
चन्द्रगढी(झापा)– यहाँको चन्द्रगढी– ९ स्थित चन्द्रगढी दोस्रो खानेपानी उपभोक्ता तथा सरसफाइ समितिको निर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को प्यानलले दुई दशकभन्दा लामो समयदेखि स्थापित रहेको ऋएल्– ग्ःी र नेपाली कांग्रेसको गठबन्धनको राजनीतिक विरासतलाई पूर्ण रूपमा ध्वस्त बनाएको छ । यो निर्वाचनले स्थानीय तहमा समेत ‘रास्वपा’प्रतिको जनआकर्षण र परिवर्तनको चाहना कति बलियो छ भन्ने स्पष्ट सन्देश दिएको छ । रास्वपाले सभापतिसहित दुई तिहाइ बहुमत पदमा कार्तिक ११ गते अवेर घोषित नजिता अनुसार ऐतिहासिक विजय प्राप्त गरेको हो ।
उक्त निर्वाचनमा एमाले– काँग्रेस गठबन्धनको एक प्यानल रहेको थियो भने रास्वपा र राप्रपा एक्लाएक्लै प्यानलबाट निर्वाचन लडेका थिए । पाठकवर्गलाई थाहै छ, झापा नेकपा एमालेका शक्तिशाली अध्यक्ष तथा निवर्तमान प्रधानमन्त्री केपि शर्मा ओली, नेपाली काँग्रेसका महामन्त्री विश्वप्रकाश शर्मा र राष्ट्रिय प्रजातन्त्र पार्टीका केन्द्रीय अध्यक्ष राजेन्द्र लिंदेनको गृह जिल्ला हो । त्यस्तो स्थानमा चन्द्रगढीका सचेत मतदाताहरूले ‘घण्टी’मार्फत रुढीगत राजनीतिलाई कडा चुनौती दिएको रुपमा हेरिएको छ ।
संस्थानको निर्वाचन परिणामअनुसार, राष्ट्रिय स्वतन्त्र पार्टीका जगतप्रसाद तिवारी १९७ मत अन्तरले ४२३ मत प्राप्त गरी सभापति पदमा निर्वाचित हुनुभएको छ । गठबन्धनका उम्मेदवार बद्रीप्रसाद उप्रेतीले २२६ मा मात्र पाउनु भयो भने राप्रपाका खड्गबहादुर ठकुरीले १०२ मत मात्र प्राप्त गरेको निर्वाचन समितिले घोषणा गरेको छ ।
मुख्य पदाधिकारीमा रास्वपाको पूर्ण वर्चस्व रहेको छ । उपसभापतिमा घनश्याम अधिकारीले ३३६ मत प्राप्त गरी विजयी हुुनु भएको छ । उहाँका प्रतिद्वन्द्वी गठन्धनका चिरञ्जिवी भट्टराईले २१० मत र राप्रपाका दिननाथ उप्रेतीले १९० मत पाउनु भएको छ ।
सचिव पदमा भने गठबन्धनका सन्तोषकुमार खड्का राजुले ३२४ मत पाई विजयी हुनु भएको छ । सो पदमा रास्वपाका प्रत्यासी खेमकुमार लुइटेलले २९३ मत पाउनु भयो भने राप्रपाका दुर्गादेवी खनालले १०५ मत पाउनु भएको छ ।
सह–सचिव पदमा रास्वपाका श्रीमती बिमला पौडेल दाहालले ४१३ मत प्राप्त गरी विजयमाला पहिरिनु भएको छ । सो वदमा गठबन्धनका बलनन्द न्यौपानेले २२७ मत र राप्रपाका राजेशसिंह राजवंशीले ६५ मत पाउनु भएको छ । त्यस्तै, कोषाध्यक्ष पदमा श्रीमती कल्पना पौडेल २७१ मतसहित विजयी हुनुभएको छ । सो पदका गठबन्धनका उम्मेदवार खेमकुमारी अधिकारी गौतमले २५३ मत पाउनु भयो भने राप्रपाका हर्कमाया कार्कीले १६३ मत पाउनु भएको घोषणा गरिएको छ ।
यसैगरी सदस्यहरूमा रास्वपाका टेकबहादुर रोका, भिमप्रसाद निरौला, सुरेस घिमिरे र निरा भुजेल विजयी हुनु भएको छ भने गठबन्धनका सुरेश घिमिरे र अग्नीप्रसाद विमली विजयी हुनु भएको छ ।
समितिको कुल सदस्य संख्या ११ जनामा सचिवबाहेक पदाधिकारी र ४ सदस्य गरी ८ पदमा ऐतिहासिक विजय हासिल गर्न सफल भएको छ । यसरी खानेपानी समितिको सञ्चालक समितिमा रास्वपाले दुई तिहाइ बहुमत कायम गर्दै आफ्नो वर्चस्व स्थापित गरेको हो ।
निर्वाचन परिणामामा परिवर्तनको चाहना’ प्रतिविम्वित :
यस निर्वाचनमा कुल मतदाता ८९५ रहेकोमा जम्मा ७८९ मत खसेको थियो । जसले मतदाताको उत्साहजनक सहभागितालाई देखाउँछ ।
यो जानकारी सार्वजनिक गर्दै भद्रपुर नगर सभापति प्रेम न्यौपानेले विजयलाई सामान्य रूपमा लिन नहुने बताउनुभयो । उहाँले भन्नुभयो, ‘यो जीत सामान्य जीत होइन, देश अब घण्टीमय हुँदैछ भन्ने स्पष्ट सन्देश हो । अब जनताले पुरानो राजनीतिक नेतृत्वबाट परिवर्तन चाहेका छन् । जनताको विश्वास छ कि रास्वपाको घण्टी चिन्हका उम्मेदवारले मात्र व्याप्त भ्रष्टाचार र अनियमितता रोक्न सक्छन्, त्यसैले हामीले यो ऐतिहासिक सफलता प्राप्त गर्यौँ ।’
नयाँ नेतृत्वका चुनौती, अवसर र अपेक्षा :
यो निर्वाचन परिणामले उपभोक्ता तथा मतदाताहरू लामो समयदेखि संस्थागत हुँदै आएको पुरानो राजनीतिक नेतृत्वको सट्टा नयाँ विकल्प खोजेको स्पष्ट संकेत दिएको छ । विशेषगरी, खानेपानी जस्तो अत्यावश्यक सेवा दिने संस्थामा पारदर्शिता र प्रभावकारी सेवा प्रवाहको आवश्यकतालाई मतदाताले प्राथमिकता दिएको देखिन्छ ।
विजयी नेतृत्वले अब दुई दशकदेखिको परम्परालाई तोडेर उपभोक्ताको गुनासो सम्बोधन गर्दै सेवा प्रवाह, वित्तीय पारदर्शिता र उपभोक्ताको हितमा तत्काल सुधार ल्याउने चुनौती र अवसर दुवै प्राप्त गरेको छ । चन्द्रगढीका बासिन्दाले अब नव–निर्वाचित पदाधिकारीहरूबाट स्वच्छ खानेपानीको निरन्तर उपलब्धता र समितिको कुशल व्यवस्थापनको उच्च आकांक्षा राखेको बताएका छन् ।
प्रकाशित मिति २०८२ कार्तिक १२, बुधबार १३:५० गते