
दुराडाँडा– लमजुङको ऐतिहासिक थलो यहाँ स्थित सर्वोदय माध्यमिक विद्यालयको ७४ औं वार्षिकोत्सव समारोह एवम् ५५औं अभिभावक दिवस विविध कार्यक्रमका साथ भव्य रुपमा सुसम्पन्न भएको छ । दिवसको मूल कार्यक्रम सुन्दरवजार नगरपालिकाका नगरप्रमुख कृष्णप्रसाद कोइरालाको प्रमुख आतिथ्यतामा साप्ताहिकमा कार्तिक २० गते सम्पन्न भएको हो ।
प्रमुख अतिथि सुन्दरवजार नगरपालिकाका नगरप्रमुख कृष्णप्रसाद कोइरालाले पानसमा दीप प्रज्ज्वलनका साथ बिष्णुभक्त पौडेलको शालिकमा माल्यार्पण गरी कार्यक्रमको समुदघाटन भएको थियो । उक्त कार्यक्रममा विद्यालयका प्रधानाध्यापक कृष्णप्रसाद पोखरेलद्वारा विद्यालयको वार्षिक प्रगति प्रतिवेदनसँगै विद्यालयको भावी योजना प्रस्तुत गरिएको थियो ।
उक्त अवसरमा विद्यार्थीहरूको विभिन्न सांस्कृतिक नृत्य, जनचेतनामूलक अभिनय र लाखेनाच समेत प्रस्तुत गरिएको थियो । विद्यालयको शैक्षिक उन्नयनमा योगदान पुर्याउनु हुने अक्षयकोषदाता सम्मान, वर्ष उत्कृष्ट शिक्षक तथा अभिभावक सम्मान, एवम् पञ्चेबाजाको साथमा दोहोरी र आकर्षक नृत्य प्रस्तुतीले कार्यक्रमलाई थप आकर्षक, रोचक एवम् मनोरञ्जनात्मक बनाएको थियो । यसै कार्यक्रमको अवसरमा विद्यालयका उपजहरूबाट कक्षा १ देखि १० सम्मका विद्यार्थीहरूका लागि ट्रयाक सुट र टोपी हस्तान्तरण गर्नुभएको थियो । उक्त समारोहमा विद्यालयको चौतर्फी विकासका विभिन्न शीर्षकका अक्षयकोषमा करिब १४ लाख रुपैयाँ रकम जम्मा भएको विद्यालयका प्रधानाध्यापक कृष्णप्रसाद पोखरेलले जानकारी दिनुभयो ।
सो अवसरमा सर्वोदय रनिङशिल्ड अन्तर्गत म्याराथुन छात्र छात्रा, राष्ट्रिय व्यक्तित्व पहिचान, निबन्ध लेखन, हिसाब दौड र सामान चिन्ने खेल सम्पन्न भएका थिए । यसैगरी, शिक्षक अभिभावक मैत्रीपूर्ण भलिबल र अभिभावक म्युजीकल चियर पनि गरिएको थियो ।
मुख्य कार्यक्रममा नेपाल सरकारका पूर्व सचिव एवम् लोकसेवा आयोग बागमती प्रदेश पूर्व अध्यक्ष सुरेशमान श्रेष्ठ, वरिष्ठ इन्जीनीयर अर्जुनभक्त पौडेल, वरिष्ठ इन्जीनीयर कृष्ण राना आदि विशिष्ट अतिथि हुनुहुन्थ्यो । कार्यक्रममा विभिन्न राजनैतीक दल, जग्गादाता, अक्षयकोषदाता, विभिन्न विद्यालयका प्र.अ., चन्दादाता, जनप्रतिनिधिहरू, सामाजिक संघसंस्थाका प्रतिनिधि, सोही वडाका अध्यक्ष एवम् सो माविका व्यवस्थापन समितिका पूर्वअध्यक्ष अमृत न्यौपानेलगायतले शुभकामना मन्तव्य दिएका थिए ।
वरिष्ठ लोक स्वर सम्राट गायक राजु परिवार र लोक गायिका लुमा के.सी.को विशेष प्रस्तुतीले कार्यक्रम थप आकर्षक र मनोरञ्जनात्मक बनाएको थियो ।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष नारायणवहादुर के.सी.को अध्यक्षतामा भएको उक्त कार्यक्रममा स्वागत मन्तव्य विद्यालय व्यवस्थापन समितिका सदस्य जगन्नाथ न्यौपानेले गर्नुभएको थियो भने सञ्चालन शिक्षक पशुपति नेउपानेले गर्नुभएको थियो ।
प्रकाशित मिति २०८२ कार्तिक २६, बुधबार ०९:५० गते