सिन्धुपलाल्चोकको पाँचपोखरी, पर्यटन र प्रकृतिको सुन्दर उपहार

सिन्धुपलाल्चोकको पाँचपोखरी, पर्यटन र प्रकृतिको सुन्दर उपहार

के बि मसाल

@antaranganews

२०८२ असोज २६ गते आईतबार ०६:१५

अन्ततः पाँचवटा पोखरीहरूको शान्त– निशब्द छायामा पुग्दा लाग्छ पदमार्गले प्रकृतिको संगीत सुन्न, सुगन्धित फूलहरूको कविता पढन र हिमाल–वनस्पतिको चित्रमालामा आत्मा डुबाउन सिकाएको अनुभूत पर्यटकहरूले गर्दछन ।

पाँचपोखरी तीर्थाटन पर्यटकहरूका लागि पवित्र धार्मिकस्थल हो । पाँचपोखरी हिन्दू तथा बौद्ध धर्मावलम्बीहरूको धार्मिक तथा सांस्कृतिक संगमस्थल पनि हो । पाँचपोखरीमा भएको ठूलो कुण्डलाई लामा भाषामा गौरी कुण्ड भनिन्छ ।

नेपालमा पर्यटकहरूलाई हिमालको काखमा रहेका कतिपय ताल, पोखरी र प्राकृतिक सुन्दरताले   मोहित बनाउछ । हिमाली क्षेत्रका अधिकांश ताल र पोखरी साधनाको तपोभूमि मानिन्छ । हिमाली श्रृखलाका पोखरीहरूको धार्मिक महत्व वैदिककालदेखि नै रहदै आएको छ । स्कन्दपुराण, महाभारत लगायतका ग्रन्थमा गोसाइँकुण्ड, दुधकुण्ड जस्ता तालहरूको वर्णन छ । किराँत, बोन, बौद्ध र हिन्दू परम्परामा ताललाई पूजा, व्रत, साधना र तीर्थयात्रासँग जोडिएको छ । हिमाल वरिपरि रहेका पोखरीहरू अर्थात ताल र सरोवर केवल प्राकृतिक सौन्दर्यका लागि मात्र होइन, पोखरीलाई देवताको वासस्थान मानिन्छ । लोक कथा अनुसार हिमाल भगवान शिव र शिद्ध पुरुषहरूको तपोभूमि मानिन्छ ।
नेपालमा पर्यटनका लागि हिमाली क्षेत्रमा पोखरी धेरै छन । हिमाली पोखरीहरू नेपालका धार्मिक–सांस्कृतिक सम्पदा हुन । तर सिन्धुपाल्चोकको पाँचपोखरीको महत्व छुट्टै छ । पर्यटनका लागि थाङ्पाल गाउँपालिका– ३ मा रहेको पाँचपोखरी प्राकृतिक सौन्दर्य र धार्मिक आस्थाको अद्वितीय संगम हो । पाँचपोखरी काठमाडौ उपत्यकादेखि उत्तरपूर्व सिन्धुपाल्चोकको जुगल हिमाल श्रृखलाको काखमा पर्दछ । पाँचपोखरी हिन्दू शास्त्र अनुसार पृथ्वी, जल, वायु, अग्नि र आकाश पाँच तत्वको प्रतीक मानिन्छ । पाँचपोखरीको पानी शुद्ध र शान्त छ, जसले मन, मस्तिष्क र आत्मालाई शुद्ध पार्ने धार्मिक विश्वास रहि आएको छ । पाँचपोखरी तीर्थाटन पर्यटकहरूका लागि पवित्र धार्मिकस्थल हो । पाँचपोखरी हिन्दू तथा बौद्ध धर्मावलम्बीहरूको धार्मिक तथा सांस्कृतिक संगमस्थल पनि हो । पाँचपोखरीमा भएको ठूलो कुण्डलाई लामा भाषामा गौरी कुण्ड भनिन्छ । जुन कुण्डहरूमा सुनको हाँस, सुनको घोडा, सातओटा टाउको भएको नाग देखिन्छ र यो भाग्यमानीले मात्र देख्न सक्छ भन्ने मान्यता रहेको छ । प्राचीन कालमा इन्द्र भगवान पाँचपोखरीमा आएर तपस्या गर्नु भएको हुदा पाँचपोखरीको शिरबाट बग्ने नदीको नाम इन्द्रावती नदी रहेको लोक कथा छ ।
पर्यटकहरूले पाँचपोखरीको यात्रामा विभिन्न जातजातिका, धर्म, संस्कृति र जीवनशैलीको अध्ययन गर्न सक्दछन । अर्कोतर्फ यात्रामा विविधतापूर्ण मौसम, प्राकृतिक खोल्सामा कलकल गर्दै बग्दै गरेको पानी, पहाडबाट खसेको झरना र हिमालको अवलोकन गर्न समेत सक्दछन । पाँचपोखरी पुग्ने पर्यटकहरूले यात्राको रोमाञ्च अनुभूती प्राप्त गर्न सक्दछन । पाँचवटा पोखरीलाई तामाङहरूले जेठी, माइली, साइँली, काइँली र कान्छीको नाममा वर्गीकरण गरेका छन् । तर अन्य जातिले भने भैरव, सरस्वती, गणेश, सूर्य र नागकुण्ड नामाकरण गरेका छन् । पाचँपोखरीमा तीर्थाटन पर्यटकहरूले सबैभन्दा ठूलो जेठी पोखरीमा फेरो लगाउँछन् । यो पोखरी अन्य पोखरीको तुलनामा ठूलो रहेको छ । त्यसभन्दा अलि सानो माइली पोखरीलाई भने झाँक्रीहरूले फेरो लगाउँदैनन् । माइली पोखरीलाई भूत दहको रुपमा झाँक्रीहरूले लिने गर्दछन । पाँचपोखरी शिव मन्दिरमा जनैपूणिर्माको दिन ठूलो मेला लाग्दछ । त्यस समयमा तीर्थाटनका पर्यटकहरू शिव भगवानको दर्शन गर्न पाँचपोखरी पुग्ने गर्दछन ।
पाचँपोखरी भोताङ गाउँको शिरमा पर्दछ । पाचँपोखरी समुद्री सतहबाट ४ हजार २०० मिटरको उचाईमा दोर्जे ल्हक्पा र जुगल हिमालको काखमा रहेको छ । पाचँपोखरी इन्द्रावती नदीको उदगम स्थल हो । प्राकृतिक र तीर्थाटनको महत्व बोकेको पाचँपोखरीमा प्रत्येक बर्षको जनै पूर्णिमामा ठूलो मेला लाग्ने गर्दछ । पाचँपोखरीको बारेमा स्कन्ध पुराणको हिमवत खण्डमा पञ्चपोखरी नामको महान् तीर्थस्थलको वर्णन छ । जसलाई तीर्थराज प्रयाग र बाँडगंगा (कुरुक्षेत्र) समानका तीर्थस्थल भनिएको छ । पाँचपोखरी वरिपरि अग्ला टाकुराहरू र बिचमा पोखरीहरूको उपत्यका बनेको छ । तिनै अग्ला टाकुराको फेदबाट पानीका मूल फुटेर पोखरी बनेका छन् । पोखरीहरू भरिएको पानी झरना बन्दै र बग्दै इन्द्रावती नदीको सुरुवात भएको छ । पोखरीका वरिपरि फूलका प्राकृतिक बगैँचाहरू पनि छन् । अनेकन प्रजातिका ती रङ्गी–चङ्गी फूलहरू पाँचपोखरीका देवताले रोपेका हुन भन्ने बिस्वास गर्दछन । मौसम सफा भएका बेला सबै पोखरीमा निलो आकाश र त्यसका बादल ऐनाजस्तै सजिएका देखिन्छन् । पूरै पोखरी घुम्न झन्डै एक घण्टा समय लाग्दछ ।
पाचँपोखरी जादा पर्यटकहरूले पदमार्गमा समथर फाँट र भिरालो पाखामा फुलेका रङ्गीबिरङ्गी फूल, चरन क्षेत्रमा रमाइरहेका चौरी र भेडाबाख्राको बथान, पहाडका टाकुराबाट देखिने हिमाल, बादल, घाम र आकाशे पानीको लुकामारी देख्न सक्दछन । कोलाहल मुक्त वातावरण, शीतल हावापानी, चराचुरुङ्गी र जनावरहरूको आवाजले पर्यटकहरूलाई रोमाञ्च अनुभूती हुन्छ । पाचँपोखरीमा आफू बसिरहेको डाँडा मुन्तिर सेता गलैँचाजस्ता लाग्ने उडिरहने बादलका कारण आकाशभन्दा आफू माथि भएकोजस्तै कल्पना पर्यटकहरूले गर्दछन । चिसो हावा, पहाड र हिमालको काख, हरियाली वातावरण, सामुन्ने जुगल हिमश्रृखलाले पर्यटकहरूलाई मोहित बनाउछ । पर्यटकहरूले पाँच पोखरीको सुन्दर दृश्य कुनै शब्दमा बयान गर्न सक्दैनन् । इन्द्रावती र ब्रम्ह्मायणी (बलेफी) नदीको उदगम स्थलका रुपमा रहेको पाँचपोखरी मध्ये सबैभन्दा ठूलो पोखरी सरस्वती कुण्ड हो । सरस्वती कुण्ड बीच भागमा पर्दछ । वैज्ञानिक रुपमा कुण्डको गहिराई मापन नभए पनि यसको चारैतिर परिक्रमा गर्न झण्डै एक घण्टा समय लाग्छ । पाँचपोखरीका कुण्डमा दुई जोडी राजहाँस अटुट रुपमा रहेका हुन्छन । जुनसुकै मौसममा पनि यसरी जोडी राजहाँस रहनु पाचँपोखरीको अचम्मको विशेषता मानिन्छ । पाचँपोखरी क्षेत्रमा होहल्ला हुँदा, बाजागाजा बजाउँदा हिँउ पर्ने कुरामा धेरैले विश्वास गर्दछन् । धेरै बर्ष अघि गोले थरका झाँक्री नाग कुण्डको नागद्वारा मृत्यु भएका कारण गोले थरका मानिसहरू नाग कुण्डमा जाने गर्दैनन् ।
पाँचपोखरी मन्दिर आजभन्दा २ हजार ३३५ वर्षअघि सिकारी बुम्बा रुवा वाइबाले स्थापना गरेको शिलालेखमा उल्लेख गरिएको छ । सिकारी बुम्वा सिकार खेल्न जाने क्रममा हिउँ पर्ने ठाउँमा धान रोप्दै गरेको दृश्य देखेछन । नजिक पुग्दा धान रोप्ने महादेव रहेछन । महादेवले बुम्वा शिकारीलाई देख्ने वित्तिकै महादेवसहित धान रोप्न लागेका सबै खेताला अलाप भएछन् । त्यसपछि ती बुम्बाले सिकारको साथमा ल्याएको कुकुरको घाँटीमा लगाएको घन्टी फुकालेर त्यहाँ मन्दिर स्थापना गरेका रहेछन । अहिले शिकारी बुम्बाले महादेव देखेको डाँडामा स्तुपासमेत निर्माण गरिएको छ । पाँचपोखरी मन्दिर किसानहरूको आस्थाको मन्दिर हो । किसानहरू मकै, काक्रो, दुध लिएर पाँचपोखरीमा चढाउन जान्छन् । महादेवसंग खेतीपातीमा उन्नतिको आर्शीवाद माग्छन् । गाईवस्तु दुहुनोहोस, गोठमा गाइवस्तु बढोस भनेर वर माग्छन् । सन्तान प्राप्ति नभएकाहरू पनि मन्दिर पुगेर सन्तानको लागि आशिर्वाद माग्दछन ।
शिवले सतीदेवीको मृत शरीरलाई बोकेर हिंडदा सतीदेवीको सम्पूर्ण शरीर पतन पश्चात् शिवले उत्तरापन्थमा तपस्या गर्न जादा सिंहमती नदीको शिरमा एक पाइला टेकेपछि त्यस ठाउँमा पादुका आकारको सानो सिर्जना भयो । सिंहमती नदी झ्याडी खोलाको नामले परिचित छ । त्यसैगरी नौलिंग डाँडाको उत्तरपूर्वको सामुन्ने डाँडामा शिवले पाँच रात उपवास बसी पाँचवटा दहमा नुहाएको हुदा पाँचपोखरी नामकरण भएको भन्ने भनाइ छ । पाँचपोखरीमा विश्वामित्र र श्रृगी ऋषिले तपस्या गनुभएको थियो भन्ने धार्मिक किंवदन्ती पाइन्छ । ऐतिहासिक दृष्टिकोणबाट पनि पाँचपोखरी महत्वपूर्ण मानिन्छ । तामाङ जातिको बसोबास रहेको भोताङ गाउँ भन्दा माथी पर्ने पाँचपोखरी क्षेत्रमा कुनै गाउँ छैन । भोताङ गाउँको शिरमा रहेको पाचँपोखरी लाङटाङ राष्ट्रिय निकुञ्जभित्र पर्दछ । प्रत्येक बर्ष असोज– कार्तिकमा विदेशी पर्यटकहरू पदयात्रामा पुग्ने पाँचपोखरी तीर्थाटनको लागि मात्र नभएर जडीबुटीको भण्डारका रुपमा समेत परिचित छ । पाँचपोखरी क्षेत्रमा विश्वमै दुर्लभ मानिएका पाँच किसिमका रैथाने प्रजातिका वनस्पति फेला परेका छन् । विश्व वन्यजन्तु कोषको अध्ययन अनुसार मेकोनोसिस, क्रेमान्योजियम, कोरिडालीस, बारबेरीस र स्थानीय भाषामा जगली जिराको नामबाट परिचित क्यारामकुर्मी जातका वनस्पति फेला परेका छन् । त्यस्तै यार्सागुम्वा, पाँचऔले, पदमचाल, रक्तचन्दन लगायतका ६४ प्रजातिका जडीबुटी पनि पाँचपोखरी क्षेत्रमा पाइन्छ ।

पाँचपोखरीमा हिन्दू धर्मावलम्बिहरू जनै पूर्णिमाको अवसरमा स्नान गर्न तथा मेला भर्न पाँचपोखरी पुग्दछन । अर्कोतर्फ पूर्णिमाको तिथिमा तामाङ समुदायले गोन्ह्य पर्व पर्दछ । गोन्ह्य पर्वको अवसरमा तामाङ समुदाय पनि पाँचपोखरीमा मेला भर्न पुग्ने गर्दछन । पाँचपोखरीको मेलामा विभिन्न समुदायका तीर्थाटनका पर्यटकहरूले नाच गानले छुट्टै रमाइलो हुन्छ । मेलामा तामाङ समुदायका मानिसले प्रस्तुत गर्ने बोम्बो, डम्फु, झाँक्री नाचलगायतका सांस्कृतिक कार्यक्रमले पाँचपोखरी यात्रालाई  रोचक बनाउँछ । यो समयमा यात्रा गर्दा पदयात्रीहरूले हरिया डाँडा पाखा, विभिन्न जातका रंगीबिरङ्गि फूल हेरेर रमाउन सक्छन । पदयात्रामा विभिन्न थरिका चराका चिरबिर चिरबिर गीत सुनेर आनन्द लिन पाइन्छ । जनैपूर्णिमा बाहेक अन्य समयमा पनि पाँचपोखरी जान सकिन्छ । वर्षाद सकिएर हिमाल खुल्ने मौसममा पाचँपोखरीको सौन्दर्यले पर्यटकहरूलाई भू–स्वर्गको अनुभूति हुन्छ । मेला लाग्ने समयमा   पाचँपोखरीमा बास बस्न र खानामका लागि अस्थायी टहराको व्यवस्था हुन्छ ।

मेलम्ची नगरपालिका-११ खानीगाँउबाट देखिएको मेलम्ची बजार, इन्द्रावती र मेलम्ची नदीको दृष्य । तस्बिर: देवराज सुवेदी ÷रासस

पाँचपोखरीको यात्रामा प्रत्येक पाइला–पाइलामा खुल्दै जाने प्रकृतिको अदभुत काव्यसँग साक्षात्कार गर्न सकिन्छ । पदमार्गमा पाइला राख्ने बित्तिकै घामको सुनौलो किरणले हरियालीसँग खेलिरहेको दृश्य मनलाई आनन्दित पार्छ । बाटो वरिपरि फैलिएका पाखा–पखेरामा जङ्गली फूलहरू सुगन्ध छर्छन । कतै रातो गुराँसको गुच्छा आकाशसँगै अडिकएको भान हुन्छ भने कतै फुलिरहेको धवलचामर र घाँसेमैदानले हरियो कार्पेट ओढाइदिएझैँ लाग्छ । उकालो चढदै जाँदा टाढा–टाढासम्म फैलिएको हिमश्रृखलाको दृष्य देखा पर्दछ । गणेश, लाङटाङ, दोर्जे लाक्पा जस्ता शिखरहरू नीलगगनसँग माया गाँस्दै पर्यटकहरूलाई स्वागत गरिरहेका हुन्छन । पहाडको टाकुरामा उभिँदा तलको खोँचमा फुसफुसिँदै बग्ने खोला, झरनाको मधुर ध्वनि, चराहरूको कलरव र पाइनका रुखहरू हावासँगै गुञ्जिरहेको स्वरले वातावरणलाई काव्यमय बनाउँछ । कसैकसैलाई बादलले ढाकेर दिइने आँखा मिचौनी खेलको अनुभुति हुन्छ । एकछिन अगाडि देखिएको टाढाको पहाड पलभरमै हराउँछ । फेरि क्षणमै उज्यालो भएर प्रकट हुन्छ । बाटोभरि स्थानीय हरियाली सुन्दर डाँडाकाँडा,चौरी र भेडीगोठ देखिन्छन । पर्यटकहरूलाई यात्रामा कुनै पुरानो चित्रपुस्तक पल्टाएको अनुभूति गराउँछ । पर्यटकहरूलाई उकालो चढदै जाँदा बादलले ढाकेको आकाश नजिकै आएको अनुभव हुन्छ । शीतल हावाले आत्मालाई स्वच्छ पार्छ र थाकेका पाइला पनि रमाइलो लाग्छ । अन्ततः पाँचवटा पोखरीहरूको शान्त– निशब्द छायामा पुग्दा लाग्छ पदमार्गले प्रकृतिको संगीत सुन्न, सुगन्धित फूलहरूको कविता पढन र हिमाल–वनस्पतिको चित्रमालामा आत्मा डुबाउन सिकाएको अनुभूत पर्यटकहरूले गर्दछन ।
काठमाडौैंको जोरपाटीबाट पाँचपोखरी यात्रा सुरु हुन्छ । जरसिंहपौवा हुँदै करिब तीन घण्टामा मेलम्ची पुगिन्छ । मेलम्ची सिन्धुपाल्चोकको व्यापारिक केन्द्र हो । मेलम्ची खानेपानी आयोजनाले गर्दा धेरै पर्यटकहरू पुग्ने गर्दछन । मेलम्चीमा पर्यटकहरूलाईनै लक्षित गरी सुविधा सम्पन्न होटल, लज तथा खाजा घरहरू रहेको छन । काठमाडौबाट ७२ किमि मात्र रहेको मेलम्चीमा बजारसंगै जोडिएको खोला, रमणीय वातावरण भएकोले आन्तरिक मात्र नभई वाह्य पर्यटकका लागि पनि आकर्षक गन्तव्य हुँदै गएको छ । मेलम्चीवाट पाँचपोखरी, हेलम्वु, अमिलो पानी, जुगल हिमाल, लाङटाङ राष्ट्रिय निकुन्ज लगायतका ठाउँ र रसुवाको गोसाईकुण्ड, नुवाकोटको शिवपुरी राष्ट्रिय निकुञ्ज जस्ता ठाउँहरूमा साहसिक पदयात्राको लागि विदेशि पर्यटक मेलम्ची हँुदै जाने गर्दछन । मेलम्ची हुँदै इन्द्रावतीको किनाराबाट ज्यामिरे, लाँगचे, भोलेनाम्लाङ, थाङपालधाप, थाङपालकोट र भोताङ हुँदै दुई दिनको पैदल यात्रामा पाचँपोखरी पुग्न सकिन्छ । यात्रामा सिन्धुपाल्चोक आसपासका जिल्लाका र राजधानीबाट पाचँपोखरी जाने पर्यटकहरू भेटिन्छन । फाट्टफुट्ट विदेशी पर्यटकहरू पनि यात्रामा देखिन्छ ।
पाँचपोखरीको यात्रा जति नजिकिदै जान्छ उत्तिकै चिसो बतास चल्न थाल्छ । सुन्दर दृष्यहरूले पर्यटकहरूलाई थकाइ भने महसुस हुँदैन । पाँचपोखरी पुग्नै लाग्दा लौराहरूको थुप्रो देखिन्छ । त्यहाँ आफूले टेकेर गएको लौरो फ्याँक्ने प्रचलन छ । पहाडहरूको बीचमा अवस्थित छ पाँचपोखरी । चिसो हावा, पहाड र हिमालको काख, हरियाली वातावरण र एकै स्थानमा पाँचवटा पोखरी देख्दा पर्यटकहरू रमाउने गर्दछन । प्रकृतिले सजाएको अनुपम भू–सौन्दर्यले पर्यटकहरू अचम्म मान्दछन । पाँचपोखरीको छेउमा शिव पार्वतीको मन्दिर । छिन छिनमै परिवर्तन भैरहने मौसम । विशाल घाँसे मैदान वरीपरी फूलेका रंगीविरंगी फूलले पाचँपोखरी पुग्ने पर्यटकहरूलाई मोहित बनाउछ । गुराँस फुल्ने याममा यहाँका सबै पाखा रातै हुन्छन् । सेतो गुराँससमेत पाँचपोखरी जाँदा यात्रामा देखिन्छ ।
मेलम्चीपछि पाँचपोखरी पुग्ने अर्काे रुट सदरमुकाम चौताराबाट हो । चौताराबाट रमणीय स्थान ओखरेनी, खस्रेबाट लाङटाङ राष्ट्रिय निकुञ्ज हुँदै जान सकिन्छ । दुई हजार २ सय मिटरको उचाइ रहेको खस्रे, मैदानपछि घरहरू भेटिँदैन । यो रुटबाट जाने तीर्थालुहरू प्रायः च्योच्यो डाँडामा बास बस्न पुग्छन् । च्योच्यो डाँडा जुगल हिमाल सामुन्ने पर्छ । यो डाँडाबाट काठमाडौं शहर पूरै देख्न सकिन्छ । रातको समयमा काठमाडौंको झिलिमिली हेरेर मजा लुटनकै लागि पनि च्योच्यो डाँडामा तीर्थाटनका पर्यटक बास बस्न मन पराउछन । यो डाँडामा चौँरीका गोठहरू धेरै हुन्छन । दोस्रो दिन न्योसाम पाटीमा वास बसेर यो रुट हुँदै जाने पर्यटकहरू तेस्रो दिन पाँचपोखरी पुग्दछन । पाचँपोखरी मेलामा झाक्री नाचँको दृष्यनै अचम्म मानिन्छ । झक्रीको वैदिक तन्त्र मन्त्रको पूर्णताको लागि पनि पाँचपोखरीमा पुग्ने गर्दछन् । पाँचपोखरीको दर्शन नगरे पूर्णरुपमा झाँक्री बन्न नसक्ने विश्वास गरिन्छ । झाँक्रीहरू आफ्नै पोशाकमा नाच्दैगाँउदै मेलामा पुग्दा तीर्थाटनका पर्यटक आफ्नो मोवाइ र क्यामेराबाट फोटो खिच्न थाल्दछन । पाचँपोखरी धार्मिक दृष्टिले मात्र नभई प्राकृतिक दृष्टिकोणले पनि मनमोहक छ । पाचँपोखरी मेलामा सुनपाती, धुपी, चौँरीको दूधबाट बनेको छुर्पीजस्ता चिजहरू पाइन्छ ।
कसरी पुग्ने त पाँचपोखरी ?
काठमाडौं, जोरपाटीदेखि भोताङ र छिम्तीसम्म नियमित बससेवा उपलब्ध छ । काठमाडौंदेखि मेलम्ची हुँदै लगभग ५– ६ घन्टाको यात्रापछि छिम्ती पुग्न सकिन्छ । त्यहाँबाट लगभग ४ घन्टाको पैदल यात्रापछि देउराली, दुखानचौर हुँदै टुप्पिडाँडा पुगिन्छ । यात्रामा मानवनिर्मित झरना, खोलामा काठको पुल, हरिया पहेँला, राता पातले भरिभराउ हरियाली जंगलले यात्रालाई अझ रोमाञ्चक बनाउँछ । टुप्पीडाँडादेखि पाँचपोखरी पुग्न उकालो अनि जंगलको बाटो छ । बीचमा खर्क अनि खाने– बस्ने ठाउँ पनि छन । तापखर्क, चोकरडाँडा,नोस्याङ पाटी, लौरीबिना हुँदै करिब ६ देखि ७ घन्टाको पैदल यात्रापछि पाँचपोखरी पुग्न सकिन्छ ।
(लेखक : लामो समयदेखि पत्रकारितामा सक्रीय रहनु भएका उहाँ लमजुङ जन्म थलो भई दाङलाई कर्मथलोका रुपमा रोज्नु भई नेपालको पर्यटनका बारेमा विशेष दखल राख्दै कलम चलाउने गर्नु हुन्छ । – सं.)
प्रकाशित मिति २०८२ आश्विन २६, आईतवार ०६:१५ गते
हजुरको प्रतिक्रिया