
काठमाडौं– नेपालीहरूको दोस्रो ठूलो चाड तिहारको प्रत्येक वर्ष कार्तिक कृष्ण त्रयोदशीका दिनमा मनाइने कागतिहार पर्व आज कार्तिक २ गते कागतिहार मनाइदैछ । यमराजको दूतका रूपमा कागलाई बिहान मिठोमिठो चिजबिज खान दिएर मनाउने प्रचलन छ ।
यस वर्ष तिथिको घटबढका कारण सायंकालमा कार्तिक कृष्ण त्रयोदशी परेका दिन सुरु हुने यमपञ्चक शनिबार बेलुकीदेखि नै सुरु भएको नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले जनाएको छ । आज बिहान ७ः१४ बजेसम्म त्रयोदशी तिथि छ । त्यसपछि चतुर्दशी तिथि लाग्छ । बिहानै कागलाई पूजा गरी मीठा खानेकुरा खान दिनुपर्छ । कागलाई विशेषगरी दही भात खुवाइन्छ ।
बिहान सूर्योदयकालमा त्रयोदशी भएको दिन कागतिहार मनाउनुपर्ने भएकाले शास्त्रसम्मत् रूपमा आज यो पर्व मनाउनुपर्ने निर्णय गरिएको समितिका अध्यक्ष प्रा. शम्भुप्रसाद ढकालले बताउनु भयो । उहाँका अनुसार यमराजले लोकको खबर कागका माध्यमबाट थाहा पाउने भएकाले कागलाई यमदूतका रूपमा मान्ने शास्त्रीय विधान छ ।
लोक व्यवहारमा काग घरमा आई कराएमा शुभ बोल, शुभ बोल भनी भन्ने प्रचलन समेत छ । काग घर वरपर आई कराएमा उसले केही खबर लिएर आएको विश्वास समेत गर्ने गरिन्छ ।
‘काकेन दधि भक्षितम्’ अर्थात् कागलाई दही भात मिठो लाग्ने हुन्छ । आजको दिन कागलाई दही भात खुवाएमा यमराजसमक्ष राम्रो सन्देश लगिदिने मानिन्छ । त्यसैले कागलाई दही भात खुवाउने प्रचलन रहिआएको छ ।
यस अवसरमा कागेश्वरी मनोहरा नगरपालिका– १ स्थित कागेश्वरी महादेव मन्दिरमा आज विशेष पूजा–आराधना हुने गर्छ ।
यस्तै, हनुमानढोकास्थित कागेश्वरी मन्दिरमा पनि कागको विशेष पूजा–आराधना गरिन्छ । यहाँ कागको ठूलो मूर्ति बनाइएको छ ।
लक्ष्मी स्थिर राख्नका निम्ति गरगहना एवं तामाका भाँडाकुँडा किन्ने धनतेरस पर्व पनि शनिबार नै मनाइएको छ । यस दिन गरगहना तथा भाँडाकुँडा किनेमा लक्ष्मी घरमै स्थिर भई बस्ने धार्मिक मान्यता छ ।
दुष्कर्म गर्नेलाई यमराज भएर दण्ड दिने र सत्कर्म गर्नेलाई धर्मराज भएर रक्षा गर्ने विश्वाससित पनि तिहार पर्वको महत्व जोडिएको छ ।
यम यातनाबाट मुक्तिका लागि परिवारका सबै सदस्यका नाममा यम दीपदान गर्ने क्रम भने मंगलबार साँझदेखि नै सुरु भएको छ । यम दीपदान दक्षिण फर्काएर गर्नुपर्ने वैदिक सनातन शास्त्रीय विधि रहेको छ । यमदीप दान गरे यमयातनाबाट मुक्ति पाइने शास्त्रीय मान्यता छ ।
यस वर्ष यमदीपदान शनिबारदेखि सुरु भए पनि काग तिहार आइतबार परेको नेपाल पञ्चाङ्ग निर्णायक समितिले जनाएको छ । पञ्चांग समितिका अनुसार धनवन्तरि जयन्ती एवम् धनतेरस पनि आजै परेको छ ।
भोलि ३ गते सोमबार बिहान कुकुर तिहार र बेलुकी लक्ष्मीपूजा परेको समितिले जनाएको छ । भोलि सूर्यग्रहण समेत परेको छ । यसैगरी गाई, गोरु र नेवार समुदायको म्हपूजा ४ गते मंगलबार गर्नुपर्ने उल्लेख छ । यस वर्ष भाइटीका कार्तिक १० गते परेको छ ।
प्रकाशित मिति २०८२ कार्तिक २, आईतवार ०६:४३ गते