नेपालीहरूको सांस्कृति पर्व तिहार सुरु भएको छ । तिहारको उज्यालो रात, घर–घरमा झलमल्ल बत्ती, मादलको ताल, देउसी भैलोको सामूहिक स्वरले शहर बजार र गाउँघरमा रमणीय वातावरण भएको छ । नेपालमा सांस्कृति पर्व तिहारमा आउने वाह्य पर्यटकहरूको सख्या पनि धेरै हुन्छ । नेपाल केवल हिमालको देश मात्र होइन, जीवित संस्कृतिको पनि देश हो भन्ने सन्देश विश्वमा फैलिएको छ । जुन कारणले बडादशैं तिहारको समयमा नेपालमा धेरै वाह्य पर्यटकहरू भित्रिने गर्दछन । कतिपय पर्यटकहरू चाड पर्वमा हुने लोकसंस्कृति अध्ययन अवलोकन गर्नकै लागि महिनांै दिन पर्यटकीय गाउँहरूमा पुग्ने गर्दछन । पर्यटकहरू देउसी–भैलोमा रमाउने नेपाली दिदी बहिनीसंग भाइटिका लगाउने पनि धेरै हुन्छन ।

पर्यटनको राजधानी पोखरामा केही बर्ष अगाडिदेखि पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यले तिहारको अवसरमा भाइ टीका महोत्सव हुँदै आएको छ । स्वदेशी तथा विदेशी पर्यटकहरू माझ आपसी भाइचाराको अभिवृद्धि गर्दै राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरमा नेपाली संस्कृतिलाई पहिचान प्रदान गर्न महोत्सवले सहयोग गरेको छ । महोत्सवमा नेपाली परम्पराअनुसार पर्यटकहरूलाई तिहारको टीका लगाउने, देउसी भैलो खेल्ने र सेलरोटीलगायत अन्य परिकार खुवाउने कार्यक्रम हुन्छ । अर्कोतर्फ गण्डकी प्रदेशका सिरुबारी, घलेगाउँ, बन्दीपुर, सिक्लेस लगायत पर्यटकहरू पुग्ने गाउँहरूमा पछिल्ला वर्षहरूमा तिहार सांस्कृतिक होमस्टे उत्सवको रुपमा पर्व मनाउने परम्परा सुरु गरेका छन । यस अवधिमा विदेशी र आन्तरिक पर्यटकहरूलाई गाउँलेहरूले आफ्नै पाहुना मात्र होइन, परिवारको सदस्यका रुपमा स्वागत गर्छन । कसैलाई दाजु बनाएर बहिनीले टीका लगाउँछन कसैलाई बहिनी बनाएर दाजुले माला र मिठाई दिन्छन । वाह्य पर्यटकहरू प्रायः फेस्टिभल टुरका रुपमा तिहार हेर्न आउँछन । पर्यटकहरू गाउँमा पुग्दा नेपाली संस्कृतिको गहिराइ बुझ्छन । नेपालमा पर्यटनका लागि सञ्चालन भएका केही होमस्टेमा तिहारको बेला विशेष कार्यक्रम आयोजना गरिन्छ । जहाँ विदेशी पर्यटकहरूलाई देउसी– भैलोमा नाच्ने, रङ्गोली बनाउने र मखमली माला गाँस्ने तालिम नै दिइन्छ । साँझ परेपछि पर्यटकहरुलाई गाउँका युवायुवतीले देउसी खेल्दै घर–घर पु¥याउछन । पर्यटकहरू पनि देउसी र भैलामा भाका मिलाउँदै हातमा दियो समातेर गाउँमा घुम्दछन । यसरी देउसी भैलोको संस्कृतिको अनुभव पर्यटकहरूले लिने गर्दछन । कतिपय पर्यटकहरू नेपाली दिदी बहिनीसंग हरेक वर्ष तिहारको टिका लगाउन नेपाल आउछन ।
पर्यटनका लागि नेपालको सांस्कृतिक र धार्मिक विविधता संसारकै आकर्षक र मौलिक विशेषतामध्ये एक हो । तिहार पर्वले विदेशी पर्यटकहरूलाई विशेष रुपमा आकर्षित गर्दछ । तिहारमा पर्यटकहरूले रमाइलो संस्कृतिको उज्यालोमा आत्मीयताको अनुभव गर्दछन । दीपावली, देवी लक्ष्मीको पूजा, देउसी–भैलो, गाई, कुकुर र कागको सम्मान, भाइ–बहिनीबीचको आत्मीयले पर्यटकहरूलाई नौलो अनुभव हुन्छ । तिहारको समयमा शहर बजारदेखि गाउँसम्म घर–आँगन दीयो र बत्तीले झलमल्ल, फूलमाला र दीपले सजिएका घरहरू देख्दा पर्यटकहरू रमाउछन । सांझपख बज्ने देउसी–भैलोका गीत, मादलको ताल र युवाहरूको उल्लासले वातावरणलाई झन जीवन्त बनाउँछ । पर्यटकहरू पनि यस उल्लासमा सहभागी हुन्छन । कोही देउसीको टोलीसँग नाच्दै रमाउँछन कोही रंगोली बनाउने कला सिक्छन् । उनीहरूका लागि यो केवल दृश्य अनुभव होइन, जीवन्त संस्कृतिको सम्पर्क हुन्छ । नेपालमा ‘अतिथि देवो भवः’ भन्ने परम्परा गहिरो छ । यही कारणले तिहारका बेला धेरै नेपाली परिवारहरूले विदेशी पाहुनालाई भाइटीका लगाइ दिन्छन । टीकाको त्यो क्षण केवल औपचारिकता होइन प्रेम, अपनत्व र मानवीय आत्मीयताको प्रतीक हुन्छ । कतिपय पर्यटकहरूका लागि त्यो क्षण नेपाल भ्रमणको सबैभन्दा हृदयस्पर्शी सम्झना बन्दछ ।

तिहार पर्व केवल धार्मिक पर्व मात्र होइन यो आत्मीयता, सौहार्द र उज्यालोको उत्सव पनि हो । तिहार पर्वमा सहभागी हुने विदेशी पर्यटकहरू नेपाली जीवनशैलीसँग भावनात्मक रुपमा जोडिन्छन । टीका लगाउने वा देउसी–भैलोमा सहभागी हुने क्षण उनीहरूका लागि केवल रमाइलो होइन, नेपाली संस्कृतिको हृदयमा छिर्ने अवसर हुन्छ । जसले अन्धकारमाथि उज्यालो, अज्ञानमाथि ज्ञान, र असहिष्णुतामाथि सदभावको विजयको सन्देश दिन्छ । पश्चिमी मुलुकका धेरै पर्यटकहरू नेपालमा आध्यात्मिक खोजमा आउँछन । तिहारमा उनीहरूले बत्तीको उज्यालोमा शान्तिको अनुभूति गर्छन र नेपाली समाजको भित्री दर्शन बुझने अवसर पाउँछन । तिहारका अवसरमा हजारौं पर्यटकहरूले नेपाली लोकसंस्कृतिको नजिकबाट अनुभव गर्छन । यसले स्थानीयस्तरमा होटल, हस्तकला, र परम्परागत उत्पादनहरूको बजार विस्तार गर्न मद्दत गर्दछ । पर्यटकहरू देउसी–भैलोको समूहसँग फोटो खिच्छन, स्थानीय परिकार—सेलरोटी, फलफूल, अनरर्स र मिठाईको स्वाद लिन्छन । यसरी तिहार पर्वले सांस्कृतिक पर्यटनलाई सुदृढ बनाउँछ र नेपालको पहिचानलाई विश्वसामु पु¥याउन सहयोग गर्दछ ।
नेपाल विविध जातजाति, भाषा, धर्म, र परम्पराको संगम स्थल हो । हिमालदेखि तराईसम्मका जनजीवनमा रहेका लोकसंस्कृतिका गीत, नाच, पर्व– उत्सव, पोशाक, खानपान, परम्परा र व्यवहारहरूले पर्यटनको क्षेत्रमा अद्वितीय सांस्कृतिक बगैंचा बनाएको छ । यी सांस्कृतिक अभ्यासहरू मात्र इतिहासका पानामा सीमित छैनन् बरु समुदायका दैनिक जीवनमै बाँचिरहेका छन । यिनै बाँचिरहेका सांस्कृतिक परम्पराहरूलाई लोकसांस्कृतिक जीवित दस्तावेज भनिन्छ । जसले एउटा समाजको जीवित इतिहास र पहिचान बोकेको हुन्छ । आज विश्वभर सांस्कृतिक पर्यटनमा पर्यटकहरूको रुचि बढदै छ । पर्यटकहरू अब केवल प्राकृतिक सौन्दर्य हेर्न मात्र आउँदैनन । नेपालमा भित्रिने पर्यटकहरूले स्थानीय जनजीवन, संगीत, संस्कार, र प्रचलनको अनुभव गर्न चाहन्छन । लोकसंस्कृतिको जीवित दस्तावेज देउसी–भैलो आज पनि नेपाली लोकसंस्कृतिको जीवित प्रतीक हो । प्रत्येक क्षेत्रका लोकधुन, लय र बोली देउसीमा बाँचि रहेका छन । देउसी–भैलोका गीतहरूमा आशीर्वाद, सदाचार, र हास्यव्यङ्गय मिसिएको हुन्छ । वाह्य पर्यटकहरूले भाषागत सबै गीतको अर्थ नबुझे पनि देउसीको नाच र हाउभाउबाट रमाउने गर्दछन ।

देउसीको जरा हिन्दू धर्मग्रन्थका पुराणसम्म पुग्दछ । भागवत पुराण अनुसार, सत्ययुगमा दानवीर बालि राजाले भगवान विष्णुका वामन अवतारलाई तीन पाउ जमिन दान दिएका थिए । विष्णुले दुई पाउमा पृथ्वी र आकाश नापेपछि तेस्रो पाउ राख्न बालिले आफ्नो टाउको अर्पण गरे । उनको दानवीरता र सत्यप्रतिज्ञालाई सम्झँदै वामनले उनलाई वर्षमा एकपटक पाताललोकबाट पृथ्वीतल आउने अनुमति दिए । त्यही दिन बालिलाई स्वागत गर्न मानिसहरूले गीत गाएर, दीप बालेर, घर–घर घुम्ने परम्परा सुरु गरेको मानिन्छ । देउसीको अर्थ देवलाई सम्झेर दान माग्ने र आशीर्वाद दिने संस्कार हो । यो संस्कृतिमा देवको नाममा दान, लोकको नाममा मिलन भन्ने आदर्श छ । देउसीसँगै भैलो पनि तिहारकै अनिवार्य अंश हो । यसको इतिहास नारी–संस्कृति र देवी आराधनासँग जोडिएको छ । पुराना जनश्रुतिहरूका अनुसार, महिलाहरूले लक्ष्मीपूजाको रात गीत गाउँदै, नाच्दै देवीलाई प्रसन्न पार्थे । त्यसैको नाममा भैलिनीदेवी शब्दबाट भैलो परम्परा सुरु भएको हो । भैलोको गीतमा पार्वती, लक्ष्मी, र गंगा देवीको स्मरण पाइन्छ । यो आराधना र आनन्दको मिश्रण हो । स्त्रीशक्तिको सम्मान र घरमा समृद्धिको प्रार्थना यसको मूल भाव हो । नेपालको ग्रामीण समाजमा देउसी–भैलो कृषि चक्रसँग पनि जोडिएको छ । अन्न भित्र्याएको समय, चाडपर्वको फुर्सद र सामूहिक मिलनको अवसर यही बेला आउँछ । यसले गाउँमा परस्पर सदभाव र सहयोगको सन्देश दिन्छ ।
देउसी खेल्न आउने समूहलाई घरधनीले अन्न, पैसा, मिठाई वा फलफूल दिने प्रचलनले दानको संस्कृति जीवन्त राखेको छ । दान केवल धन होइन, प्रेम, आदर र सामाजिक बन्धनको प्रतीक पनि हो । विदेशमा रहेका नेपाली समुदायले पनि तिहारको समयमा देउसी–भैलो खेल्ने परम्परा निरन्तरता दिइरहेका छन । अमेरिका, बेलायत, जापान, कोरिया, कतार र अष्ट्रेलियाजस्ता देशमा पनि नेपालीहरूले तिहारमा देउसी भैलोको आयोजना गर्दछन । यसले नेपाली संस्कृति विश्वभर फैलाएको छ । नेपालको सांस्कृतिक इतिहासमा तिहार जस्तो आत्मीय र रंगीन पर्व विरलै पाइन्छ । दीपावलीको उज्यालो, दाजु–बहिनीको स्नेह, देउसी–भैलोको उल्लास र घर–घरको सजावटले तिहार पर्व केवल धार्मिक मात्र नभएर मानवीय सम्बन्धको उत्सव पनि बनेको छ । तिहार नेपाली समाजमा केवल दियो बाल्ने र घर सजाउने पर्व मात्र नभएर परिवार बीचको सम्बन्धको पुनःस्मरण र माया–स्नेहको नविकरण हो । तिहार पर्व नेपालीको पहिचान मात्र होइन, हाम्रो अर्थतन्त्र र अन्तर्राष्ट्रिय छविको मेरुदण्ड पनि हुन । यी पर्वहरु नेपाली जीवनका आत्मीय रंग हुन । जसले पर्यटकलाई नेपाल केवल हेर्ने होइन, महसुस गर्ने देश हो भन्ने सन्देश दिन्छ । यदि सरकारले, निजी क्षेत्रले र स्थानीय समुदायले मिलेर सांस्कृतिक पर्वहरूको संरक्षण र प्रचारमा ध्यान दियो भने नेपालले सांस्कृतिक पर्यटनको नयाँ युगको ढोका खोल्ने छ ।

पर्यटकहरूलाई स्थानीय परम्परामा सहभागी गराउनु केवल पर्यटनको हिस्सा मात्र होइन, संस्कृति कूटनीतिको एक रुप पनि हो । जब एक विदेशीले नेपाली दिदी बहिनीको हातबाट टीका लगाउछ त्यो दृश्य केवल फोटो मात्र होइन आ–आफ्नो देशको संस्कृताबीचको आत्मीयताको सन्देश पनि हो । यस्तो अभ्यासले सामुदायिक पर्यटनको बिकास भएको छ । गाउँका युवाहरूले आफ्ना संस्कृतिलाई जोगाउँदै आर्थिक आम्दानी गर्न थालेका छन । महिलाहरुले स्थानीय परिकार सेल, फिनी, खजुरी, र अनेकौ स्वादका मिष्ठान्न बनाएर पर्यटकलाई खान दिने गर्दछन । यसरी तिहारले आर्थिक र सांस्कृतिक दुवै पुनर्जागरण ल्याएको छ । तर, यो प्रवृत्तिसँगै केही चुनौती पनि आएका छन । कतिपय ठाउँमा तिहारलाई अत्यधिक व्यावसायिक रुपमा प्रस्तुत गर्न थालिएको छ । फोटो अप र फेस्टिभल शोमा सीमित भएर, वास्तविक आत्मीयता हराउने खतरा पनि बढेको छ । पर्यटकहरुलाई आकर्षित गर्न भन्दै कहिलेकाहीँ कृत्रिम सजावट, बनावटी कार्यक्रम र प्रदर्शनका लागि गरिएको पूजा देखिन थालेको छ । यस्ता अभ्यासले संस्कृतिको आत्मा भन्दा प्रदर्शनको आवरण ठूलो बन्ने सम्भावना हुन्छ । त्यसैले स्थानीय समुदाय र पर्यटन व्यवसायीहरूले यसमा सन्तुलन कायम राख्नु जरुरी छ । तिहारको मूल भावना स्नेह र आत्मीयता जोगाउँदै पर्यटकलाई स्वागत गर्नु पर्दछ ।
तिहार पर्वलाई पर्यटनसँग जोडनु पर्यटनको क्षेत्रका लागि राम्रो पक्ष हो । जसरी भारतमा होली टुरिज्म र जापानमा चेरी ब्लोसम टुरिज्म लोकप्रिय छन । त्यसरी नै नेपालमा पनि फेस्टिभल टुरिज्मको अवधारणा बलियो रुपमा उभिन सक्छ । नेपालमा दशैं, तिहार, होली, गाईजात्रा, र ऐतिहासिक मेलाहरू पर्यटनका लागि सांस्कृतिक आकर्षक हुन सक्दछ ।

तिहार पर्व भनेको बत्तीको झिलीमिली, फूलैफूल, देउसी भैलो, भाइटीका, सेलरोटी आदि हुन । यो पर्वमा बत्ती र फूलले सिँगारेर घरलाई उज्यालो बनाउने परम्परा छ । समूह बनाई घरघरमा खेलिने देउसी भैलो सामाजिक सदभाव वृद्धिका लागि महत्वपूर्ण छ । तिहार पर्वले भाइ टीका चेली–माइतीबीच सम्बन्ध प्रगाढ बनाउने माध्यम पनि हो । तिहार पशु–पक्षीप्रति सम्मान प्रकट गर्ने पर्व पनि हो । यो पर्वको पहिलो दिन कागको पूजा गरिन्छ । तिहारलाई यमराजसम्बन्धी मिथकसँग जोडेर हेरिन्छ । कागलाई यमराजको दूतका रुपमा पूजा गरिन्छ । कागलाई सन्देशवाहकसमेत मानिन्छ । दोस्रो दिन कुकुरको पूजा गरिन्छ । कुकुरलाई पनि यमराजको दूत मानिन्छ । कुकुर बफादार प्राणी रहेकाले समेत पूजा गरेर सम्मान गर्ने चलन छ । तेस्रो दिनलाई गाईतिहारे औंशी भनिन्छ । त्यस दिन गाई र लक्ष्मीको पूजा गरिन्छ । हिन्दु धर्मावलम्बीले गाईलाई माताका रुपमा लिन्छन । धनधान्यकी देवी र ऐश्वर्यकी प्रतीक मानेर साँझ घरघरमा लक्ष्मीपूजा गर्ने चलन छ । चौथो दिन गोवद्र्धन पूजा गरिन्छ । पाँचौं दिन भने भाइटीका पर्दछ । यस दिन दिदी बहिनीले दाजुभाइको दीर्घायु, सुस्वास्थ्यको कामना गर्दै भाइटीका लगाइ दिन्छन ।
तिहार अब केवल परिवारको घरभित्र सीमित पर्व रहेन । यसले नेपालको संस्कृति र पर्यटकबीचको सम्बन्धलाई नयाँ रंग दिन थालेको छ । विदेशी पर्यटकले नेपाली परिवारको टीका ग्रहण गर्दा त्यो केवल एउटा फोटो होइन, संस्कृतिको आदानप्रदानको प्रतीक बनेको छ । तर, यस उत्सवलाई व्यावसायिकता र प्रदर्शनको सञ्जालमा सीमित नगरौं । नेपाली परम्पराको आत्मा जोगाउँदै, तिहार पर्वलाई संसारसँग साझा गर्न सके, नेपाल साँच्चिकै संस्कृति र पर्यटनको संयुक्त राजधानी बन्न सक्दछ ।
(लेखक : लामो समयदेखि पत्रकारितामा सक्रीय रहनु भएका उहाँ लमजुङ जन्म थलो भई दाङलाई कर्मथलोका रुपमा रोज्नु भई नेपालको पर्यटनका बारेमा विशेष दखल राख्दै कलम चलाउने गर्नु हुन्छ । – सं.)
प्रकाशित मिति २०८२ आश्विन ३०, बिहीबार ०९:३६ गते