शरद ऋतुको आगमन हुन थालेको छ । शरद ऋतुमा पर्ने असोज र कार्तिक महिना पर्यटनको लागि राम्रो महिना मानिन्छ । यो समयमा पर्यटकहरूलाई यात्रा गर्न सजिलो हुन्छ । भर्खरै बडादशैं तिहारका पर्व सकिएको छ । आजभोलि घुमफिर गर्नको लागि धेरै पर्यटकहरू लामो बिदाको पर्खाइमा हुन्छन । कतिपयले विभिन्न बिदालाई नयाँ ठाउँमा घुमफिर गर्ने योजना बनाएका हुन्छन । तपाई विदाको उपयोग गर्न नयाँ ठाउँमा घुमफिर गर्ने सोचमा हुनुहुन्छ भने पूर्वी रुकुमको पुथा उत्तरगंगाको मैकोट गाउँमा जानुहोस । मैकोट प्राकृतिक रुपले सजिएको सुन्दर गाउँ हो ।
लुम्विनी प्रदेशको हिमाली जिल्ला पूर्वी रुकुम भौगोलिक दृष्टिकोणले दुर्गम पर्दछ । तर दुर्गम भए पनि पदयात्रामा रमाउने पर्यटकहरूका लागि खाम मगरको संस्कृति र हिमाल, हिमतालको बारेमा अध्यन अवलोकन गर्न पुग्नै पर्ने ठाउँ हो । पूर्वी रुकुममा पर्यटनको लागि पुथा उत्तरगंगा, भूमे र सिस्ने गाउँपालिकामा फरक–फरक गन्तव्य पर्दछन् । पुथा उत्तरगंगामा हिमाल र हिमताल धेरै छन् । भूमेमा मगर बस्ती, मारिङ लेक, चुनबाङको भेरीडाँडा र महत गाउँजस्ता सांस्कृतिक पर्यटकीय क्षेत्र पर्दछ । सिस्ने गाउँपालिका सिस्ने हिमाल, कमलदह, तातोपानी र देउराली गुफा पर्यटनका लागि आकर्षण गन्तब्य मानिन्छ । पूर्वी रुकुमको सबै भूगोलमा पर्ने पर्यटकीयस्थल पुग्नको लागि सबै पर्यटकहरूको समय नहुन सक्दछ । यात्राको समय बढाउन सके र पर्यटकहरूको रुचि भयो भने हुकाम, रन्मा मैकोट पुग्दा तकसेरा, कोल, राङसी, जाङ, सिस्ने, प्वाङ, काँडा, मोराबाङ, काक्री गाउँमा पनि पुग्न सकिन्छ । यी सबै गाउँलाई सातगाउँ खोला अर्थात पर्वत क्षेत्र भनेर पनि चिनिन्छ । तर पनि मैकोट जादा पर्यटकहरूले बाटोमा पर्ने धेरै गाउँ ठाउँहरू अवलोकन गर्न सक्दछन ।
मैकोट ऐतिहासिक गाउँ पनि हो । मैकोट पुन थरका मगरको उदगमथलो पनि हो । खाम मगर भाषामा मईको अर्थ पहलमान भन्ने बुझाउँछ भने कोइ शब्दले हातहतियारले सुसज्जित भन्ने जनाउँछ । बोल्ने क्रममा मइकोइ अपभ्रंश भई मैकोट भएको मानिन्छ । अर्को अर्थमा मैकोटलाई पहलमानहरूको किल्ला भन्ने पनि गरिन्छ । पर्यटकहरूले गाउँमा बाक्ला मिलेर बनेको मगर बस्तीहरू आफ्नै छुट्टै कला, संस्कृति, रहनसहन खाम मातृभाषा बोल्ने पृथक समुदायहरूको अध्यन गर्न सक्दछन । मगर बस्तीहरूमा सयौँ वर्षअघि निर्माण भएका ढुङ्गा र माटाका घर छन । मगर जातिको बाहुल्यता रहेको मगर बस्ती र एउटा घरको छत अर्थात छानो अर्को घरको आँगन देख्दा पर्यटकहरू अचम्म पर्दछन । कुनै चित्रकारको डिजाइनमा तयार गरिएको एकीकृत बस्तीको ढाँचाजस्तो देखिने खेतीयोग्य जमिनलाई छाडेर अलग्गै निर्माण भएका बाक्ला बस्ती मैकोटमा पर्दछ । पर्यटकहरू यी बस्तीलाई आफ्नो क्यामेरामा कैद गर्दछन । मैकोट गाउँ रमणीय मात्र होइन प्रकृतिसँग रमाउने पर्यटक गाउँमा पुगेपछि फर्कन नपरे हुन्थो भनेझंै गर्दछन । मैकोट गाउँका लोभलाग्दा प्राकृतिक सम्पदा पर्यटकहरूका लागि अर्को आकर्षण बन्दछ । मैकोट पुगेपछि झारलुङ, पेल्माखार, योमाखार, पुछर, दुले, इम, तिज्याङ गाउँ पनि पर्यटकहरूलाई घुमफिर गर्न रमणीय छन् ।
मैकोट पुग्ने पर्यटकहरूले खाम मगर जातिको मौलिक संस्कृति, परम्परा, जीवनशैली, रहनसहन, भेषभूषा, भाषाको समेत अध्ययन गर्न सक्दछन् । सिस्ने हिमाल पूर्वी रुकुमको रमणीय एबम सुन्दर हिमाल हो । सिस्ने हिमाललाई स्थानिय भाषामा मुर्कट्टा हिमाल पनि भनिन्छ । यो हिमाल कान्जिरोवा हिम श्रृखला अन्तर्गत पर्दछ । तर पर्यटकहरूले मैकोट वरपर चुरेन, पुथा हिउँचुली, दोगारी र साम्जाङ हिमाललाई नजिकैबाट अवलोकन गर्न सक्दछन । हिमालको फेदीमा रहेका सुनदह, राक्षसदह, पार्वीवार्मी लगायतका दह अवलोकन गर्न सक्दछन । पेल्मा नजिकैको प्राकृतिक तातो पानीको कुण्डमा नुहाउन पाउदा मैकोट पुग्ने पर्यटक दगं पर्दछन् । मैकोटमा शहर बजारमा जस्ता ठूला होटल र लज त छैन तर पनि पर्यटकहरूलाई बास दिन र खानपिनको व्यवस्था गाउँलेहरूले गर्दछन् । अब गाउँमा होमस्टे शैलीका होटेल खुल्न थालेका छन् । मैकोट गाउँमा पर्यटकहरूले स्थानीय कोदो, जहुँ, मकै, आलु आदिका परिकार खान पाउछन् । गाउँ वरपरका जडिबुटी र स्याउखेतीले पर्यटकलाई लोभ्याउन पनि सक्दछ । मैकोटको खाम मगर भाषा अरुभन्दा मौलिक रहेकाले भाषा विज्ञानका विद्यार्थीको लागि थप अध्ययनको बिषय बन्दछ ।
पर्यटनको लागि मैकोटका सबै गाउँ आकर्षक मानिन्छन । मैकोटमा कोटाले डेरा, कान्छाबारा, बार्गर डेरा, दलित टोल, काल्दुङ, धारागाउँ र स्युरुम गरी सातवटा टोल अर्थात गाउँहरू छन् । गाउँमा पुन, घर्ती, बुढा, रोका थरका मगरसँगै कामी, दमाई, गुरुङ र शाहीठकुरी मैकोटका वासिन्दा छन् । गाउँको विचमा मस्टा छ । मस्टा अदृष्य रहने देवता भएको हुदा मूर्ति राखिएको छैन । तर पनि मस्टा थानलाई मैकोट गाउँको शिरमा सजाएर राखिएको छ । मैकोटका स्थानीय बासिन्दाका अनुसार जाजरकोटमा रहेको मस्टालाई जेठा, त्रिपुराकोटमा रहेको मस्टालाई माइला र मैकोटको मस्टालाई कान्छा भन्ने गरिन्छ । मस्टामा विशेषगरी दशैंको महानवमीको दिन पुजाआजा गर्ने गरिन्छ । मैकोटको संस्कृति अन्यत्रको भन्दा भिन्न छ । मैकोटका खाम मगर प्रकृतिका पुजारी हुन । दसैं मान्दछन्, तर तिहार मनाउँदैनन् । तिहारको सट्टा मंसिरे संक्रान्ति भव्य रुपले मनाउँछन् । दशैंको मष्टापूजा र मंसिरे पूर्णिमाका अवसरमा गरिने पितृपूजामा पूजा गर्नेलाई आफ्ना भाञ्जाहरूले ढाडमा बोकेर घरसम्म पुर्याउने चलन छ । मंसिरे संक्रान्तिमा दिदीबहिनी र दाजुभाइ बीच टीका लगाउने चलन छैन । तर माघे संक्रान्तिमा चेलीबेटीलाई रोटी, मासु, तरुल, फलफूल, लगाउने कपडा दिएर टिका लगाउने गरिन्छ । मैकोट गाउँमा केही घर गुरुङ जातिको पनि बसोवास छ । तर उनीहरूको सबै संस्कार मगरसंग मिल्दछ ।
मैकोटलाई आदिम सांस्कृतिक थलोका रुपमा चिनिन्छ । मगर खाम समुदायको जीवनशैली हिमाली संस्कृतिसँग मिल्दोजुल्दो छ । मैकोटमा पर्यटक रमाउने भनेकै मगर खाम भाषाको अध्ययन, पाटन, वनस्पति, जंगल, नदीनाला, तालतलैया र वन्यजन्तुहरू हुन् । मगर खाम गाउँका बासिन्दा सामूहिकतामा विश्वास गर्छन् । सामाजिक एकताबिना उनीहरू आफ्नो अस्तित्व स्वीकार्न नगर्ने संस्कार छ । मगर खामहरूको गाउँमा समान संरचनामा घर निर्माण भएका हुन्छन् । गाउँमा खेतीपातिमा अर्मपर्मको सिद्धान्त र विकास निर्माणमा परम्परागत झाराप्रथा प्रचलित छ । यो नै मैकोट गाउँको सामाजिक विशेषता हो । मगर सांस्कृतिक नृत्यहरू सबै सामूहिक हुन्छन् । लहरै पैसेरी, भुम्या, डिग्रे, झोल्हा नाच मगर खाम बस्तीका परम्परागत सामूहिक नाच हुन् । भुम्या नाचमा पुरुषको गोलबद्ध लहरलाई महिलाले घेरेका हुन्छन् भने पुरुषहरू खुकरी भिरेर नाच्छन् । अगुवालाई पछयाएर गोलबन्द भई नाच्नु भुम्या नाचको विशेषता हो । पाका र ज्येष्ठतालाई प्राथमिकता दिइने यो नाचमा युवायुवतीहरू पनि सामेल हुन्छन् ।
मैकोट जाने पर्यटकहरूका लागि अर्को गन्तव्य हो यार्चा पाइने बुकीपाटन । मैकोट र रन्मामैकोट क्षेत्रमा पर्ने पुपाल, पुर्वाङ, फूलबारी, पानीढाल, माजेला, नाउरे, नयाँ वनलगायत ठाउँमा यार्चा पाइन्छ । मैकोटका धेरैजसो बस्ती ढोरपाटन सिकार आरक्षको प्रस्तावित मध्यवर्ती क्षेत्रभित्र पर्छन् । आरक्षले सिकार खेल्न छुटयाएको सात ब्लकमध्ये चारवटा त मैकोट अन्तर्गत पर्दछ । जैवीक विविधताका दृष्टिले मैकोट धनी ठाउँ हो । यार्सा सिजनमा लाग्ने मेलामा हजारौं मानिसहरू मैकोट पुग्दछन । जेठ र असारमा यार्सा किनबेचको चहलपहलपछि क्रमशः वन लसुन, कटुकी, चुल्थे, रातो च्याउ, निर्मसी, जस्ता जडिबुटीको ब्यापार मैकोटमा हुन्छ । हिमाली भेगमा बैशाख तिर हिउँ पग्लन्छ र बिरुवाहरु उम्रिएर फूल फूल्न शुरु गर्दछ । त्यही समयमा पुतलीहरूले फुल पार्न थाल्छन । सोही पुतलीको लार्भा अवस्थामा रहेको झुसिलकिरा जमीन मुनि पुग्छ र झुसिलकिराको टाउकोमा ढुसी उम्रन्छ । यो ढुसी जमीन माथिको खैरो रंगको र जमीन मुनिको भाग पंहेलो रंगको हुन्छ । यार्सागुम्बा एक प्रकारको झुसिलकिराको टाउकोबाट ढुसी उम्रिएर बन्दछ । यार्सागुम्बा नेपाल र तिब्बतको हिमाली भागमा पाईने एक प्रकारको बहुमुल्य जडीबुटी हो । मैकोटका बासिन्दाहरूको आयआर्जनको मुख्य स्रोत यार्चा संकलन हो ।
माओवादी द्वन्द्वकालमा प्रयोग भएको गुरिल्ला ट्रेलका बारेमा पनि मैकोट पुग्ने पर्यटकहरूले अध्यन गर्न सक्दछन् । मैकोटको जंगल र खर्कहरूमा माओवादी द्वन्द्वकालमा छापामारहरु बस्ने गरेका आश्रयस्थल पनि पर्यटकहरूले देख्न सक्दछन् । म्याग्दीको सदरमुकाम बेनी, अर्घाखाँचीको सदरमुकाम सन्धिखर्क र डोल्पाको सदरमुकाम दुनै आक्रमणका घाइते छापामारलाई राखिएका गोठ, ओडार र जंगल द्वन्द्वकालको घटना अध्ययन गर्ने पर्यटकका लागि थप महत्वको विषय हुन सक्छ । सदरमुकाम कब्जापश्चात् अपहरणमा परेका सरकारी अधिकारी, सेना र प्रहरीलाई सुरक्षित साथ बसाइएका घर अहिले पनि देख्न सकिन्छ । मैकोटमा माओवादी जनमिलिसिया र स्क्वायडहरूलाई छनौट गरी प्लाटुनस्तरमा युद्ध प्रशिक्षण दिइएको ¥याल्बी खर्कको पनि पर्यटकहरूले अवलोकन गर्न सक्दछन् ।
द्वन्द्वकालताका गाउँघरमा सामाजिक अपराध स्वरुप माओवादीको कारबाहीमा परेका र राजनीतिक रुपले माओवादी भन्दा फरक धारका मानिसहरूलाई जनकारबाहीका नाममा खेतीपातिको श्रमशिविरमा खटाएर स्थानीय उत्पादनमा सघाउ पुर्याकएका घटना सत्यकथाको रुपमा गाउँलेबाट सुन्न सकिन्छ । मैकोटमा तत्कालीन राज्यस्तरबाट सञ्चालित किलो सेरा टु, कर्डन एन्ड सर्च जस्ता माओवादीलाई लक्षीत गरी प्रहरी र सेनाको अपरेसनमा गाउँका रित्तो पारेर ज्यान बचाउन आश्रय लिएका जंगल र ओडार आजभोलि पर्यटकहरूका लागि अनौठो लाग्ने भएको छ । मैकोट गाउँका मानिसका जनयुद्धका कुरा सुन्दा पर्यटकहरू अनौठो मान्दछन् ।
मैकोट युद्ध पर्यटन अर्थात् द गुरिल्ला ट्रेकिङका कारण पनि आजभोलि धेरै पर्यटक पुग्ने गरेका छन् । गुरिल्ला पदमार्गमा साना–ठूला ताल, नदी तथा खोला, मन्दिर, झरनाको दृश्यावलोकन गर्न सकिन्छ । गुरिल्ला मार्गले धेरैजसो द्वन्द्वपीडित बस्ती छुने भएकाले द्वन्द्वपीडितको बेदना, क्षति भएका भौतिक संरचना एवम् विभिन्न संस्कृतिको अवलोकन गर्दा तत्कालीन युद्धको अनुभूति हुने गर्दछ । माओवादीले द्वन्द्वकालमा बनाएका आधार इलाका र द्वन्द्वका अवशेष अब पर्यटकीय स्थल बनेका छन् । गुरिल्ला पदमार्ग मगर खाम जातिको संस्कृति अध्ययनका लागि समेत पर्यटक पुग्ने गर्दछन् । तत्कालीन माओवादी र सरकारी पक्षको आक्रमणबाट बनेका अवशेषसमेत पर्यटकका लागि आकर्षणका केन्द्र बनेका छन् । गुरिल्ला पदमार्गमा पर्ने सम्पूर्ण स्थल द्वन्द्वताका तत्कालीन माओवादी र राज्य पक्षका सेना तथा प्रहरीले प्रयोग गर्ने मुख्य बाटोमा पर्दछ । गुरिल्ला पदमार्गमा साना–ठूला ताल, नदी, खोला, मन्दिर र झरनाको दृश्यावलोकन गर्न सकिन्छ ।
मैकोट जाने पर्यटकहरू ढोरपाटान पुगेकै हुन्छन् । पोखरा– बाग्लुङ भएर मैकोट जाने पर्यटकले पहिला ढोरपाटन घुमफिर गर्दछन् र पदमार्गबाट तकसेरा हुँदै मैकोट पुग्दछन् । पर्यटकलाई मैकोटको पदयात्रा अबिस्मरणीय हुन्छन । नयाँ ठाउँमा यात्रा गर्न जति रमाईलो र मनोरम हुन्छ त्यतिनै कठिन पनि हुन्छ । कठिन यात्रालई सहज बनाउन आफ्नो स्वास्थ स्थितिको पनि ख्याल राख्नु पर्दछ । मैकोटको यात्रामा वातावरण तथा मौसम सुहाउदो लुगा साथमा लैजान पर्दछ । मैकोट यात्रामा चाहिने अत्यावश्यक सामग्री र मोबाइल साथमा हुनु पर्दछ । सकेसम्म यात्रामा समूहमा जादा राम्रो हुन्छ । यात्रामा आफ्नो स्वास्थ्यप्रति सजग र सचेत हुनुपर्दछ । ट्रेकिङ सुज, क्याप, चस्मा, लठ्ठी, पानीको बोतल, सनब्लक अनिवार्य लानु पर्दछ । यसबाहेक हलुका लुगा, ज्याकेट पनि लैजान आवश्यक छ । कतिपय ठाउँमा होटेल–रेस्टुरेन्ट हुँदैनन । त्यसैले आफूलाई चाहिने खानेकुरा बोक्न बिर्सनु हुँदैन ।
कसरी पुग्ने ?
मैकोट जादा रुकुम जिल्लाको भूगोलमा मध्यपहाडी लोकमार्गको यात्रा गर्नु पर्दछ । पोखरा– बाग्लुङ भएर मैकोट जादा बुर्तिवाङ निसीभुजी भएर पाति हाल्ने हुँदै तक गाउँसम्म पुग्दा ९० कि.मि.को सडक यात्रा गर्नु पर्दछ । तक गाउँमा जादा मध्यपहाडी लोकमार्गको काक्री बजारदेखि सडक मार्ग छुट्टिन्छ । तक गाउँबाट मैकोट जादा बिरगुम, नयाँ बजार खैरीहुँदै मैकोट पुग्न सकिन्छ । आजभोली कच्ची भएपनि मैकोटसम्म बलेरो र स्कारपिओ जस्ता मोटरबाट यात्रा गर्न सकिन्छ ।
(लेखक : लामो समयदेखि पत्रकारितामा सक्रीय रहनु भएका उहाँ लमजुङ जन्म थलो भई दाङलाई कर्मथलोका रुपमा रोज्नु भई नेपालको पर्यटनका बारेमा विशेष दखल राख्दै कलम चलाउने गर्नु हुन्छ । – सं.)
प्रकाशित मिति २०८२ कार्तिक २७, बिहीबार ०७:५५ गते