काठमाडौं– अन्तरिम प्रधानमन्त्री सुशीला कार्कीको नेतृत्वको सरकार तेस्रोपटक पुनर्गठन भएको छ । जेनजी आन्दोलनको करिब डेढ महिनापछि मन्त्रिपरिषद् कार्तिक ९ गते तेस्रो चरणमा विस्तार भएता पनि अझै पूर्णता पाउन सकेन । प्रधानमन्त्री कार्कीको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले दुई मन्त्री डा. सुधा शर्मालाई स्वास्थ्य तथा जनसंख्या र बब्लु गुप्तालाई युवा तथा खेलकुदमन्त्रीको आज शपथ गराउनु भएसँगै मन्त्रीपरिषद तेस्रो पटक पुनर्गठन भएको हो । यसबाट प्रधानमन्त्री सुशीला कार्कीको नेतृत्वको सरकारलाई काम गर्न के कति बाधा परिरहेको छ भन्ने आंकलन गर्नु पर्ने भएको छ ।
राष्ट्रपति पौडेलसमक्ष प्रधानमन्त्री कार्कीले आज चार जनाको नाम सिफारिस गर्नुु भएता पनि खगेन्द्र सुनारको नाम विवाद सिर्जिएपछि काटियो छ भने गणपतिलाल श्रेष्ठको शपथ हुन सकेन ।
वरिष्ठताक्रममा रहेका अर्थमन्त्री रामेश्वर खनाल त्यही मन्त्रालयबाट अवकाश पाउनु भएका सचिव हुनुहुन्छ । पेशाले इञ्जिनियर कुलमान घिसिङ नेपाल विद्युत प्राधिकरणका पूर्व कार्यकारी–निर्देशकको अनुभव हासिल गर्नु भएका व्यक्ति हुनुहुन्छ ।
अनिलकुमार सिन्हा सर्वोच्च अदालतका पूर्वन्यायाधीश हुनुहुन्छ । नवनियुक्त स्वास्थ्यमन्त्री डा. सुधा शर्मा सोही मन्त्रालयबाट १४ वर्षअघि अवकाश प्राप्त सचिव हुनुहुन्छ । तत्कालीन मन्त्रीहरूसँग वैचारिक असहमतिपछि राजीनामा दिनु भएकी उहाँ केही समय राष्ट्रसंघीय नियोगहरूमा कार्यरत हुनुभयो ।
गृहमन्त्री ओमप्रकाश अर्याल पेशाले अधिवक्ता हुनुहुन्छ भने सञ्चारमन्त्री जगदीश खरेल पत्रकार ।
राष्ट्रिय आविष्कार केन्द्र स्थापना गरेर यन्त्र उपकरणको प्रयोगमा जोड दिइरहेका महावीर पुन नेपालको ग्रामीण भेगमा सूचना–प्रविधिको विस्तारबाट सामाजिक सेवामा प्रवेश गरेर व्यक्तित्व निर्माण गनुृ भएको हो । कृषिमन्त्री मदन परियार विभिन्न अध्ययन र सामाजिक क्रियाकलापमा सक्रिय रहदै आउनु भएको थियो ।
युवा तथा खेलकूदमन्त्री बनेका बब्लु गुप्ता सामाजिक कार्यकर्ता हुनुहुन्छ । ‘हण्ड्रेड ग्रुप’का संस्थापक उहाँले कोरोना महामारीका बेलामा विपतमा परेकाहरूलाई निःशुल्क खाना बाँड्नदेखि आर्थिक अभाव भएका व्यक्तिहरूलाई कपडा बैंक अभियान चलाउने व्यक्तित्व हो ।
अहिलेसम्मको उपस्थिती हेर्दा सरकारमा महिला, आदिवासी, दलित एवं मधेशी समुदायको प्रतिनिधित्व भएको देखिन्छ । बब्लु गुप्तालाई मन्त्री बनाएपछि जेन–जी आन्दोलनकर्मी र मधेशी समुदायको प्रतिनिधित्व भएको छ ।
यसकारण काटियो खगेन्द्र सुनारको नाम मन्त्रीको सूचीबाट :
श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्रीमा सिफारिस हुनुभएका खगेन्द्र सुनारको नाम मन्त्री बन्ने सूचीबाट काटिएको छ । चौतर्फी आलोचना पछि उहाँको नाम काटिएको हो । सुनारविरुद्ध विभिन्न अभियोगमा मुद्दा दर्ता भएका र उनी प्रहरीको फरार सूचीमा रहेको देखिएको छ ।
विवादित छवि भएका सुनारलाई मन्त्री बनाउँदा हुनसक्ने सम्भावित समस्यालाई ध्यानमा राख्दै उहाँको नाम मन्त्रीबाट काटिएको प्रधानमन्त्री निकट स्रोतले बताएको छ ।
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रीमा सिफारिस भएका गणपतिलाल श्रेष्ठको पनि शपथ नहुने भएको छ । उनको के कारणले शपथ रोकिएको भन्ने बताइएको छैन ।
खगेन्द्र सुनारविरूद्ध तीन अदालतमा मुद्दा विचाराधिन :
सुनारविरूद्ध अदालतको मानहानीदेखि स्वास्थ्य संस्था तोडफोड र हातपातको आरोप लागेको छ । सुनारविरूद्ध सर्वोच्च अदालतसहित सुर्खेत र काभ्रे जिल्ला अदालतमा विभिन्न अभियोगमा मुद्दा चलिरहेको तथ्य फेला परेको हो ।
सुर्खेत जिल्ला अदालतमा उनीविरूद्ध मेहेलकुना अस्पतालका प्रमुख डा. सोजन सापकोटामाथि हातपात र स्वास्थ्य संस्था तोडफोडको मुद्दा छ । उक्त मुद्दामा २०८१ असार १४ मा सात दिने र साउन २७ गते ३५ दिने पक्राउ पुर्जी जारी भएकोमा सो मुद्दा अझै किनारा लागेको छैन । सुनार २०८१ चैत १२ गते आफै हाजिर हुन आएको सुर्खेत अदालतका सूचना अधिकारी उज्ज्वल रावलले बताउनु भयो । उहाँका अनुसार त्यसयता सुनारले तारेख गुजार्दै आएका छन् । उहाँले भन्नुभयो, ‘त्यही मुद्दामा परेका अन्य पाँच जना अभियुक्तले नियमित तारेख थामिरहँदा पनि खगेन्द्रले अहिलेसम्म तारेख गुजारिरहेको स्थिति छ ।’
त्यस्तै, काभ्रे जिल्ला अदालतमा सुनारविरूद्ध विद्युतीय कारोबार ऐनअन्तर्गत मुद्दा दायर भएको अधिवक्ता मनीषा गौतमले बताउनु भयो । उहाँका अनुसार काभ्रे अदालतमा अहिले पनि त्यो मुद्दा विचाराधीन छ । उहाँले भन्नुभयो, ‘आफूमाथि फेसबुकमा गालीगलौज गरेको भन्दै सुनारविरूद्ध मुद्दा हाल्नु भएको हो । उहाँले भन्नुभयो, ‘अदालतले घटना विवरणका लागि अभियुक्त सुनारलाई बोलाएको भए पनि उनी हाजिर हुन गएका छैनन् ।’
सुनारले जाजरकोटका नवराज विक हत्या प्रकरणमा सुर्खेत उच्च अदालतको फैसला चित्त नबुझेको भन्दै अदालत बाहिरै हुलहुज्जत र तोडफोड प्रयास गर्नुका साथै न्यायाधीशहरूमाथि समेत गालीगलौजपूर्ण अभिव्यक्ति दिए । अधिवक्ता गौतमले सुनारविरूद्ध सर्वोच्च अदालतमा पनि मानहानिको मुद्दा दर्ता गराउनु भएको छ । तर त्यो मुद्दाको पनि बिचाराधिन नै छ ।
सुनारले त्यतिबेला गौतमलाई गालीगलौज गर्दै ‘दिउँसै कालो धन्दा गर्ने नेपाल बार र राति धन्दा गर्ने ठमेलको बारबीच के फरक छ ? भन्ने प्रश्न गर्दै आफ्नै फेसबुकको अर्को पोस्टमा ‘तँ नेपाल बारको होस् कि ठमेल बारको भनेर सोधौं’ भन्दै मनीषाको फोटो र नम्बर फेसबुकमा सार्वजनिक गरेको’ गौतमको दावी छ । उहाँका अनुसार यो मुद्दाको पनि छिनोफानो भएको छैन ।
चारित्रिक प्रमाणपत्र जारी गर्दा नेपाल प्रहरीले रेकर्ड जाँच गर्ने क्लियरेन्स रजिस्ट्रेसन सिस्टम (सिआरएस) मा सुर्खेत र काभ्रेका यी दुवै मुद्दाबारे उल्लेख रहेको प्रहरीको उच्च स्रोतले बताएको छ । स्रोतका अनुसार उहाँलाई फरार अभियुक्त भन्न मिल्दैन ।
कांग्रेसका महाधिवेशन प्रतिनिधि रहनु भएका खगेन्द्र सुनारले राजीनामा नदिएको खुलासा :
श्रममन्त्रीमा सिफारिस भएका खगेन्द्र सुनार नेपाली कांग्रेसको क्षेत्रीय प्रतिनिधि हुँदै महाधिवेशन प्रतिनिधि बनेको खुलेको छ । विभिन्न विवादमा तानिएपछि अन्तिम समयमा उहाँको शपथ रोकिएको हो ।
सुनार दैलेखबाट नेपाली कांग्रेसका खुलातर्फका महाधिवेशन प्रतिनिधि निर्वाचित भएको स्रोतले बताएको छ । सुनार ०७८ असोजमा दैलेखबाट कांग्रेसको महाधिवेशन प्रतिनिधिमा ४४९ मतसहित खुलातर्फको चौथो नम्बरमा निर्वाचित हु्ुनु् भएको हो । उहाँको कांग्रेसको क्रियाशील सदस्यता नम्बर ६६२०१२६३०५०००२३÷१३–१४ हो ।
सुनारले अहिलेसम्म कांग्रेसको महाधिवेशन प्रतिनिधिबाट राजीनामा नदिएको कांग्रेसको दैलेख जिल्ला समितिले पुष्टि गरेको छ । सो पार्टी स्रोतका अनुसार उनीविरुद्ध पार्टीबाट निष्कासन गर्नेलगायतका कुनै निर्णय भएको छैन ।
स्मरणीय छ, सोती घटनापछि सुनारले आफूलाई दलित अभियन्ताका रूपमा चिनाउँदै आउनु भएको छ ।
प्रधानमन्त्री कार्की सहित अब मन्त्रिपरिषद् १० सदस्यीय भएको छ । ‘एकाध महत्वपूर्ण मन्त्रालयमा मन्त्री थपिन सक्छन्’ प्रधानमन्त्री कार्कीको सचिवालय सम्वद्ध स्रोतले भन्यो, ‘अब प्रधानमन्त्रीको नेतृत्वमा यही टिमले नै निर्वाचनसम्म काम गर्नेछ ।’
स्मरणीय छ, दोस्रो संविधानसभा निर्वाचन गराउने प्रयोजनका लागि १२ वर्षअघि तत्कालीन प्रधानन्यायाधीश खिलराज रेग्मीको नेतृत्वमा गठन भएको मन्त्रिपरिषद्मा १२ जना मन्त्री थिए ।
प्रकाशित मिति २०८२ कार्तिक ९, आईतवार १७:४० गते