रकाशित मिति २०८२ आश्विन १२, आईतवार १२:२८ गते