
काठमाडौं– जेनजी प्रदर्शनका क्रममा घाइते थप एकजनाको निधन भएको छ । राष्ट्रिय ट्रमा सेन्टरमा उपचाररत थप एकजनाको निधन भएको प्रहरी स्रोतले बताएको छ । प्रहरी स्रोतका अनुसार योसँगै मृतकको संख्या असोज १३ गते ७६ पुगेको हो ।
मृतक लक्ष्मण राई पञ्चकन्या गाउँपालिका– २ नुवाकोटका हुन् । उनको सो राति १२ बजे मृत्यु भएको प्रहरीले जनाएको छ । यो घट्नासँगै सो आन्दोलनमा ज्यान गुमाउने कुल मृतकको संख्या ७६ पुगेको प्रहरी भनाइ छ ।
उनको शव पोस्टमार्टमका लागि त्रिवि शिक्षण अस्पतालको फोरेन्सिक विभागमा पठाइएको छ ।
प्रहरीका अनुसार, अझै पनि विभिन्न अस्पतालहरूमा घाईतेको उपचार जारी छ ।
यसअघि, पर्साको वीरगञ्ज स्थित पूर्व सांसद अनिल रुङ्गाटाको घरमा आगजनी हुँदा त्यहाँ काम गर्ने कौशिला देवी दुसाद्नीको उपचारको क्रममा ४५ वर्षीया कौशिलादेवीको कीर्तिपुर स्थित बर्न अस्पतालमा असोज ९ गते मृत्यु भएकोसँगै जेनजी प्रदर्शनको क्रममा मृत्यु हुनेको संख्या ७५ पुगेको थियो ।
यसअघि २९ भदौ गते जेनजी प्रदर्शनका क्रममा मृत्यु हुनेको संख्या ७२ पुगेको मुख्य सचिव एकनारायण अर्यालले जानकारी दिनु भएको थियो । उहाँका अनुसार ५९ जना प्रदर्शनकारी, १० जना कैदी बन्दी र ३ जना सुरक्षाकर्मीको मृत्यु भएको हो । उहाँले ्रत्यसदिनसम्मको स्थितिको जानकारी दिदै भन्नु भएको थियो, ‘१३३ जना प्रदर्शनकारी र ५७ सुरक्षाकर्मी घाइतेको उपचार जारी रहेको छ ।’
प्रधानमन्त्री सुशिला कार्कीले घाइतेको निःशुल्क उपचार, आन्दोलनमा मृतक हुनेलाई शहीद घोषणा गर्ने र उनीहरूको परिवारलाई प्रतिव्यक्ति १० लाख दिने निर्णय भएको मुख्य सचिव अर्यालले
जानकारी दिनु भएको छ ।
प्रधानमन्त्री सुशीला कार्कीको पदभार ग्रहण कार्यक्रममा मुख्य सचिव एकनारायण अर्यालले मृतकहरूको पछिल्लो संख्या ७२ पुगेको जानकारी भदौ २९ गते गराउनु भएको थियो । त्यस यता थप चार जनाको निधन भएको छ । उहाँका अनुसार प्रहरीतर्फ तीन जनाले ज्यान गुमाएका छन् ।
भ्रष्टाचार र सामाजिक सञ्जालमाथि लगाइएको प्रतिवन्धविरुद्ध गत भदौ २३ गते जेन–जी पुस्ताका युवाहरू प्रदर्शनमा उत्रिएपछि नयाँ वानेश्वरको संसद भवन अघिल्तिर प्रहरीसँग झडप भएको थियो ।
त्यसक्रममा प्रहरीले गोली चलाउँदा पहिलो एकै दिन १९ जना प्रदर्शनकारीको दुःखद निधन भएको थियो ।
प्रकाशित मिति २०८२ आश्विन १४, मंगलवार ०७:०२ गते