काठमाडौं– गत भदौ २४ गतेका दिन जेलबाट भागेका दुई जना व्यक्ति फेरि गम्भीर आपराधिक घटनामा संलग्न भएको पाइएको छ । उनीहरू काभ्रेको पनौती नगरपालिका– १२ का सन्तबहादुर तामाङ र दाङको तुलसीपुर कारागारबाट भागेका २२ वर्षीय खिमबहादुर विक हुन् ।
तामाङ बलात्कार मुद्दामा सजाय काटिरहेका थिए । तीन वर्षदेखि नख्खु कारागारमा सजाय काटिरहेका उनी भदौ २४ गते अरू कैदीहरूसँगै जेलबाट भागेका उनी सिधै पनौतीस्थित घर पुगेका थिए । घरपरिवारसँगै बसिरहेका उनले असोज २ गते आफ्नी ३० वर्षकी श्रीमती मनिषाको हत्या गरेको खुल्न आएको छ ।
श्रीमतीको हत्या गरेपछि शव घरबाट ५ सय मिटर पर रहेको आफ्नै बारीमा खाल्डो खनेर गाडे र भोलिपल्ट असोज ३ गते नख्खु कारागारमा हाजिर भए ।
प्रहरीको अनुसन्धानबाट सन्तबहादुरले आफ्नी श्रीमती परपुरूषसँग सम्बन्धमा रहेको शंकाका आधारमा उनको हत्या गरेको खुलिसकेको छ । अहिले घटनाको अनुसन्धान भइरहेको काभ्रेका प्रहरी नायव उपरीक्षक रवीन विष्टले बताउनु भयो ।
कर्तव्य ज्यान मुद्दामा दोषी ठहर भएको खिमबहादुरले पुनः हतियार प्रहार गरे :
यसैगरी, भदौ २४ गतेकै दिन दाङको तुलसीपुर कारागारबाट भागेका २२ वर्षीय खिमबहादुर विक पुनः आपराधिक गतिविधिमा संलग्न रहेको आरोपमा पक्राउ परेका छन् । तुलसीपुर उपमहानगरपालिका– ५ रानीजरूवामा स्थायी बासेबास भएका खिमबहादुर कर्तव्य ज्यान मुद्दामा दोषी ठहर भइ २५ वर्षको सजाय काटिरहेका थिए ।
जेलबाट भागेका उनले फेरि तुलसीपुर– ५ रानीजरूवाकै ५३ वर्षीय एक व्यक्तिमाथि धारिलो हतियार प्रहार गरेका छन् । सो घटना असोज ११ गते भएको दाङ प्रहरीले पुष्टि गरेको छ । उनले बेलुकी ८ बजे आफूसँगै अरू दुई जनालाई पनि लिएर गई व्यक्तिमाथि धारिलो हतियार प्रहार गरी फरार भएको इलाका प्रहरी कार्यालय तुलसीपुरका इन्स्पेक्टर सूर्य राना मगरले बताउनु भयो । उहाँका अनुसार असोज १५ गते पीडितले जाहेरी दिएपछि खिमबहादुरविरूद्ध पक्राउ पूर्जी जारी भएको हो । उहाँले भन्नुभयो, ‘खिमबहादुरलाई खोजी गर्ने क्रममा दंगीशरण गाउँपालिका– २ सातखुटी गाउँमा लुकिछिपी बसेको अवस्थामा १८ गते बेलुकी पक्राउ गरिएको छ ।’
उता, नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता डिआइजी विनोद घिमिरेले जेलबाट भागेकाहरूका कारण चाडपर्वमा थप आपराधिक हुन सक्नेप्रति यस पटक प्रहरी सतर्क थियो भन्नुभयो । उहाँका अनुसार त्यस कारण एकाधबाहेक घटना हुन पाएन । घटना भएका ठाउँमा पनि संलग्नलाई चाँडै पक्राउ गरेका छौं । उहाँले भन्नुभयो, ‘यो बीचमा विपदका कारण सम्पूर्ण ध्यान त्यसमै लगाउनुपरेको अवस्था छ ।’
डिआइजी घिमिरेले भन्नुभयो, ‘प्रहरीकै सम्पर्कमा रहेका कैदीबन्दी पनि अब फर्किन्छन्, उनीहरूलाई कारागार फर्किन दिएको समय पनि अब सकियो, नफर्किने कैदीहरूको खोजी पनि अब तीव्र पार्छौं ।’
यसैगरी, कारागार व्यवस्था विभागका महानिर्देशक शर्माले विपदका कारण अपेक्षा गरेअनुसार कैदीहरू कारागार नफर्किएको बताउनु भयो । उहाँका अनुसार एकातिर बाटोका कारण कैदीहरू फर्केनन् । अर्कातिर कारागारकै अवस्था पनि नाजुक भयो । उहाँले भन्नुभयो, ‘कहीँ पर्खाल भत्केका छन्, कतै बाढी पसेको छ । कतै बडादशैंमा घर गएका कर्मचारी फर्किएका छैनन्, यद्यपि केन्द्रीय कारागारबाट निगरानी गर्ने र अपडेट लिने काम भइरहेको छ ।’
भदौ २४ गतेका दिन देशभरिका २८ वटा कारागार र ९ वटा बालसुधार गृहबाट १४ हजार ५४९ जना भागेका थिए । तीमध्ये असोज १८ गतेसम्म ८ हजार ६४९ जना जेल फर्किसकेको कारागार व्यवस्थापन विभागका महानिर्देशक शर्माले बताउनु भयो । उहाँका अनुसार केहीलाई प्रहरीले नै पक्राउ गरेका हुन् भने केही आफै जेल फर्किएका छन् । हिजो र आजको तथ्यांक संकलन हुन बाकी रहेको उहाँको भनाइ छ ।
भागेकाहरूलाई असोज २० गतेसम्म फर्किने समय सीमा :
जेल तोडेर भागेकाहरूलाई असोज २० गतेसम्म आउनु भनेका थियौं, बीचमा मौसम र बाटोघाटोले पनि अप्ठ्यारो पा¥यो, तर फर्किने क्रम जारी छ । छिट्टै फर्कन्छन् भन्ने विश्वास छ महानिर्देशक शर्माले उल्लेख गर्नुभयो ।
उहाँका अनुसार भागेका कैदीबन्दीहरू कुन कुन अपराधमा संलग्न छन् भन्ने विवरण बनाइएको छैन ।
महानिर्देशक शर्माले भन्नुभयो, ‘कुल कैदीको २८ प्रतिशत लागुऔषध मुद्दाका छन् । २० प्रतिशत जबरजस्ती करणीका छन् । त्यसपछि कर्तव्य ज्यान मुद्दाका र अरू आपराधिक गतिविधिमा संलग्नहरू छन् । भागेकाहरूमा पनि अनुपात त्यही नै छ ।’
उहाँका अनुसार जघन्य अपराधका अभियुक्तहरू जेलबाहिर हुँदा सुरक्षा चुनौती स्वाभाविक रूपमा बढ्छ नै । उहाँले भन्नुभयो, ‘त्यसैले उनीहरूलाई फेरि कारागारमा फर्काउन आफ्नो ठाउँबाट सक्दो प्रयास र पहल गरेका छौं ।’
झन्डै ५ हजार कैदी थुनाबाहिर भएको विषयले वैदेशिक रोजगारीको क्षेत्रमा पनि असर पारेको उहाँको कथन छ । उहाँले भन्नुभयो, ‘नेपालमा प्रत्येक वर्ष करिब पाँच लाख जनशक्ति श्रम बजारमा प्रवेश गर्छन् । फरार कैदीहरू नफर्किइसकेकाले वैदेशिक रोजगारीमा जाने प्रक्रियामा रहेकाहरूलाई पनि पहिलेझैं सहज र सरल हुने छैन । उनीहरूमाथि धेरै कडाइ हुनेछ ।’
वैदेशिक रोजगारीका लागि गन्तव्य मुलुकहरूले भिसामा कडाइ गरिसकेको वैदेशिक रोजगार व्यवसायी संघका महासचिव महेशकुमार बस्नेतले जानकारी दिनु भएको छ । उहाँका अनुसार नेपालको जेनजी आन्दोलनपछि साउदी अरब, संयुक्त अरब इमिरेट्स (युएई) लगायत मुलुकले आन्तरिक सुरक्षाको कारण देखाँउदै भिसामा कडाइ थालेका छन् । उहाँले भन्नुभयो, ‘नेपालका जेलबाट कैदीबन्दीहरू बाहिर निस्किएकाले अपराधमा संलग्न व्यक्तिहरू आफ्नो देश नछिरून् भन्ने उनीहरूको चासो छ ।’
प्रकाशित मिति २०८२ आश्विन २०, सोमबार २१:०० गते