
काठमाडौं– नेपालीहरूको महान चाड बडादशैंको आज असोज १६ गते मुख्य दिन विजयादशमी । मान्यजनको हातबाट टीका र जमरा लगाएर मनाइँदै छ । विजयादशमी आफैंमा शुभ दिन हो । टीका लगाउने उत्तम साइत बिहान ११ बजेर ५३ मिनेटमा रहेको नेपाल पञ्चा· निर्णायक विकास समितिले जनाएको छ ।
विजयादशमीको टीका लगाउने व्यक्ति पूर्व र लगाइदिने व्यक्ति पश्चिम फर्किनु राम्रो हुने समितिले जनाएको छ । त्यसपछि घटस्थापनाका दिन स्थापना गरिएको घडाबाट वैदिक विधिपूर्वक अभिषेक गरी विजयादशमीको टीका लगाउने प्रचलन छ । टीका जमरा शक्तिस्वरुपा देवी भगवतीको प्रसाद हो । त्यसैले प्रसाद ग्रहण गर्न सामान्य मानिसले साइत खोज्नु नपर्ने मान्यता रहेको छ ।
आज गुरु पुरोहित, हजुरबुबा, हजुरआमा, बा, आमा, दाजु, भाउजु, मान्यजन तथा ठूलाबडाको हातबाट नव दुर्गा भवानीको टीका, जमरा तथा प्रसाद थापी यश, ऐश्वर्य वृद्धि, काम गर्ने क्षमतामा वृद्धि एवं दीर्घायु प्राप्त होस् भनी आशीर्वाद लिने गरिन्छ ।
आज नभ्याउनेले कोजाग्रत पूर्णिमासम्म पनि मान्यजनबाट टीका ग्रहण गर्न सक्ने पनि विधि रहेको छ । आजदेखि पूर्णिमासम्म मान्यजनबाट दुर्गाको प्रसादका रूपमा टीका ग्रहण गर्दा अन्य फूलका साथै घटस्थापनाका दिनमा वैदिक विधिपूर्वक राखिएको पहेँलो जमरालाई समृद्धिको प्रतीकको रूप मानी लगाउने गरिन्छ ।
देवी विसर्जन विहान ९ बजेर २३ मिनेटमा :
बिहान ९ बजेर २३ मिनेटको साइतमा देवी बिसर्जन गर्ने शुभ साइत रहेको छ । दशैं घर वा पूजाकोठामा घटस्थापनका दिन स्थापना गरिएको घडाबाट वैदिक विधिपूर्वक अभिषेक गरी देवीदुर्गाको प्रसादको रुपमा टीका–जमरा मान्यजनको हातबाट ग्रहण गर्ने चलन छ ।
कोजाग्रत पूर्णिमाका दिन महालक्ष्मीको व्रत बसी पूजा गरेपछि दशैं पर्व समापन हुन्छ । नेपालभर दशैं महान् पर्वका रुपमा मनाइन्छ । विदेशमा रहेका नेपालीले पनि एकापसमा जम्मा भई दशैं मनाउने गर्छन् ।
दशैंको दिन बिहान उठेर घामको झुल्कोमा दुर्गा विसर्जन गरी कलशको जलले अभिषेक गरेर टीका लगाउन मिल्छ । ‘यस वर्षको दशैंको टीकाको दिन देवी विसर्जनको साइत ९ बजेर २३ मिनेटमा तोकिए पनि काम विशेषले घरबाट चाँडै निस्किनुपरेमा झुल्के घाममै दुर्गा विसर्जन गरी टीका लगाउन सकिने पञ्चाङ्ग निर्णायक विकास समितिले जनाएको छ ।
पुरुषलाई आशिर्वाद दिने मन्त्र :
आयु द्रोणसुते श्रीयं दशरथे शत्रुक्षयं राघवे ।
ऐश्वर्यं नहुषे गतिश्च पवने मानञ्च दुर्योधने ।
दानं सूर्यसुते बलं हलधरे सत्यन्च कुन्तीसुते ।
विज्ञानं विदुरे भवन्तु भवतां कीर्तिश्च नारायणे ।।
आयु द्रोणसुते भनेको द्रोणपुत्र अस्वत्थामाको जस्तो दीर्घायु होस् भन्ने हो । अष्ट चिरन्जीवीमध्ये एक पर्ने अस्वत्थामाको आयु यो ब्रम्हाण्ड रहुन्जेल भएको पुराणमा उल्लेख छ ।
त्यस्तै, मन्त्रमा श्रीयं दशरथे भन्नाले दशरथ राजाको जस्तो श्रीसम्पत्ति प्राप्त होस् भन्ने कामना हो भने शत्रुक्षयं राघवे भनेको भगवान् रामको जस्तो शत्रु नास गर्ने क्षमता होस् भन्ने हो ।
रामका शत्रु सबैको नास भएजस्तै टीका थाप्नेको पनि शत्रुहरू नास होउन् भन्ने शुभेच्छा हो । ऐश्वर्यं नहुषेको अर्थ नहुष राजाको जस्तो खुसी ऐश्वर्य होस् भन्ने हो । जीवनमा सधैँ हाँसीखुसी रहनुपरोस्, दुःख नपरोस्, मनमा आनन्द होस् भन्ने कामना मन्त्रमा उल्लेख गरिएको छ । त्यसैगरी, गतिश्च पवनेले पवनपुत्र हनुमानको जस्तो गतिशीलता होस् भन्ने अर्थ दिन्छ । हनुमानको गति यति छिटो थियो कि उनले आफ्नो गतिमा लाखौं कोष समुद्रपारि लंका पुगेर माता सीताको पत्ता लगाउन सकेका थिए ।
अहिलेको आधुनिक युगमा पनि उनै हनुमानको जस्तो गतिका साथ हामी मानव अगाडि बढ्नु पर्छ । टीका थाप्ने मन्त्रमा मानष्च दुर्याेधने पनि भनिन्छ । यसको अर्थ दुर्याेधनको जस्तो मान हुन सकोस् भन्ने हो । दुर्योधनले आपूmले मान्नुपर्ने र पाहुनालाई धेरै मानसम्मान दिने गरेको महाभारतमा उल्लेख छ । यसैगरी, दानं सूर्यसूतेको अर्थ सूर्यपुत्र कर्णको जस्तो दानवीरता होस् भनिएको हो ।
अहिलेको युगमा दान महत्वपूर्ण छ । कसैका लागि सानो दान पनि महŒवपूर्ण हुन सक्छ तसर्थ द्वापर युगमा कर्णले दान गरेजस्तै हुनु भनेर आर्शीवाद दिइने चलन छ । कर्णले आपूmलाई जस्तै दुःख पर्दा पनि दान गर्न छोडेका थिएनन् । बलं हलधरेले हलो बोकेर हिड्ने कृष्णका दाजु बलरामको जस्तो बल होस् भन्ने कामना पनि गरिन्छ । बल बिना कसैको अस्तित्व हुँदैन ।
अहिलेको समाजमा मुडे बल मात्र नभई बुद्धिसहितको बल चाहिन्छ । यसैगरी सत्यंच कुन्तीसूते भनेर टीका जमरा लगाउँदा मान्यजनले आशीष दिन्छन् । यसको अर्थ कुन्तीपुत्र युधिष्ठिरको जस्तो सत्यवादिता होस् भन्ने हो । सत्य बलवान छ, सत्य कहिल्यै लुक्दैन र सत्य जसले गर्छ त्यो सफल हुन्छ । युधिष्ठिरले पनि जीवनमा सत्य मात्रै बोले र व्यवहारमा पनि उतारेका थिए । जसका कारण असत्यका प्रतीक कौरब पराजित भए । विज्ञानं विदुरे भवंन्तु भवतां कीर्तिश्च नारायणे भन्नाले विदुरको जस्तो ज्ञान र भगवान् नारायणको जस्तो कीर्ति तपाईंलाई प्राप्त होस् भनी मान्यजनबाट आर्शीवाद दिने प्रचलन रहेको छ ।
महिलालाई आशिर्वाद दिने मन्त्र :
ॐ जयन्ती मंगला काली, भद्रकाली कपालिनी ।
दुर्गा क्षमा शिवाधात्रि, स्वाहा स्वधा नमोस्तु ते ।
मानिसको मस्तिष्कमा रहेको विकारलाई हटाई पराक्रमी पुरुषार्थी भावको विकासका लागि टीका लगाउने मान्यता नेपाली समाजमा छ । पूर्व या पश्चिम फर्किएर टीका ग्रहण गर्दा राम्रो हुने मान्यता छ ।
दशैंमा रातो टीका र जमरा लगाउने गरिए पनि कुनै कुनै समुदायले भने सेतो टीका पनि लगाउने गर्छन् । रातो र सेतो शान्ति र समृद्धिको प्रतीक हो । टीकाले मन, मस्तिष्क, विचारलाई शुद्ध चेतनायुक्त बनाउँछ ।
प्रकाशित मिति २०८२ आश्विन १६, बिहीबार ०६:२६ गते