
बेसीशहर– लमजुङको सुनौलो भविष्य सहकारी ठगीमा पक्राउ परेका दुई वडाध्यक्षसहित पाँच अरोपिहरू धरौटीमा रिहा भएका छन् । लमजुङको जिल्ला सदरमुकाममा केन्द्रीय कार्यालय रहेको बुहचर्चित सुनौलो भविष्य सहकारीका ठगी आरोपिहरूमध्ये प्रहरीले हिजो कार्तिक २ गते मात्र नियन्त्रणमा लिएका चार सहित पाँच जनालाई आज कार्तिक ३ गते विदाको दिनमा धरौटीमा रिहा गरेसँगै त्यस्तो खुलासा भएको हो ।
त्यसरी छुट्नेहरूमा बेसीशहर नगरपालिका– ११ का वडाध्यक्ष शिवप्रसाद जोशी, सुन्दरबजार नगरपालिका– ८ का वडाध्यक्ष विजेन्द्र थापा, भक्ति आदर्श माविका प्रावि शिक्षक थकित अधिकारी(यात्री) सहित पाँच जना रहेका छन् ।
सुनौलो भविष्य सहकारीको रकम अपचलन अर्थात ठगी धन्दा(मुद्दा)का आरोपिहरू ५० जनाका विरुद्धमा पक्राउ पूर्जी जारी भएको छ । तीमध्ये आजका मितिसम्म १४ जना मात्र प्रहरी सम्पर्कमा छन् । हिजो र आज पक्राउ परेकामध्ये पाँच जनालाई बिगो हुनेको हकमा विगो सहितको रकम धरौटी लिएर र विगो नहुनेका हकमा विगो बिनाको धरौटी रकम लिएर छाडिएको जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी नायव उपरीक्षक रेशम बोहराले बताउनु भयो । उहाँका अनुसार रिहा हुनेहरूमा दुवै जना वडाध्यक्ष जोशी र थापा समेत छन्, ती दुवैजनाले आफू जिम्माको विगो रकम यस अघिनै सहकारीमा बुझाइसकेको देखिएको हुँदा प्रतिव्यक्ति ५० हजार रुपैया मात्र धरौटी लिएर छाडिएको हो । उहाँले भन्नुभयो, ‘अदालतमा मुद्दा बुझाउँदाको दिनमा भने सबै उपस्थित हुनु पर्छ ।’
बेसीशहर नगरपालिका– ११ का वडाध्यक्ष शिवप्रसाद जोशी भने आज एकै दिनमा फुर्सद लिन सफल भएको स्रोतको भनाइ छ । जोशी सो सहकारीको संस्थापक अध्यक्ष एवम् व्यवस्थापक समेत रहेको जानकारीमा आएको छ ।
सुन्दरबजार नगरपालिका– ८ को भोटेओडारमा रहेको भक्ति नमूना माविका प्रावि शिक्षक थकित अधिकारी यात्रीले चार लाख ६१ हजार ५९५ रुपैयाँ धरौटी बुझाएर रिहा भएको जानकारीमा आएको छ । यसैगरी, यात्री बारबरको धरौटी राखेर रिहा हुनेमा विवेक अधिकारी र शंकर न्यौपाने समेत रहेको प्रहरीले जनाएको छ ।
यस्तो प्रकृतिको मुद्दाका कुनै पनि आरोपिलाई पक्राउ गरिसकेपछि बिना बयान यसरी धरौटी लिएर रिहा गर्ने अधिकार प्रहरीलाई नभएको कानुन व्यवसायीहरू बताउछन् । उनीहरूका अनुसार अदालतलगायतका सरकारी कार्यालय बन्द रहेको अवस्थामा कस्को आदेशले छाड्ने काम भएको हो ? प्रहरीलाई त्यस्तो अधिकार कानुनले कहाँ दिएको छ र ? भन्ने प्रतिप्रश्न उनीहरूले गरेका छन् । उनीहरूले भने, ‘आरोपिहरूलाई प्रहरीले आफूमार्फत जिल्ला सरकारी वकिलको कार्यालयमा बयान गराउने हो । थुनछेकको बहसमा धरौटी लिने कि पुर्पक्षका लागि थुनामा पठाउने भन्ने आदेश दिने काम अदालतको हो, प्रहरीलाई त्यो अधिकार छैन ।’
हाउगुजी सिद्धियो :
आज धरौटीमा हिरा भएका पाँच जनाको प्रकृति सार्वजनिक भएपछि उक्त सहकारी मुद्दाको पनि हाउगुजी समाप्त भएको छ । यसअघ जिल्लामा चलाइएको बेसीशहरकै कालिका सहकारीको तत्कालीन बहुचर्चित ठगी मुद्दा ‘खोदा पहाड निक्ला चुहा’को रुपमा झिसमिस भएको र आजका दिनमा पनि त्यो सहकारीका केही पीडितहरू रुदै हिडेका छन् । कालिका सहरकारीको जस्तै यो मुद्दा पनि हालत त्यस्तै त हुने होइन ? भन्दै अन्तरङ्ग न्यूजडटकमले त्यो मुद्दाको उठान भएको पहिलो दिनदेखि गर्दै आएको आशंकाले साकार रुप लिने भएको छ । आज पाँच जना रिहा भएको नजिरका आधारमा सो काण्डमा मुछिएका अन्य सबैले राहतको अनुभूति गरेको जानकारीका आएको छ । किनकि, विगो देखिएर दोषी भएकाहरूको हकमा सो रकम र अन्यका हकमा मात्र ५० हजार धरौटी राखे पुग्ने भएपछि, यो मुद्दाको हाउगुजी समाप्त भएको स्रोतको भनाइ छ ।
तर मुद्दा मिलापत्र हुन नसकेमा विगो बराबरको जरिवाना र केही दिन भने पनि कैद सजाय हुने हुन्छ । त्यसतर्फ भने प्रहरीले ध्यान दिएको देखिदैन एक कानुनव्यवसायीले भने ।
यसअघिको बहुचर्चित कालिका सहकारीको ठगी मुद्दाका आरोपिहरूले न्युनत्तम पनि दुई लाख धरौटी राख्न अदालतले आदेश गरेको थियो । सुनौलो भविष्य सहकारीको यो काण्डमा भने प्रहरीको कार्यलाई अदालतले सदर गर्ने बढी नै सम्भावना हुने जानकारहरू बताउँछन् ।
स्मरणीय छ, सुनौलो भविष्य सहकारी ठगी काण्डमा सञ्चालकहरू पक्राउ पर्ने क्रम गत साउन २५ गतेबाट सुरु भएको हो । त्यस दिनदेखि आजका दिनसम्म ७२ दिन भइसकेको छ । उक्त मुद्दामा सहकारी ठगीका अतिरिक्त संगठित अपराध र सम्पत्ती शुद्धिकरण समेत जोडिएको हुँदा प्रहरीलाई अनुसन्धानका लागि ९० दिनको अवधिको सुविधा मिल्ने कानुनी व्यवस्था छ । सो मुद्दामा संगठित अपराध र सम्पत्ती शुद्धिकरण आकर्षित नहुने भएको भए यसअघि नै (२५ दिनभित्र) मुद्दा अदालतमा बुझाइसकिएको हुनुपर्थ्यो । यसबाट पनि प्रष्ट हुन्छ कि यो सहकारीको मुद्दामा संगठित अपराध र सम्पत्ती शुद्धिकरण आकर्षित भएकोछ । सो अनुसार प्रहरीले अनुसन्धानको प्रतिवेदन सहितको मुद्दा जिल्ला सरकारी वकिल कार्यालयमा मार्फत बुझाउनका लागि अब १८ दिनको म्याद मात्र बाँकी छ । त्यो मिति आउँदो कार्तिक २१ गते पुग्ने हुन्छ ।
काँग्रेसका जिल्ला उपसभापति श्रीकान्तको समेत सम्पत्ती शुद्धिकरणमा तानिन सक्ने :
सुनौलो भविष्य सहकारीको यो ठगी काण्डको मुद्दामा सम्पत्ती शुद्धिकरण समेत आकर्षित हुने भएपछि नेपाली काँग्रेसका उपसभापति श्रीकान्त घिमिरेसमेत त्यसमा तानिन सक्ने बलियो सम्भावना रहेको स्रोतले औंल्याएको छ । किनकि, उहाँका सुपुत्र अरुणकान्त घिमिरे सो सहकारीमा लामो समयदेखि आवद्ध हुँदै हालको उपाध्यक्ष हुनुका साथै कम्तिमा ४१ लाख रुपैयाँ अपचलन गरेको स्वीकार गरेको भन्ने सो सहकारीका अन्य सञ्चालकहरूको दावी छ । सम्पत्ती शुद्धिकरणको विद्यमान कानुन अनुसार परिवारको कुनै एक व्यक्ति त्यस्तो (सम्पत्ती शुद्धिकरण) मुद्दामा तानिएको खण्डमा उनी सम्बद्ध परिवार र नातेदार तथा अन्य निकटका व्यक्तिहरू समेतको सम्पत्ती शुद्धिकरण गर्नु पर्ने व्यवस्था रहेको छ । काँग्रेस उपसभापति श्रीकान्त घिमिरे विगतका लामो समयसम्म लमजुङ विद्युत उपभोक्ता संस्थाको अध्यक्ष रहेर त्यो संस्था घाटालाको शृंखला चलाउँदै उक्त संस्था डुवाएको जसको पगरी गुथ्नु भएको व्यक्तित्व समेत हुनुहुन्छ । उहाँको त्यतिबेला पनि सम्पत्ती शुद्धिकरण प्रसङ्ग उठेर पनि शक्तिका आडमा ढाकछोप गर्ने काम भएको थियो । यतिबेला उहाँको समेत सम्पत्ती शुद्धिकरण गरियो भने आश्चर्य नहुने स्रोतले बताएको छ । यसमा जेन– जेड टोलीको भूमिका के कस्तो हुने भन्ने आफूहरूले महत्वका साथ हेरिहेको सो सहकारीका पीडितहरूले बताएका छन् ।
सुनौलो भविष्य सहकारीमा एलेसम्म पीडितहरूले एक करोड ७३ लाख रुपैयाँ दावी गर्दै उजुरी दिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । सो कार्यालयका अनुसार उक्त सहकारीमा छ करोड ७३ लाख रुपैया हिनामिना (ठगी) भएको भन्ने प्रतिवदेनका आधारमा अनुसन्धान चलिरहेको छ ।
प्रकाशित मिति २०८२ कार्तिक ३, सोमबार २०:१६ गते