
बेसीशहर– कार्तिक शुक्ल एकादशीका दिन आज कार्तिक १५ गते तुलसीको पूजा आराधना गरी हरिबोधिनी एकादशी पर्व मनाइँदैछ । हरिबोधिनी एकादशीका दिन तुलसीसँग भगवान् दामोदर (विष्णु) को विवाह र विशेष पूजा गरी मनाउने वैदिक परम्परा छ ।
आषाढ शुक्ल एकादशीअर्थात् हरिशयनी एकादशीका दिनमा क्षीरसागरमा सुत्नुभएका विष्णु आज ब्युँझने भएकाले यो एकादशीलाई हरिबोधिनी वा प्रबोधिनी एकादशी पनि भनिन्छ । तुलसीलाई औषधीय गुणले युक्त वनस्पतीका रुपमा लिने गरिन्छ ।
असारको ठूली एकादशीमा प्रत्येक हिन्दुधर्मावलम्बीले आआफ्ना घरमा रहेको मठमा तुलसीको बिरुवा रोप्ने र कार्तिकको ठूली एकादशीका दिन उक्त तुलसीको विधिवत विवाह सम्पन्न गरिदिने चलन पनि छ ।
त्यसो त वर्षमा २४ वटा एकादशी हुन्छन् । त्यसमा पनि मलमास परेको वर्षमा त २६ वटा एकादशी पनि हुने गर्दछ । तर ती सबै एकादशीका तुलनामा यी दुईवटा एकादशीलाई विशेष महत्त्वका साथ शास्त्रीय विधिविधान पालना गरी व्रतसम्पादन गर्ने परम्परा रही आएको छ । यसरी यी दुई एकादशीको विशेष महत्त्व देखिनुमा विष्णुको दैनन्दिनीको भूमिका देखिन्छ ।
सनातन धर्मभित्र यस चराचर जगतको संरक्षण र पालना गर्ने जगन्नियन्ता परब्रह्म परमेश्वरका रूपमा विष्णुको आराधना हुने परम्परा पाइन्छ । अनि हामी पृथ्वीमा बसोबास गर्ने मनुष्यहरूको एकवर्षको अवधि देवताहरूको केवल एकदिनको अवधि मान्ने चलन समेत छ ।
सामान्यतया सूर्य दक्षिणायनतर्फ ढल्कनासाथ देवताहरूको रात्रीकाल हुने विभिन्न धार्मिक ग्रन्थमा उल्लेख छ । सोही पौराणिक मान्यता र आख्यानका आधारमा आषाढ महिनामा पर्ने ठूली एकादशीका दिन विष्णु क्षीरसागरमा पुगेर शयन गर्ने र कार्तिक शुक्ल पक्षमा पर्ने ठूली एकादशीका दिन निद्रा त्यागी ब्युँझने कथाप्रसङ्ग बेग्लाबेग्लै धार्मिक ग्रन्थहरूमा उल्लेख भएकाले पनि यी एकादशीको महत्त्व चुलिएको बुझ्न सकिन्छ ।
तुलसी हिन्दू धर्म मान्ने प्रत्येक व्यक्तिको घरमा तुलसीको मठ बनाएर सम्मानका साथमा संरक्षण र सम्बद्र्धन गरिने वनस्पति हो । यी दुईवटा एकादशीमा तुलसी पनि गाँसिएको पाइन्छ ।
जहाँ र जुन घरमा तुलसीको वास र पूजा हुन्छ, त्यहाँ ऋद्धिसिद्धिको बास हुन्छ भन्ने मान्यता पनि छ । यसरी धार्मिक र वैज्ञानिक आधारमा तुलसीको छुट्टै महत्व छ । हजारौं वर्षदेखि सनातन संस्कारीहरू प्रातः कालमै उठेर तुलसीमा पानी चढाएर अनि नमन गरेर मात्र आ–आफ्नो दैनिकीमा लाग्ने गरेका छन् । जन्म, मृत्यु देखि हरेक सनातन संस्कारमा तुलसीको बिरुवा अनि पातको महत्व हुन्छ । तुलसी पात हालेर अनि भगवानलाई अर्पण गरेर मात्र भोजन फलाहार आदि सेवन गर्ने चलन अझै पनि कैयन घर अनि परम्परामा विद्यमान छ ।
स्कन्दपुराणमा वर्णित कथाका अनुसार जालन्धरकी पतिव्रता पत्नी वृन्दाको सतीत्व नै उसको अमरत्वको आधार थिया े। सृष्टिको कल्याण गर्ने उद्देश्यले विष्णुले वृन्दाको सतीत्व नष्ट गर्नु परेको थियो । त्यसपछि मात्र जालन्धरको बध गर्न सम्भव भएको थियो । विष्णुले रूप बदलेर आफ्ना पतिको भेषमा आफ्नो सतीत्व नष्ट पारेको थाहा पाएपछि वृन्दामा क्रोधको सीमा रहेन र क्रोधको आवेगमा उनले विष्णुलाई श्राप दिईन् ।
त्यसपछि विष्णु पत्थरमा परिणत भई शालीग्रामका रूपमा अवतीर्ण भए । यसरी वृन्दाले दिएको श्रापबाट मुक्त हुन विष्णुले शालीग्राम स्वरुपमा रहेर तुलसीसँग विवाह गर्नु परेको थियो । जुन दम्पतीको छोरी छैन, उनीहरूले जीवनमा एकपल्ट आषाढको एकादशीमा आफ्नो घरआँगनको तुलसीको मठ बनाई तुलसी रोपी, चार महिनासम्म नित्य पूजाअर्चना गरी कार्तिक महिनाको ठूली एकादशीमा विधिवत् विवाह गरिदिएमा कन्यादानको पुण्यप्राप्त हुन्छ र सुपुत्री लाभ हुन्छ भन्ने शास्त्रीय मान्यता छ ।
पद्म पुराणमा बिन्दा देवीले पृथ्वीमा आएर भगवान बिष्णुलाई आफ्नो पिता रुपमा पाउन गरेको तपस्यासँग तुलसीको महत्वलाई गासिंने गरेको पाइन्छ । त्यस्तै श्रीमद्ध भागवतको ३ को ५ को १९ औँ खण्डमा तुलसी बिरुवाको दैविक गुणलाई व्याख्या गरिएको पाइन्छ ।
गौतमीय तन्त्र अनुसार भक्तहरूले हत्केला भरिको पानी र तुलसीको पातमात्र सफा हृदयले अर्पण गरेमा श्रीकृष्णको कृपाले सम्पूर्ण फल प्राप्त हुने महिमा छ । स्कन्द पुराणमा पनि तुलसीको पूजा गरेमा अनन्त फल प्राप्त हुने व्याख्या गरेको छ ।
आँगनको छेउको तुलसी मोठ बिवाह ब्रतबन्ध लगायत मृत्युशैयासम्मका लागि पवित्र स्थान मानेर उपयोग गरिने चलन छ ।
चतुर्मासाको अवधिमा केही तीर्थस्थलहरूमा बाहेक अन्य तीर्थस्थलको तीर्थयात्रा पनि बन्द हुन्छ । यस अवधिमा वृन्दावन, बाबाधाम, बद्रीनाथ, मुक्तिनाथ, गोसाइँकुण्ड, दूधकुण्ड आदि तीर्थको तीर्थाटन गर्ने परम्परा पनि छ । समग्रमा आध्यात्मिक र धार्मिक दृष्टिले चतुर्मासा अवधिको ठूलो महत्त्व छ ।
लमजुङको सुधा र शीतप्रवाह नदीको संगमस्थल खुदी दोभान, शीतप्रवाह नदी र पाउँदी दोभान तथा मादी र रिस्ती खोला दोभानको सिसाघाट फूलको डोरीतार्नेदेखि विभिन्न प्रकारका मेला लाग्ने गरेको छ । मर्स्याङदी गाउँपालिकाले आज र भोलि दुई दिने एकदशी मेलाको आयोजना समेत गर्दै आएको छ ।
प्रकाशित मिति २०८२ कार्तिक १५, शनिबार ०८:०८ गते