राष्ट्रिय स्वतन्त्र पार्टीले गर्यो शुभकामना आदानप्रदान सहित दमदार अन्तरक्रिया

राष्ट्रिय स्वतन्त्र पार्टीले गर्यो शुभकामना आदानप्रदान सहित दमदार अन्तरक्रिया

अन्तरङ्ग न्युज

@antaranganews

२०८२ कार्तिक ५ गते बुधबार १०:१६

सो अवसरमा बालेनको सिद्धान्त के हो ? उहाँ प्रजातन्त्रवादी हो कि वामपन्थी ? कतै राजावादी हो कि ? अन्य के वादी हो ? रास्वपालाई सिद्धान्त सोध्नेहरूले बालेनको सिद्धान्त सोध्ने काम गरेका छन् ? भन्ने प्रश्न उठेको थियो ।

पार्टी सभापति रवि लामिछानेलाई नक्खु कारागारले दिएको पत्र फेक नभएको बारेमा मानवअधिकार आयोगले समेत बोलेको छ भन्ने जानकारी दिइएको थियो ।

बेसीशहर– राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा) लमजुङले शुभदिपावलीको अवसरमा शुभकामना आदानप्रदान सहित दमदार अन्तरक्रिया कार्यक्रम गरेको छ । रास्वपाको जिल्ला समितिको कार्यालय र बेसीशहर नगरपालिका– २ को भकुण्डे स्थित श्रीमन्त्र रेष्टुरेण्टमा कार्तिक ५ गते सो कार्यक्रम गरिएको हो ।
उक्त कार्यक्रममा रास्वपाको केन्द्रीय संगठन विभागका सदस्य एवम् रास्वपा लमजुङका संस्थापक संयोजक धर्म के.सी., रास्वपाको प्रवास नेपाली सम्पर्क विभागका सदस्य एवम् अधिवक्ताको समुपस्थितिमा सो कार्यक्रम गरिएको हो ।
पार्टी कार्यालयमा गरिएको अन्तरक्रियामा रास्वपाको जिल्ला सल्लाहकार परिषदका संयोजक नवराज पहाडी, पार्टीका जिल्ला उपसभापति प्रकाश थापा, जिल्ला सदस्य होम राउत, वडानं– ७ का सभापति राजकुमार घिमिरे, सोही नगरपालिका– ९ का वडा सभापति भागवतसिं अर्याल, बेसीशहर नगरपालिका– ७ का सचिव विष्णु घिमिरेलगायतको उपस्थिति थियो । सो अवसरमा पार्टीबाट विगतमा गरिएका कार्यक्रमका बारेमा समिक्षा गर्नुका साथै भावि कार्यक्रमका बारेमा छलफलका साथ निर्णय भएको रास्वपाका जिल्ला सदस्य होम राउतले जानकारी दिनु भएको छ । उहाँका अनुसार बेसीशहर नगरपालिकामा वडाधिवेशन बाँकी रहेका वडाको अधिवेशन सकेसम्म छिटो गर्नका लागि नगर समिति र सम्बन्धित वडाको तदर्थ समितिका प्रमुखको सहभागिताका अधिवेशन तोक्ने बैठक साता दिन भित्रै बस्ने निर्णय भएको छ ।
दमदार अन्तरक्रिया र विचार मन्थन :
बेसीशहर नगरपालिका– २ भकुण्डेको श्रीमन्त्र रेष्टुरेण्टमा भएको अन्तरक्रियामा सहभागीहरूले खुलेर आआफ्ना धारणा राखेका थिए । सो अवसरमा राम्रो विचार मन्थनसमेत गरिएको थियो । सहभागीहरूले पार्टीको जिल्ला र केन्द्रका गतिविधि, जेन जेड आन्दोलनमा पार्टी सभापति रवि लामिछानेको जेल बहिरगमन र त्यसले उठाएका प्रश्न, ढिलासुस्ती, प्रदेशको खारेजी, प्रचार सामग्री, प्रशिक्षण, घोषित निर्वाचन, अन्य पार्टीको अवस्था, जेन जेड आन्दोलनपछिको स्थितिका बारेमा समेत जिज्ञासा राखेका थिए ।
ती जिज्ञासाका बारेमा प्रकाश पार्नु हुँदै केन्द्रीय संगठन विभागका सदस्य धर्म केसीले पार्टी सभापति रवि लामिछानेलाई नक्खु कारागारले दिएको पत्र फेक नभएको बारेमा मानवअधिकार आयोगले समेत प्रष्ट बोलेको छ, उहाँकोभन्दा पनि जेलको सुरक्षाका लागि पटक पटक उहाँको श्रीमती(निकिता)लाई फोन गर्ने काम जेल प्रशासनबाट भएको हो भन्नुभयो । तर उहाँ (निकिता भाउजु) गाडी लिएर नख्खु जान सक्ने अवस्था नभएपछि उहाँले पार्टीमा खबर गर्नु भएको र पार्टीका साथीहरू गएर त्यो पत्र बुझेर सभापतिलाई बाहिर ल्याउने काम भएको हो । उहाँको सुरक्षाका कारणले निस्केपछि पनि उहाँ कहाँ हुनुहुन्छ ? भन्ने जानकारी पनि धेरैलाई दिइएको थिएन उहाँले भन्नुभयो । जेन जेडको आन्दोलनले हाम्रो पार्टीले उठाएका मुद्दालाईनै थप उठाएको हुँदा उनीहरूले पार्टी दर्ता गर्दैमा आकाश खस्ने छैन, उनीहरूसँग पनि वार्ता पार्टीले अघि बढाएको छ, परिणाम छिटै निस्कने छ केसीले भन्नुभयो ।
नेता केसीले निर्वाचनको बेलामा आफूले निर्धक्कका साथ आवश्यक समय जिल्लामा दिने प्रतिवद्धता व्यक्त गर्नु भयो । उहाँले पार्टीको सिद्धान्त संवैधानिक समाजवाद पार्टीको जलेश्वर बैठकले नै पारित गरिसकेको जानकारी दिनुभयो । त्यस्तै, भ्रष्टाचारको अन्य, विकास र सुशासन समेत रणनीति हो भन्दै देश चलाउने स्वच्छ आत्मा र कामले हो, सिद्धान्तले हैन भन्दै पार्टी प्रेदश भन्दा पनि प्रदेश सभा खारेजको पक्षमा रहेको छ भन्ने जानकारी दिनुभयो ।
उहाँले पार्टीमा गुट नभएको तर मिडिया ट्रायलका कारणले भ्रम सिर्जना गर्ने काम भएको हो केसीको कथन थियो । उहाँले प्रधानमन्त्री सुशीला कार्कीले तोकिएकै समयमा निर्वाचन गरी सत्ता हस्तान्तरण गर्ने पक्षमा हुनुुहुन्छ र कार्कीले असफलताको कालो धब्बा आफ्नो अनुहारमा पोत्न कुनै हालतमा चाहन्न भन्नु भएको छ, त्यसैले पनि चुनाव हुन्छ र वातावरण बनाउने काममा हामी लाग्नु पर्छ, लागौं, भविष्य हाम्रो हो उहाँले दृढता पूर्वक उल्लेख गर्नुभयो ।
प्रवास नेपाली सम्पर्क विभागका सदस्यले स्विटजरल्याण्डमा गएर त्यहाँ संघीयताको स्वरुप नजिकबाट देखेर अनुभव गरी आएको बताउँदै नेपालभन्दा तीन गुणाले सानो त्यो देशमा २६ वटा प्रान्त छन् । राजनीति भन्दा पनि विकासका लागि त्यस्तो सानो सानो प्रान्तको बढी महत्व हुने रहेछ, समस्या भ्रष्टाचार हो, खर्च पारदर्शी हुने हो भने प्रदेश समस्या हुन्न भन्नुभयो । उहाँले विश्वमा देखिएका राजनीतिका दुई धार कम्युनिजम् र डेमोक्रेट छन् । के यीभन्दा बाहेकका अन्य वाद छैनन् त ? उहाँले सिद्धान्तभन्दा पनि नीति, योजना र कार्यक्रम ठूलो हो भन्दै हाम्रो देशमा समस्याका रुपमा देखिएको तीन कुरा छन्– पहिलो भ्रष्टाचार, दोस्रो वेथिति र समाजिक न्यायको अभाव हो यिनलाई रोक्न, उदाहरण सहित त्यस्तो क्षमता राख्न सक्ने हुनुपर्छ भन्नुभयो ।
कार्यक्रममा प्रदेश सचिवालय सदस्य हरि धितालले जेन जेड आन्दोलनपछि पार्टी सभापतिका बारेमै बढी प्रश्न उठ्ने गरेको छ भन्ने जिज्ञासा राख्दै गाउँगाउँमा जादा, उनीहरूसँग भेट हुँदा हुने कुराकानीले पार्टीको अवस्था खस्केको छैन भन्नुभयो । त्यसैले निरास हुनु पर्ने अवस्था नभएको आफूले पाएको उहाँले उल्लेख गर्नु भएको थियो ।
जिल्ला सल्लाहरका परिषदका संयोजक नवराज पहाडीले निराज ढुंगानाको पाँच तारे होटलको पत्रकार सम्मेलनको खर्च कहाँबाट आयो ? त्यो खर्च ढुंगानाकै कमाईको होला त ? भन्ने प्रश्न गर्नु भयो । त्यस्तै, हर्क साङपाङले व्रिटिशले ल्याउन नसकेको खानेपानी ९८ दिनमा ल्याए भन्ने डंका पिटेर मात्र हुन्छ ? विकास भनेको खानेपानी मात्र हो ? त्यो नगरपालिकामा शिक्षा, स्वास्थ्यको अवस्था के छ ? अन्य विकासका कुरा, रोजगारी सिर्जना, कला, संस्कृति, साहित्यको संरक्षण र प्रवर्धनका बारेमा त उहाँले गरेका काम कुराहरू केही सुन्न पाइएको छैन उहाँले भन्नुभयो । त्यस्तै, बालेनको पनि सिद्धान्त के हो ? उहाँ प्रजातन्त्रवादी हो कि वामपन्थी ? कतै राजावादी हो कि ? अन्य के वादी हो ? रास्वपालाई सिद्धान्त सोध्नेहरूले बालेनको सिद्धान्त सोध्ने काम गरेका छन् ? अनि उहाँ आफ्नो महानगरमा कति पारदर्शी हुनुहुन्छ ? काठमाडौं महानगरकाको बजेटले नेपाल भरका बालबालिकालाई छात्रवृत्ती वितरण गर्न पाइन्छ ? त्यो सुशासन भित्र पर्छ ? भन्ने प्रश्न उठाउनु भएको थियो ।
त्यस्तै, उहाँले पार्टीको प्रचार सामग्री र प्रशिक्षणको अभावले पटक पटक चिमोट्ने गरेको सुनाउनु भयो । उहाँले भन्नुभयो, ‘पार्टीमा गुट मिडिया ट्रायलबाट देखाउन खोजिदा आशंका बढेको छ भने प्राइमरी इलेक्सनले गुटबन्दी चिर्ने स्थिति पनि छ । तर, पार्टी भित्र काम गर्ने र नगर्नेहरूका बीचमा स्वतः गुटबन्दी हुने हो कि ? भन्ने आभास आफूलाई भएको उल्लेख गर्दै काम गर्ने मानिसलाई अर्काको कुरा काट्दै हिड्ने फुर्सद पनि हुन्न र स्वभाव पनि हुन्न । तर काम नगर्ने मान्छे त आज पनि नेताकोमा गएको छ, फलानो त यस्तो ? भनेको छ, भोलि पनि गएर त्यही दोहोर्याएको छ, अनि त सुन्नेले पनि आशंका गर्ने ठाउँ बन्ने देखिन्छ यस्ता कुरालाई नीतिगत रुपमा पार्टीले केन्द्रदेखि नै चिर्न सक्नु पर्छ भन्ने सुझाव उहाँले दिनुभयो ।
जिल्ला उपसभापति प्रकाश थापाले बेसीशहर नगरपालिकामा सात सय संख्यामा सदस्यता वितरण भइसकेको छ, काँग्रेस एमालेको सदस्य संख्या पनि त्यस्तै हाराहारी हो । हाामी अझै केही वडा र कति ठाउँमा जान बाँकी छ उहाँले भन्नुभयो । उहाँले पार्टीको वैठक चाडवाडको कारणले रोकिएको हो, अब तिहार पछि निरन्तरता हुन्छ भन्ने जानकारी दिनुभएको थियो ।
सो अवसरमा जिज्ञासा राख्नेहरूमा २ नंबर वडाका उपसभापति पुरण धिताल, वडासदस्य सुक्रबहादुर धिताल, सदस्य ईश्वर अधिकारी लगायत हुनुहुन्थ्यो ।
सो अवसरमा सो वडाको रास्वपाका संस्थापक संयोजक आनन्द अधिकारी, सदस्य खड्गबहादुर थापा, यमनाथ बराल लगायतको उपस्थिति रहेको थियो ।

प्रकाशित मिति २०८२ कार्तिक ५, बुधबार २२:१६ गते
हजुरको प्रतिक्रिया