
कुन्छा(लमजुङ)– लमजुङका उद्यमी एवम् पौरखी महिलाहरूले सञ्चालन गरेको सहकारी संस्थाले आफ्ना सेयर सदस्यले पालनपोषण गरी हुर्काएका खसी बोका विक्रि गरेर मात्र ६३ हजार बढी आम्दानी गरेको छ । सुन्दरबजार नगरपालिका– १ कुन्छा स्थित भागिरथी सामाजिक उद्यमी महिला सहकारी संस्था लि.मा आवद्ध सेयर सदस्यहरूले पालनपोषण गरी हुर्काएका खसी बोका बिक्रि गराएर सो सहकारी संस्थाले त्यतिका आम्दानी गर्न सफल भएको हो ।
बडादशैंको बेलामा ४० वटाका दरले खसी बोका तीन पटक काठमाडौं पुर्याएर विक्री गरेको सहकारीले सो रकम आर्जन गरेको सो सहकारीका अध्यक्ष सन्तोषी गौलीले बताउनु भयो । उहाँका अनुसार सेयर सदस्यहरूका लागि २, ४ पैसा भने पनि बढी आओस् भन्ने उद्देश्यले आफैले नेतृत्व गरी खसी बोका काठमाडौंसम्म पुर्याएर बिक्रि गर्न सघाएकी हुँ । उहाँले भन्नुभयो, ‘सहकारीमार्फत विक्रि भएका खसी बोकाबाट प्रति केजी पाँच रुपैयाँका दरले सहकारीले लिने गरेको छ ।’ सहकारी संस्थामा कृषि एम्बुलेन्ससमेत खरिद गरी सञ्चालनमा रहेको र त्यसैबाट खसीबोका ढुवानी गरिएको हो, उहाँले जानकारी दिनुभयो । एउटा खसी बोका कम्तिमा २७ केजीदेखि एक सय केजीसम्मको तौलका बिक्रिका लागि लगेको सन्तोषीको भनाइ छ ।
सहकारी संस्थाले जिउँदो खसी बोकाको मूल्य प्रतिकेजी ५५० कायम गरेको सो सहकारी संस्थाकी सचिव सीता कोइराला अछामीले बताउनु भयो । उहाँका अनुसार छिमेकका गाउँघरतिर पनि मूल्य प्रतिकेजी ५५० रहेको छ, कतैकतै पाँच सय रुपैयामा पनि दिन्छन् । उहाँले भन्नुभयो, ‘किसानलाई मर्का नपरोस् भनेर सहकारीले मूल्य घटाएको छैन ।’ यस कार्यमा हाम्रो सहकारी संस्थाकी अध्यक्ष सन्तोषीले सहजिकरण गर्नु भएको उहाँको भनाइ छ ।
काठमाडौंमा पुर्याएपछि खसी बोका दुवैको समान मूल्य हुन्छ, प्रतिकेजी ६३० देखि ७५० सम्ममा जिउँदै विक्रि हुने गरेको अध्यक्ष सन्तोषीले जानकारी दिनु भयो । उहाँका अनुसार ठूलो खसीबोकाको अलिक धेरै मूल्य पाइन्छ, सानोको कम मूल्य दिन्छन् । अध्यक्ष सन्तोषीले भन्नुभयो, ‘सहकारीले यो वर्ष खसीबोका बिक्रिबाट कुल ६३ हजार तीन सय रुपैया आम्दानी भएको छ ।’ उहाँका अनुसार खसी बोका कुल खरिद मुल्य– ६९ लाख ३० हजार रहेको थियो । बडादशैंको बेलामा कुल १२ हजार ६० केजी बारबरका खसी बोका विक्रि गरेको उहाँले जानकारी दिनुभयो । गत वर्ष खसी बोकाको मासु ८७ हजार २१८ केजी बिक्री भएको सन्तोषीले जानकारी दिनु भयो ।
‘यो वर्ष बिक्रि किन कम भयो ?’ भन्ने जिज्ञासामा ऐले त चालु आवको तीन महिना बित्दै छ । तिहार आउँदै छ, त्यो बेलामा, मंसिरमा विवाहको लगन भएको र भोजभतेर बढी चल्ने महिनाहरूमा बढी बिक्रि हुन्छ अध्यक्ष सन्तोषीको भनाइ छ । उहाँले थप भन्नुभयो ‘हामी महिनै पिच्छे जस्तो खसीबोका बिक्रिका लागि काठमाडौंमा पठाउँछौं ।’
उक्त भागिरथी सामाजिक उद्यमी महिला सहकारी संस्था लि.मा आवद्ध कुन्छा क्षेत्रका धेरै जस्तो छ गाउँका दिदीबहिनीहरू बढी सक्रिय छन् । अझै पनि अधिकारी टोल, हाम्रो गौली टोल र द्यौरालीबाट बिक्रिका लागि खसी बोका लग्नु छ र ऐलेसम्म सिरपानी, दुरागाउँ, खमारीबोट गाउँबाट लगेको हो अध्यक्ष गौलीको भनाइ छ । गत वर्ष जिल्ला स्थित भेटेरिनरी अस्पताल तथा पशु विज्ञ केन्द्रले हाम्रो सहकारीमा आवद्ध सेयर सदस्यलाई खसीबोकाको मासुको उत्पादनमा आधारित अनुदान चार लाख रुपैयाँ पाएका थिए । यो वर्ष त्यस्तो सूचना निस्कन ढिला भएको छ । त्यो अनुदान पाउनका लागि पनि पर्खिएको स्थिति छ र गत वर्षभन्दा कम बिक्रि देखिएको हो । असार मसान्त आउँदासम्म त गत वर्षभन्दा धेरै आम्दानी गर्न सकिने देखिएको सो सहकारीकी अध्यक्ष सन्तोषी गौलीले उल्लेख गर्नुभयो ।
२०७२ सालमा लमजुङको उक्त सहकारी संस्था स्थापना भएको हो । सो संस्थाको संस्थापक अध्यक्ष समेत रहनु भएकी सन्तोषी गौलीले सहकारीमा सबै महिला सेयर सदस्यमात्र रहेको, त्यो संस्थामा ऐले ३६५ जना सेयर सदस्य आवद्ध रहेका छन् भन्ने जानकारी दिनुभयो । उहाँका अनुसार तीमध्ये करिब एक सय जतिले बाख्रा पालेका छैनन्, अन्य दिदीबहिनीले कम्तिमा ३, ४ वटा भने पनि पालेका छन् । उहाँले भन्नुभयो, ‘सहकारीका सेयर सदस्यहरूले १० वटा त बाख्रा फर्म नै सञ्चालन गर्नु भएको छ ।’
उहाँले थप भन्नुभयो, ‘सुरुका दिनमा हामीलाई हेफर इन्टरनेसनल भन्ने संस्था र जिल्लाकै चेस नेपालका साथै वडा कार्यालयको सहकार्यमा ‘साना किसान सवलीकरण परियोजना’ २०६८ सालताका सञ्चालनमा थियो, त्यो परियोजना तीन बर्ष चल्यो । त्यसमार्फत दिदीबहिनीहरूले महिला सशक्तिकरण सहितका आजआर्जनका काम गर्न थालेका हुन् ।’ त्यसै परियोजना हस्तान्तरण गर्ने बेलामा २०७२ सालमा समूहलाई सहकारीमा परिणत गरी त्यो परियोजना हटेको हो, हामीले सहकारी सञ्चालन गरिरहेका छौं, खसी बोकाको बिक्रिका लागि २०७३ सालमा नै हामीले आफ्नै क्षेत्रमा हाटबजारको पनि प्रवन्ध गरेका हौं तर त्यहाँ खसी बोकाको बिक्रि खासै हुँदैन, सस्तो खोज्छन् । ‘२०७३ सालदेखि एउटै भाउ छ ।’ अध्यक्ष सन्तोषीले भन्नुभयो, ‘सुन्दरबजार र पोखरातिर पनि पठाउँछौं, बडादशैंको बेलामा काठमाडौं पठाउन थालेको ऐले चौथो वर्ष हो ।’
महिला सेयर सदस्यहरूलाई पौरखी बनाएर उद्यमशीलतामा जोडेर आयआर्जनका काममा सहभागी गराई उनीहरूको स्तर बृद्धिको कार्य गर्न सकेकोमा सन्तोषीको अनुहारमा गौरवबोध भएको छनक पाइन्छ ।
प्रकाशित मिति २०८२ आश्विन २५, शनिबार ०९:४५ गते