
माइजोगमाई (इलाम)– माइजोगमाई गाउँपालिका– ६ प्याङका दुई घर पहिरोले बगाउँदा ८ जनाको ज्यान गएको छ । सो घट्ना असोज १९ गते राती भएको हो ।
ती घर भएकै ठाउँमा ठूला ढुंगा, गेग्रयानसहितको माटो पनि थुप्रिएको थियो । त्यो दृश्यले बाटो हिँडिरहेका दुई युवालाई झस्कायो । शंका लागेपछि उनीहरूले नजिकै गएर हेरे । छिमेकी गाउँका दुई जना युवा ढुंगामाटोको ढिस्कोनिर पुग्दापुग्दै निश्चित भए, त्यो घर पहिरोले पुरेछ । अघिल्लो साँझ मात्रै त्यही बाटो हिँड्दा देखिएको एउटा घर आज बिहान एकाएक गायब थिए ।
त्यो घट्नामा स्थानीय ८० वर्षीय बमिध्वज सोङ्मीको परिवार बस्ने घर राति नै पहिरोले पुरेको दृश्य देख्नासाथ आत्तिएका उनीहरूले होहल्ला गरे । गाउँले भेला भए । त्यसपछि मात्रै थाहा भयो, परिवारका पाँच जनालाई पहिरोले घरभित्रै ज्यान लिएछ ।
‘त्यो घर नजिकैको बाटो हिँडिरहेका गाउँकै दुई जना युवाहरूले घर नदेखेपछि नजिकै गएर हेर्दा घरै पहिरोले पुरेको थाहा पाएर हल्ला गरेपछि अरूलाई थाहा भएछ,’ माइजोगमाई– ६ का वडाध्यक्ष दिपेश सोङ्मीले भन्नुभयो, ‘गाउँले भेला भएर माटो पन्छाउँदा एकै परिवारका ५ जनाको लास मात्रै फेला प¥यो ।’
वडाध्यक्ष सोङ्मीले सो घटना प्याङ भन्ने ठाउँमा भएको जानकारी दिनुभयो । सोही वडाकै अर्को घर किरण थेवेको थियो, त्यो घर पनि पहिरोले पर्दा तीन जनाको ज्यान गएको छ । बमिध्वजको परिवारका जम्मा पाँच जनाको ज्यान गएको छ । बमिध्वज सोङ्मी, उनकी श्रीमती, छोरा, बुहारी, र १५ वर्षकी नातिनीको ज्यान गएको हो ।
किरण थेवेको परिवारमा किरणसहित तीन जनाको ज्यान गएको छ । किरणकी गर्भवती श्रीमती र एक जना छोरीको पहिरोमा पुरिएर ज्यान गएको वडाध्यक्ष सोङ्मीले बताउनु भयो । उहाँका अनुसार गाउँलेहरूले ८ जनाकै शव निकालेका छन् ।
वडाध्यक्ष सोङ्मीले भन्नुभयो, ‘मेरो अनुमानमा यो घटना राति ३ बजेतिर भएको हो, दुवै घर एकान्त ठाउँमा रहेकाले बिहान मात्रै गाउँलेले घर नदेखिएको अवस्थामा पहिरो गएको पत्ता लगाएका थिए ।’
वडाध्यक्ष सोङ्मीका अनुसार घरभन्दा करिब सय मिटर माथिबाट भीर खसेर घर पुरेछ, अहिले आठ जनाकै शव निकालिएको छ, गाउँमा ठूलो त्रास र शोकको वातावरण छ । बमिध्वज र किरण थेवे दुवैको घर मुख्य गाउँभन्दा एकान्त र भीरको फेदैमा थियो उहाँले सुनाउनु भयो ।
प्रकाशित मिति २०८२ आश्विन १९, आईतवार १७:४५ गते