सिक्किम उच्च अदालतद्वारा नेपाली भाषा संरक्षण गर्न ऐतिहासिक आदेश : नेपालले पनि सिक्ने कि ?

सिक्किम उच्च अदालतद्वारा नेपाली भाषा संरक्षण गर्न ऐतिहासिक आदेश : नेपालले पनि सिक्ने कि ?

एजेन्सी

@antaranganews

२०८२ कार्तिक १० गते सोमबार ०८:०४

सिक्किमले आफ्नो ठाउँमा नेपाली भाषाको भाषिक मौलिकता जोगाउने पहल गरेको छ । तर नेपालमा भने यस्ता अक्षरहरूको प्रयोग तीव्र रूपमा घट्दै गएको स्थिति छ । विद्यालयदेखि सञ्चारमाध्यम तथा सरकारी कामकाजसम्म ‘ण’को सट्टा ‘न’ र ‘श’को सट्टा ‘स’ प्रयोग सामान्य भइसकेको छ । ए को ठाउँमा य र य प्रयोग गर्नु पर्ने ठाउँमा ए को प्रयोग जस्ता विकृति बढ्दो छ ।

नेपाली वर्णमालाका हराउँदै गएका अक्षर पुनःस्थापना गर्न निर्देशन, गत वर्ष अर्थात २०८१ भदौ २१ गते तदनुसार २१ अगष्ट २०२४ मा सिक्किम सरकारका सूचना नेपाली भाषामा प्रकाशन गर्ने निर्णय गरिएको थियो ।

सिक्किम(भारत)– भारतको सिक्किम उच्च अदालतद्वारा नेपाली भाषा संरक्षण गर्न ऐतिहासिक आदेश भएको छ । नेपाली भाषाका परम्परागत अक्षरहरू पुनःस्थापित गर्न ऐतिहासिक आदेश जारी गरेको हो । यो ओदेश सार्वजनिक भएसँगै नेपाली भाषा, संस्कृति तथा साहित्यको संरक्षणका लागि कोशेढुंगा हुने आंकलन गरिएको छ ।
अदालतद्वारा नेपाली वर्णमालाका हराउँदै गएका ण, श, ष, ड, ढ, क्ष, त्र, ज्ञ, ऋ जस्ता अक्षरहरूको प्रयोग अनिवार्य गर्न निर्देशन जारी गरिएको हो । मुख्य न्यायाधीश विश्वनाथ सोमाद्दार र न्यायाधीश मिनाक्षी मदन राईको इजलासले सो आदेश दिएको हो । उक्त आदेशलाई नेपाली भाषा र संस्कृतिको संरक्षणतर्फको निर्णायक कदमका रूपमा हेरिएको छ ।
सिक्किमका अवकाशप्राप्त नेपाली भाषा शिक्षक तथा साहित्यकार धनराज गुरुङले दायर गर्नु भएको थियो । सो रिटको सुनुवाईका क्रममा त्यस्तो फैसला आएको हो । उहाँले ७ अगस्त २०२५ को दिन सिक्किम उच्च अदालतमा रिट दायर गर्नु भएको थियो । गुरुङले सिक्किम विश्वविद्यालय, भारतको शिक्षा विभाग र सिक्किम राज्य सरकारलगायतलाई विपक्षी बनाउनु भएको थियो । उहाँले यी अक्षरहरू हटाइदिँदा भाषिक शुद्धता र पहिचानमा सिधा असर परिरहेकाले ती अक्षरहरूको प्रयोग अनिवार्य गर्न आदेशको माग गर्नु भएको थियो । यो पाठ नेपालीले पनि सिक्न जरुरी छ ।
उच्च अदालतको आदेशमा भनिएको छ, ‘भाषा केवल संवादको माध्यम होइन, यो पहिचान र संस्कृतिको आधार हो, त्यसैले वर्णमालाको संरक्षण अनिवार्य छ ।’
अदालतको आदेशमा भनिएको छ— ‘भाषा केवल संवादको माध्यम होइन, यो संस्कृति र पहिचानको आधार हो । त्यसैले नेपाली वर्णमालाको मौलिकता जोगाउन हराइरहेका अक्षरहरूको प्रयोग पुनः अनिवार्य गर्नुपर्छ ।’ यस आदेशअनुसार अब विद्यालय, विश्वविद्यालय र प्रकाशनहरूमा यी अक्षरहरूको सही प्रयोग सुनिश्चित गर्नुपर्नेछ । कार्यान्वयनका लागि नेपाली भाषाविद् र साहित्यकारहरूको ६ सदस्यीय समिति गठन गरिएको छ । सो समितिमा शुक्र सुब्बा, चन्द्रप्रकाश शर्मा, शंकरदेव प्रसाद ढकाल, टेकबहादुर क्षेत्री, युवा बराल र प्रोफेसर डा. कविता लामा रहनु भएको छ । समितिलाई सबै शिक्षण संस्थामा आदेश कार्यान्वयन गराउने जिम्मेवारी दिइएको छ ।
अदालतले चेतावनी दिएको छ कि यी अक्षरहरू बेवास्ता गर्ने पुस्तक वा सामग्रीहरू शिक्षण संस्थामा स्वीकार गरिनेछैन ।
सिक्किमले आफ्नो ठाउँमा नेपाली भाषाको भाषिक मौलिकता जोगाउने पहल गरेको छ । तर नेपालमा भने यस्ता अक्षरहरूको प्रयोग तीव्र रूपमा घट्दै गएको स्थिति छ । विद्यालयदेखि सञ्चारमाध्यम तथा सरकारी कामकाजसम्म ‘ण’को सट्टा ‘न’ र ‘श’को सट्टा ‘स’ प्रयोग सामान्य भइसकेको छ । ए को ठाउँमा य र य प्रयोग गर्नु पर्ने ठाउँमा ए को प्रयोग जस्ता विकृति बढ्दो छ । ऋ अक्षरलाई ‘रि’ लेख्न थालिएको छ भने अन्य अक्षरहरू पनि बोलीचालीको शैलीमा लेख्न र भन्न थालिएको छ ।
विद्यालय, विश्वविद्यालय, पत्रिका, साहित्यिक कतिपय किताबहरूमा यी अक्षरहरू प्रयोग हुन छाडिएपछि आफ्ना बालबालिकालाई नेपाली सिकाउने अभिभावक र शिक्षकहरूका के सही, के गलत भन्ने द्विविधा थियो ।
भाषाविद्हरूले नेपालमा पनि यस्ता अक्षरहरूको पुनःस्थापना र सचेतना अभियान आवश्यक रहेको औंल्याएका छन् । उनीहरूका अनुसार, ‘यसतर्फ यदि तत्काल ध्यान नदिइने हो भने नेपाली भाषा, साहित्यको शुद्धता र ऐतिहासिक पहिचान कमजोर हुँदै जाने खतरा छ एकातिर छ भने अर्कोतिर संस्कृतिको मुलमर्ममा समेत प्रहार भइरहेको छ, त्यसले गति लिने छ ।’
सन् १९९२ अगस्ट २० मा भारतको संविधानको धारा ३४४ (१) ले नेपाली भाषालाई आठौँ अनुसूचीमा समावेश गरेको थियो । भारतका नेपाली भाषी नागरिकहरूले सो दिनलाई नेपाली भाषा मान्यता दिवसको रुपमा मनाउँदै आएका छन् ।
स्मरणीय छ, गत वर्ष अर्थात २०८१ भदौ २१ गते तदनुसार २१ अगष्ट २०२४ मा सिक्किम सरकारका सूचना नेपाली भाषामा प्रकाशन गर्ने निर्णय गरिएको थियो । सिक्किम आधिकारिक भाषा ऐन, १९७७ ले नेपाली भाषालाई आधिकारिक भाषाको रुपमा मान्यता दिएको थियो ।

प्रकाशित मिति २०८२ कार्तिक १०, सोमबार ०८:०४ गते
हजुरको प्रतिक्रिया