
काठमाडौं– यहाँ एक कार्यक्रमका बीच म्युजिक भिडियो ‘अब जाग्नु पर्छ’ सार्वजनिक भएको छ । हेम सरिता पाठक फाउन्डेसनद्वारा डालो रेस्टुरेन्ट, अनामनगरमा आयोजना गरेको कार्यक्रममा ‘अब जाग्नु पर्छ’ म्युजिक भिडियो कार्तिक २ गते सार्वजनिक भएको हो ।
कार्यक्रममा फाउन्डेसनका प्रमुख संरक्षक गीतकार हेम पाठकले आफ्नो मन्तव्य राख्दै फाउन्डेसनको अभियानबारे स्पष्ट गर्दै गीतको उद्देश्यबारे प्रकाश पार्नु भएको थियो ।
सो कार्यक्रममा पूर्व मन्त्री माननीय दीपेन्द्र श्रेष्ठ, वरिष्ठ कलाकार मदनदास श्रेष्ठ, नेपाली चलचित्रका नायक संजय खतिवडा लगायतले शुभकामना मन्तव्य राख्नु भएको थियो ।
यसैगरी फाउन्डेसनका अन्तर्राष्ट्रिय अध्यक्ष जेनी पाठकले जेन जी आन्दोलनमा सहादत प्राप्तहरूप्रति श्रद्धाञ्जली व्यक्त गर्दै भ्रष्टाचारको विरुद्ध सबै चनाखो हुनुपर्ने बताउँदै आगामी निर्वाचनमा भ्रष्टाचारीलाई भोट दिन हुँदैन भन्नुभयो ।
सो कार्यक्रममा लोकार्पित ‘अब जाग्नु पर्छ’ म्युजिक भिडियोको गीत फाउन्डेसनका प्रमुख संरक्षक गीतकार हेम पाठकले लेख्नु भएको हो । सो गीतको संगीत एवं गायन बी.बी. अनुरागी र शिशिर योगीले गर्नु भएको छ ।
कार्यक्रममा फाउन्डेसनका दूत वरिष्ठ कलाकार किरण के.सी., लोकसेवा आयोगका पूर्व अध्यक्ष उमेश मैनाली, गीतकार एवं समाजसेवी शोभित उप्रेती, पत्रकार महासंघका पूर्व अध्यक्ष विष्णु निष्ठुरी, प्रा डा. गोविन्दमान सिंह कार्की, अनेसास दर्पणका कार्यकारी सम्पादक रमेश दाहाल लगायत विभिन्न संस्थाका प्रतिनिधिहरू, पत्रकार, साहित्यकार र अभियन्ताहरूको बाक्लो उपस्थिति रहेको थियो ।
फाउन्डेसनका अन्तर्राष्ट्रिय अध्यक्ष जेनी पाठकको अध्यक्षतामा सो कार्यक्रमको फाउन्डेसनका अन्तर्राष्ट्रिय महासचिव राधेश्याम लेकालीले सञ्चालन गर्नु भएको थियो ।
प्रकाशित मिति २०८२ कार्तिक ४, मंगलवार १०:२५ गते