
काठमाडौं– कश्यप गोत्रीय अधिकारी वंश प्रतिष्ठान नेपालको केन्द्रीय समितिको बैठक जिल्ला समितिलाई सक्रिय बनाउनेसहितका विविध निर्णय गर्दै सम्पन्न भएको छ । प्रतिष्ठानका केन्द्रीय अध्यक्ष नरेन्द्रकुमार अधिकारीको अध्यक्षतामा यहाँ कार्तिक ८ गते बसेको बैठकले सो निर्णय गरेको हो ।
प्रतिष्ठानले संगठनलाई चलायमान बनाउनका लागि जिल्ला समितिलाई थप सक्रिय बनाउने निर्णय गरेको छ । त्यस्तै, चितवनको भरतपुरमा झापाबाट सारिएको केन्द्रीय कार्यालयलाई थप व्यवस्थित बनाउने, कश्यप गोत्रीय परिवारमा एक घर एक आजीवन सदस्य बनाउने, आर्थिक स्थितिको सुधारका लागि प्रकाशित वंशावलीलाई एक जिल्ला शाखाले कम्तिमा २० थान विक्री गर्ने लगायतका निर्णय गरिएको प्रतिष्ठानका सचिव चिरञ्जिवी अधिकारीले बताउनु भएको छ । उहाँका अनुसार केन्द्रीय समितिको अर्को बैठक आउँदो चैत महिनामा चितवनमा बस्ने निर्णय भएको छ ।
उहाँले भन्नुभयो, ‘मुख्य कुरा संगठन हो, त्यसका लागि जिल्ला शाखा समितिलाई सक्रिय बनाई पालिकास्तरमा पनि समिति विस्तार गर्ने, पालिकास्तरमा गठन भएका पालिका समितिको नियमित वैठक बसाई सक्रिय बनाउने लगायतका निर्णय भएको छ ।’
प्रतिष्ठानलाई थप चलायमान बनाउन विभिन्न विभाग बनाई विभागमार्फत केन्द्रले कार्यक्रम अघि बढाउनु पर्ने सुझाव समेत आएको उहाँको भनाई छ । उहाँले भन्नुभयो, ‘प्रतिष्ठानमा आर्थिंक विभाग, आध्यात्मिक विभाग, महिला विभाग, संगठन विभाग, विदेश सम्पर्क विभाग, प्रचारप्रसार तथा प्रकाशन विभाग लगायतका विभाग गठन गर्न सुझाव आएको छ ।’ यी सुझावलाई पनि आउँदो बैठकमा छलफल गरी आवश्यक निर्णय गरिने सचिव अधिकारीले जानकारी दिनुभएको छ ।
३९ सदस्यीय प्रतिष्ठानको केन्द्रीय समितिको बैठकमा २६ जना पदाधिकारी तथा सदस्यहरूको सहभागिता रहेको थियो ।
प्रकाशित मिति २०८२ कार्तिक १०, सोमबार २०:०१ गते