
माथिल्लो मनाङ– हिमाल पारीको जिल्लाको उपमा पाएको मनाङको माथिल्लो क्षेत्रमा आज कार्तिक १३ गते फेरि हिउँ पर्न थालेको छ । त्योसँगै जनजीवन प्रभावित भएको छ । आज विहानैदेखि पानी परेका कारण बिहान १० बजेपछि यातायातका साधन चल्न सकेका थिएनन् भने ४ः४५ बजेदेखि फेरि हिउँ पर्न थालेसँगै जनजीवन प्रभावित हुन थालेको हो ।
हिमपताका कारणले गर्दा विद्युत सेवा अवरुद्ध भएको छ । टेलिकमको टावरले पनि बेलाबेलामा काम नगर्दा जनजीवन झनै कष्टकर भएको स्थानीयको भनाइ छ ।
माथिल्लो मनाङमा अविरल वर्षा र हिउँ परेसँगै आजका दिनमा पनि साढे पाँच सय पर्यटक मनाङमा अझै रोकिएका छन् । त्यसरी रोकिएका पर्यटकहरूमा करिब तीन सय विदेश पर्यटक रहेका छन् भने अन्य आन्तरिक पर्यटक भएको माथिल्लो मनाङको अस्थायी प्रहरी पोष्टका प्रमुख प्रहरी हवल्दार अशोक सापकोटाले बताउनु भयो । उहाँका अनुसार आफ्नो कमाण्डमा सात जनाको प्रहरी टोल यहाँ रहेको छ र पर्यटकहरू तथा गाउँलेहरूका आवश्यक सूचनाहरू संकलन गर्ने र विपदमा परेकाहरूलाई आवश्यक सहयोगको कार्य जारी राखिएको छ । उहाँले भन्नुभयो, ‘यो क्षेत्रमा आज बिहानैदेखि पानी परेको हो, ऐले ४ः४५ बजेदेखि हिउँ पर्न सुरु गरेको छ । मानिसहरूको आवत जावत बन्द भएकोछ, दायाँ बायाँका सडकहरू सबै सुनसान छन् ।’
माथिल्लो मनाङका सबै होटलहरू यतिबेला पर्यटकहरूले भरिभराउ छन् प्रहरी हवल्दार सापकोटाले जानकारी दिनु भयो । उहाँका अनुसार तिलिचो बेस क्याम्पसमा फसेका २५ जना पर्यटकलाई निसाङ गाउँपालिका– ९ का वडाध्यक्ष च्योल्पा गुरुङले घोडा पठाएर उद्दार गर्नु भई खाङसारमा ल्याएर राख्नु भएको जानकारी प्राप्त भएको छ । तीमध्ये १५ जना विदेशी पर्यटक र १० जना आन्तरिक पर्यटक भएको बुझिएको छ ।
मौसमी स्थितिका कारण जनजीवन र त्यहाँ जाने पर्यटकको अस्वथा के कस्तो छ ? भन्दै मनाङका प्रमुख जिल्ला अधिकारी नवराज पौडेलसँग सम्पर्क गर्दा उहाँले हिजो बिहानदेखि हिउँ पर्न रोकिएको थियो र सडक खुलाउन सहज भएको थियो भन्नुभयो । उहाँका अनुसार तर आज विहानैदेखि पानी परेको कारण यात्रा अलिक सहज भएको छैन । उहाँले भन्नुभयो, ‘आन्तरिक पर्यटकहरू सबै फर्की सकेको अवस्था छ, बाह्य पर्यटकहरू आफ्नो सेडुल अनुसार हिड्ने भएको हुँदा समस्या छैन ।’ आ–आफ्नो ठाउँमा सुरक्षित हुनुहुन्छ । खाद्यान्नको अभाव छैन प्रजिअ पैडेलले उल्लेख गर्नुभयो ।
‘माथिल्लो मनाङमा त अझै पाँच सय बढी पर्यटक छन्, भएका सबै होटल भरिभराउ छन् भन्ने खबर छ नि !?’ भन्ने जिज्ञासामा ‘त्यति संख्यामा पर्यटकहरू हुन सक्छन् । उहाँहरू सबै सुरक्षित हुनुहुन्छ, अप्ठेरो छैन’ उहाँले जानकारी दिनुभयो ।
‘तिलिचो बेस क्याम्पमा पर्यटक फसेका छन् भन्ने खबर कति सत्य हो ?’ भन्ने थप जिज्ञासामा उहाँहरू अस्ति हामीले उद्धार गर्न खोज्दा ‘हामी अहिले यतै बस्छौं’ भन्नुभो, फर्कन मान्नुभएन ।’ आज निसाङ गाउँपालिका– ९ को वडाध्यक्ष च्योल्पा गुरुङले खाङसारबाट घोडा पठाउन खोज्दा दुई ठाउँमा हिउँ पहिरो आएर बाटो बन्द भएकोले घोडा जान सकेन भन्ने खबर छ, यद्दपि त्यहाँ रहेका सबै पयर्टकहरू पनि सुरक्षित हुनुहुन्छ प्रजिअ पौडेलले थप उल्लेख गर्नु भयो ।
‘उनीहरूको उद्दार के कसरी हुन्छ होला ?’ भन्ने थप जिज्ञासामा हेलिकप्टर पठाउन खर्चको कुरा आयो, नेपाल सरकारबाट अहिले त्यस्तो प्रवन्ध गरिएको छैन । पर्यटकहरूले हेलिबाट उद्धार हुन चाहने हो भने, त्यो खर्च या त उहाँहरू आफैले बेहोर गर्न तयार हुनु प¥यो या त सम्बन्धित गाउँपालिकाले बेहोर गर्नु प¥यो, अन्यथा विकल्प भनेको मौसम नखुल्दासम्म त्यही सुरक्षित बस्ने हो प्रजिअ पौडेलले जानकारी दिनुभयो ।
उहाँले थप भन्नुभयो, ‘त्यहाँको बेस क्याम्पमा बस्न अप्ठेरो छैन, होटलहरू छन्, खाद्यान्न पर्याप्त छ, २, ३ दिनमा त मौसम खुल्छ होला ।’
दिउँसो ४ः४५ बजेदेखि पर्न सुरु गरेको हिउँ साँझ ७ः३० बजेसम्म झनै बाक्लो रुपमा परिरहेको छ र रातभर पर्ने लक्षण छ माथिल्लो मनाङको अस्थायी प्रहरी पोष्टका प्रमुख हवल्दार सापकोटाले जानकारी दिनुभयो ।
विद्युत सेवा अवरुद्ध, टेलिकमको टावरले पनि बेलाबेलामा काम गर्दैन :
यस सम्बन्धमा निसाङ गाउँपालिका– ९ का वडाध्यक्ष च्योप्ला गुरुङसँग सम्पर्क गर्न प्रयास गर्दा, निकै कठिन भयो । उहाँले भन्नुभयो, हिउँ परेपछि विद्युत बन्द भएको र टेलिकमको टावरले पनि राम्रो काम गरिरहेको छैन, त्यसैले समस्या झनै बल्झिएको छ । उहाँका अनुसार तिलिचो बेस क्याम्पमा रहेका पर्यटकहरूलाई उद्धारका लागि आज चार वटा घोडा पठाएको थिएँ । उनीहरू सम्पर्कमै आएनछन् के गर्ने ? उहाँले प्रतिप्रश्न गर्नुभयो । विद्युत नभएपछि मोवाइल चार्ज आदि काम के कसरी गर्नु भएको छ त ? भन्ने अर्को जिज्ञासामा उहाँले भन्नुभयो, ‘जेनेरेटर चलाउने ।’
हिउँ पहिरोले तिलिचो बेस क्याम्प जाने बाटोमा समस्या भएको छ रे नि ? भन्ने थप जिज्ञासामा त्यस्तो पहिरो त आइरहन्छ नि ! पन्छाउँदै जाने हो । घोडावालाले केही पर्यटकको अस्ति छुटेका कपडाहरू ल्याई दिए । तर मानिसहरू सम्पर्कमा नआएको हुँदा ल्याउन सकेनछ । भोलि बुझेर ल्याउने विचार छ उहाँले जानकारी दिनुभयो । उहाँलाई तिलिचो बेस क्याम्पबाट खाङसारसम्म एउटा घोडाले एक जना मानिस उद्धार गरेको खर्च कति लाग्छ नि ? भन्ने जिज्ञासामा प्रतिव्यक्ति १५ हजार लिने गरेको उहाँले उल्लेख गर्नुभयो ।
उहाँका अनुसार तिलिचो बेस क्याम्पमा होटलको क्षमता पाँच सय पर्यटकहरूलाई राख्न सक्ने छ । त्यस्तै, खाङसारमा त्यो भन्दा अलिक कम क्षमता छ ३५० देखि ३८० जना जति राख्न सक्छ । मनाङ(माथिल्लो)का होटलहरूको क्षमता एक हजार पर्यटक राख्न सक्ने रहेको निसाङ गाउँपालिका– ९ का वडाध्यक्ष च्योप्ला गुरुङले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, ‘मनाङ गाउँमा निसाङ गाउँपालिकको वडानं– ४, ६, ७ र ८ पर्छन्, एरिया पनि ठूलो छ ।’
उहाँका अनुसार यतिबेला खाङसारबाट फर्कन चाहने पर्यटक र कामदार गरेर १०– १२ जना जति छन्, तिनलाई आजै चामे पठाउन गाडी मगाएको छु केही बेरमा आउँछ र पठाइदिने हो । उहाँले भन्नुभयो, ‘रातभर हिउँ प¥यो भने भोलि गाडी नचल्न पनि सक्छ ।’
प्रकाशित मिति २०८२ कार्तिक १३, बिहीबार २१:३२ गते